काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै आफू र श्रीमतीलाई कोरोनाभाइरस सङ्क्रमण पुष्टी भएको बताएका छन्।

यस अघि उनले आफ्नी एकजना निकट सहयोगीमा कोरोनाभाइरस देखिएपछि क्वारन्टीनमा बसेको जनाएका थिए।

उनका ३१ वर्षीय सल्लाहकार होप हिक्समा सङ्क्रमण देखिएपछि राष्ट्रपति र मेलानिया ट्रम्पले आफ्नो परीक्षणको नतिजा पर्खिरहेको बताएका थिए।

साताको सुरुमा ओहायोमा भएको टेलिभिजन बहसमा ट्रम्प सहभागी हुन जाँदा हिक्स एयर फोर्स वानमा उनीसँगै थिइन्।

मङ्गलवार राष्ट्रपति चढेको उक्त विमानबाट ओर्लंदा हिक्सले मास्क नलगाएको तस्बिर सार्वजनिक भएको थियो।

बुधवार ट्रम्प मिनेसोटामा भएको एउटा र्‍यालीमा सहभागी हुन जाँदा राष्ट्रपति चढेको हेलिकप्टरमा उनी अझ नजिक देखिएकी थिइन्।

बिहीवार राति ट्रम्पले ट्विटरमा लेखेका थियो, ‘छोटो समयको छुट्टि समेत नलिइकनै निकै खटेर काम गर्ने होप हिक्सलाई भर्खर कोभिड-१९ देखिएको छ। खराब भयो !’

क्वारन्टीनले दोस्रो राष्ट्रपतीय बहसको आयोजनालाई कसरी असर पार्नेछ भन्ने अझै स्पष्ट हुन सकेको छैन।

दोस्रो बहस फ्लोरिडा राज्यको मायामिमा १५ अक्टोबरलाई तय गरिएको छ।

बिहीवार राती फक्स न्यूजसँग कुरा गर्दै ट्रम्पले आफू र श्रीमती ट्रम्पले, ‘धेरै समय होपसँग बिताउने गरेको’ बताएका थिए।

READ MORE NEWS

जो फेरि भारत जान गौरीफन्टाको लाइनमा उभिएनन्

सात वर्षदेखि भारतमा काम गर्दै आएका हरिदत्त भट्टले अब उता नजाने निधो गरे। कोरोना महामारीका बेला भारतको काम छोडेर आएका थिए।

त्यतिबेला आएकाहरू अहिले धमाधम भारततिरै फर्किइरहेका छन्। यहीँ पहिलेदेखि व्यवसाय गरेकाहरूलाई पनि लकडाउनको असरले छोपेको छ।

लकडाउनको यही बेला हरिदत्तलाई भने व्यवसायी बन्ने मौका जुर्‍यो।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका- १ बन्साका भट्ट भारतबाट फर्किएपछि केही महिना यत्तिकै बसे। उता कमाएको पैसाले पो यता घर चल्थ्यो। उनीहरूको जग्गा जमिन धेरै छैन। यस्तो संकटका बेलामा पनि उनले केही नगरी धरै थिएन। काम खोज्दा पनि पाइएन।

अनि एकदिन अचानक उनलाई कैलालीको धनगढीमा चाउमिन पसल सुरू गर्ने मौका जुर्‍यो।

उनले पसल चलाएको एक महिना पुगेको छ।

‘घरबास मात्र छ, सबैथोक किनेर खानुपर्छ,’ उनले भने, ‘केही नगरी हातमुख जोर्न समस्या भएपछि जे त होला भनेर चाउमिन पसल सुरू गरेको हुँ।’

भारतमा काम गरेको अनुभवले नै उलाई यो रेष्टुरेन्ट खोल्न बल दिएको हो।

कृष्ण उच्च माध्यमिक विद्यालयबाट हरिकृष्णले ८ वर्षअघि प्लस टु पास गरेका थिए। पढाइमा राम्रै भए पनि आर्थिक अवस्था नराम्रो भएर उनले पढाइ छोडे। उनका बुवा घर बनाउने काम गर्छन्। उनी पनि जवानीमा भारत गएकै हुन्।

अहिले बेला-बेला बिरामी हुन्छन्। उनको उपचार गर्न पनि पैसा चाहिराख्छ। पैसा कमाउने भार हरिदत्त र उनका दाजुलाई पर्छ। उनीभन्दा जेठा दाजु भारतमै काम गर्छन्। हरिकृष्ण पनि ७ वर्षअघि भारत पसे।

‘पढ्न त मन थियो तर घरमा आर्थिक स्थिति राम्रो भएन। बुवा बिमार हुन थाले। बहिनीहरू पढ्ने थिए। त्यस कारण कमाउन भारत जान थालेको थिएँ,’ उनले सुनाए।

