इटहरी । नेपालमै कृषि व्यवसाय गरेर मासिक ३ लाख कमाई हुन्छ भन्दा सबैलाई विश्वास नलाग्न सक्छ । तर यो यर्थाथ हो । अहिले सुनसरीको इटहरी–२ का उत्सव अधिकारीले पोल्ट्री व्यवसायबाट मासिक ३ लाख भन्दा बढि आम्दानी गरेका छन् । २०६५ साल देखि कुखुरा पालन सुरु गरेका अधिकारी अहिले मनग्ये आम्दानी गर्दै आएका छन ।

नेपालमा कहि गर्न सकिएन भन्दै गनगन गर्नेहरुको लागि अधिकारी अहिले उदाहरणीय बनेका छन । एक सय रुपैयाँमा किनेर दुई हजार लेयर्सका चल्ला लगाएर फर्म सुरु गरेका अधिकारीले केही वर्षपछि आफैले १० लाख रुपैयाँमा ह्याचरी मेसिन खरिद गरी चल्ला उत्पादन सुरु गरेका थिए ।आफैले चल्ला उत्पादन गरी युवाहरूलाई हौसला दिएर विदेश पलायन हुनबाट रोकी स्वदेशमै स्वरोजगार बनाउने काम गरेको अधिकारी बताउँछन् ।

आफू २० वर्षको उमेरदेखि नै पोल्ट्री व्यवसायमा लागेर अहिले मासिक ३ लाख माथि आम्दानी गर्ने ठाउँमा आइपुगेको उनी बताउँछन् । आफूमात्र स्वरोजगार नबनी अधिकारीले अन्य युवाहरूलाई पनि स्वदेशमै स्वरोजगार बन्न प्रेरणा दिएका छन् । उनी भन्छन् म नेपालमै राम्रो कमाएर देशभर चिनिन चाहान्छु ।

पोल्ट्रीको क्षेत्रमा सम्भावनाको खोजी गर्ने उत्सवले सुरुमा लेयर्समात्र पालन गरे पनि अहिले उनको फर्ममा लोकल कुखुरा, तिथ्रा, बटाई, टर्की कडकनाथ कुखुराका चल्ला उत्पादन गरी एक नम्बर प्रदेशका बिभिन्न गाउँ बस्तीका किसानहरूलाई बेच्दै आएका छन् ।उनी भन्छन्, ‘पूर्वमा मैले नै बटाईको सम्भावनाको खोजी गरी पालन गरेपछि अहिले मबाटै चल्ला लगेर धेरै किसानले बटाई पालन गर्नुभएको छ ।’

उत्सवले सुरुमा पोल्ट्री व्यवसाय गर्दा आफूलाई जे जे चाहिएको थियो अहिले त्यसको नै ब्यापार गर्दै मनग्गे आम्दानी गर्न सकिने रहेछ भन्ने उदाहरण पेश गरेका छन् । उनी भन्छन् ‘सुरुमा मैले लेयर्स पालन सुरु गर्दा चल्ला, दाना, औषधि, भाडाहरू चाहिएको थियो । अहिले मैले अरु युवाहरूलाई सहुलियत दरमा ती सबै चिज दिन सक्छु ।’

केही वर्षअघि उनले अन्य व्यवसायीको समेत सहकार्यमा भ्यालिभेट सेन्टर नामको पोल्ट्रीलाई चाहिने औषधि पसल समेत सुरु गरेका थिए । पछिल्लो समयमा उनले कुखुरा पालनमा चाहिने प्लाष्टिकको भाँडाकुँडाको ब्यापार पनि सुरु गरेका छन् । उतार चडाव भइरहने पोल्ट्री व्यवसायमा धीरता आवश्यक रहको उनी बताउँछन् ।
‘कुखुरापालन व्यवसायमा लाग्न सुरुमा निकै चुनौती थियो,’ उनी सम्झन्छन् ‘धैर्यले नै यहाँसम्म ल्याएको हो ।’

ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिकामा जन्मिएका उत्सव २०५९ सालतिर बसाई सराईको क्रममा मोरङको टंकिसिनवारीमा झरेका थिए । शिक्षक पेशामा रहेका आफ्ना बुवा शंकर अधिकारी सेवानिवृत्त भएपछि तराई झरेका उत्सवले विराटनगरको महेन्द्र मोरङ कलेजमा उच्च शिक्षा अध्ययन गरेका थिए ।

