कोरोना भाइरस संक्रमण परीक्षणको नतिजा आउन कति समय लाग्छ ? एक दिन ? चाप बढेको अवस्थामा नतिजा आउन अझै धेरै दिन लाग्न सक्ला । नेपालमै पनि परीक्षणमा सहभागी भएपछि नतिजा हेर्न एक साताभन्दा बढी कुर्नुपरेको अनुभव छ ।

अमेरिका र युरोपका केही देशमा भने भाइरस संक्रमण परीक्षणको नयाँ प्रविधि सुरु भएको छ, जसले १५ मिनेटमै नतिजा दिनेछ । अमेरिकी कम्पनी बेक्टोन डिकिन्सनले निर्माण गरेको यो प्रविधि अमेरिकामा प्रयोगमा आइसकेको छ । अमेरिकाको परीक्षण सफल देखिएपछि युरोपमा पनि प्रयोगका लागि अनुमति प्राप्त गरेको कम्पनीले जनाएको छ ।
हाललाई यो प्रविधिले अमेरिकाबाहेक युरोपको ‘सिई मार्किङ’ चल्ने देशहरूमा प्रयोगका लागि मान्यता पाएको छ । सिई मार्किङ युरोपियन इकोनोमिक एरिया (इइए) भित्र पर्ने देशमा प्रयोगमा रहेको स्वास्थ्य, सुरक्षा र वातावरणसम्बन्धी गुणस्तर चिह्न हो ।

‘एन्टिजेन’ परीक्षण 
धेरैले बुझेको हुन सक्छ, भाइरस संक्रमण पत्ता लगाउने पिसिआर एउटै मात्र प्रविधि हो । तर, मानव शरीरमा भाइरस संक्रमण रहे–नरहेको पत्ता लगाउने अरू धेरै उपाय छन् । अमेरिकामा मात्रै खाद्यवस्तु र औषधिसम्बन्धी नियमनकारी निकाय (एफडिए)ले मानव शरीरमा कोभिड– १९ संक्रमण फैलाउने सार्स–कोभ–२ संक्रमण रहे–नरहेको पत्ता लगाउने दुई सयभन्दा बढी फरक प्रविधिलाई अनुमति दिएको छ ।

भाइरस संक्रमण परीक्षण विभिन्न माध्यमबाट गरिन्छ । कोरोना भाइरस संक्रमण विश्वव्यापी बनेसँगै त्यसको परीक्षणका लागि पिसिआर गरिँदै आइएको छ । अरूभन्दा यो परीक्षण विश्वसनीय पनि देखिएको छ । पिसिआर प्रविधिमा व्यक्तिको नाक वा घाँटीबाट लिइएको ‘स्वाब’मा कोरोना भाइरसको ‘जेनेटिक म्याटेरियल’ रहे–नरहेको हेरिन्छ । यो परीक्षणमा धेरै समय लाग्छ । धेरै केमिकल प्रयोग गरिएको हुन्छ । यो परीक्षणमा धेरै सावधानी पनि अपनाउनुपर्छ ।

अमेरिका र युरोपमा अहिले प्रयोगका लागि अनुमति दिइएको यो प्रविधि पिसिआरभन्दा फरक मात्रै होइन, धेरै छिटो पनि छ । यसलाई एन्टिजेन परीक्षण भनिन्छ । यो परीक्षणमा व्यक्तिको नाक वा घाँटीबाट लिइएको स्वाबमा सार्स–कोभ–२ को एन्टिजेन रहे–नरहेको हेरिनेछ । मानव शरीरमा बाहिरबाट कुनै भाइरस प्रवेश गरेपछि एन्टिजेन बन्ने गर्छ । भाइरसको त्यही एन्टिजेनको परीक्षण गरी संक्रमण रहे–नरहेको हेरिने गरिन्छ । यो परीक्षणमा पिसिआरमा जस्तो धेरै मिहिनेत लाग्दैन । पिसिआरमा जस्तो धेरै केमिकल पनि प्रयोग गर्नुपर्दैन । कम्पनीले युरोपमा अक्टोबरको अन्त्यबाट यो परीक्षणको ‘किट्स’ बेच्न सुरु गर्ने जनाएको छ ।

