मानिसको स्वास्थ्य सन्तुलनमा चिकित्सा विज्ञानको ठूलो महत्व भए जस्तै संसारका विभिन्न भागहरुमा विधमान वैकल्पिक चिकित्सा प्रणालीहरुको पनि उत्तिकै महत्व छ। वैकल्पिक चिकित्सा प्रणालीहरुमा सबैभन्दा पुरानो र बृहत आयुर्वेद चिकित्सा प्रणाली हो।

यद्यपि आयुर्वेदको विकास आधुनिक चिकित्सा विज्ञान जस्तो यथ्येष्ट रुपमा भएको पाइन्न। आम-संचार माध्यम र विभिन्न पत्र-पत्रिकाहरुमा जसरी गुणगान गाइएको छ, त्यति नै मात्रामा यसको विकास र आधुनिकीकरण नगन्य रुपमा भएको भेटिन्छ।

पौराणिक कथा अनुसार आयुर्वेदको ज्ञान सर्वप्रथम ब्रम्हाले सृजना गरे र त्यो ज्ञान दक्ष प्रजापतिलाई दिए। दक्ष प्रजापतिले जुम्ल्याहा भगवानहरु अश्विनी कुमारहरुलाई सिकाए। चरक संहिता अनुसार अश्विनी कुमारहरुले आयुर्वेदको ज्ञान भगवान इन्द्र, भारद्वाज र आत्रेयलाई प्रदान गरे।

आत्रेयले आफूले सिकेको ज्ञान शिष्यहरु अग्निभेष, भेल, अतुकर्ण, परासर, हारित र क्षारपाणीलाई सिकाए भने सुश्रुत संहिता अनुसार भने भगवान इन्द्रले धनवन्तरीलाई सिकाए। पुन: धनवन्तरीले यो ज्ञान आफ्ना शिष्यहरु औषधेनव, वैतरण, उरभ, गोपूररक्षित्, पौषकलावत, करविर्य र सुश्रुतलाई प्रदान गरे भने कश्यप संहिता अनुसार इन्द्रले आफ्नो ज्ञान कश्यप, वशिष्ठ, भृगु, अत्रिलाई सिकाए।

आयुर्वेदको ज्ञानलाई व्यापक गराउने मुख्य श्रेय भगवान धनवन्तरीलाई जान्छ। यसरी हिन्दु धर्मका विभिन्न भगवानहरुसँग जोडिएको आयुर्वेदको ज्ञान विश्वकै प्राचीन, महत्वपूर्ण र उच्चकोटीको परम्परागत वैकल्पिक चिकित्सा प्रणाली मानिन्छ। कश्यपले आयुर्वेदलाई छुट्टै वेदका रुपमा परिभाषित गरेका भए तापनि चरक संहिता, सुश्रुत संहिता, श्रीमद्भागवत गीताले आयुर्वेदलाई अथर्ववेदको उपवेद रुपमा मानेका छन्। मुख्यतः आयुर्वेदको ज्ञान प्राचीन ग्रन्थहरु अथर्ववेद र ऋग्वेदमा पाइन्छ।

आयुर्वेदको रचना ईसापूर्व ३००० देखि ५०,००० वर्ष अगाडि भारतीय उपमहाद्वीपमा विकास भएको थियो। आयुर्वेदको शरीरक्रिया विज्ञान अनुसार मानव शरीर त्रि-दोषहरु (वात, पित्त र कफ), सात धातु (रस, रक्त, मांस, मेद, अस्थि, मज्जा र शुक्र) र तीन मल (मूत्र, पुरिष र स्वेद) ले बनेको हुन्छ। यी कुनैको असन्तुलनको कारणले रोग उत्पन्न हुने विश्वास गरिन्छ।

यसका साथै मानव स्वास्थ्य सन्तुलन राख्न मन र आत्माको सन्तुलनमा पनि निर्भर गर्छ। आयुर्वेद शिक्षामा रोगहरुको निवारण विशेषत: जडीबुटीहरुको मिश्रण, धातु, खनिजहरुलाई मिसाएर बनाइने औषधी, आहार, योग र उचित जीवन पद्धतिबाट हुन्छ भनिएको छ। यसरी आयुर्वेदले व्यक्तिको स्वास्थ्यको रक्षा गर्छ र रोगी व्यक्तिको रोग निर्मूल वा न्यून गर्दछ।

