झापा । झापाको मेचीनगरमा डेढ सय करोडको लगानीमा मेची क्राउन नामक पाँचतारे होटल सञ्चालन भएको छ । बङ्गलादेश, भूटान र भारतीय पर्यटकलाई लक्षित गरेर पूर्वपश्चिम राजमार्गले छोएको मेचीनगर–८ जोरसिमलमा आठ बिघा क्षेत्रफलमा होटलको संरचना निर्माण भएका छन् ।

होटल सञ्चालन गर्ने भेगास इन्टरटेन्मेन्ट प्रालिका अध्यक्ष पवित्रकुमार कार्कीले मुलुकको पर्यटन व्यवसायलाई समृद्ध तुल्याउन स्तरीय होटल आवश्यक हुने भएकोले प्रदेश नं। १ मै पहिलो पाँचतारे होटल सञ्चालन गरिएको बताउनुभयो ।

चन्द्रगढी विमानस्थलबाट १७ किलोमिटर र भारतको बागडोग्रा विमानस्थलबाट २५ किलोमिटरको दूरीमा अवस्थित होटल मेची क्राउनमा रु। एक अर्ब ५० करोड लगानी भइसकेको सञ्चालक कार्कीले जानकारी दिनुभयो । होटल परिसरमा क्यासिनो, हेलिप्याड, स्पा, जिमहाउस, स्वीमिङ पुलल, ग्रीन गार्डेनगायत सुविधा छन् भने भविष्यमा व्यापारिक मल समेत त्यही बनाइने बताइएको छ ।

होटलमा क्यासिनो सञ्चालन भएपछि ९०० जनाले प्रत्यक्ष रोजगारी पाउने भएका छन् । सम्मेलन, सेमिनार, बैठक र विवाहलगायत कार्यक्रम गर्न सकिने उक्त होटलमा १०५ वटा सुविधासम्पन्न कोठा छन् । झापाको विर्तामोडमा समेत होटल ग्रान्ड प्रिन्स नामक पाँचतारे होटल सञ्चालनको तयारीमा छ । उक्त होटलमा रु। एक अर्ब लगानी भएको बताइएको छ ।

READ MORE NEWS

किसानलाई अलैँची टिप्न र सुकाउन चटारो

  • जनबोली न्यूज नेटवर्क
  •  बिहिबार १५ असोज, २०७७

बागलुङ । किसानलाई यतिबेला अलैँची टिप्ने चटारो छ । हजार-बाह्र सय मीटरको उचाइमा त साउन अन्तिमतिरै अलैँची पाक्न शुरु गर्छ । उपल्लो भेगको अलैँची टिप्न भने असोज पर्खनुपर्छ । अलैँचीको फल वर्षमा एकचोटि लाग्छ । बरेङ गाउँपालिका–२ को नमूना अलैँची उत्पादक कृषक समूहका सदस्य अहिले अलैँची टिप्न र सुकाउनमा व्यस्त छन् । दश क्विन्टल जति अलैँची टिपिसकिएको समूहका अध्यक्ष विमल पौडेलले बताउनुभयो । “अलैँची टिप्न अझै बाँकी छ, सुकाउँदा यो वर्ष २५ क्विन्टलसम्म ठहर्छ कि ?”, उहाँले भन्नुभयो ।

यहाँका किसानले झण्डै ४०० रोपनीमा अलैँची खेती गर्दै आएका छन् । बरेङमा अलैँचीको पकेट कार्यक्रम सञ्चालित छ । ताराखोला गाउँपालिकाको अलैँची ‘ब्लक’ले वडा नं. १, २, ३ र ४ वडा समेटेको छ । गाउँपालिकाको आँकडानुसार ६५० रोपनीमा अलैँची खेती छ । अलैँची ब्लक सञ्चालक समितिका सचिव इन्द्रबहादुर रोकाले अर्को सातादेखि अलैँची टिप्न शुरु हुने बताउनुभयो । “चिसो र उचाइमा भएका कारण यहाँको अलैँची अलिक ढिलो पाक्छ”, उहाँले भन्नुभयो, “असोज अन्तिमसम्ममा सबै टिपीसक्छौँ ।”

जातअनुसार पनि अलैँची ढिलो-छिटो पाक्ने हुन्छ । ताराखोलामा रामसाइ र गोलसाइ जातको अलैँची खेती छ । यो वर्ष अलैँचीको राम्रो फल लागेको रोकाको भनाइ छ । उहाँले मात्र २२ रोपनी क्षेत्रफलमा अलैँची खेती गर्दै आउनुभएको छ । यो वर्ष उत्पादन अझै बढ्ने देखिएको छ । गाउँपालिकाभर गर्दा ३० देखि ३५ क्विन्टलसम्म फल्ने अनुमान छ ।

