असोज १५, २०७७ काठमाडौं : नेपालमा धुमपान सेवन गर्ने प्रयोगकर्ताहरूको संख्या घटेको छ। पछिल्लो ६ वर्षको अवधिमा नेपालमा धुमपान प्रयोगकर्ता घटेका हुन्।

तर, यही अवधिमा मदिरा सेवनकर्ता भने बढेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सार्वजनिक गरेको नेपालमा नसर्ने रोगसम्बन्धी जोखिम तत्वको सर्वेक्षण (स्टेप्स सर्वेक्षण)२०२० सर्वेक्षणले नेपालमा धुमपान गर्ने घटेको, तर मध्यपान गर्ने मानिसको संख्या बढेको देखाएको हो। देशभरका १५ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिहरूमा गरिएको सो सर्वेक्षणमा पाँच हजार ५९३ जना सहभागी भएका थिए। सर्वेक्षणअनुसार सन् २०१३ मा नेपालमा सूर्तिजन्य पदार्थ सेवनकर्ता ३०.७ प्रतिशत थिए।

तर, २०१९ मा गरिएको सर्वेक्षणले नेपालमा सूर्तिजन्य पदार्थ सेवनकर्ता २८.९ प्रतिशतमा झरेको देखाएको छ। सन् २०१३ मा १८.४ प्रतिशतले धुमपान गर्दथे। सन् २०१९ मा आउँदा धुमपान प्रयोगकर्ता १७.१ प्रतिशतमा झरेको छ। तर यो अवधिमा धुमपानको सेवनकर्तामध्ये पुरुषको संख्या बढेको र महिलाको संख्या घटेको छ। सर्वेक्षणका अनुसार सन् २०१३ मा २७ प्रतिशत पुरुष धुमपान प्रयोगकर्ता थिए। सन् २०२८ मा धुमपान प्रयोगकर्ता पुरुष २८ प्रतिशत पुगेको छ। धुमपान प्रयोगकर्ता महिलाको संख्या भने ६ वर्ष अघिको तुलनामा अहिले घटेको छ। सन् २०१३ मा १०.३ प्रतिशत रहेकामा सन् २०१९ मा आउँदा सो संख्या घटेर ७.५ प्रतिशतमा झरेको हो।

पाँच वर्षको अवधिमा गरिने यो सर्वेक्षणमा पाँच हजार पाँच सय ९३ जनाले सहभागिता जनाएका थिए। हाल सूर्तिजन्य पदार्थ (धुमपान वा धुँवारहित) सेवन गर्ने २८.९ प्रतिशत रहेका छन्। जसमध्ये पुरुष ४८.३ प्रतिशत र ११.६ प्रतिशत महिलाले सूर्तिजन्य पदार्थ सेवन गर्छन्। यस्तै, २४.१ प्रतिशतले दैनिक सूर्तिजन्य पदार्थ सेवन गर्दै आएका छन्।  जसमा पुरुष ४०.१ र महिला १० प्रतिशत रहेका छन्। यसैगरी, १७.१ प्रतिशतले धुमपान गर्दै आएको सर्वेक्षणले देखाएको छ। जसमध्ये १३.३ प्रतिशतले दैनिक धुमपान सेवन गर्ने गरेका छन्।

नेपालमा १४.८ प्रतिशत मानिसले चुरोट अर्थात हातले बेरेको चुरोट सेवन गर्ने गरेको पाइएको छ। धुवाँरहित सूर्तिजन्य पदार्थ सेवन गर्नेको संख्या १८.३ प्रतिशत रहेको छ भने १५.३ प्रतिशतले दैनिक धुँवारहित सूर्तिजन्य पदार्थ सेवन गर्ने गरेका छन्। ०.८ प्रतिशत पुरुषहरूले दैनिक रुपमा विद्युतीय चुरोट सेवन गर्दै आएको सर्वेक्षणले देखाएको छ। रक्सी खाने बढे नसर्ने रोगको कारक तत्व मानिने मदिराजन्य पदार्थ (अल्कोहल) प्रयोगकर्ता यो छ वर्षको अवधिमा बृद्धि भएको छ। सर्वेक्षणका अनुसार सन् २०१३ मा १७. ४ प्रतिशतले अल्कोहल सेवन गर्दथे भने सन् २०१९ मा सेवनकर्ताको प्रतिशत बढेर २०.८ प्रतिशत पुगेको छ। यो अवधिमा पुरुष र महिला दुबै सेवनकर्ताको प्रतिशत बढेको छ। सर्वेक्षणमा बानी व्यवहार सम्बन्धि मदिरा, आहार, शारीरिक क्रियाकलाप विवरणहरू संकलन गरिएको थियो। मोटोपन र उच्च रक्तचापको व्यापकता पत्ता लगाउन उचाइ, तौल र रक्तचापजस्ता शारीरिक मापन गरिएको थियो।