परापूर्वकालदेखि लिखितरुपमा प्रचलनमा रहेको आयुर्वेद साँच्चिकै उच्चकोटीको विज्ञान हो। त्यसैले यो आज पनि पूर्वीय जीवन पद्धतिसँग अति निकट छ। आधुनिक चिकित्सा विज्ञानको आधुनिकीकरणको इतिहास पल्टाउने हो भने हामी धेरै पर होइन, अठारौँ शताब्दीतिर मात्र फर्कदा हुन्छ।

अठारौं शताब्दी पूर्व चिकित्सा विज्ञानलाई पनि केहीँ मिथक र सिद्धान्तहरुका आधारमा सोलोडोलो रुपमा जीव विज्ञानका रुपमा पढाइन्थ्यो। जब यसमा प्रयोगात्मक विधि (एक्स्पेरिमेंटल मेथोड) को उपयोग गर्न थालियो तब जीव विज्ञानमा व्याप्त रहेका गलत तथ्य न्यूनीकरण हुँदै गए भने र सिद्धान्तहरु परिष्कृत हुदै गए। फलस्वरूप जीव विज्ञान फैलिएर एउटा छुट्टै शाखा चिकित्सा विज्ञानको विकास भयो।

आयुर्वेदलाई पनि आधुनिक चिकित्सा विज्ञान जस्तो आधुनिकीकरण गर्नमा वैज्ञानिकहरु र एक्स्पेरिमेंटल मेथोडलाई समावेश गर्नु पर्दछ। आधुनिकीकरण गर्न वैज्ञानिकहरुको खोज र अनुसन्धानले नै गर्दा विश्वमा विभिन्न रोगका अचूक औषधी र खोपहरु निर्माण भएका छन्।

यस्ता खोज र अनुसन्धानहरु गर्न बहुराष्ट्रिय कम्पनीहरु, विभिन्न देशका सरकारहरु, शैक्षिक र प्रागिक क्षेत्रहरुले ठूलो धनराशी खर्च गरेका हुन्छन्। नयाँ आविष्कारका निम्ति लगानी मात्र होइन, वैज्ञानिकहरुको अनुसन्धान र विकासको लागि आवश्यक पर्ने नवीनतम सोच, इमान्दारिता र समर्पणको पनि उत्तिकै खाँचो हुन्छ। यी सबै कुरा समयानुकूल बनाउन देश वा कुनै ठूलो बहुराष्ट्रिय कम्पनीको सहयोग बिना असम्भव प्राय: छ किनकी अनुसन्धान गर्दा समय अत्यन्त खर्च हुने, बारम्बार परीक्षण र त्रुटि विधि अपनाउनु पर्ने हुँदा ठूलो धनराशी खर्च हुने गर्छ।

यसरी अध्ययन र अनुसन्धानबाट आउने सकारात्मक नतिजाहरुले आधुनिक चिकित्सा विज्ञानमा कैयौं कृत्रिम (सिन्थेटिक) पदार्थबाट विभिन्न औषधीहरु बनाइएका छन्। तर यी कृत्रिम पदार्थ आधारित औषधीहरुको सकारात्मक असर हुनुका साथै प्रतिकूल असरहरु पनि हुने गर्छन्। त्यसैले आजको विश्वमा अन्य प्रतिकूल असरहरु नदेखाउने प्राकृतिक (न्याचुरल) पदार्थहरुमा आधारित औषधीहरुमा आम मानिसहरुको व्यापक चासो बढ्न थालेको छ।

प्राकृतिक पदार्थहरुबाट औषधीहरुको खोजि गर्न हामीहरुले कहीँ न कहीँ वैकल्पिक चिकित्सा प्रणालीहरुमा भर पर्नु पर्छ। आयुर्वेद जस्ता उच्चकोटीको ज्ञान हाम्रो आवश्यक साधक बन्न सक्छ। आयुर्वेदमा उल्लेख भएका बोट-विरुवा र तिनीबाट हुने उत्पादनलाई हामी आफैले प्रवर्द्धन गर्न निक्कै जरुरी छ।