भारत जान सुरू गरेको वर्ष २०६९ सालमै उनको बिहे भयो। घर हेर्ने जिम्मा श्रीमतिलाई सुम्पेर उनी भारतको पञ्जाव पुगेे। त्यहाँको एक होटलमा उनले काम गरे।

‘पञ्जावमा होटलमा प्लेट धुने, पुछ्ने काम गर्थें,’ उनले भने।

तलब महिनाको पाँच हजार भारू पाउँथे। १ वर्ष पछि उनी त्यो काम छोडर घर आए।

घरमा श्रीमती पर्खेर बसेकी थिइन्। कमाएको ८० हजार जति घरमा दिए। दुई-चार महिनापछि उनी फेरि भारतको गुडगाउँ भन्ने ठाउँमा गए। त्यहाँ पनि उनले होटलमा चिया बनाएर अफिसहरूमा पुर्‍याउने काम गर्थे।

‘चिया पुर्‍याउने, मिटिङ एरेन्ज गर्ने काम गर्न थालें, पछि-पछि मालिकको टचमा रहेर उनले भनेको काम गर्नुपर्थ्यो,’ उनले भने।

त्यहाँ पनि ७-८ महिना काम गरेपछि घर आए। फेरि एक-डेढ महिना बसेर बैंगलुरू गए। त्यहाँको एक स्कुलको क्यान्टिनमा फुड सर्भिसको काम उनले गर्थे।

‘फुड सर्भिस भनेको खाना पकाउने, खुवाउने, टेबल सफा गर्ने, भाँडा उठाउने, धुनेजस्ता काम थिए,’ उनले भने।

देशबाहिर बसेर काम गर्नुपर्दा उनलाई परिवारको खुब याद आउँथ्यो। उनी स्कुल, क्याम्पससँगै पढेका साथीभाइलाई सम्झन्थे।

७ वर्ष बढी भारतमा दु:ख गरी कमाएको पैसाले उपलब्धि हुन नसकेको उनले बताए।

‘बचत पनि गर्न सकिएन, घरायसी खर्च पनि नपुगेर बुबाले कहिलेकाहीँ ऋण निकाल्नुपर्थ्यो,’ उनले भने। यस वर्ष कोरोना भाइरसले विश्व नै प्रभावित भएपछि सब कुरा बन्द भयो। उनी चैतको महिना घर फर्किएका थिए।

सबै कुरा बन्द भएको त्यही बेला उनको आइडियाको ढोका भने खुलेको थियो-अब भारत जान्न यहीँ व्यवसाय गर्छु।

‘जानेको सीपले फास्टफुड पसल चलाउने सोच बनाएरै भारतबाट फर्किएको थिएँ,’ उनले भने।

हुन त उनलाई ठूलै रेष्टुरेन्ट चलाउन मन थियो। तर त्यसका लागि उनीसँग लगानी गर्ने पैसा थिएन। फास्टफुडको पसल चलाउन दुई लाख रुपैयाँ त कम्तिमा चाहिने भयो। त्यसपछि उनले केही वर्ष धनगढीका होटलमा काम गर्ने सोच बनाए। कमाएको पैसा जम्मा गरी पछि आफ्नै होटल चलाउला भन्ने सोचेर काम खोज्न हिंडे।

‘असारतिर लकडाउन अलि खुलेको थियो। त्यसबेला धनगढीका होटलहरूमा एक महिनाजति काम खोज्दै हिडेँ,’ उनले भने।

लकडाउनमा घरमै बसेका उनलाई केही नगरे घरमा के खाने भन्नेसम्म समस्या आउन थालेपछि काम नखोजी नहुने थियो।

उनले धनगढीका तीन-चार ठूला होटलमा काम सोधे। कसैले ‘भएका कर्मचारी त हटाएका छौं नयाँ राख्दैनौं’ भन्थे, कसैले एक महिना बिना तलब काम गर्नुपर्छ भने।

‘कसैले ७-८ हजार तलब दिनसक्ने भन्ने। काम खोज्दा पनि नपाएपछि फेरि भारत जाउँजस्तो लागेको थियो,’ उनले भने।

निरास  भएर उनी डुलिरहन्थे।

एकदिन बजारबाट शिवनगरतिर जाँदै गरेका उनले हसनपुरनेर सटर भाडामा लेखेको देखे। त्यहाँ पहिले अर्कैले चाउमिन पसल चलाएका रहेछन्।

‘सायद लकडाउनमा बन्द भएकाले पहिलेकोले पसल छोडेको रहेछ, मैले त्यही लिने सोच बनाएँ,’ उनले भने।

त्यो सूचनामा लेखेको नम्बरमा फोन गरेपछि साहुसँग भेट गरे। साहुले पहिले नै सटरको एक लाख धरौटी मागे। उनले आग्रह गरेपछि ५० हजार अग्रिम भाडा मै साहु माने।

