काठमाडौँ — कलिला किशोर–किशोरीले आत्महत्या गरेका दुःखद घटना पछिल्ला केही समययता आइरहेका छन् । प्रहरीका तथ्यांकले बाल आत्महत्या बढ्दै गएको देखाउँछ । हत्या, बलात्कार र लागुऔषध दुर्व्यसनजस्ता अपराधमा बालबालिकाको संलग्नता बढेको देखिन्छ ।

अपरिपक्व उमेरमै प्रेम वा धोका, हीनताबोध, अभिभावक वा शिक्षकसितका भनाभन, परीक्षामा असफलजस्ता कारणले बालबालिका आत्महत्याको तहसम्म पुगेका घटना एकपछि अर्को सार्वजनिक भइरहेका छन् । ठूलो उमेरका हुन् वा सानो मृत्यु सुखद त हुँदै होइन । तर साना नानीहरूसमेत स्वयम् हत्याको गलत निर्णयसम्म कसरी पुगे ?

 

साना नानीहरूको आनीबानी बुझ्न तिनको मनोविज्ञान थाहा पाउनु जरुरी छ । बालबालिका कसरी हुर्किए ? तिनको घरपरिवारको वातावरण कस्तो छ ? त्यसैले तिनको स्वस्थ मनोविज्ञान विकास गर्न धेरै हदसम्म सघाउ पुर्‍याउन सक्छ । घरपरिवारमा बालबालिकालाई अभिभावकले हकारेर, गाली र कुटपिट गरेर नियन्त्रणमा राख्न खोज्छन् । ससाना गल्तीमा पनि ठूला सजाय दिइन्छ । उसैको हितका लागि भन्दै गरिएका ती व्यवहारले नकारात्मक असर परिरहेको हुन्छ भन्ने हामी अभिभावक हेक्का राख्दैनौं । त्योभन्दा धेरै सामाजिक विभेद, लैंगिक भेदभाव र वर्गीय उचनीचले बाल मनोविज्ञान नराम्ररी हल्लाइसकेको हुन्छ ।

त्यसमा विद्यालय र त्यहाँको परम्परागत शिक्षण अभ्यास थपिन्छ । बालबालिकाको स्वस्थ मनोविज्ञान विकास गर्न तिनले पनि कुनै ख्याल गरेको पाइँदैन । उल्टै बाल मनोविज्ञानलाई भय र डरमय बनाउन भूमिका निर्वाह गरिरहेका थुप्रै उदाहरण छन् । भयरहित शिक्षण सिकाइको नारा सुनिन थालेको वर्षौं भएको छ । अझै शिक्षकको पिटाइले विद्यार्थीको कानको जाली फुटेका, आँखामा चोट लागेका, हात भाँच्चिएका र बेहोस भएका घटना सुन्न परिरहेकै छ । विद्यालयहरू अहिलेसम्म भयमुक्त छैनन् भन्ने यस्ता घटनाले पुष्टि गर्छ ।

सिकाइ पद्धति झन् ठूलो समस्या बनेको छ । पुस्तक पढेर सुनाउने, एउटै कुरा कापीमा सार्न लगाउने, घोक्न लगाउने र परीक्षामा त्यही उतार्न लगाएर राम्रो अंक ल्याउनुपर्छ भन्ने सूत्रबाट धेरैजसो शिक्षक चलिरहेका छन् । त्यसले हाम्रो शिक्षण सिकाइमा कुनै नयाँपन हुँदैन । वर्षौं एउटै ढर्रा, अभ्यास र सिकाइ भइरहेको छ । त्यो पद्धति अनुशरण गर्न कडा अनुशासन प्रबन्ध गरिन्छ ।

निजी विद्यालयहरूमा त अनुशासन कायम गराउन छुट्टै ‘डीआई’ नै नियुक्त गरेर जबर्जस्ती खडा गरिएको अनुशासनको घेरा तोड्ने विद्यार्थीलाई यातना दिने चलन छ । घरपरिवार, समाज, विद्यालय र शिक्षण अभ्यास पद्धति बालबालिकाको स्वस्थ मनोविज्ञान विकासका लागि बाधक देखिन्छन् । न अभिभावकले आफ्ना छोराछोरीको भावना बुझ्नसकेका छन्, न विद्यालय र शिक्षण अभ्यास बालमैत्री छन् । वर्षौं एउटै मान्यताबाट चलिरहेको सामाजिक मूल्य–मान्यताले बालबालिकाको स्वतन्त्र अस्तित्व स्वीकार्न आनाकानी गरिरहेको हुन्छ ।

