१५ असोज, काठमाडौं । नयाँ बानेश्वरको आइपेक्स मलको विपरीत दिशामा एउटा भित्तो छ, जहाँ कोरोना महामारीभन्दा पहिले फिल्मका रंगीविरंगी पोस्टर टाँसिन्थे ।

चैतयता फिल्म हल बन्द भएदेखि यो भित्तोमा नयाँ पोस्टर टाँसिएको छैन, पुराना पोस्टरका च्यातिएका टुक्रामात्र छन् । बुधबार दिउँसो भने त्यहाँ अचम्मको सूचना देखियो ।

ए–फोर साइजको सेतो चम्किलो कागजमा लेखिएको छ – मिर्गौला चाएमा (चाहिएमा) सम्पर्क ९८४….. ।

बिहीबार यी व्यक्तिसँग भेट भयो बल्खुमा ।

मिर्गौलाको विज्ञापन गर्ने यी व्यक्ति रहेछन्– कैलालीको धनगढी उपमहानगरपालिका धुरचन्ना घर भएका ३३ वर्षका जगवीरे गुरु धामी ।

होचो–होचो कदका, घुम्रिएको कपालको टुप्पो रातो बनाएका यी युवकको अनुहारमा कुनै चिन्ताका रेखा देखिँदैनन् ।

हामीले सोध्यौं – मिर्गौलाको विज्ञापन गरिएका पोस्टरहरु कहाँ–कहाँ टाँस्नुभयो ?

बालकुमारीदेखि कलंकीसम्म, टेकुदेखि बानेश्वरसम्म । सबैतिर गरी उनले ३०/३५ ठाउँमा यस्ता सूचना टाँसेका रहेछन् । अझ उनले खुलाए ‘भक्तपुरतिर पनि टाँस्ने प्लान हो सर, पुगेन ।’

उनले सूचना लेख्न र टाँस्नका लागि किनेको मार्कर, गम र ग्लुस्टिक ज्याकेटको खल्तीबाट झिकेर देखाए । ग्लुस्टिकतिर औंल्याएर भने, ‘यो पनि गम नै हो, त्यसले (अर्को झोल गम) ले टाँसिएन र यो किनेको ।’

 

‘मिर्गौला चाहिएमा’ भन्ने सूचना टाँसेपछि उनलाई केही फोन पनि आए । तीमध्ये एक जनाचाहिँ मिर्गौला कारोबारसँगै सम्बन्धित मान्छे हो कि जस्तो लाग्छ उनलाई ।

‘हिजो बिहान एउटा भेट्न आएको थियो, के हो, कस्तो हो, बुझ्न सकिनँ । मेरो बारेमा सोध्यो । हामी पछि फोन गर्छौं भन्यो, अहिलेसम्म फोन गरेको छैन’ उनले भने ।

नेपालमा मानव अंग बिक्री वितरण गैरकानुनी हो । मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५ ले अंग खरिद बिक्री गर्नुलाई दण्डनीय मानेको छ । तर, मान्छेले आफ्नो अंग बेच्न किन विज्ञापन गर्छ ?

ऐनको दफा १४ (क) मा अंग दान दिन सक्ने अवस्था दुईवटामात्रै छ ।

क– बिरामीको नातेदार हुनुपर्छ । ख– दुई वा दुई भन्दा बढी परिवारका कुनै सदस्यलाई अंग प्रत्यारोपण गर्नुपर्ने अवस्थामा त्यस्तो परिवारका आफ्नो नजिकको नातेदारको अंग नमिली प्रत्यारोपण हुन नसक्ने अवस्था भएमा र प्रत्यारोपण गर्न खोजिएको अंग अर्को परिवारको सदस्यसँग मिल्ने भएमा आपसी सहमतिको आधारमा लिखित रुपमा एक अर्का परिवारको सदस्यले मात्र दान गर्न पाउँछ ।

ऐन विपरीत अंग झिक्ने र त्यसमा संलग्न व्यक्तिलाई ५ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना तोकिएको छ ।

धामीले आफू आर्थिक समस्यामा फसेको र अरु कुनै विकल्प नभएकाले जानीबुझी मिर्गौला बेच्न खोजेको बताए । मिर्गौला बेच्नेबारे उनले केही साथीहरुसँग पनि सल्लाह गरेका रहेछन् । ‘उनीहरुले पनि हामीलाई समेत जेल हाल्न खोजेको भन्दै गाली गरे’ उनी भन्छन् ‘कुनै विकल्प आएन, फसे पनि यसै मर्नु छ, उसै मर्नु छ ।’

काठमाडौंमा कहिले मासु पसल, किराना पसल कहिले खाजा पसल सञ्चालन गरेका उनी व्यापार राम्रो नभएको र २०/२५ लाख रुपैयाँ ऋण लागेको भन्दै मिर्गौला ग्राहकको खोजीमा लागेको दाबी गर्छन् ।

ऋण लिएर ब्यापार सुरु गरेको तर, कुनै व्यापारले आम्दानी नदिएको उनको भनाइ छ ।

पहिले कीर्तिपुरको पाँगामा मासु र किराना पसल चलाएको, त्यो पसल नचलेपछि फेरि ऋण खोजेर एयरपोर्टमा खाजा पसल राखेको, त्यो पनि नचलेपछि फेरि ऋण खोजेर बालकुमारीमा खाजा पसल राखेको, त्यो नचलेको र त्यसकै पैसाले घरभाडा तिरेपछि आफू रित्तो भएको उनले जिकिर गरे ।

