बिष्णु माया अधिकारी । नर्सिङ भनेको त्यो सेवा हो, जसले व्यक्तिको स्वास्थ्य रक्षा गर्ने, स्याहारसुसार गर्ने, रोगबाट बचाउने र पुनस्र्थापना गर्ने कार्य गर्दछ। यस्तो कार्य गर्नका लागि सैद्धान्तिक र व्यवहारिक दुवै ज्ञान प्राप्त गरेका व्यक्तिहरू नर्स हुन्।

 

 

जसले सेतो पहिरनमा अस्पताल वा स्वास्थ्यसँग सम्बन्धित निकायमा रात दिन सेवा प्रदान गर्दै आइरहेका छन्। शुरुमा नर्सिङ पेशालाई दुखी र समाजमा त्यति राम्रो रूपमा लिने गरिदैन्थ्यो। त्यस बेलाको सामाजिक परिवेश छोरा बिग्रिए कमर्स, छोरी बिग्रिए नर्स भन्ने खालको थियो।

 

 

तत्कालीन समयमा छोरी बुहारीलाई घरेलुु काममा मात्र लगाइन्थ्यो। उनीहरुले घर बाहिर गएर काम गर्नु भनेको त्यति राम्रो मानिदैनथ्यो। त्यस्मा पनि नर्सको काम गर्नु भन्नु त झनै नराम्रो भन्ने धारण तत्कालीन समाजमा बिध्यमान थियो भने अर्को तर्फ छोरीहरुलाइ शिक्षा दिनु हुन्न भन्ने सोच पनि समाजमा कायमै थियो।

 

 

तर आज भोलि नेपालमा आएको सामाजिक,राजनीतिक परिवर्तन, विश्वव्यापीकरण, विभिन्न विकसित देशमा काम गर्न जान अवसर पाउनु र नेपालमा रहँदा पनि बेरोजगार बस्न नपर्ने भन्ने हेतुले नर्सिङ पेशाप्रतिको आकर्षण दिनप्रतिदिन बढिरहेको छ। आज नर्सिङ शिक्षा, सेवा र भूमिकामा निकै ठूलो परिर्वतन आएको छ ।

 

 

नर्सिङ संवेदनशील र मानवीयताको पेशा हो। यो पेशाको जन्मदाता फोलोरेन्स नाइटिगेल हुन।उनले दोस्रो विश्व यु–द्ध का क्रममा किर्मिया यु–द्धमा घाइते सैनिकहरुको उपचार सेवा अहोरात्र गरि मृत्यु दर ५२ प्रतिशतबाट घटाएर २ प्रतिशतमा पुर्याएकी थिइन। उनैको नर्सिङ प्रतिको योगदान, बिरामी प्रतिको समर्पणलाई कदर गर्दै मे १२ लाई अन्तर्राष्ट्रिय नर्सिङ दिवसको रूपमा मनाउने गरिन्छ। र उनलाई सम्मान स्वरुप “Leady with the Lamp “पनि भनिन्छ।

 

 

नेपालको सर्न्दर्भमा राणाहरूको समयमा उपचार र प्रसूती सेवाको राम्रो व्यवस्था नभएका कारण धेरै महिलाले प्रजनन् स्वास्थ्य सेवा नपाई ज्यान गुमाउनु परेको अवस्थामा विद्यावति कंसाकार, राधादेवी मालाकार, धर्मदेवी कंसाकार र विष्णुदेवी राईलाई १८ महिने मिडवाई फ्री तालिमका लागि भारत पठाइएको र त्यसभन्दा पछाडि २००९ सालमा स्टाफ नर्स पढ्नका लागि उमादेवी दास र रुक्मिणीचरण श्रेष्ठलाई भारत पठाइएको थियो।

 

 

उहाँहरूले अध्ययन पूरा गरेर नेपाल फर्किएपछि २०१३ सालमा डब्लुएचओको सहयोगमा सुरेन्द्र भवन, सानेपामा पहिलो नर्सिङ स्कूल सुरुवात भएको हो। पहिलो ब्याचमा १ जना मात्र विद्यार्थीबाट सुरु भएको नर्सिङ कार्यक्रम दोस्रो ब्याचमा २ जनाले अध्ययन गरेका थिए। त्यति बेला नर्सिङ पेशा प्रती तेति आकर्षण थिएन ।

 

त्यसपछि विभिन्न ठाउँमा सर्दै वीर अस्पतालमा महाबौद्ध नर्सिङ स्कुल सञ्चालन गरिएकोमा २०४२ सालमा त्रिभुवन विश्वविद्यालयले स्वास्थ्य सेवाका सम्पूर्ण कार्यक्रम आफ्नो मातहतमा लिई स्कुल अफ नर्सिङलाई महाराजगञ्ज नर्सिङ क्याम्पसमा परिणत गरिएको हो।

 

 

