काठमाडौ । रुसले बनाएको कोरोनाविरुद्धको खोपको सफल परीक्षण भए आगामी मंसिरको दोस्रो साता नेपालमा पनि ल्याइने भएको छ। रूसले बनाएको कोरोनाविरुद्धको स्पुतनिक खोपको तेस्रो चरणको परीक्षण चलिरहेको छ। यसको सफल परीक्षण भए नेपालमा पनि ल्याउने सहमति भएको हो।

 

 

रसियन डाइरेक्ट फन्ड र नेपालको ट्रिनिटी फर्मास्युटिकलबीच परीक्षण क्रममा रहेको खोप सफल भए मंसिरको दोस्रो साता खोप नेपाल ल्याइने सहमति भएको छ।

 

 

रुसमा तेस्रो चरणमा रहेको खोपले सफलता पाए अक्टोबर पहिलो साता अर्थात् यही असोज तेस्रो साता प्रयोगमा अनुमति पाउनेछ।

 

 

एक महिनाअघि रसियन फन्डसँग खोप ल्याउने सहमति भएको थियो। परीक्षण क्रममा रहेको खोप नेपालले पनि बुक गरेको ट्रिनिटी फर्मास्युटिकल्सका निर्देशक किशोर अधिकारीले जानकारी दिए।

 

 

उनका अनुसार खोपले सफलता प्राप्त गरे नेपालले पहिलो प्राथमिकतामा पाउनेछ। खोप ल्याउने चरणमा पुगेपछि नेपाल सरकारसँग सहमति मागिने उनले बताए।

 

 

अहिले ट्रिनिटी फर्मास्युटिकल्स कम्पनी र रसियन फन्डसँग सम्झौतामात्र भएको छ। नेपालस्थित रूसी राजदूतावासको सहकार्यमा यस्तो सम्झौता भएको हो। तर यो बारेमा सरकारसँग भने कुनै जानकारी छैन ।

 

 

खोप सरकार आफैले ल्याएर वितरण गर्ने वा नीजि क्षेत्रलाई दिने भन्नेपनि कुनै एकिन छैन । यो खोप नेपालका लागि निशुल्क लिने वा शुल्क लिने भन्नेपनि कुनै खुलेको छैन ।

READ MORE NEWS

बन्ने भयो नेपालमा अयोध्याधाम, छुट्याइयो १०० बिघा जग्गा

  • जनबोली न्यूज नेटवर्क
  •  बुधबार १४ असोज, २०७७

चितवन । चितवनको माडी नगरपालिकाले अयोध्याधाम निर्माणका लागि जग्गा छुट्याएको छ । मङ्गलबार बसेको कार्यपालिका बैठकले अयोध्याधाम निर्माणका लागि जमिनको टुङ्गो लगाउँदै १०० बिघा जग्गा छुट्याएको हो । नगरप्रमुख ठाकुरप्रसाद ढकालले वडा नं ८ र ९ सिमानामा अयोध्यापुरीधाम निर्माणका लागि हालको अयोध्यापुरी उद्यानको १०० बिघा जग्गा छुट्याइएको बताउनुभयो ।

 

 

उहाँले भन्नुभयो, “सो जग्गामा प्राविधिक अथवा अन्य कारणले समस्या भए वडा नं ८ को दक्षिण अयोध्यापुरीमा पनि करिब ५० बिघा जग्गा प्रयोगमा ल्याउन सकिन्छ । यस्तै वडा नं १ को पाण्डवनगर, वडा नं ७ को देवेन्द्रपुर दक्षिण शनिमन्दिर क्षेत्र र वडा नं ९ को गणेशकुञ्जमा समेत जग्गाको व्यवस्था गर्ने निर्णय भएको ढकालले बताउनुभयो ।

 

 

