सुर्खेत : ६-७ महिनाअघि प्रदेश अस्पताल, सुर्खेतमा बिरामी भरिभराउ हुँदा आडैमा रहेको प्रदेश आयुर्वेद औषधालय सुनसान देखिन्थ्यो। तर, कोरोना संक्रमण फैलिएसँगै आयुर्वेद औषधालयमा कोरोना प्रतिकार्यका लागि आयुर्वेद जडिबुटीको प्रयोग गर्न आउने नागरिकको संख्या दैनिक बढ्दो छ।

कोरोना भाइरस संक्रमण निको पार्ने औषधि नभएकै कारण पछिल्लो समय भाइरससँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता बढाउने विश्वासले आयुर्वेदप्रति आकर्षण बढेको देखिन्छ।

औषधालयमा पुगेर जडिबुटी मिश्रित औषधि प्रयोग गर्ने एकातिर छन् भने, घरेलु जडिबुटी प्रयोग गर्नेको संख्या पनि बढ्दो छ।

कोरोना महामारीअघि दैनिक १५/२० जना बिरामी आउने औषधालयमा अहिले दैनिक डेढदेखि दुई सयसम्म स्वास्थ्य जाँच र जडिबुटी मिश्रित औषधि लिन आइपुग्ने प्रदेश आयुर्वेद औषधालयले जनाएको छ। जेठ र असारमा औषधालयले संक्रमितको रोग प्रतिरोधात्मक क्षमता बढाउन सघाउने उद्देश्यले अस्पताल र गाउँगाउँ पुगी जडिबुटी मिश्रित औषधिसमेत वितरण गर्‍यो। तर, पछिल्लो समय अहिले रोग प्रतिरोधात्मक क्षमता बढाउन औषधालय सोधी खोजी गर्दै आउनेको संख्या थपिँदो छ। औषधालयमा हाल कोरोना पोजेटिभ भएका बिरामीका आफन्त बढी आउने गरेका छन्।

‘आयुर्वेदिक जडिबुटीबाट बनेको औषधि खाएपछि कोरोना सजिलैसँग जितिन्छ भन्ने सुनेर आएको हुँ,’ दैलेख नारायण नगरपालिकाका तीर्थ रावतले भने। उनले आफ्नो परिवारको सदस्यका लागि औषधि लिएका हुन्।

त्यस्तै, वीरेन्द्रनगरका शान्तीप्रसाद पौडेल पनि पहिलोपटक औषधालयमा पुगेका थिए।

‘म यही (औषधालय भएको स्थान) वडाको अहिलेसम्म यहाँ (औषधालयमा) आएको थिइनँ,’ उनले भने, ‘चियापसल,  वरपर सुन्छु सबैले आयुर्वेदिक औषधि जडिबुटी खाएपछि लाग्दैन, यदि लागिहाले पनि कोरोनालाई सजिलै परास्त गर्न सकिन्छ भनेर औषधि लिन आएको छु।’

सेवा विस्तारसँगै बढे सेवाग्राही

औषधालयमा कर्मचारीलाई अहिले भ्याईनभ्याई छ।

कोरोना महामारीका कारण पछिल्लो समय सबैको ध्यान केन्द्रित बनेको औषधालयमा आवश्यक पूर्वाधार संरचना तंग्रिने अवस्थामा छ भने, सेवा प्रवाहसमेत विस्तार भएको छ। जसले सेवाग्राहीको चाप बढ्दै गएको औषधालयका प्रमुख डा. शंकरप्रसाद रिजालले जानकारी दिए।

‘विगतको तुलनामा झण्डै ८० प्रतिशत बढी सेवाग्राही वृद्धि भएको छ,’ डा रिजालले भने, ‘सेवाग्राही बढ्नुको कारण सेवा विस्तार हुनु हो। आयुर्वेद तथा वैकल्पिक चिकित्साका उपचार सेवा सुरु गरेका छौ। कतिपय सुरु गर्ने क्रममा छौँ।’

औषधालयका लागि अहिले पनि भौतिक संरचना पर्याप्त छैनन् भने, जनशक्ति पनि सीमितमात्रमा। जसले गर्दा पनि विस्तार गरिएको सेवा प्रवाहमा समस्या देखिएको छ।

‘भौतिक संरचना र जनशक्ति अभाव हुदाहुदैँ पनि हामीले अहिले पञ्चकर्म, ल्याब र भिडियो एक्सरे जस्ता सेवासमेत सुरु गरेका छौ,’ डा. रिजालले भने।

त्यस्तै, औषधालयले यसअघि निशुल्क वितरण गर्ने २३ प्रकारका औषधिबाट वृद्धि गरी हाल ४४ प्रकारका औषधि वितरण गर्ने गरेको छ।