काठमाडौं आएपछि आफू धादिङ, महादेवबेंसीकी तामाङ थरकी केटीसँग सम्बन्धमा परेको र उसले सबै पैसा सिध्याइदिएको र अहिले सम्पर्कविहीन रहेको पनि उनले जिकिर गरे । ‘चार/पाँच महिनादेखि ऊ सम्पर्कमा छैन’ धामीले भने ।

 

धामीले कैलालीमा आफ्नो घर वरपरका साहु र उतैबाट काठमाडौं आई बसेकाहरुसँग ४० प्रतिशतसम्म ऋण लिएको सुनाए ।

मिर्गौला बेचेर सबै ऋण तिरन्छ भन्ने ठानेको त ? भन्ने प्रश्नमा धामी भन्छन्, ‘यति आउँछ, उति आउँछ, मलाई केही थाहै छैन ।’

उनी अघि भन्छन्, ‘२०/२५ लाख आउँछ भन्ने पनि थिएन मलाई । बाहिर–बाहिर सुन्थेँ, राम्रो मान्छे पाए धेरै आउँछ भन्थे । कसैले हामीजस्तै मान्छे भए ४/५ लाख रुपैयाँ पनि हुँदैन । २/३ लाख रुपैयाँ मात्र आउँछ पनि भने ।’

अहिले कयौं मानिस आफ्नो दुःख देखाएर युट्युबमा अन्तर्वाता दिएका भरमा भाइरल भएर धेरै आर्थिक सहयोग हात पारिरहेका छन् । यस्तो सूचना टाँसेर भाइरल बन्न खोजेको हो कि भन्दा उनी भन्छन् ‘त्यो मैले सोचेको छैन, मैले त्यस्तो गर्न खोजेको पनि होइन ।’

अनि अवैधानिक काम गर्न किन खोजेको त ?

‘मेरो समस्याको अरु समाधान के हो त ? घर भएको २ कठ्ठा सरकारी (ऐलानी) जमिन बेचौं भने पनि ५० हजार भन्दा आउँदैन ।’

उनका घरमा आमाबाबु र छोराछोरी छन् । दाजुभाइ अलग–अलग छन् । काठमाडौंमा आएर धेरै ऋण लगाएपछि घरमा आफूलाई नराम्रो मान्ने गरेको उनले सुनाए । ‘मलाई त घर पनि नआइज भनेका छन्’ धामी भन्छन्, ‘आफ्नो ऋण आफैं तिर् भन्छन् ।’

नेपालमा कोरोना महामारी सुरु भएपछि धेरैले काम र रोजगारी गुमाए । कतिपयको व्यवसाय चौपट भएर सडकमा आएका छन् । हामीले ठानेका थियौं, धामी यस्तै समस्यामा परेका व्यक्ति होलान् । तर, होइन रहेछ । तपाईं त आफ्नै कारणले समस्यामा फस्नुभएको रहेछ । उनले भने ‘के गर्ने, त्यस्तै त्यस्तै भयो । साथीले राम्रो साथ दिएन ।’

मिर्गौला बिक्री भएन भने के गर्ने त ? उनलाई सोध्दा उनी बिक्री हुनेमै आशावादी देखिए । ‘होला नि, किन नहुने ? मैले त सकिन्छ भने बेच्ने नै भनेको हो’ उनी भन्छन् ।

यस्तो गैरकानुनी काम गरेको भनेर प्रहरीले पक्राउ गर्‍यो भने के गर्ने ? ‘समायो भने ठीक छ । के छ र, यसै मर्नु, उसै मर्नु’ धामी भन्छन् ।

प्रहरीको फोन

उनले सूचना टाँसेकै केही घण्टामा महानगरीय प्रहरी परिसर टेकुबाट प्रहरीले फोन पनि गरेको रहेछ । ‘टेकुबाट हो, पुलिस बोलेको भन्दै थिए,’ धामीले भने, ‘तपाईले किन टाँसेको सबै निकाल्नुस् भन्दै हुनुहुन्थ्यो । म यस्तो–यस्तो भएर गरेको हो, निकाल्न सक्दैन भनेकै हो ।’

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले त्यस्तो सूचना टाँसेको जानकारी आएपछि सम्पर्क गरेर उप्काउन आग्रह गरेको बताए । इन्सपेक्टर सुधीरराज शाहीलाई सूचनाबारे बुझ्न पठाएको ज्ञवालीले अनलाइनखबरलाई बताए ।

‘हामीले बुझ्दा आर्थिक समस्यामा परेर त्यसो गरेको भन्ने बुझ्यौं, त्यो सूचना तुरुन्तै च्यात्न लगायौं’ ज्ञवालीले भने ‘अझै पनि त्यसो गरेमा मानव बेचविखन ब्युरोसँग समन्वय गरेर कानुनी कारवाही अगाडि बढाउछौं । तत्काललाई भने सचेत गराएका छौं ।’

अहिले धामी कलंकीमा बस्छन् । हामीसँग उनले ३ दिनदेखि खाना नखाएको भनेका थिए । ‘एकजना पत्रकार दाइले ३/४ सय रुपैयाँ दिएपछि हिजो खाएँ’ उनले भने ।

केही काम गरे भो नि त भनेर सोध्दा उनी भन्छन्, ‘लकडाउन पनि थियो । साहुले फोन गर्‍या गर्‍यै छन् । ज्यामी काम गरे ५/६ सय रुपैयाँ आउँछ । त्यसले कोठाभाडा र आफूलाई खान ठिक्क हुन्छ । त्यत्रो ऋण कसरी तिर्ने ?’


Your Views
Related News