 

READ MORE NEWS

चाडपर्व लक्षित किनमेलले सीमावारीका बजार चलायमान
असोज १५, २०७७ विराटनगर : कोरोना महामारीका कारण भारतसँगको सीमा नाका बन्द भएपछि वारीपटीको बजार बिस्तारै गुल्जार हुनथालेका छन्‌। सिमानाका नाका बन्द भएपनि सीमावर्ती नेपालीको किनमेल गर्ने प्रवृत्तिपनि फेरिएको छ।

जसका कारण पूर्वी नेपालका सीमावर्ती ठूला शहर विराटनगर,भद्रपुर,काकडभिट्टाका बजार क्रमश: चलायमान हुन थालेको हो। लामो समयको लकडाउन निषेधाज्ञाका कारण व्यापार-व्यवसाय ठप्प भएको यी शहरमा अहिले चहलपहल ह्वातै बढेको छ। सामान्य अवस्थामा सीमावर्ती बजारमा नेपाली उपभोक्ता किनमेलमा लागि जाने गरेकाले प्राय: यी शहरमा नगन्य व्यापार हुने गर्थ्यो। पूर्वी नाका काकडभिट्टाबाट पश्चिम बंगालका पानीट्याकी र सिलिगुडीसम्म नेपाली उपभोक्ता किनमेल लागि पुग्ने गर्थे। त्यसैगरी, झापाकै सदरमुकाम भद्रपुर लगायतका क्षेत्रका नेपाली उपभोक्ता भारतीय बजार विहार राज्यको गलगलिया,ठाकुरगंज जाने गरेका थिए। जसका कारण सबै भन्दा धेरै त्यसको मार विराटनगरको बजारले खेप्दै आएको थियो।

तर अहिले अवस्था फेरिएको छ। सीमा सिल भएसँगै नेपाली उपभोक्ता स्थानीय बजारमा रोकिएका छन्‌। जसका कारण स्थानीय बजारहरू लामो समयपछि गुल्जार हुने थालेकाछन्‌‌। नेपाली उपभोक्ताले नेपाली उत्पादन खरिद गर्ने क्रम बढेको छ। नेपाली रुपैयाँ भारत जानबाट समेत रोकिन पुगेको छ। लयमा फर्कँदै सीमावारीका बजार नजिकिँदो दुई ठूला चाडपर्वसँगै बजारमा मानिसहरूको सामान किनेको भीड बढेको छ। सीमावर्ती क्षेत्रका मानिस किनमेलका लागि भारतको जोगबनी बजार जाने क्रमले विगतका वर्षमा विराटनगरको व्यपार–व्यवसाय समामान्य अवस्थामा रहने गरेको थियो। तर यो वर्ष कोरोनाको महामारीका कारण सीमा बन्द भएकाले नेपाली उपभोक्ता किनमेलका लागि स्वदेशी बजार विराटनगरमै भर पर्न थालेका छन्।

जसकारण बजार गुल्जार बनेको हो। विराटनगरका मेनरोडका कपडा व्यापारी पंकज शर्माले लकडाउन र निषेधाज्ञाका कारण ठप्प बनेको व्यापार व्यवसाय पुरानै लयमा फर्किन थालेको बताए। ‘कोरोना महामारीका कारण सीमा सिल गरिएकाले सिमापारीका बजारमा नेपाली उपभोक्ता किनमेलका लागि जाने क्रम रोकिएको छ’, व्यापारी शर्माले भने, ‘नजिकिँदै गरेका दुई ठूला चार्डपर्वका लागि नेपाली उपभोक्ताले किनमेलमा लागि स्वदेशी बजार विराटनगरमै भर पर्नुपरेको अहिलेको अवस्था छ।’  शर्माका अनुसार विगतका वर्षमा दशै र तिहार लक्षित सामान किनमेलमा लागि नेपाली उपभोक्ता भारतीय बजार जोगबनीको भर पर्ने गरेका थिए। जसका कारण विराटनगरको व्यापार व्यवसाय खुम्चिएर ४० प्रतिशतमा सीमित हुने गरेको थियो। यो वर्ष भने अवस्था फेरिएको उनको अनुभव छ। विराटनगरकै मेनरोडमा रहेको तयारी गार्मेन्ट न्यू अम्बे स्टोरका सञ्चालक गौतम चेलले दसैंतिहार र छठजस्ता चाड नजिकिएसँगै खुद्रा व्यवसायीमा आशाको सञ्चार पलाएको बताए। उनले करिब ६ महिना लामो लाकडाउन र निषेधाज्ञाको अवधिको समयको व्यापार व्यवसायमा भएको नोक्सानीलाई नजिकिएका चाडबाडले भरथेग गर्ला भन्ने विश्वास रहेको बताए। ‘