भनिन्छ, घरपरिवार बालबालिकाको पहिलो पाठशाला हो । घरायसी वातावरणले धेरै हदसम्म तिनको मानसिक विकासमा प्रभाव पर्छ । परिवारमा मेल छ । आर्थिक स्थिति सामान्य छ । भेदभाव र हिंसा छैन भने बालबालिकाका व्यवहार त्यसै अनुसार हुन्छन् । घरमा कलह छ र परिवारका सदस्यहरू अभाव तथा भेदभावले ग्रस्त छन् भने त्यसै अनुसार बाल मनको विकास हुन्छ । त्यस्तो वातावरणमा बालबालिकाले अभिभावकको पर्याप्त माया, सम्मान र हेरचाह पाउँदैनन् । त्यसले नकारात्मक भावनाको विकास गरिदिन्छ । बाल मनोविज्ञान उसले बाँचेको पारिवारिक, सामाजिक, स्कुलिङ र सिकाइ जीवनको योग बनेर विकास भइरहेको हुन्छ ।

हामी देख्छौं, कुनै बालबालिका चाँडै आवेगमा आउँछन् । हत्तपत्त माफी माग्न तयार हुँदैनन् । हार्न तयार हुँदैनन् । रिस शान्त हुनै मुस्किलपर्छ । रिसइबी, इर्ष्या र बदलाको भावना साँचेर राख्छन् । अरुलाई अप्ठ्यारो पर्दा वा दुख्दा खुसी हुने प्रवृत्ति देखिन्छ । मनोसामाजिक विमर्शकर्ताका अनुसार, यी सबै स्वस्थ बाल मनोविज्ञानको विकास नहुँदाका परिणाम हुन् ।

 

त्यसको ठिक उल्टो, झट्ट आवेगमा नआउने, सानो गल्तीलाई पनि महसुस गरेर माफी माग्न ढिलाइ नगर्ने, हार्न पनि तयार हुने अर्को मनोविज्ञान देखिन्छ । उनीहरू क्षमाशील हुन्छन् । अरुको दुःखलाई पनि आफूसँंग दाँजेर हेर्छन् । बदलाको भावना कम हुन्छ । इर्ष्यालाई इखका रूपमा अरुलाई हानी नपुगाई आफ्नो पक्षमा नतिजा ल्याउने खुबीको विकास हुन्छ । यो बालबालिकाको सकारात्मक एवं स्वस्थ विकासको परिणाम हो । हामीले चाहेको यस्तै मनोविज्ञानको विकास हो । त्यसका लागि सबैभन्दा पहिले हामीले घरपरिवार सुधार्नुपर्ने हुन्छ ।

 

पहिलो पाठशालामा सुधार आउनासाथ स्वस्थ मनोविज्ञान विकासका लागि धेरै सहज हुनसक्छ । अभिभावकले आफ्ना बालबालिकाको मनोविज्ञान बुझ्नुपर्छ । त्यसै अनुसार व्यवहार गर्नुपर्छ । शिक्षक र विद्यार्थीले एकअर्काको मनोविज्ञान बुझेरै बढ्नुपर्छ । घरपरिवार र विद्यालयको वातावरण फेरिनासाथ समाजको व्यवहार पनि स्वतः फेरिँदै जानेछ । समाज भनेको अमूर्त क्षेत्र होइन, घरपरिवारहरू मिलेर बनेको इकाइ हो ।

नेपाली समाज त्यसै पनि भाग्यमा अति विश्वास गर्छ । तपाई–हाम्रा आँखा पनि हरेक दिन अखबारका पाना पल्टाउँदा राशिफलमा पुगेर टक्क अडिन्छ । वैभव प्राप्ति, खुसी, काम बन्ने, सफलताजस्ता भविष्यवाणी देख्दा उत्साहित हुन्छौं । अनि अस्वस्थता, धन हानि, पढाइमा बाधा, यात्रामा क्षतिजस्ता राशिफल पढेर निराश हुने प्रवृत्ति छ । भाग्यवादी सोचकै कारण छोराछोरी जन्मिएपछि उसको भाग्य भविष्यवाणी हेराउने चलन छ । ज्योतिष विज्ञान अनुसार, भविष्यवाणी सहितको चिना लेखाउने चलन वर्षौंदेखि चलिरहेको छ । समाज आधुनिकतातर्फ उन्मुख भइसक्दा पनि मनोविज्ञान बुझ्नेतर्फ भने खासै ध्यान दिएको पाइँदैन ।

एकाध वर्षयता केही विद्यालयले मनोसामाजिक परामर्शदाता नियुक्त गरेर विद्यार्थीको मनोविज्ञान बुझ्ने अभ्यास थालेका छन् । बालबालिकाका अभिभावकसंँग पनि छुट्टै परामर्श गर्दा त्यसले आफ्ना छोराछोरीलाई बुझ्न धेरै सघाउन सक्छ । विद्यार्थीको रुचि, स्वभाव र क्षमताबारे मनोसामाजिक विमर्शकर्ताले शिक्षक र अभिभावक दुबैलाई सम्झाउन सक्छन् ।

सन्तान जन्मिएपछि ज्योतिष विज्ञान र हस्तरेखा बरु नहेराए हुन्छ । ग्रहदशा र नक्षत्रको स्थिति चित्रण सहितका चिना नलेखाए पनि हुन्छ । तर मनोविज्ञान भने बुझ्नुपर्छ । चिना लेखाउन छाडौं, मनोविज्ञान बुझ्नतर्फ लागौं ।


Your Views
Related News