असोज १६, २०७७ महात्मा गान्धी अर्थात मोहनदास करमचन्द गान्धी। इस्वी सन् १८६९ अक्टुबर २ तारिख गुजरातको पोरबन्दरमा जन्म। कहिल्यै सूर्य नअस्ताउने अंग्रेज साम्राज्यबाट भारतलाई स्वतन्त्रता दिलाउने एक महान भारतीय सपूत जसलाई हाम्रो छिमेकी देश भारतका राष्ट्रपिता मानिन्छ।

जसलाई गौतम बुद्ध पछि अहिंसाका पुजारीका रुपमा यो विश्वले मानेको छ।  संयुक्त राष्ट्रसंघले पनि अक्टुबर २ तारिखलाई अन्तराष्ट्रिय अहिंसा दिवसको रुपमा मनाउन थालेको छ। जो जीवनभर अहिंसाका पुजारी रहे, तर स्वयम् भने आन्तरिक हिंसाका शिकार भए। तर पनि आजसम्म विश्वलाई अहिंसाको माध्यमबाट मात्र समाज रुपान्तरणका गर्न सकिन्छ भनेर उत्प्रेरित गरिरहे।  गान्धी जीवित रहदा भन्दा मृत्युपश्चात विश्वका महान दार्शनिकका रुपमा चित्रित गरिए। आफ्नो देशको किचलोलाई मिलाउने क्रममा नै उनको सहादत भयो, भनौँ जनबरी ३०, १९४८मा हत्या गरियो।  गान्धी स्वयम् हिन्दू धर्मप्रति अत्यन्तै आस्थावान भए पनि आफू एउटा राजनीतिज्ञका रुपमा भने धर्मनिरपेक्ष थिए।

अहिले हाम्रो देशमा एउटा बहस चलिरहेको छ, २०६३ सालको परिवर्तन हिँसाबाट आएको हो कि अहिंसाबाट रु तत्कालीन नेकपा माओवादी स्पष्ट धारणा छ, त्यो परिवर्तन माओवादीको बन्दुकको भरमा सम्भव भएको हो। नेपाली कांग्रेस सहितका अन्य सात दल जो त्यसबेलामा कार्यरत थिए शान्ति प्रक्रियामा अनि सामान्य नेपाली जनताको धारणा के छ भने जनयुद्धको आधारभूमि प्रजातन्त्र वा लोकतन्त्र नभएकोले परिवर्तनका लागि दसकौँदेखि स्थापित लोकतान्त्रिक आस्थाका धरोहर दलहरूको अहिंसात्मक आन्दोलनबाट मात्र राजतन्त्रले घुँडा टेक्ने बाध्यता आएको थियो।  जनआन्दोलन र जनयुद्ध दुवैको अन्तरघुलनबाट परिवर्तन सम्भव भएको भन्न थालेको पनि माओवादीको चित्त बुझाउनका लागि हो भन्ने यहाँ बिर्सनु हुदैन।

तत्कालीन माओवादीलाई जो आज नेकपा ९नेकपा० भएको छ, अझै पनि त्यो भगालोलाई मूलधारको राजनीतिमा राखी राख्नु पनि आजको आवश्यकता हो।  सारांशमा अहिंसात्मक आन्दोलनको बल कति हुँदो रहेछ भन्ने कुरा अफ्रिकामा भएका परिवर्तनहरूलाई पनि लिन सकिन्छ। आजको लोकतान्त्रिक बल भनेको नै अहिंसात्मक आन्दोलन हो र त्यो क्षमतालाई आजको समयमा आविष्कार गर्ने व्यक्ति भारतका राष्ट्रपिता मोहनदास करमचन्द गान्धी नै थिए।  दक्षिण अफ्रिकाको रङ्गभेद नीतिका विरुद्धमा लड्ने महामनीषी नेल्सन मन्डेलासमेत गान्धीका अनुयायी हुन्। संयुक्त राज्य अमेरिकाका रङ्गभेद विरोधी तथा लोकतान्त्रिक आन्दोलनका नेता मार्टिन लुथर किङ पनि गान्धीका नै अनुयायी थिए।  नेपालका लोकतान्त्रिक अभियन्ताहरू, महान सहिदहरू शुक्रराज शास्त्री, दशरथ चन्द, गङ्गालाल, धर्मभक्त माथेमा अनि महान नेताहरू बीपी, गणेशमान, किसुनजी, गिरिजाबाबु, सुवर्णजी, टङ्कप्रसाद, डिल्लीरमण रेग्मी आदि सबै नै गान्धीप्रति नै झुकाब राख्थे। अर्थात् अन्ततः अहिंसाबाट नै रुपान्तरणका लागि उनीहरु विश्वस्त थिए र त्यसैअनुसार आफ्ना कामहरु निर्देशित गरे।  जब जब हामीहरु हिंसाबाट प्रताडित हुन्छौँ, तबतब हामी अहिंसाका पुजारी महात्मा बुद्धको याद गर्दछौँ र पछिल्लो पटक अहिंसाका लागि आफ्नो ज्यान नै विसर्जन गरेका भारतका राष्ट्रपिता महात्मा गान्धीको याद गर्दछौँ।  नेपालका लागि पनि गान्धी एक प्रेरणाका श्रोत थिए। नेपालमा पनि आज एउटा गान्धीको आवश्यकता परिरहेको छ, निःस्वार्थरुपमा अहिंसाकालागि सहादत दिन पनि पछि नपर्ने तर सत्यका पक्षमा अडिग रहने।  राजतन्त्रको अन्त्यपछि र गणतन्त्रको स्थापनापछि नेपालको राजनीतिले केके न कोल्टे फेर्ला र आमूल परिवर्तनको मेवा खान पाइएला भनेको त स्थिति पहिलेको भन्दा पनि झन् झन् बिग्रँदै गएको आभास हुन्छ।