वर्षेनी अलैँची भित्र्याउँदा खुशी हुने किसान बजार भाउदेखि भने निराश छन् । पहिलेकै झैँ मूल्य पाउने हो भने अलैँची खेतीतर्फ किसानको आकर्षण झनै बढ्ने थियो । उत्पादनअनुसारको मूल्य नपाउनु दुःखद् भएको अध्यक्ष पौडेलको भनाइ छ । “गत वर्ष रु ६०० देखि रु ६५० सम्ममा विक्री भएको थियो, अहिले त्यही पनि पाइने हो या होइन, यस्तो अवस्था छ”, उहाँले भन्नुभयो । विदेशमा नेपाली अलैँचीको माग र बजार भए पनि किसानले उचित मूल्य नपाएको अलैँची किसान रोकाले बताउनुभयो ।

उहाँका अनुसार चार-पाँच वर्ष अघिसम्म प्रतिकिलो अलैँची रु २५ सयसम्ममा विक्री हुन्थ्यो । एक मन (४० किलो) को रु एक लाखसम्म पथ्र्यो । अहिले एक मनको मूल्य रु २५ हजार हाराहारी पर्छ । “नेपालले अलैँचीको आफ्नै ब्राण्ड बनाएर अन्तराष्ट्रिय बजारमा बेच्नुपर्छ”, रोकाले भन्नुभयो । नेपालमा उत्पादन हुने अलैँची पूर्वी नाका काँकडभिट्टा हुँदै भारत निर्यात हुन्छ । अलैँचीको बजारमा भारतीय व्यापारीको एकाधिकार छ । अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग र बजारमूल्य नघटे पनि नेपाली किसान भने सस्तोमा बेच्न बाध्य छन् ।

केही वर्ष अघिसम्म अलैँची किन्न व्यापारी घरघरै आउने गरेको जैमिनी नगरपालिका–१० राङ्खानीका किसान मनबहादुर श्रीसले सुनाउनुभयो । अहिले किसान आफैँ व्यापारी खोज्दै जानुपर्ने बाध्यता छ । त्यतिबेला राम्रो भाउ पाउँदा किसान खुशी पनि थिए । अहिले अलैँची बेच्नै गाह्रो हुन थालेको उहाँको भनाइ छ । शुरुमा कमाइ हुने देखेर अलैँची खेतीमा लागेका किसान निरुत्साहित हुन थालेका छन् । कतिपय अगुवा किसानले गाउँभरिको अलैँची जम्मा पारेर बिर्तामोड पु¥याउने गरेका छन् ।

उचित मूल्य पाउने आशमा कोही किसानले लामो समय अलैँची थन्काएर राख्छन् । अलैँची खेतीमा लाग्ने मेहनत र श्रमअनुसारको मूल्य पाउने वातावरण बन्नुपर्ने किसान बताउँछन् । रोप्नदेखि, गोडमेल, स्याहारसुसार, टिप्ने, सुकाउने आदि गर्दा किसानको धेरै समय, श्रम र लगानी अलैँची खेतीमा खर्च हुन्छ ।

कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा अलैँचीको व्यावसायिक उत्पादनका लागि ११ पकेट र दुई ब्लक क्षेत्र घोषणा गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित ती कार्यक्रममार्फत किसानले अलैँची खेतीमा अनुदान र तालिम पाउँछन् । ताराखोला गाउँपालिका र गलकोट नगरपालिकामा अलैँची ब्लक छ । जैमिनी, बागलुङ नगरपालिका, काठेखोला, निसीखोला, बडिगाड, बरेङ र निसीखोला गाउँपालिकामा पकेट कार्यक्रम सञ्चालित छ ।

केन्द्रका कृषि प्रसार अधिकृत विशाल काफ्लेले वबचौलियाका कारण अलैँची किसान मर्कामा परेको बताउनुभयो । “पछिल्लो समय नेपालमा अलैँची उत्पादन बढे पनि मूल्य भने घट्दै गएको छ”, उहाँले भन्नुभयो । जिल्लामा झण्डै ३५ हेक्टर क्षेत्रफलमा अलैँची खेती हुँदै आएको छ । अलैँचीको उचित बजार व्यवस्थापन हुन सकेको छैन ।

भारतबाहेक अन्य मुलुकमा पनि अलैँची निर्यातका लागि सरकारले पहल गर्नुपर्ने कृषि क्षेत्रका जानकार बताउँछन् । भारतीय बजारमा पुग्ने नेपाली अलैँची मसला, सौन्दर्य सामग्री, आयुर्वेदिक औषधिलगायतमा प्रयोग हुने गरेको छ । अलैँची खेती हजारदेखि २२ सय मिटरसम्मको पहाडी र हिमाली क्षेत्रमा हुन्छ । अलैँचीलाई ओसिलो ठाउँ चाहिन्छ ।


Your Views
Related News