नेपाल–भारत सीमा सिल भएका कारण यो वर्ष वारिपट्टिको बजार गुल्जार हुदैछ,’ सञ्चालक चेल भन्छन्‌, ‘नेपाली ग्राहक विराटनगर पारिको जोगबनी बजार जान पुर्ण रूपमा अहिले रोकिन पुगेका छन्‌। खास गरी कपडा, तयारी कपडा, जुत्ताचप्पल र किरानाका पसलको व्यवसाय मौलाएको छ।’ विराटनगरका धरै जसो व्यपारीले सीमापारि मान्छे नजाँदा र सीमा बन्द हुँदा सीमावारीको व्यापार राम्रो भएको अनुभव गरेका छन्‌। सरकारले कोरोना महामारीमा भारतसँगको सीमा नाका बन्द गर्दाको सकारात्मक असर नेपाली बजारमा देखिन थालेको छ। विराटनगर जस्तै झापाको सदरमुकाम भद्रपुरको बजारमापनि किनमेल गर्नेको भीड बढेको छ। अर्को सीमावर्ती बजार काकडभिट्टा,धुलाबारी,दमक लगायतका बजारमापनि मानिसको चहलपलह ह्वातै बढेको छ।

प्राय सबै पसलमा किनमेल गर्नेको भीड लागको व्यापारीहरूको भनाई छ। रोकियो कालोबजारी प्रदेश १ का सीमावर्ती नेपाली बजारमा पनि व्यापार बढेको छ। काकडभिट्टा,भद्रपुर,धुलाबारी,विर्तामोड,विराटनगर,रंगेली ,सुनसरीको भेन्टाबारी क्षेत्रका बजारमा किनमेल बढेसँगै कालोबजारी पनि रोकिएको उपभोक्ताहरू बताउँछन्‌। ‘सियोदेखि ठूल्ठूला मेसिनरी सामानको आयात हुँदा ठुलो रकमको दैनिक कारोबार भारतमा हुन्थ्यो’, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले लकडाउन व्यापारको अनुभव सुनाए, ‘भारतीय सामान ८० प्रतिशत कालोबजारी भएर आउँथ्यो। अहिले त्यो ठप्प छ। ठूला व्यापारीले कर तिरेर ल्याउने भएकाले राजस्व पनि बढेको छ।’  सस्तो पाउने भन्दै नेपाली उपभोक्ता दैनिक उपभोग्यका खाद्यान्न किन्न जोगबनी जाने गरेका थिए। विराट व्यापार संघको अध्यक्ष सुजन थापाले स्वदेशी खाद्यान्न उद्योग फस्टाइरहेको बताए। खाद्यान्नको थोक बिक्री ७० प्रतिशतले र खुद्रा बिक्री ४० प्रतिशतले बढेको उनको भनाइ छ। ‘डाबर, लिभरका सामान नेपालमै सस्तो पाइन्थ्यो। उपभोक्ताले भारतमा गएर किनेर ल्याउँथे।

नेपाली चियापत्ती नै राम्रो भए पनि भारतीय किन्थे। वनस्पति घीउ नेपालबाटै जान्थ्यो। उता गएर ल्याउँथे’, थापाले भने, ‘अहिले स्वदेशी उद्योग पनि फस्टाएका छन्। उपभोक्ता पनि नेपाली उत्पादनमा बानी परिरहेका छन्।’ उनका अनुसार विगतमा खाद्यान्न मात्र दैनिक पाँच करोड रुपैयाँ जतिको आयात हुन्थ्यो। लकडाउनका बेला सेन्टर मल र भाटभटेनीले खाद्यान्नमा बजार नियन्त्रण गरेर मद्दत गरेको बताए। विराटनगरस्थित भाटभटेनीका प्रबन्धक विनोद भट्टराईले लकडाउनका बेला भाटभटेनीले कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गरेको दाबी गरे। ‘भूकम्प र नाकाबन्दीका बेला भएको चर्को कालोबजारीका बेला पनि भाटभटेनीले सेवा गरेको थियो’, उनले भने, ‘त्यही अनुभवले लकडाउनका बेला पनि बजारलाई मनपरी गर्नबाट रोकेका छौं।’


Your Views
Related News