अब पसल उनको हुने भयो। घर आएर श्रीमतीसँग सल्लाह गरे बुवालाई पनि सोधे। श्रीमतीको अनुहार उज्यालो भयो, हरिदत्तको पनि आँट आयो।

धरौटीमात्र होइन पसलमा चाहिने कुर्सी-टेबल, फ्रिज, ग्यास चुल्हो आदि किन्न पनि पैसा चाहिन्थ्यो।

उनकी श्रीमती कलावतीले गाउँमा महिलाको समूहमा बचत गर्ने गरेकी थिइन्। त्यसैमा व्यवसाय गर्छु भनेर ८० हजार ऋण माग्दै निवेदन दिइन्। तीन दिनमा समूहबाट पैसा आयो। त्यसबापत् उनीहरूले एक प्रतिशतका दरले ब्याज र एक वर्षभित्र साँवासहित फिर्ता गर्नु पर्नेछ। आफन्तहरूसँग थप केही सापटी पनि  लिएका छन्।

प्रदेश सरकारले भारतबाट आएकाहरूलाई भनेर १५ करोड बजेट कृषि गर्नेलाई दिँदैछ। तर, कृषि गर्न जग्गाजमिन नभएका र अरू सीप हुनेहरूलाई भने राहत मिलेको उनले बताए।

‘अहिलेसम्म तीन लाख जति खर्च भएको छ,’ उनले भने,’ सरकारले ऋण दिएको भए त हामीलाई नि राहत हुँदो हो।’

धनगढी हसनपुरमा उनको फास्टफुड सेन्टर राम्रै चलेको छ। मानिसहरू चाउमिन, मःम, फ्राइड राइस खान उनको पसलमा आउँछन्। कोरोना सर्नसक्ने जोखिम रहेकाले ग्राहकसँग नजिक हुँदा मास्क र स्यानिटाइजर प्रयोग गर्ने गरेको उनले बताए।

‘मास्क, स्यानिटाइजर प्रयोग गर्छौं, भाँडा पनि राम्ररी साबुन पानीले धोएर फेरि तातो पानीमा निर्मलीकरण गर्छौं,’ उनले भने।

उनले ग्राहकका लागि पनि टेबलमा स्यानिटाइजर राखेका छन्।

उनकी श्रीमती कलावति अवस्थीले बोर्डिङ पढाउँथिन्। जो लकडाउनका कारण बन्द भयो। अहिले पसलमा श्रीमान सँगै काम गर्छिन्।

उनी काउन्टरमा हिसाबकिताबको काम बढी हेर्छिन् भने श्रीमानलाई भान्सामा पनि सहयोग गर्छिन्। श्रीमानले स्वदेशमै बसेर यसरी व्यवसाय गरेको देख्दा कलावतीलाई निकै खुसी लागेको छ।

‘श्रीमान् भारतमा हुँदा परिवारलाई चिन्ता हुन्थ्यो। बच्चाले बाबा खै भन्थ्यो, अहिले सबै सँगै हुन पाएको छौं। यसैमा धेरै खुसी छु,’ उनले भनिन्।

हरिदत्त पनि चाउमिन पसललाई लिएर सपना देख्न थालेका छन्।

‘यसलाई अझैं विस्तार गर्छु तर भारत जाँदैन,’ उनले भने।

आफूजस्ता युवाहरू स्वदेशमा फरक-फरक काम गर्न चाहने र ती काम गर्ने वातावरण भए युवाहरू यतै बस्ने उनको भनाइ छ।

उनले परदेशको दु:ख सम्झेर चाउमिन पसल खोले। अब कहिल्यै भारत नजाने अडानमा पुगेका छन्। यही बेला गौरीफन्टा नाकाबाट दैनिक भारत जानेहरूको, थामी नसक्नु भिड हुने गरेको छ।

कोरोनाको त्रास र चाडबाडको बीचमा परिवारसँगै बस्ने चाहना मारेर सुदुरपश्चिमबाट भारत प्रवेश गर्नेहरूको संख्या निक्कै बढ्दो छ। भदौदेखि असोज ११ गतेसम्म मात्रै २१  हजार १ जना भारत गएको जिल्ला प्रशाशन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए। घरखर्च चलाउन समस्या भएपछि दशैंको मुखमा देश छोड्नु परेको भारत जानेहरूको भनाइ छ।

हरिदत्त भने आफ्नो व्यवसायमा ग्राहक बढेपछि कमाइ राम्रै हुनेमा ढुक्क छन्।

‘आर्थिक रूपमा नभए पनि मनमा त निकै सन्तुष्ट  छु,’ उनले भने।


Your Views
Related News