कोरोना लक्षित सेवाग्राही दोब्बर

पछिल्लो समय औषधालयमा कोरोना लक्षित सेवाग्राहीको संख्या बढेको छ। एकातिर कोरोनाबाट बच्ने जडिबुटी मिश्रित औषधि लिन आउने गरेका छन् भने, अर्कातिर कोरोना पोजेटिभ भइसकेपछि कोरोनालाई परास्त गर्नका लागि सेवाग्राहीको आउने गरेको प्रमुख डा. रिजालको भनाई छ। उनका अनुसार औषधालयले ३१० केजी गुर्जो निशुल्क वितरण गरेको र ५६ केजी अमृत चिया वितरण गरेको छ। औषधालयबाटै झण्डै १८ सय फाइल बढी चुमनप्रासलगाएतका जडीबुटी वितरण गरेको जनाईएको छ।

औषधालय विकास समितिका अध्यक्ष विनोद ढकालले जतिसक्यो सेवा प्रवाहलाई चुस्त बनाउन लागि परेको उल्लेख गरे।

‘विगतको तुलनामा औषधालयको भवनलगायत औषधालयमा चाहिने आवश्यक स्रोत साधन व्यवस्थापन गर्न लागि परिरहेका छौँ,’ उनले भने, ‘प्रदेश औषधालय नामको मात्र नभएर सेवा प्रवाहमा पनि अब्बल बनाउँछौँ।’

एउटा कोठामा खुम्चियो जिल्ला कार्यालय

प्रदेश सरकारको नयाँ संगठन संरचना तथा कर्मचारी दरबन्दी स्वीकृतले आयुर्वेद औषधालय थप मारमा परेको छ। प्रदेश सरकारले न आवश्यकता अनुसारको संरचना बनायो न आवश्यक कर्मचारीको व्यवस्थापन गर्‍यो। जसले गर्दा पनि आयुर्वेद चिकित्सा क्षेत्र खुम्चिएको छ।

प्रदेश स्तरको औषधालय सुर्खेतमा रहेको छ। यस औषधालयलाई पनि आवश्यक जनशक्ति जोहो हुन नसक्दा सेवा प्रवाहमा कठिनाई भएको छ। प्रदेशका अन्य नौ जिल्लाका आयुर्वेद औषधालयलाई स्वास्थ्यको एउटा कोठमामा सीमित गराईएको छ।

‘प्रदेश सरकारले ल्याएको नयाँ ओएनएमले आयुर्वेद क्षेत्र निकै मर्कामा छ,’ एक अधिकारीले भने, ‘जिल्ला आयुर्वेदलाई स्वास्थ्यको शाखा भनेर एउटा कोठामा लगेर राखिएको छ।’ उनी थप्छन्, ‘न स्रोत साधन छ न, व्यवस्थित छ, यस्तो तरिकाले कसरी सेवा प्रवाह सहज हुन्छ?’

जसले गर्दा सेवा प्रवाहमा समेत कठिनाई भएको आयुर्वेद चिकित्सकको भनाई छ।

जडिबुटी संरक्षणमा छैन ध्यान

आयुर्वेद जडिबुटीको माग बढ्दै आउँदा वनजंगल तथा गाउँघरमा भएका जडिबुटी संरक्षण नहुदाँ मासिदै गएको छ। कर्णाली प्रदेश आफैँमा जडिबुटीको खानी भएकाले स्थानीय, प्रदेश सरकारले जडिबुटीको संरक्षण गर्नतर्फ ध्यान दिएको देखिदैन।

‘अस्पतालका डाक्टर र अध्यक्षज्यूसँग बसेर पालिकामा एउटा जडिबुटी संकलन केन्द्र बनाउने योजना छौँ,’ चिंगाड गाउँपालिकाका अध्यक्ष देबबहादुर चन्दले भने, ‘जडिबुटी संरक्षण र प्रवर्द्धनका लागि जति सकिन्छ बजेट विनियोजन गरेर आगामी दिनमा सहयोग गर्छौं।’

स्थानीयस्तरमा भएका जडिबुटीको उचित संरक्षण छैन भने, बोटविरुवा लगाउनेतर्फ पटक्कै ध्यान छैन्। कर्णालीमा भएका जडिबुटीसमेत उचित संकलन र प्रशोधन गर्न नसक्दा खेर गइरहेका छन्। कतिपय जडिबुटी चोरी निकासी हुँदै आएको छ।

READ MORE NEWS

सतर्कता अपनाउँदै आयात–निर्यात गर्नुपर्छ


Your Views
Related News