‘यो युरोपमा साँच्चीकै ‘गेम चेन्जर’ साबित हुने छ,’ बेक्टोन डिकिन्सनका युरोप प्रमुख फर्नान्ड गोल्डब्लेट भन्छन्, ‘युरोप गत अप्रिल र मेमा संकटको इपिसेन्टरजस्तै बनेको थियो । दुःखलाग्दो कुरा युरोप फेरि त्यतैतर्फ अग्रसर देखिएको छ । त्यसैले, यसको माग निकै उच्च हुनेछ ।’ चाँडै नतिजा दिने भएका कारण यो प्रविधि उपयोगी हुने देखिएको हो ।
कम्पनीले यो प्रविधि निकै विश्वासिलो भएको दाबी गरेको छ । विज्ञहरूले भने यो परीक्षणमा ‘नेगेटिभ’ देखिएको रिपोर्टमा केही शंका हुन सक्ने जनाएका छन् ।

युरोपमा बढ्दो माग
कोरोना संक्रमण फैलिएपछि विश्वभर नै परीक्षण छिटो र धेरै हुनुपर्ने माग भएको छ । अहिलेसम्म भरपर्दाे देखिएको पिसिआर परीक्षणले धेरै समय लिने भएपछि छिटो नतिजा दिने प्रणालीको खोजी भइरहेको छ ।

एन्टिजेन परीक्षण प्रणाली प्रभावकारी देखिएपछि युरोपभर यसको माग बढ्न थालेको छ । बेक्टोन डिकिन्सनले निर्माण गरेको यो परीक्षण प्रणालीले युरोपमा प्रयोगका लागि अनुमति पाएपछि अरू कम्पनी पनि हौसिएका छन् । अर्काे अमेरिकी कम्पनी रोची होल्डिङले पनि यसै महिना युरोपको इसी मार्क चल्ने देशहरूमा १५ मिनेटमै नतिजा दिने नयाँ एन्टिजेन परीक्षण सार्वजनिक गर्ने घोषणा गरेको छ ।

अर्को कम्पनी लुमिराडिएक्सले पनि डिसेम्बरमा एक परीक्षण किट्स उत्पादन गर्ने जनाएको छ । बेक्टोन डिकिन्सनले निर्माण गरेको भाइरस परीक्षणसम्बन्धी प्रविधि अहिले पनि युरोपमा प्रयोगमा छ । उसको यो नयाँ उत्पादनले विश्व मानव जीवनले भोगिरहेको यो संकट टार्न मद्दत गर्ने विश्वास गरिएको छ ।

READ MORE NEWS

प्रदेश ५ : दाङ राजधानी र नाम लुम्बिनी राखेर प्रस्ताव दर्ता

प्रदेश ५ को स्थायी राजधानी र नामकरणसम्बन्धी प्रस्ताव शुक्रबार प्रदेश सभामा पेस भएको छ । प्रदेश ५ मा राजधानी र नामकरणको विषय पेचिलो बनिरहेको अवस्थामा सरकारले आज प्रस्ताव पेस गरेको हो ।

प्रदेश सभाको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशको स्थायी राजधानी दाङ र प्रदेशको नाम लुम्बिनी राख्न प्रस्ताव गरेका छन् ।

मन्त्री केसीले प्रदेश सभा बैठकमा पेस गरेको प्रस्तावमा प्रदेशको राजधानी दाङ जिल्लाको राप्ती र गडवा गाउँपालिका तथा अर्घाखाँचीकाे शीतगंगा नगरपालिकाले चर्चेको राप्ती नदी किनारको मैदाने भाग राप्ती उपत्याका देउखुरीलाई प्रदेशको स्थायी राजधानी तोकियोस् भन्ने प्रस्ताव पेस गरेका छन्  ।

उनले प्रदेशको नाम शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीका नामबाट प्रदेशको नाम लुम्बिनी नामकरण गरियोस् भन्ने प्रस्ताव पेस गरेका छन् ।


Your Views
Related News