भारत सरकारले कोरोना भाइरस (कोभिड– १९) नियन्त्रणका लागि गरेको लकडाउन क्रमशः खुलाउँदै लगेको छ । लामो समयसम्म लकडाउन रहिरहँदा नागरिकको जीवनयापनमै समस्या भएपछि भारतले विभिन्न चरणमा लकडाउन खुलाउन थालेको हो ।

यद्यपि भारतमा कोरोना महामारी नियन्त्रणभन्दा कोसौँ टाढा छ । हरेक दिन करिब एक लाख हाराहारी नयाँ संक्रमित थपिइरहेका छन् । नयाँ संक्रमित बढिरहे पनि सर्वसाधारणको मागअनुसार स्वास्थ्य मापदण्ड अपनाएर आगामी १५ अक्टोबरदेखि थप नयाँ क्षेत्र पनि खुल्ने भएका छन् । यसअघि यातायात, रेल सेवा, बजार, उद्योगधन्दा खुलिसकेका छन् । सरकारको निर्णयअनुसार १५ अक्टोबरदेखि इन्टरटेन्मेन्ट क्षेत्र र पार्क ५० प्रतिशत क्षमतासहित खुल्ने भएका हुन् । यी दुवै क्षेत्रमा क्षमताको ५० प्रतिशत दर्शकले मनोरञ्जन लिन पाउनेछन् ।

सरकारले अनलक–५ को गाइडलाइनअनुसार कार्य गर्नु भनेको छ । पछिल्लोपटक भन्दा अनलक– ५ मा धेरै राहत प्रदान गरेको महसुस सर्वसाधारणले गरेका छन् । सरकारले मल्टिप्लेक्स खुल्ने सूचना जारी गरेसँगै बलिउड क्षेत्रमा खुसी छाएको छ । उनीहरू यो क्षेत्र पुनः चलायमान हुने विश्वासमा छन् ।
मल्टिप्लेक्स, थिएटर तथा सिनेमामा कुल क्षमताको ५० प्रतिशत मात्र दर्शक राख्न पाइनेछ । यसका लागि सरकारले एसओपी जारी गर्नेछ । बलिउडका नायक अभिषेक बच्चनले अहिलेसम्मकै खुसीको समाचार सुनेको जनाएका छन् । ‘सम्भवतः यो साताकै सबैभन्दा राम्रो समाचार मैले सुन्न पाएँ, अब मल्टिप्लेक्स खुल्ने भएको छ,’ अभिषेकले बुधबार राति ट्विटरमा लेखेका छन् ।

यो वर्ष थिएटरमा रिलिज भएको अन्तिम फिलिम नै इरफान खानको अंग्रेजी मिडियम थियो । यो १३ मार्चमा रिलिज भएको थियो । गत वर्ष बलिउडमा दुई सय ५० फिल्म रिलिज भएका थिए भने पाँच हजार ६ सय करोड भारुको व्यापार भएको थियो । १९ वटा फिल्मले एक अर्ब भारु कमाएका थिए । सन् २०२० मा कोरोना महामारी सुरु भयो ।
मार्चको दोस्रो सातासम्म दर्शक हलमा पुगेका थिए । त्यसयता डिजिटल मिडियममा दर्शकले फिल्म हेर्दै आइरहेका छन् । तर, दर्शकले डिजिटल फिल्म हेर्न त्यति रुचाएका छैनन् ।

स्विमिङ पुल पनि खुल्दै
सरकारले खेलाडीको प्रशिक्षण तथा स्विमिङ पुलसमेत खुलाउने तयारी गरेको छ । प्रशिक्षण तथा स्विमिङका हकमा खेलकुद मन्त्रालयले एसओपी जारी गर्नेछ । स्कुल तथा कोचिङ संस्थाको हकमा राज्य सरकारसँग अनुमति लिनुपर्नेछ । यसमा परिवारको मञ्जुरी हुनुपर्छ । यदि परिवारले आफ्ना बालबच्चालाई विद्यालय पठाउन नचाहे त्यसमा दबाब कसैले दिन पाउनेछैन ।

व्यापार–व्यवसाय पूर्ण रूपले सञ्चालन गर्न अर्थ मन्त्रालयले छिटै गाइडलाइन जारी गर्ने भएको छ । स्कुल, कोचिङ क्लास र शैक्षिक संस्था खुलाउन राज्य सरकारले १५ अक्टोबरमा एसओपी बनाउनेछ । अनलाइन कक्षा लिइराखेका विद्यार्थीले अभिभावकको निर्णयअनुसार चल्नुपर्ने हुन्छ । सरकारले सामाजिक, शैक्षिक संस्था, सांस्कृतिक, धार्मिक, राजनीति समारोहमा सयजनासम्म बस्न पाउने नियम बनाएको छ । यो संख्याभन्दा बढी भए तत्कालै प्रशासनिक कारबाही हुनेछ ।

नयाँ गाइडलाइनअनुसार अवस्था हेरी दुई सय जनासम्म समारोहमा जमघट हुन पाउनेछन् । यद्यपि सरकारले अनलक–५ मा सहुलियत दिए पनि महाराष्ट्रमा ३१ अक्टोबरसम्म लकडाउन चल्नेछ । तर, महाराष्ट्रले ५ अक्टोबरदेखि होटेल, रेस्टुराँ तथा बार ५० प्रतिशत खुलाउने तयारी गरेको छ ।

