कोराना महामारीले गर्दा विगत ६ महिनादेखि बन्द रहेका विभिन्न संस्थानहरू अब कहिले खुल्छन् त ? अहिलेको अवस्थासम्म आउँदा धेरैभन्दा धेरै विद्यार्थी भाइबहिनीहरूको भविष्य अन्योल भएको छ भने पर्यटन व्यवसायी पूरै धराशायी बनेका छन् । मनोरञ्जन स्थल, खेलकुद प्रतिष्ठान बिजोग अवस्थामा पुगेका छन् भने सिनेमा हलवरपर झार उम्रिसकेका छन् ।
अर्को बिजोगको त के कुरा गरौं, लाखौं–कराडौं रुपैयाँ लगानी गरेका पार्टी प्यालेसहरूको हालत झन् के होला ? यिनीहरूको व्यथा न त राज्यले सुन्छ, न त बैंक–वित्तीय संस्थाले सुन्छन् । न त जग्गा वा घरधनीले नै सुन्छन् । अब पनि अझै लामो समयसम्म यसरी नै बन्द हुने हो भने धेरै मानिस अब सडकमा आउन मात्र बेर छैन । त्यसैले आममानिसको एउटै आवाज छ— यी बन्द रहेका संस्थानहरू अब कहिले खुल्छन् त ?
अहिले मुलुकमा कोरोना महामारीले थला परिरहेको अवस्थामा दिन–प्रतिदिन संक्रमण तीव्र रूपमा फैलँदो क्रममा रहेको छ । तर, यस्तो विषम परिस्थितिमा अरू व्यवसाय केही मात्रामा सुचारु भए पनि पर्यटन, सिनेमा, खेलकुद प्रतिष्ठान, पार्टी प्यालेस तथा शैक्षिक संस्था भने आजसम्म पनि सुचारु हुन सकेका छैनन् । मुलुक कोरोनाले थला परेको ६ महिना बितिसक्दा पनि अझैसम्म खोल्ने÷नखोल्ने अन्योल नै छ ।
तर, केही महिनादेखि खुकुलो भएको लकडाउन अहिलेको परिस्थितिसम्म आउँदा मुलुकमा संक्रमितको संख्या भने ह्वात्तै बढेको अवस्थामा झन् यिनीहरू अब कहिलेसम्म बन्द नै रहने भन्ने कुराले व्यवसायीहरू चिन्तित रहन्छन् । पर्यटन व्यवसाय खुकुलो भए पनि बाह्य तथा आन्तरिक पर्यटकको आगमन अत्यन्तै कम भएकाले पर्यटन व्यवसायमा पूरै नकारात्मक प्रभाव परेको देखिन्छ । उदाहरणका लागि, पर्यटकीय क्षेत्र काठमाडौंको ठमेल क्षेत्र गत सोमबार दिनभरजस्तो सुनसान नै रह्यो । दसैं नजिकिएसंगै अत्यधिक चहलपहल हुने यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक भने निकै कम मात्रामा मात्र आएका थिए । ठमेलका व्यवसायीहरू भने व्यवसाय सरकारले गत महिना केही खुकुलो गरे पनि आन्तरिक तथा बाह्य पर्यटकहरू नआउँदा व्यवसाय नै धराशायी बनेको बताउँछन् ।
उता शैक्षिक संस्था, पार्टी प्यालेस, सिनेमा हल तथा खेलकुद प्रतिष्ठानको हालत पनि उस्तै छ । विगत ६ महिनाभन्दा लामो समयसम्म बन्द रहँदा विद्यार्थीहरूको पठनपाठन प्रभावित भएको छ भने विद्यालयले भौतिक संरचनामा गरेको लगानी डुबेको छ । विद्यालय भवनको भाडा तथा शिक्षक–शिक्षिकाहरूको पारिश्रमिक पनि लामो समयदेखि नै विद्यालय व्यवस्थापनले दिन सकेको छैन । दिए पनि निकै कम मात्रामा । यसमा सरकारीभन्दा निजी विद्यालयहरू धेरै प्रभावित बनेका छन् । तर, विद्यार्थीहरूको पठनपाठन भने सरकारी तथा निजी दुवैमा प्रभावित बनेको छ । निजी विद्यालयहरूले अनलाइन कक्षा सञ्चालन गर्दै आए पनि त्यो प्रभावकारी नभएको सर्वसाधारणको चौतर्फी गुनासो आएको छ ।
लाखौं–कराडौं लगानी गरेर बनाएका पार्टी प्यालेस, सिनेमा हल तथा खेलकुद प्रतिष्ठान कोरानाका कारणले लामो समयसम्म बन्द हुँदा धेरै सिनेमा हल, पार्टी प्यालेसको छेउछाउमा झार उम्रिरहेको देख्न सकिन्छ भने व्यवसाय पूरै ठप्प छ । अब यिनीहरूलाई खुला गरे पनि तत्कालका लागि व्यवसायको आर्थिक पुनरुत्थान हुन नसक्ने हुँदा बैंकको ब्याज, घरभाडालगायतका खर्चहरूमा सरकारले केही सहुलियत दिनुपर्ने व्यवसायीहरूको माग छ । अब यी संस्थाहरू चाँडोभन्दा चाँडो सञ्चालन गरी व्यवसायलाई पुनरुत्थानतिर अगाडि बढाउनु जरुरी छ ।
READ MORE NEWS