तर पनि  तत्कालीन नेकपा माओवादीलाई  शान्तिप्रक्रियालाई एउटा अवतरणको विन्दुमा अहिंसाले नै पुर्याएको मान्नुपर्छ।  अझै पनि एक भएको नेकपामा  राजनीतिक रुपमा  मनोवैज्ञानिक  विभाजन भने देखिन्छ आपसमा। त्यसैले सरकारी काममा, शान्ति प्रक्रियामा र सोचाइमा कहिलेकाहीँ रिक्तता र तिक्तता पैदा भएको देखिन्छ। हिजोसँगै बसेर र लडेर शान्ति प्रक्रियाका लागि लाग्नेहरुमा नयाँ विभाजन ल्याएको छ। संविधान आए पछि त्यसको कार्यान्वयन पक्षका वारेमा एउटै शान्ति प्रक्रियालाई हेर्ने दृष्टिकोणमा फरक फरक प्रक्रिया र परिणामको अनुमान गर्नेहरू एउटै डुङ्गामा सवार भएका त छन् तर बहाना फरक फरक खियाउँदैछन् भन्ने भान हुन्छ।  एउटाको पूर्व अर्कोका लागि पश्चिम भएको छ र एउटाको शान्तिको आधारभूत तत्व अर्कोका लागि अशान्तिको आधारभूमि मानिँदैछ। सबैमा अविश्वास र विश्वासको सङ्कट देखापरेको छ। यसो हुनुमा शान्तिप्रतिको बुझाइमा अन्तर हुनसक्छ। गान्धीको विचारमा सत्य एउटै हुन्छ र सत्यको स्थापना विना शान्ति सम्भव छैन। सत्यको स्थापनाका लागि हिँसा वर्जित हुन्छ र अहिंसाबाट मात्र सत्य र शान्तिको स्थापना र समृद्धि सम्भव छ।  महात्मा गान्धी अहिले पनि बाणीविहीनहरुको वाणी बनेका छन् करोडौँ— अरबौँ दुःखी—घरबारविहीन तर स्वतन्त्रताप्रेमी उन्नायकहरूका लागि भने ज्युँदो ईश्वरका रूपमा प्रेरणाका श्रोत बने। उनी भन्ने गर्थे— मलाई विश्वास छ, हिंसाको तुलनामा अहिंसा अनन्तरूपले माथि हुन्छ, दण्डको तुलनामा क्षमा नै धेरै मानवोचित वा मान्छेप्रति न्यायगर्ने एउटा सबल आधार हुन्छ।  जुन उदारता र महानताका साथ गौरबशाली नेतृत्व गान्धीले प्रदर्शन गरे, त्यसैले पोरबन्दरको एउटा बालक एकदिन महान भारतको महात्मा गान्धी बने , भूगोलको सीमा चिरेर स्वाभिमानी , स्वतन्त्रताप्रेमी, लोकतान्त्रिक मूल्य र मान्यताको धरोहर र अहिंसाको ज्वलन्त द्योतक भएर  विश्व समुदायमा अनुप्राणित हुनपुगे। आज अहिंसाको कुरा गर्दा आधुनिक विश्वमा गान्धीको नाम नै प्रेरणाका स्रोतका रुपमा पाइन्छ।