औषधी विकास गर्ने कम्पनीहरु सदा नाफामुखी हुन खोज्छन् र नाफा नहुने औषधी वा खोप विकास गर्न त्यति अग्रसर हुँदैनन्। त्यसैले हामीले आफ्नो रैथाने वा आफ्नो भूगोलमा हुने र ज्यादा चर्चामा नआएका विरुवाहरुको खोज वा अनुसन्धान गर्न लागि पर्नु पर्छ।

आयुर्वेदका अनुयायीहरु जे जस्तो उपचार विधि अपनाए पनि विशेषत: धर्मसँग जोड्ने र शदियौँदेखि एउटै तरिका मात्र अपनाउने गरेको देखिन्छ। जस्तो की उही ग्रन्थमा लेखेका वनस्पति खोजेर ल्यायो, सुकायो, कुट्यो, पिस्यो अनि पुनः उही ग्रन्थ अनुसार निश्चित रोग-व्याधि विरुद्ध प्रयोग गर्यो।

आज आएर हामीलाई के थाहा छ भने कुनै पनि जडीबुटीमा असंख्य रसायनिक तत्वहरु हुन्छन् र ती फरक-फरक तत्वहरुको आ-आफ्नै प्रभावकारिता हुन्छ। जस्तो की हिमाली क्षेत्रमा पाइने दुर्लव तर आयुर्वेदमा अत्यन्त उपयोग हुने पदमचाल भन्ने एक विरुवामा ५६ किसिमका जैविक तथा २० किसिमका अजैविक तत्वहरु भेटिन्छ्न्।

यी सबै तत्वहरुमा जम्मा ५ तत्वहरु (एलो-इमोडिन, क्रिसोफानोल, इमोडिन, फिजिसियन, रिन) अत्यधिक मात्रामा प्रभागकारी हुन्छन्। त्यस्तै उच्च हिमाली भेगमा पाइने अर्को जडीबुटी कुट्की वा कटुकीमा १२४ प्रकारका तत्वहरु भए तापनि मुश्किलले २० भन्दा कम तत्वहरु मात्र विभिन्न रोगहरु विरुद्ध लड्ने क्षमता राख्दछन्।

यसरी हामीले आयुर्वेदमा प्रयोग हुने जडीबुटी वा खनिजहरुमा पाइने तत्वहरुको पूरा पाश्र्वचित्र बनाउन, तिनलाई शुद्ध गर्ने कुशल निकासी विधिको विकास गर्न, विभिन्न रोगका विरुद्ध व्यापक परीक्षण गर्न र त्यसबाट प्राप्त हुने सकारात्मक वा नकरात्मक परिणामहरूको मूल्यांकन गर्न आवश्यक हुन्छ। कच्चा रुपबाट शुद्ध रुपसम्म शुद्धिकरण गरी उच्च गुणयुक्त औषधी बनाउन परम्परागत विधिहरू उपयोगी हुँदैनन् र आधुनिक वैज्ञानिक प्रविधिहरूको प्रयोग गर्नु आवश्यक हुन्छ।

यो गर्न सकेमा हामीले जडीबुटीमा पाइने फाइदाजनक तत्वहरु कृत्रिम रुपमा पनि उत्पादन गर्न सक्छौं। उदाहरणको लागि चिनियाँ परम्परागत चिकित्सा (हाम्रो आयुर्वेद जस्तो) मा उल्लेख भएको एक तितेपाती मुलकोवनस्पति ‘आर्टेमिसिया एन्नुआ’ बाट सन् १९७२ मा चिनियाँ औषधी रसायनशास्त्री तू युयूद्वारा ‘आर्टेमिसिनिन’ नामक तत्व शुद्धीकरण गरी औलोको विरुद्ध प्रयोग गरिन्।

यो अत्यन्त प्रभागकारी भएको हुनाले अहिले आर्टेमिसिनिन आधारित धेरै औषधीहरु बनेका छन् र ती औषधीहरु उत्पादन गर्ने कम्पनीहरु मुख्यतः बहुराष्ट्रिय हुनुका साथै निकै धनी पनि छन्। तू युयूको यो अविष्कार ज्यादा उपयोगी भएर नै सन् २०१५ मा उनले चिकित्सा विज्ञान क्षेत्रमा नोबेल पुरस्कार प्राप्त गरिन्।