नर्सिङ पेशाका समस्या र चुनौती

नर्सिङ पेशा त्यति सजिलो पेशा होइन, जसले दिनरात बिरामीको सेवामा नै सम्पूर्ण समय बिताउनुपर्ने हुन्छ। त्यसैले नर्समा सेवामुखी भावना, स्वचालित गुण, समयसापेक्ष उपकरणसम्बन्धी ज्ञान, सैद्धान्तिक र व्यवहारिक ज्ञान राम्रो भएका नर्सहरूले जटिल अवस्थामा पुगेका बिरामीलाई पनि बचाई पुनर्जन्म प्रदान गर्न सक्दछन् भने नर्सको सानो लापरवाहीले बिरामीको ज्यान जाने अवस्था पनि आउँछ। त्यसैले नर्स परिश्रमी, संवेदनशील, सक्षम, साहसी र सेवामुखी हुनु आवश्यक छ। मानव स्वास्थ्यमा नर्सको भूमिका अतुलनीय छ ।

 

 

नेपाल नर्सिङ काउन्सिलका अनुसार नेपालमा हाल ९५ हजारभन्दा बढी नर्स रहेका छन् । पीसीएल पास गरेका नर्स ६० हजार ७९५, अनमी ३३ हजार ७४५ र विदेशी नर्स ८४४ गरि ९५ हजार ३८४ नर्स काउन्सिलमा दर्ता छन् । जसमध्ये करिव ४० हजार नर्स बेरोजगार रहेका छन् ।

 

 

पेशागत रुपमा हेर्दा नर्सिङ जति सजिलो देखिन्छ, व्यवहारिक रुपमा त्यति नै जटिल पनि छ। नर्सिङ पेशामा व्यवहारिक ज्ञान प्राप्त गर्नुका साथै वेरोजगार भएर बस्न नपर्ने कुरा भनिरहँदा लाखौं खर्च गरी पढाइएका नर्स दिदीबहिनीले अस्पतालमा वषौर्सम्म भोलेन्टिएरको रुपमा रातदिन ड्युटी गराइएको अवस्था कति पीडादायक होला ।

 

 

– त्यस्तै, जाडो, गर्मी, घरपरिवार, चार्डपर्व नभनी पेशाप्रति चौबीसै घण्टा खटिएका नर्सहरूको पारिश्रमिक ज्यादै कम हुनु, रातको ड्युटीमा जान–आउनका लागि सवारी साधनको व्यवस्था नहुनु, नर्सहरूले पेशागत सुरक्षाको अनुभूति गर्न नपाउनु र कार्यबोझ बढी, सुविधा कम प्राप्त गर्दाका पीडा एकातिर छन् भने देशमा प्रभावकारी नीति, नियमको अभावमा योग्यता, क्षमता वृद्धि गरेर पनि एउटै तहमा वषौ रहिरहनुपर्ने र पदोन्नतिको अवसर प्राप्त गर्न नसक्दाको पीडा अर्को किसिमका छन्।

 

 

समुदायको स्वास्थ्यस्तर सुधार गर्न पर्याप्त तालिम प्राप्त तथा सेवाप्रति समर्पित स्वास्थ्यकर्मीको आवश्यकता पर्छ । प्रत्येक क्षेत्रमा दक्ष स्वास्थ्यकर्मीका साथै गुणस्तरीय स्वास्थ्य सेवा अपरिहार्य हुन्छ । यो लक्ष्य पूरा गर्न स्वस्थ जनशक्तिका साथै नर्सहरूको ठूलो भूमिका हुन्छ । गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि तालिम प्राप्त दक्ष नर्स तथा स्वास्थ्यकर्मीका साथै राम्रो काम गर्ने वातावरणको पनि त्यत्तिकै महत्व हुन्छ ।

 

 

सैद्धान्तिक रुपमा निपूर्ण र व्यवहारिक रुपले सीपयुक्त नर्सहरू स्वस्थ परिवार, स्वस्थ समाज र स्वस्थ राष्ट्र निर्माणका आधार हुन्। त्यसैले नर्सिङ पेशालाई मर्यादित र सेवामुखी बनाउनु आजको आवश्यकता हो।

 

नेपालमा कति नर्सको दरबन्दी चाहिन्छ, कुन–कुन तहको दरबन्दी सिर्जना गर्नुपर्छ तथा कुन–कुन क्षेत्रमा विशेष तालिमको व्यवस्था गर्नुपर्छ सबै कुरा स्पष्ट हुनुपर्छ । मेडिकल कलेजहरू, विशेष सेवा दिने अस्पतालहरू तथा सुपर स्पेस्यालिटी सेवा प्रदान गर्ने संस्थाहरूको कुन–कुन स्तरको, कति अनुपातमा नर्स चाहिने हो सोको प्रष्ट नीति बनाई स्वास्थ्य मन्त्रालयले लागू गर्नुपर्ने देखिन्छ ।

 

नेपाल नर्सिङ परिषद्ले पनि नर्सिङ शिक्षा तथा नर्सिङ सेवाको क्षेत्रमा स्पष्ट नीति बनाई सर्वसाधारण तथा आधिकारिक व्यक्तिहरूलाई जानकारी गराई कडाइका साथ व्यवहारमा लागु गर्नुपर्ने नितान्त आवश्यक भैसकेको छ । ठोस स्वास्थ्य नीति तर्जुमा गर्न नेपाल नर्सिङ संघको भूमिका पनि अहम् हुन्छ ।


Your Views
Related News