उनीमा जनताप्रति अगाध आस्था र प्रेम थियो , सत्य र अहिंसाप्रतिको अविचल आस्थाले बरु सहिद हुन रुचाए, तर कसैसँग असत्यको पक्षमा घुँडा टेकेनन्। आफ्नो आस्था विरुद्धमा।  गान्धीलाई एउटा ज्योतिर्मय अन्तर्दृष्टि भएछ —सहादत प्राप्त गर्नुभन्दा दुई दिन अघिमात्र , उनले भनेका थिए—मलाई कसैले गोली हानेर मार्छ भने पनि म उसलाई छेक्ने पनि छैन, म उसलाई दण्डको भागी गराउन सिफारिस पनि गर्दिन र ऐया पनि भन्दिन। यो भनाई २८ जनबरी १९४८ को थियो। ३० जनबरी १९४८मा जब उहाँलाई नाथुराम गोड्सेले गोली हान्दा—मात्र उनका मुखबाट अन्तिम शब्द हे राम१ हे राम ११ हे राम १११ मात्र निस्कियो। यो नै एउटा महात्माको महानिर्वाण थियो र गोलीको बदला क्षमा मात्र थियो।  आज महात्मा गान्धीको देशमा, नजिकको छिमेक पाकिस्तान, अफगानिस्तानमा मौलाएको हिंसा संसारभर फैलिएको छ। नेपाल अझै पनि हिँसाको चोटबाट व्युँझिन सकेको छैन र घाउमा मलम लगाउने पात्रको पर्खाइमा छ। विश्वको सर्वशक्तिमान देश संयुक्त राज्य अमेरिकासमेत हिंसाबाट पीडित छ। आतङ्कको कालो छायाबाट बर्सेनि लाखौँ निरपराध व्यक्तिहरू हिंसाको शिकार हुन्छन्। आतङ्कबाट पीडित छन्।

नेपाल अझै द्वन्द्वपश्चात्को संक्रमणबाट गुज्रिरहेको छ। यो अनपेक्षित संक्रमणबाट कहिले छुटकारा पाइने हो, कसैले अनुमान पनि लगाउन सकिरहेको छैन। अब त के देखिन थालियो भने संविधान घोषणाले मात्र पनि यो संक्रमणकाल छोटियो भन्ने ठाउँ रहेन  । दुई तिहाईको सरकार बन्दा पनि संक्रमणकाल अझ संग्रालिएको छ। हत्या हिँसाले र आतङ्कले नेपालमा जरा गाडेको छ र त्यसैका कारणले पनि संविधानको सहज कार्यान्वयन नहुने पो हो कि भन्ने आभास हुन लागेको छ। यस संवैधानिक कार्यान्वयनको संक्रमणकालको अन्तका लागि एउटा अचुक र अमोघ शस्त्र भनेको सत्य र अहिंसाको साधना हो।

एउटा गलत भूललाई हजारौँ पटक ठीक भएको भने पनि त्यो वास्तवमा सत्यमा परिणत हुन सक्दैन र एउटा सत्यलाई लाखौँ पटक तोडमरोड गरे पनि भूल वा असत्य सावित अन्ततः हुँदैन।  अहिले पनि हामीले गान्धीबाट सिक्ने कुरा के हो भने द्वन्द्व, शस्त्रास्त्र भनेका फगत वर्तमानलाई आतङ्कित पारेर, राज्यसत्ता कब्जा गर्न सकिने क्षणिक प्रवृत्ति मात्र हुन्, असल शान्तिको आधार भनेको त सत्यलाई स्वीकार गर्ने अहिंसा मात्रै हो। सम्राट अशोकबाट पनि हामीले सिक्ने भनेको हत्या र हिँसाबाट शान्ति कायम गर्न कहिल्यै सकिँदैन, क्षमा र प्रार्थनाबाट अतीतको कालो धब्बा धुन र पुछ्न सकिन्छ। गान्धी हाम्रो आध्यात्मिक चेतका पछिल्ला आकार हुन्। र अन्त्यमा, महामानव महात्मा गान्धीको आत्माले शान्ति पाइरहोस् र संसारभर संयुक्त राष्ट्रसंघमार्फत् अहिंसाको सुवास फैलिरहोस्। नेपालमा पनि अहिंसाको सुवासले सबै हिँसावादीहरुलाई हिँसाबाट सत्ता कब्जा हुन सक्छ तर सार्वभौम जनतामा शान्ति स्थापना हुँदैन भन्ने सत्यको स्थापना हुने गरी बुद्धि पलाओस्।


Your Views
Related News