आयुर्वेदिक ज्ञानको उपयोग तथा प्रवर्द्धन गर्न संसारमा अनगिन्ती आयुर्वेदिक अस्पतालहरु, आयुर्वेद क्याम्पसहरु र औषधी उत्पादन गर्ने कारखानाहरु छन्। यी सबैले औषधी उत्पादन गर्दा वैज्ञानिक विधि अपनाएको पाइदैन। यदि यसो गरेको भए अध्ययन अनुसन्धानबाट प्राप्त हुने नतिजाहरु स्वरूप अनुसन्धानात्मक लेखहरु प्रख्यात अन्तर्राष्ट्रिय जर्नलहरुमा प्रकाशित हुनु पर्थ्यो तर त्यो भएको पाइदैन।

अन्तर्राष्ट्रिय जर्नलहरुमा अनुसधान्त्मक लेखहरु प्रकाशन गर्न सक्नु भनेको आफ्नो अनुसन्धान तथ्यपरक र प्रमाणित छ भन्नु हो किनकी लेख प्रकाशन गर्नु पूर्व लेख धेरै विज्ञहरुद्वारा समीक्षा गर्ने, कमी-कमजोरी सच्याउने र प्रमाणीकरण गर्ने गरिन्छ। यति मात्र नभएर लेख प्रकाशन भएपछि पनि कसैलाई शंका लागेमा वैज्ञानिकहरुले प्रश्न उठाई लेख प्रकाशन गर्ने जर्नलमा टिका-टिप्पणी लेख्न सकिने प्रावधान हुन्छ।

अध्ययन अनुसन्धान बिना नै परापूर्वकालदेखि प्रचलित अप्रमाणित कच्चा ज्ञानको उपयोग गरी धार्मिक विश्वासको आधारमा अन्धाधुन्ध औषधी बनाउने र बेच्ने प्रवृतिले आयुर्वेदको विकास नहुनु मुख्य कारण हो। यसको जल्दो बल्दो उदाहरण पतञ्जली आयुर्वेदले बनाएको कोरोना महामारी विरुद्धको ‘कोरोनिल’ र ‘अवसरी’ जो अश्वगन्ध, गुर्जो र तुलसीको समिश्रणबाट बनेका थिए।

‘कोरोनिल’ र ‘अवसरी’ले कोरोनालाई दुई हप्ता मैं निको पार्न सक्छन् भनेर बजारमा ल्याएको केहीँ दिनमै भारत सरकारले तिनको बेचबिखनमा पूर्ण रोक नै लगायो। बिना कुनै क्लिनिकल परीक्षण पतञ्जली आयुर्वेदले यसरी औषधी बजारमा ल्याउनु हाँस्यास्पद मात्र नभएर अल्पज्ञानको प्रदर्शन हो।

पतञ्जली आयुर्वेदले यस्तो हतारमा औषधी बनाउनुको सट्टा आफ्नो अथाह धनराशीको केहीँ अंश खर्च गरी विभिन्न क्षेत्रका वैज्ञानिकहरुलाई कोरोना विरुद्धको प्रभावकारी औषधी बनाउने काम सुम्पनु पर्थ्यो। यसबाट आयुर्वेद ज्ञानको व्यापक उपयोग हुनुका साथै प्रचूर प्रचार-प्रसार समेत हुन्थ्यो।

वर्तमान विश्व कोरोना महामारीले ग्रसित भएको र यस रोग विरुद्धको औषधी वा खोपको सख्त माग भैरहेको बेला आयुर्वेदसँग सम्बन्धित व्यक्ति, सरकारी र बहुराष्ट्रिय कम्पनीहरुले किन उपयुक्त अध्ययन-अनुसन्धान गरी तथ्य परक ज्ञान प्रवर्द्धन नगर्ने?शदियौंदेखि व्याप्त आयुर्वेदलाई वैज्ञानिक र बहुपयोगी बनाउने की उही पुरानो कर्मकाण्डी विधि अपनाइ रहने?


Your Views
Related News