कर्णाटकमा १५ अक्टोबरसम्म स्कुल र कलेज बन्द रहनेछन् । यद्यपि सरकारले बिस्तारै लकडाउन खुकुलो बनाउने निर्णय गरे पनि ठूलो समस्या स्कुल तथा कलेज नै हो । गृह मन्त्रालयले सम्बन्धित राज्यका स्कुल तथा कलेजको व्यवस्थापनसँग वार्तालाप गरिरहेको छ ।

कोभिड– १९ को समयमा विद्यार्थीलाई कलेज वा स्कुल जानैपर्ने दबाब दिन नहुने गृह मन्त्रालयको धारणा छ । गृह मन्त्रालयले अनलाइन कक्षा नै यो समयमा प्रभावकारी भएको दाबी गरेको छ । यसअघि अनलक–४ अनुसार स्कुल, कलेज तथा शैक्षिक संस्था ३० सेप्टेम्बरसम्म बन्द रहने बताइएको थियो ।

READ MORE NEWS

दैनिक धुम्रपान भन्दा सूर्तिजन्य पर्दाथ सेवन गर्ने संख्या बढ्दो


 

काठमाडौं-  नेपालमा हाल दैनिक रुपमा धुम्रपान गर्ने भन्दा सूर्तिजन्य पर्दाथ सेवन गर्नेहरुको संख्यामा बृद्धि भएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले बुधबार सार्वजनिक गरेको नसर्ने रोग सम्वन्धि  जोखिम तत्वको सर्वेक्षण ९स्टेप्स सर्वेक्षण०ले यस्तो तथ्याकं देखाएको हो ।

अनुसन्धान परिषद्ले फेब्रुअरी देखि मे २०१९ सम्म देशभरका १५ देखि ५९ बर्ष उमेर समुहका व्यक्तिहरुमा जनसांख्यिक र बानीब्यहोरा सम्बन्धी (सुर्तिजन्य पदार्थ, मदिरा, आहार, शारीरिक क्रियाकलाप) विवरणहरु संकलन गरिएको  थियो । जसमा हाल दैनिक सुर्तिजन्य पदार्थ सेवन गर्नेको प्रतिशत २४ दशमलव १ रहेको छ भने दैनिक धुम्रपान सेवन गर्नेको प्रतिशत १३ दशमदव ३ रहेको छ । जसमध्ये  दैनिक सुर्तिजन्य पदार्थ सेवन गर्ने महिला १० दशमलव ० र पुरुष ४० दशमलव १ प्रतिशत रहेका छन् ।

त्यस्तै हाल दैनिक धुम्रपान सेवन गर्ने महिला र पुरुष १३  दशमलव ३ प्रतिशत छ । जमध्ये २० दशमलव ८ प्रतिशत पुरुष र ६ दशमलव ७ प्रतिशत महिला रहेका छन् ।

त्यस्तै हाल सुर्तिजन्य पदार्थ (धुम्रपान वा धुँवारहित) सेवन गर्ने कुल २८ दशमलव ९  प्रतिशत छ भने  धुम्रपान सेवन गर्ने  १७ दशमलव १ प्रतिशत रहेको तथ्याकंमा उल्लखे गरिएको छ ।

परिषद्ले गरेको सो सर्वेक्षणमा ५ हजार ५ सय ९३ जना वयस्कहरु सहभागी भएका थिए र समग्रमा सहभागिता ८६ दशमलव ४५ ले जनाएका थिए ।

सूर्तिजन्य पदार्थ तथा  धूम्रपान सेवन मानव स्वास्थ्यको लागि अत्यन्त हानिकारक भएको र मानव जीवनको आर्थिक, सामाजिक, सांस्कृतिक क्रियाकलापमा समेत नकारात्मक असर पार्ने भएकोले सो कार्यलाई नियन्त्रण गरी सर्वसाधारण जनताको स्वास्थ्य, सुविधा र आर्थिक हितको अभिवृद्धि गर्न सूर्तिजन्य पदार्थको आयात, उत्पादन, बिक्री, वितरण तथा सेवन गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण तथा नियमन गर्ने नेपालको अन्तरिम संविधान, २०६३ को धारा ८३ को उपधारा (१) बमोजिम संविधान सभाले यो ऐन बनाएको छ ।  सूर्तिजन्य पदार्थ तथा  धूम्रपान सेवन गर्दा स्वयमको स्वास्थ्य लगायत  सिंगो राष्ट्रलाई घात पुग्छ भन्ने थाहा पाउँदा पाउँदै पनि दैनिकरुपमा सूर्तिजन्य तथा  धूम्रपान सेवन गर्ने व्यक्तिहरुको संख्या बढ्दो क्रममा छ ।

“सूर्तिजन्य पदार्थ सूर्ति सेवन भन्नाले खैनी, गुट्खा, सूर्ति वा यस्तै प्रकारका अन्य पदार्थ मुखमा राख्ने, त्यस्तो पदार्थको नस लिने वा सेवन गर्ने काम सम्झनु पर्छ ।

त्यस्तै धूम्रपान भन्नाले चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड, सूर्ति वा यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्ने हो ।


Your Views
Related News