१५ असोज, काठमाडौं । तत्कालीन गोर्खाली सेनाले अँग्रेज फौजलाई सिन्धुलीमा पराजित गरेको २५३ वर्ष पूरा भएको छ । सिन्धुलीगढीमा आक्रमण गरेर काठमाडौं प्रवेश गर्न लागेको अँग्रेज फौजलाई तत्कालीन गोर्खाली सेनाले १८२४ साल असोज १५ गते पौवागढीमा पराजित गरेका थिए ।

यही उपलक्ष्यमा बिहीबार ‘सिन्धुलीगढी चित्रकथा’ कला पुस्तक संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले काठमाडौंबाट र कमलामाई नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर खत्रीले सिन्धुलीमा एकसाथ विमोचन गरेका छन् ।

सानो फौज रहेको गोर्खाली सेनाले जनकपुर, सर्लाही, बारा, पर्सा आदि जिल्ला हुँदै आएको किनलकको विशाल फौजलाई काठमाडौंतर्फ आएको थियो । सुरक्षाका कारण गोर्खाली फौजले तराई क्षेत्रमा उनीहरूलाई रोक्ने प्रयास नगरी पहाड प्रवेश गरेपछि धावा बोलेको थियो । सोही युद्धमा विश्वको सबैभन्दा ठूलो साम्राज्यवादलाई पहिलो पटक गोर्खाली सेनाले घुँडा टेकाएको थियो ।

इतिहासविद् प्रा. दिनेशराज पन्तका अनुसार विश्वमा साम्राज्य विस्तार गर्दै आएको अँग्रेज सेनाले छ दिनअघि आश्विन ९ गते सिन्धुलीमाडीमा कब्जा गरेको थियो । सिन्धुली माडी विजय गरेर गढीतिर उकालो लागेको किनलक नेतृत्वको अँग्रेज फौजलाई गोर्खाली फौजले पौवागढीमा प्रत्याक्रमण गरेको थियो ।

कुल २४०० सेनासहित आएको सो फौजका १६०० सेनाको सोही आक्रमण मृत्यु भएको थियो । पराजित किनलकका ८०० सेनाले बारा, पर्सा र रौतहट जिल्ला कब्जा गरी बस्यो ।

अँग्रेज फौज बोलाइनुको कारण

कीर्तिपुरको विजयपछि गोर्खाली फौज पाटनको आक्रमणका लागि लम्किँदै थियो । त्यतिबेला उपत्यकाको सबैभन्दा कमजोर राज्य ललितपुर थियो भने सबैभन्दा शक्तिशाली काठमाडौं । सबै राज्य विजय गरेपछि मात्रै काठमाडौं विजय गर्ने उद्देश्यले गोर्खाली सेनाले ललितपुरलाई घेर्न सुरु गरेका थिए । त्यतिबेला ललितपुरको सहयोगका लागि केही इसाई पादरीहरू यहाँ आएका थिए । गोर्खाली सेनाले पदरीलाई पाँचदिनभित्र ललितपाटन खाली नगरे नाक कान काटिदिने चेतावनी दिइसकेका थिए । उता किनलकको टोली सिन्धुली गढी आइसकेको खबर पादरीहरूले पाएका थिए । त्यसैले केही दिनको लागि उनीहरूको गढ बुंगमतीमा सरेको थियो ।

अर्काेतिर सबैतिर सेनाले घेरेपछि काठमाडौंले नै सहयोगको लागि अँग्रेज सेनासँग सहयोग मागेको थियो । प्रा. पन्त भन्छन् ‘यदि त्यतिबेला सिन्धुली गढीमा गोर्खाली सेनाले हारेको भए केही दिन त जयप्रकाश मल्लको शासन लम्बिन्थ्यो होला तर नेपालको इतिहास उथलपुथल हुन्थ्यो ।’

इतिहासकारहरू रसद पानीको अभाव, प्रतिकूल वातावरण र पहाडी मार्गको कठिनता, फौजमा औलोको प्रकोप आदि कारणले पनि अँग्रेज फौजमा समस्या सिर्जना भएको बताउँछन् । गोर्खाली सेनाको तर्फबाट त्यतिबेला वंश गुरुङ, वंशराज पाँडे, श्रीहर्ष पन्त, वीरभद्र उपाध्याय लगायतको टोलीले पहिलो पटक अँग्रेजलाई पराजित गरेको थियो ।

बिर्सना–सम्झना सिन्धुलीगढी

बिहीबार प्रकाशित चित्रकलाका लेखक एवं समृद्ध सिन्धुलीका अभियान्ता सौरभ ढकालका अनुसार विसं २०१९ सालसम्म जिल्लाको सबै सरकारी कार्यालयहरू सिन्धुलीगढीमा नै थियो । विसं २०२० पछि सदरमुकाम तल सिन्धुलीमाडीमा झर्‍यो । सदरमुकाम सरेसँगै विस्तारै मान्छेको चहलपहल सिन्धुलीमाडीतिर नै सर्न थाल्यो । यसले गर्दा बिस्तारै सिन्धुलीगढी ओझेलमा पर्न थाल्यो ।

विसं २०२९ सालसम्म त त्यहाँ कारागारसम्म राखिएको थियो । तर त्यसपछि कारागार पनि तल नै सारियो । त्यसपछि झनै सुनसान बन्यो सिन्धुलीगढी । त्यहाँ नेपाल अँग्रेज युद्ध भएको भन्ने कुनै चर्चा पनि थिएन । त्यही कारणले विसं २०२९ सालदेखि २०५२ सम्म सिन्धुलीगढी क्षेत्र सबैबाट उपेक्षित भयो ।

विसं २०५२ मा माओवादीको पहिलो आक्रमण यही सिन्धुलीगढीमा भएको प्रहरी चौकीमा भयो । त्यसपछि मान्छेको ध्यान बिस्तारै त्यसतर्फ मोडिन थाल्यो । माओवादी द्वन्द्वको बीचमा सो क्षेत्र त्यही पहिलो आक्रमणको नामबाट नै चर्चामा रह्यो । तर विसं २०६० सालतिर वीपी राजमार्गको ट्याक खोल्न थालेपछि सिन्धुली गढीको अस्तित्व र सुरक्षाको विषयमा स्थानीयले चासो राख्न थाले ।

यही क्रम चल्दै जाँदा पुरातत्व विभागले विसं २०६८ मा सो क्षेत्रको पुरातात्विक विषयमा अध्ययन गर्‍यो । सोही वर्षको कात्तिक २४ गते नेपाल पत्रकार महासंघ सिन्धुली शाखाले पहिलो पटक विजय दिवस मनाउन थालेपछि अहिलेसम्म पनि कात्तिक २४ गते नै नेपाली सेना वा सरकारी तवरबाट समेत विजय दिवस मनाउने गरिएको छ ।

कुनै पनि ऐतिहासिक प्रमाणले सिन्धुलीमा कात्तिक २४ गते विजय हासिल गरेको भनेर उल्लेख नगरेकोले नागरिकस्तरबाट नै विजय दिवस असोज १५ मा नै मनाउनुपर्ने पहल हुँदै आएको छ । वि.सं.२०७३ सालबाट सुरु भएको राइड टु सिन्धुलीगढी अभियानले पनि २७४ सालदेखि असोज १५ मा नै आफ्नो कार्यक्रम सञ्चालन गर्न थालेको छ । यही अनुसार बिहीबार पनि विजय उत्सवको अवसरमा नयाँ पुस्तक विमोचन भएको हो ।


Your Views
Related News