खानेपानी सुधार कार्य २५ प्रतिशत सम्पन्न
पोखरा खानेपानी सुधार (सुदृढीकरण) निर्माणकार्य हालसम्म २५ प्रतिशत पूरा भएको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा ३ वर्षभित्र दैनिक ४ करोड १० लाख लिटर शुद्ध पिउने पानी ल्याउने अभियान अन्तर्गतको उक्त परियोजनाको हालसम्म करिब २५ प्रतिशत निर्माणकार्य सम्पन्न भएको परियोजनाका परामर्शदाता इन्जिनियर हरिप्रसाद तिमिल्सिनाले बताए ।
हालसम्म ६ वटा फिल्टर बनेको बताएका उनले एउटा फिल्टरमा बालुवा ग्रावेल फिलिङ भएको बताए । मुहानमा ग्रिप च्याम्बर र पानी थिग्राउने ट्यांकीको बेस ढलान गर्ने तयारी भएको इन्जिनियर तिमिल्सिनाले बताए । थिग्राउने पानी ट्यांकी ४ करोड २० लाख र पानी फिल्टरको ४ करोड १० लाख क्षमताकोे निर्माण हुने भएको उनको भनाइ छ । पोखरा–११ स्थित फूलबारीको पानी ट्यांकी निर्माणकार्य सम्पन्न भएको इन्जिनियर तिमिल्सिनाले बताए । २० लाख लिटर क्षमताको उक्त पानी ट्यांकी हालै निर्माण कार्य सम्पन्न भएको आयोजनाले जानकारी दिएको छ । त्यसैगरी कोलपाटनमा निर्माण हुने पानी ट्यांकीको समेत बेस ढलान भएको उनले जनाए । पाइपलाइनको करिब १२ किलोमिटर काम सकिएको इन्जिनियर तिमिल्सिनाले बताए ।
जग्गा मुआब्जाको विषयलाई लिएर भएको जग्गा विवादले गर्दा फिल्टर भएर आएको पानी संकलन गर्ने दुई वटा ट्यांकी बनाउनु पर्ने काम केही ढिलाइ भएको उनले जनाए । कोरोना भाइरसका कारण लकडाउन हुँदा कामदार समस्याले गर्दा करिब डेढ महिनादेखि काम सुरु गरेको इन्जिनियर तिमिल्सिनाले बताए । केही दिन अघिसम्म लगातार पानी परेकोले सडक निर्माण र बाटो मर्मतमा जुटे पनि केही दिन दिने उक्त परियोजनामा हाल ७० जना मजदुर आबद्ध रहेको उनले जनाए । उनका अनुसार स्थानीय करिब २० जनासहित अन्य दक्ष कामदार रहेका छन् । जापान सरकारको सहयोगमा नेपाल खानेपानी संस्थानले कास्कीको माछापुच्छे« गाउँपालिकामा रहेको मर्दी खोलाको पानी सुदृढीकरण गरी पोखरामा वितरण गर्ने अभियान सुरु गरेको हो ।
उक्त आयोजना सम्पन्न गर्न जापान सरकारले ४ अर्ब ८१ करोड ३० लाख रुपैंयाँ अनुदान दिने सम्झौता भएको नेपाल खानेपानी कार्यालय पोखराले जनाएको छ । नेपाल सरकारले खानेपानी संस्थानलाई १ प्रतिशत ब्याजदरमा ऋण लगानी गरेको हो । निर्माणको कामका लागि जापानिज कम्पनी हाजमा एन्दो कर्पाेरेसनले निर्माणको जिम्मा पाएको छ । आगामी ३ वर्षभित्र सकिने उक्त योजनाकोे खानेपानी योजनाको अवधि अब करिब दुई वर्षभन्दा कम समय छ ।
उक्त योजना काठमाडौंको मेलम्चीपछिको नेपाल सरकारको लगानीमा देशकै ठूलो खानेपानी योजना रहेको दाबी गरिएको छ ।
पोखराका मुख्य गरी तीन ठाउँ पस्र्याङ, फूलबारी र कोलपाटनमा रिजर्भवायर ट्यांकी निर्माण गरिने भएको छ । त्यसैगरी मर्दीको मुहाननजिक दैनिक ४ करोड लिटर क्षमताका ४ वटा बालुवा हटाउन र ४ वटै पानी थिग्राउने ट्यांकी, पुरुन्चौरमा दैनिक ४ करोड एक लाख लिटर क्षमताका पानी छान्ने फिल्टर ६ वटा, पुरुन्चौरमै ९ सय ३० घनमिटरका २ वटा सफा पानी संकलन ट्यांकी निर्माण गरिने भएको छ ।
खानेपानी आपूर्तिका लागि १ सय १३ किलोमिटर पाइप बिछ्याइने भएको छ । यस आयोजनाबाट पोखरा महानगरपालिका करिब ४ लाख ५० हजार जनता लाभान्वित हुने अपेक्षा गरिएको छ । खानेपानी संस्थानअन्तर्गत पोखराका ४० हजार ५ सय घरधुरीमा खानेपानी धारा जडान भएको छ । पोखरामा दैनिक साढे ६ करोड लिटरको पानीको माग भए पनि हाल साढे ५ करोड लिटरमात्रै आपूर्ति हुँदै आएको छ । पोखरामा अझै दैनिक करिब एक करोड ५० हजार लिटर पानी अभाव छ ।