अयोध्याधाम निर्माणका लागि गुरुयोजना निर्माण भएको भन्दै उहाँले डिपिआर (विस्तृत आयोजना प्रतिवेदन) निर्माण छिट्टै अघि बढ्ने बताउनुभयो । “प्रधानमन्त्रीको निर्देशनबमोजिम नगरपालिकाले अयोध्याधाम निर्माणका लागि सहजीकरण र व्यवस्थापनको काम निरन्तर गरिरहेको छ”, उहाँले भन्नुभयो । काम तीव्रताका साथ अघि बढाउन सरकारले बजेटको व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो ।

 

 

माडी नगरपालिकाका उपप्रमुख ताराकुमारी काजी महतोले निजी जग्गाहरु उपलब्ध गराउन स्थानीय सबैजना तत्पर रहेको बताउनुभयो । अयोध्याधाम निर्माण हुने भएपछि सबै माडीवासी उत्साहित भएको उहाँको भनाइ छ । माडी–७ का केही स्थानीयवासीले धाम निर्माणका लागि करिब १५ बिघा जमिन निःशुल्क दिने घोषणा गरिसकेका छन् ।

 

 

अयोध्याधाम खोज तथा अनुसन्धान समिति माडीका संयोजक नारदमणि पौडेलले कार्यपालिकाको बैठकको निर्णय स्वागतयोग्य रहेको बताउनुभयो । जमिनको टुङ्गो नलागेका कारण काममा अवरोध हुने अवस्थामा कार्यपालिकाको निर्णयले काम अगाडि बढाउन सहज भएको र केही दिनमै अयोध्याधाम निर्माणको चरणमा प्रवेश गर्ने बताउनुभयो ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले भानु जयन्तीको अवसरमा आयोजित कार्यक्रममा भगवान् राम नेपालकै माडीको अयोध्यामा जन्मिएको तथ्य प्रमाण रहेको भनेपछि यस विषयले राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा चर्चा पाएको थियो । माडीका जनप्रतिनिधिलाई भेटेर प्रधानमन्त्री ओलीले अयोध्याधामको निर्माण थाल्न निर्देशनसमेत दिनुभएको थियो ।

READ MORE NEWS

इजरायली प्रधानमन्त्री भन्छन् : लकडाउन अन्त्य हुन एक वर्ष लाग्न सक्छ

  • जनबोली न्यूज नेटवर्क
  •  बिहिबार १५ असोज, २०७७

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्नो मुलुक कोभिड–१९ बन्दाबन्दीबाट मुक्त हुन छ महिनादेखि एक वर्षसम्म लाग्नसक्ने बताउनुभएको छ ।

“यो लकडाउनबाट बिस्तारै र क्रमिकरूपमा इजरायल मुक्त हुनेछ र यो आधा वर्षदेखि एक बर्षसम्म रहन सक्छ,“ उहाँले बुधबार मन्त्रीपरिषद्को बैठकमा भन्नुभयो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्रीले बासिन्दाहरूलाई उनीहरूको घरबाट २०० मिटरभन्दा बाहिर जानबाट रोक्नुपर्ने र अतिआबश्यक बाहेकका गतिविधिलाई नियन्त्रण गर्न थप प्रतिबन्धको लागि आग्रह गर्नुभएको छ । हालका प्रतिबन्धले उक्त सीमालाई एक हजार मिटरमा राखेको छ ।

इजरायलले सेप्टेम्बर १८ देखि तीन हप्ताका लागि दोस्रो पटक राष्ट्रव्यापी लकडाउनको घोषणा गरेको छ । इजरायलमा सुरुमा फेब्रुअरीमा भाइरसबाट सङ्क्रमित पहिले विरामी फेला परेपनि पछिल्ला केही हप्तामा यहाँको सङ्क्रमण दर बढ्न थालेपछि दोस्रो पटक लकडाउनको घोषणा गरेको हो ।

इजरायलमा कोभिड–१९ नियन्त्रणका लागि लिइएका नियन्त्रण उपायका कारण अर्थतन्त्रमा व्यापक प्रभाव परेको छ । इजरायलको झण्डै एक चौँथाइ अर्थात् नौ लाख श्रमशक्ति कोरोनाका कारण बेरोजगार बनेको इजरायली रोजगार सेवा केन्द्रद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख छ ।


Your Views
Related News