नेपालगन्ज : चालु आर्थिक वर्षको दुई महिनामा मात्र चिनी आयातबाट झन्डै एक अर्ब राजस्व संकलन भएको छ। अघिल्लो आर्थिक वर्षको यस अवधिमा चिनी आयात र राजस्व संकलन अवस्था विश्लेषण गर्दा भन्सार नतिरेर नै चिनी आयात हुने गरेको सहजै आँकलन गर्न सकिन्छ।

सीमावर्ती बजारबाट चिनी आयात कति हुन्छ भन्ने कुरा चालु आर्थिक वर्षको राजस्व संकलनबाट पनि देखिएको छ। कोरोना भाइरसका कारण सीमा नाका बन्द हुँदा चिनी राजस्व तिरेर आयात भइरहेको छ।

नेपालगन्ज भन्सार कार्यालयबाट गत वर्ष साउन र भदौमा ३४ हजार ७० किलो मात्र चिनी  राजस्व तिरेर नेपाल आयात भएको थियो। यो वर्ष साउन र भदौमा मात्र तीन करोड ३४ लाख ८७ हजार ३ सय २ किलो चिनी आयात गर्दा ९५ करोड १५ लाख ५१ हजार एक सय ४३ रुपैयाँ राजस्व असुली भएको छ।

‘विगतमा राजस्व छलेर चिनी आउने गरेको थियो। सीमा नाका बन्द भएपछि चिनी भन्सार तिरेर आयात गरिएकाले राजस्व वृद्धि भएको हो’, निमित्त भन्सार अधिकृत रमेशकुमार खतिवडा भन्छन्, ‘सीमामा कडाइ भइरहेको छ। भौतिक परीक्षण र जाँच पास पनि व्यवस्थित भएको छ। जसका कारण चिनीमा पनि राजस्व वृद्धि भएको हो।’

लकडाउनअघि ५ किलोसम्म चिनी ल्याउँदा सर्वसाधारणले राजस्व तिर्नु पर्दैनथ्यो। साना व्यवसायीले त पटकपटक यसरी नै भन्सार नतिरेर पनि चिनी बेच्ने गरेका थिए। कोरोनाका कारण अहिले सीमावर्ती बजारमा चिनी किन्न जाने उपभोक्ता रोकिएका छन्।

भाटभटेनीले मात्र नेपालगन्ज भन्सार कार्यालयमा राजस्व तिरेर तीन सय ५० टन चिनी खरिद गरेको नेपालगन्ज सुपरस्टोरका प्रबन्धक पुष्कल राईले जानकारी दिए। उनले भने, ‘हामीले नेपालगन्जबाट ४० टन बेचेका छौं। विराटनगरबाहेक देशका अन्य १७ वटा स्टोरमा पनि यहीबाट चिनी पठाएका छौं।’ नेपाली चिनी ६९ रुपैयाँमा बिक्री गरिरहेको भाटभटेनीले साउनदेखि भारतबाट चिनी आयात गर्न थालेपछि भने ७५ रुपैयाँ प्रतिकिलो बिक्री गरिरहेको छ। स्थानीय बजारमा भने ९० रुपैयाँसम्म चिनी बिक्री हुने गरेको छ।

नेपालगन्ज भन्सार कार्यालयले गत वर्षको साउन र भदौमा मात्र झन्डै सवा एक अर्ब राजस्व असुली गरेको छ। गत वर्ष साउनमा ८६ करोड २९ लाख चार हजार र भदौमा एक अर्ब ८८ लाख १५ हजार रुपैयाँ गरी एक अर्ब ८७ करोड १७ लाख १९ हजार रुपैयाँ राजस्व संकलन भएको थियो। जबकी चालु आर्थिक वर्षको साउनमा मात्र एक अर्ब ६२ करोड ९९ लाख ४५ हजार रुपैयाँ र भदौमा एक अर्ब ४१ करोड ९१ लाख ७८ हजार रुपैयाँ गरी ३ अर्ब ४ करोड ९१ लाख २३ हजार रुपैयाँ राजस्व संकलन भएको छ। खतिवडाले भने, ‘यो वर्षको साउन महिनामा लक्ष्यभन्दा १७२.०२ प्रतिशत र भदौमा १३२.९६ प्रतिशत प्रगति भएको छ। जबकी गत वर्ष साउनमा ६९.६५ प्रतिशत र भदौ महिनामा ६५.१६ प्रतिशत प्रगति भएको थियो।’

असोज महिनामा १ अर्ब ४८ करोड २३ लाख ८३ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा ११ असोजसम्म मात्र ५३ करोड ६४ लाख ९१ हजार रुपैयाँ अर्थात लक्ष्यको ३६.१९ प्रतिशत राजस्व संकलन भइरहेको छ। खतिवडाले प्रस्ट पारे, ‘विगतमा भन्सार छलेर आउने सामान अहिले राजस्व तिरेर आउँदा पनि लक्ष्यभन्दा धेरै राजस्व संकलन गर्न सफल भएका हौं।’

READ MORE NEWS

इन्जिनियरको कमाई साढे ५ करोड


Your Views
Related News