विद्यालयस्तरका बालबालिकाको उमेर जीवनको एक महत्त्पूर्ण आधारशीला हो। यस उमेरमा बसेका धारणाले जिन्दगीभर चीरस्थायी हुन्छन् ।

यो उमेरका बालबालिकालाई हामीले जति धेरै र राम्रा धारणाको विकास गर्न सक्याैँ बालबालिकाको जीवनको सफलता पनि यसैले निर्धारण गरेको हुन्छ।

कुनै पनि वस्तुप्रति बालबालिकाको धारणा समाज, घर परिवार, साथी, शिक्षक, किताब, टेलिभिजन तथा इन्टरनेट लगायत उनीहरूले देखेका कुराहरू आदि अनुसार निर्धारण हुन्छ। बालसाहित्य बालबालिकालाई नैतिक र चरित्रवान जस्ता गुण विकास गर्न र त्यसप्रतिको धारणा विकास गर्न बढी उपयोगी हुन्छ।

बजारमा निस्केका सबै बालसाहित्य भनेर लेखेका किताबले बालबालिकालाई उपयुक्त धारणाको विकास गर्छन् भन्‍ने छैन। कतिपय किताबहरू बालबालिकालाई पात्र बनाएर उनीहरु दुर्घटनामा परेका, बा-आमा मरेर दुःख पाएका जस्ता कारुणिक कथा, कविता पाइन्छन्।

यस्ता खालका बालसाहित्यले बालबालिकालाई डर, त्रास र मलाई पनि यस्तो पर्‍यो भने भन्‍ने खालको शंका उत्पन्न गराइदिन्छ, जसले गर्दा बालबालिकाको मानसिक विकासमा असर पार्दछ। बालसाहित्यका छनौट गर्दा विभिन्न पक्षको ध्यान दिइ साहित्यका किताब छनौट गर्नु उपुयुक्त हुन्छ:

भाषिक तह


बालबालिकाको उमेर तथा सिकाइको तह अनुसारको भाषाको प्रयोग भएका बालसाहित्य छनोट हुनुपर्दछ। कतिपय अभिभावको, किताब किन्दा यति पातलो र थोरै लेखेको किताब के किन्नु भन्ने मानसिकता पनि हुन्छ। आफ्नो बच्चाको पढाइको स्तर कुन छ? बच्चाले कति अक्षरसम्मका किताब पढ्न सक्छ ? बच्चाको शव्दभण्डार अनुरुपको पुस्तक हो कि होइन ?

वाक्यको संरचना उपयुक्त छ वा छैन? भन्ने कुरा पुस्तकको छनौट गर्दा ध्यान दिनुपर्छ । यदि यस्ता कुरा ध्यान दिन सकिएन भने बालबालिकाको पुस्तकप्रतिको वितृष्णा बढेर जाने हुन्छ।

यस्तै बालबालिकाको भाषिक स्तर वृद्घिसँगै किताबको आयाम पनि बिस्तारै बढाउनु पर्दछ । अतः बालबालिकाको पढाइको तह र भाषिक क्षमताको स्तरलाई राम्ररी बुझेर बालसाहित्यका किताब छनौट गर्नु आवश्यक हुन्छ ताकी क्षमता भन्दा माथिका किताबले साहित्यप्रतिको वितृष्णा पैदा नगरोस्।

पुस्तकको आयाम


बालबालिकाहरू पुस्तकको आयाम कत्रो छ, मोटो छ कि पातलो छ भन्ने कुरा पुस्तक छुनु अघि नै सोच्दछन् । पातला किताबहरू प्रायः बालबालिकाका रोजाइमा पर्दन् । बालसाहित्य पठनमा अभ्यस्त बालबालिका भने बिस्तारै मोटा किताबहरूप्रति आकर्षित हुँदै जान्छन्।

कतिपय बालबालिका फराकिला र ठूला किताब मन पराउँछन् भने कतिपय लम्बाइ र चौडाइ र मोटाइका आधारमा किताब पढ्न मनपराउँछन्। बालबालिकाको पठन क्षमता र पठनको रुचि अनुसार साहित्यिक पुस्तकको आयाम हेरर पुस्तक छनौट गर्नुपर्दछ । पुस्तकको

साजसज्जा


विशेष गरेर कक्षा ८ सम्मका बालबालिकाहरू चित्र हेरेर किताबभित्रको विषयवस्तु चयन गर्दछन्।उनीहरू आकर्षक चित्र भएका र रङ्गिन तथा ठूला किताब मन पराउँछन् । किताबमा प्रयोग भएको कागजको गुणस्तर हेरेर किताब पढ्न मन पराउँछन्।

त्यसैले बालसाहित्यमा चित्रको प्रयोग विषयवस्तुलाई प्रष्ट पार्ने रङ्गीन र आर्कषक हुनु आवश्यक छ । बालबालिका चित्रका आधारमा किताबप्रति आकर्षित हुने हुँदा किताबमा चित्रको प्रयोग के कति प्रतिशत भएको छ, भन्ने कुराको पनि विशेष ख्याल गर्नुपर्दछ ।