विराटनगर बसाईको क्रममा बुबाले सानो संख्यामा पालेको कुखुराको कारण आफूलाई प्रेरणा मिलेर पोल्ट्री क्षेत्रमा हामफालेको उनले बताए । सुरुमा ५ कठ्ठा जग्गा भाडामा लिएर ब्यवसाय सुरु गरेका अधिकारीले अहिले भाडामा लिएको जग्गासहित ७ कठ्ठा जग्गा जोडिसके । उनले यही ब्यवसायको माध्यमबाट केही व्यवसायीको सहकार्यमा मोरङको मृगौलियामा दुई बिघा ११ कठ्ठा जग्गा खरिद गरी बोइलरको चल्ला उत्पादन सुरु गर्ने तयारी पनि थालेका छन् ।

सिंगापुरे आर्मीमा भर्ती भएको हेर्ने बुवाको इच्छा पूरा नभएपछि उत्सवले कुखुरापालन सुरु गरेको हुन् । उनी भन्छन्, ‘मिहिनेतकासाथ व्यवसाय गरेमा सिंगापुरे आर्मीको भन्दा नेपालमै राम्रो कमाइ हुँदो रहेछ ।’ अहिले उत्सवको फर्ममा एक हजार लोकल, पाँच सयको संख्यामा बटाई, दुई सय तिथ्रा, र दुई सय पचास थान टर्की छन् । वर्षमा १ लाख ५० हजार लोकल कुखुरा चल्ला, २० हजार टर्की चल्ला, ५० हजार बटाईको चल्ला र २५ हजार तिथ्राको चल्ला उत्पादन हुने गरेको उनी बताउँछन् ।

आफूले गरेको व्यवसायबाट राम्रो आम्दानी हुने देखेर अन्य युवाहरूले त्यसलाइ अँगालेको अधिकारी बताउँछन् । ‘सुरुमा मैले व्यवसाय गर्दा यसले के गर्न सक्ला भनेर कुरा काट्ने अनि व्यवसायमा अवरोध गर्ने पनि धेरै थिए । अहिलेसम्म आइपुग्दा आफ्नो निरन्तरता देखेर सुरुमा अवरोध गर्नेहरू नै पोल्ट्री व्यवसायमा लागेका छन् । अनि हिजोको दिनमा आफूलाई केही गर्न नसक्ने देख्नेहरू पनि प्रशंसा गर्ने गरेका छन्’ उनले भने ।

नयाँ नयाँ सम्भावनाको खोजी गर्ने उत्सव पछिल्लो समय ब्यवसायिक रुपमा कालिज पालनको बारेमा अध्ययन गरिरहेको बताउँछन् पोल्ट्रीको काम गरेर केही युवालाई समेत रोजगारी दिएका उत्सवलाई बुवा शंकर अधिकारी, आमा तुलसादेवी अधिकारी र श्रीमती प्रतिमा अधिकारीले पनि साथ दिएका छन् ।

READ MORE NEWS

लेवान्डोस्की बने युरोपको सर्वोत्कृष्ट पुरुष खेलाडी

बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवान्डोस्की सन् २०१९–२० सिजनको सर्वोत्कृष्ट यूईएफए पुरुष खेलाडी चुनिएका छन् । ३२ वर्षीय पोल्याण्डका स्ट्राइकरले बायर्नका समकक्षी म्यानुअल नुयर र म्यान्चेस्टर सिटीका मिडफिल्डर केभिन डि ब्रुयनालाई पछि पार्दै उक्त उपाधि हात पार्न सफल भएका हुन् ।

गत सिजन बायर्नले च्याम्पियन्स लिग, बुन्डेस लिगा र जर्मन कप जित्दा लेवान्डोस्कीले ४७ खेलमा ५५ गोल गर्न सफल भएका थिए । युरोपको शीर्ष पाँच लिगमा उनले अन्य खेलाडीमा १६ गोल बढी गरे । बायर्नलाई छैटौँ युरोपियन उपाधि दिलाएका ह्यान्सी फ्लीक उत्कृष्ट पुरुष प्रशिक्षक चुनिए ।
वर्षको उत्कृष्ट गोलकिपर नुयर छानिए भने डिफेन्डरमा बायर्न कै जोसुआ किमिच चुनिए । डि ब्रुयना उत्कृष्ट मिडफिल्डर बन्दा उत्कृष्ट फरवार्ड रोबर्ट लेवान्डोस्की बने ।
चेल्सीकी फरवार्ड पर्नेली हार्डर उत्कृष्ट महिला खेलाडी चुनिइन् भने चेल्सी र आइभोरी कोस्टमा पूर्व खेलाडी डिडिएर ड्रोग्बालाई यूइएफए प्रेसिडेन्डस् अवार्डबाट सम्मानित गरियो ।

Your Views
Related News