जस्तो आकार, इकार नसिकेका सग्ला अक्षर मात्र पढेका बच्चालाई पनि किताब पढ्न लगाउन सकिन्छ । यस्ता किताबमा पेजभरिका रङ्गीन चित्र भएका तर एक पेजमा छोटा एक वाक्य भएका किताब पढ्न लगाउन पनि सकिन्छ । यस्ता सामग्रीले बालबालिकालाई भाषा साहित्यको सिकाइसँगै विविध धारणाको विकास गर्न ठूलो सहयोग गर्दछ ।

बालबालिकाको रुचि


दस/बाह्र वर्षसम्मका अधिकांश बालबालिका कथा पढ्न मनपराउनुका साथै सानो आयाम र लयात्मक हुने भएकाले कविता पढ्न मनपराउँछन्।

सामान्यतयाः तेह्र/चौँध वर्षका बालबालिकाहरू मध्ये केटीहरू कथाहरू, पढ्न मन पराउँछन् भने केटाहरू साहसिक तथा प्रतिष्ठित व्यक्तित्वहरूका जीवनी पढ्न मनपराउँछन् ।

अतः अभिभावक तथा शिक्षकले बालबालिकाको मनोविज्ञानलाई मध्यनजर गरी उपयुक्त बालसाहित्य छनोट गरी पठन संस्कृतिको विकास गर्नु आवश्यक हुन्छ। बिस्तारै बालबालिकामा पठनप्रतिको चाख लाग्न थाल्छ अनि उनीहरू विषय विविधतातिर आफै रुची बढाउँदै जान्छन् ।

विधाभित्रको भाव वा विषयवस्तु छनौट


विषयवस्तु छनौट हो। विधाको भाव वा विषयवस्तु सामाजिक, शैक्षिक, वातावरणीय, मनोवैज्ञानिक , साँस्कृतिक, खेलकुद आदि हुन्छन् । विषय विविधताको ज्ञान दिने उद्देश्यले नै बालबालिकालाई साहित्य पुस्तक पढ्न सिकाउँछौँ।

यस्ता विषयवस्तु समेटिएका साहित्यिक विधा पढ्दा बालबालिकाले आफ्नो स्थान वा अस्तित्व त्यस विषयवस्तुभित्र चरित्रमा खोज्न थाल्छ । सोही अनुसार व्यवहार परिवर्तन गर्ने हुँदा उनीहरूको रुची अनुसारको विषयवस्तु छनौट गर्नु आवश्यक हुन्छ।

विस्तारै पढ्ने बानी भएपछि एक विषय क्षेत्रमा केही न केही अन्य क्षेत्रका विषय पनि मिश्रित हुने हुँदा पछि विषय विविधतातिर पनि बालबालिकाको रुची बढ्दै जान्छ । विषयवस्तु छनौटसँगै बालबालिका लागि साहित्यको छनौट गर्दा भाव पक्षलाई पनि विशेष ध्यान दिनु आवश्यक छ ।

साहित्ययिक विधामध्ये कथालाई नै उदाहरण लिएर हेर्दा श्रवण कुमारको कथा बालबालिकाले पढ्दा उनीहरूले आफूलाई नै श्रवण कुमार हो भन्ने अनुभूति गर्दछन्। पछि कथाको अन्त्य दुखान्त अर्थात वियोगान्त भएको कुरालाई स्वीकार्न सक्दैनन् जसले गर्दा यस्ता साहित्यले मनोवैज्ञानिक असर पार्दछ । यसरी हेर्दा बालबालिकालाई विषयवस्तुको बीचमा करुणा, दया, माया आउने भाव व्यक्त गरेका विषय राखिएता पनि विषवस्तुको अन्त्य सुखान्त हुनुपर्छ ।

कतिपय बाल साहित्यमा बालबालिकाका समस्या र दुःख मात्रै देखाइ दिँदा उनीहरूमा नकारात्मक असर पर्न जान्छ। बाल पात्र बनाएर लेख्दैमा बाल साहित्य हुँदैन्। साहित्यले दिने परिणाम बालबालिकाको मानसिक स्फूर्ति बढाउने हुनुपर्दछ। बालसाहित्यबाट बालबालिकाहरूलाई मानसिक बोझ पर्ने, समस्या थुपार्ने काम गर्नु हुँदैन ।

बालबालिकाका समस्याका कथा त शिक्षक तथा अभिभावकले पढ्ने हो। बालबालिकाले आफ्ना समस्या पढेर समस्याका समाधान गर्न सक्दैनन्। त्यसैले अधिकांश बालसाहित्य अझ बाल कथाहरू बालबालिकालाई पात्र बनाएर उनीहरूकै जीवनमा घटेका घटनालाई कथा बनाएर लेखिन्छ जस्ले बालबालिकालाई मनोवैज्ञानिक असरपर्छ।

बाल साहित्यको छनौट गर्दा बालसुलभ, बालोपयोगी, मनोरञ्जनात्मक हुनुपर्दछ। अतः अभिभावक तथा शिक्षकले बालबालिकालाई बालसाहित्यका पुस्तक छनौट गर्दा विषयवस्तु वा भाव पक्षलाई शुक्ष्म अध्ययन गरी आफूले पढेर मात्रै छनौट गर्नु पर्दछ।


Your Views
Related News