काठमाडौं । कोरोना भाइरस रोग विरुद्धको रुसी खोप ल्याइने खबरले नेपालमा मात्रै होइन अन्तर्राष्ट्रिय बजार नै ततायो । करिव ९० प्रतिशत जनसंख्यालाई पुग्ने गरि खोप नेपाल भित्र्याउने भन्ने खबरले चर्चा पाउनु स्वभाविक पनि हो ।

कोरोनाविरुद्ध खोपको सवालमा भने कस्तो खोप बन्ने हो, कति मात्रा दिनुपर्ने, कस्तो उमेरमा दिने, खोप भण्डारणका लागि कस्तो कोल्डचेन चाहिने, कति लागत लाग्ने लगायतका विषयहरु अझै पनि अध्ययनकै क्रममा छन् ।

तर खोप आउने विषयले हल्ला पिटाउनुका पछाडि के उद्धेश्य रहेको छ त्यो अध्ययनको विषय हो । कुनै पनि व्यापारीले केही सामान आयात गर्न निश्चित मापदण्ड तथा नियम कानूनको पालना गर्नुपर्ने हुन्छ । खोप जस्तो संवेदनशील वस्तु आयात गर्ने विषय आफैमा महत्वपूर्ण छ । त्यसमा पनि महामारीको खोप सरकारले निशुल्क उपलव्ध गराउनुपर्ने हुन्छ ।

सरकारभन्दा एक कदम अगाडि बढेर एक निजी संस्थाले खोप आयात गर्ने विषय एकाएक सार्वजनिक हुनु सामान्य विषय होइन । सरकारको कुनै पनि निकायमा खबरसमेत नगरि एक्कासी अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा छाएपछि मात्रै नेपालले सूचना पाएको यो विषय र यसको पछाडि जनताको स्वास्थ्यप्रतिको चिन्तालाई नै व्यापारको प्रमुख माध्यम बनाउन खोजिएको त होइन भन्ने प्रश्न उठेको छ ।  ।

कुनै पनि तयारी बिना खोप आयात गर्ने समाचार सार्वजनिक गरेर सञ्चारमाध्यममा छाउँदैमा खोप आयात गर्न पाइने होइन । खोप आयात गर्न विभिन्न कानूनी व्यवस्थाहरुको पालना गर्नुपर्दछ । त्यसका लागि विभिन्न निकायबाट स्विकृति लिनुपर्दछ तर अन्तर्राष्ट्रिय स्तरमै चर्चा बटुलेको यो खबरबारे सरकारको कुनै पनि निकायलाई आधिकारिक जानकारी छैन । न त आयातकर्ताले खोप आयात भइहाले पनि पर्याप्त भण्डारण गर्ने व्यवस्था गरेको छ ।

महानिर्देशक औषधि व्यवस्था विभाग

नारायणप्रसाद ढकाल

कुनै पनि औषधि वा खोप ल्याउन सर्वप्रथम आपूर्तिकर्ता कम्पनि अनिवार्य रुपमा यस विभागमा दर्ता भएको हुनुपर्दछ । अनि सो आपूर्तिकर्ता सरकारले तोकेको मापदण्डहरु पूरा गर्न सक्ने/नसक्ने हो त्यसको सबै अध्ययन विभागले गर्छ र तोकेको मापदण्ड पूरा गरेको भए आयात गर्न खोजेको कम्पनी पनि विभागमा दर्ता भएपछि उक्त कम्पनीको पनि अध्ययन पश्चात उपयुक्त ठहरिएमा  आयात अनुमति दिन सकिन्छ ।

तर खोपको विषयमा खोप ऐन २०७२ लगायत स्वास्थ्य अनुसन्धान परिषदको मापदण्ड, सम्पूर्ण प्रक्रिया पूरा गर्नुपर्दछ । सुरक्षा मापदण्ड सुनिश्चित नभईक कोभिड-१९ विरुद्धको खोपलाई नेपाल ल्याउन सकिँदैन तर एक्कासी आयात हुने कुरा सञ्चारमाध्यमबाट थाहा पाइयो, अहिलेसम्म हामीलाई खोप ल्याउने सम्बन्धमा कुनै पनि निवेदन प्राप्त भएको छैन । त्यसैले तत्कालै खोप आइहाल्ने अवस्था छैन ।

परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख

खोप हेर्ने सरकारको निकाय परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डा.झलक शर्मा गौतम खोप आपूर्ति गर्ने प्रावधानबारे यसो भन्नुहुन्छ : खोप भन्नाले कुनै रोगको रोकथाम, नियन्त्रण, निवारण वा उन्मूलन गर्नका लागि प्रयोग गरिन्छ ।

डा.झलकशर्मा गौतम

राष्ट्रिय खोप ऐन २०७२ अनुसार आपूर्ति गरिने कुनै पनि खोप गुणस्तर कायम भई उत्पादन भएको र सो खोप विश्व स्वास्थ्य संगठनबाट गुणस्तयुक्त रहेको भन्ने प्रमाणित हुनपर्नेछ । साथै औषधि आयातकर्ताले व्यवस्था विभागमा दर्ता भएको खोप मात्र आपूर्ति गर्न पाउनेछन् ।

विशेष अवस्था अर्थात् महामारी जस्तो समयमा भने नेपाल सरकार स्वयम्ले निर्णय लिई खोप आपूर्ति गर्न सक्छ तर सो खोप उत्पादन भएको मुलुक वा अन्य देशमा प्रयोग भइसकेको र उत्पादन गर्ने देशको नियमनकारी निकायमा उक्त खोप दर्ता भएको हुनुपर्छ । यी दुवै व्यहोरालाई नेपालको औषधि व्यवस्था विभागलेसमेत प्रमाणित गरेको हुनुपर्छ ।

खोप आपूर्ति गरेर मात्रै पनि हुँदैन । त्यसका लागि खोपको ढुवानी, भण्डारण र वितरण तथा सोको लागि प्रयोग गरिने उपकरण तथा खोप प्रयोग गर्दाको अवधिसम्म कायम राख्नुपर्ने तापक्रम तोकिएको मापदण्ड अनुसार कायम हुनुपर्छ । कोल्डचेन खोपको सबैभन्दा महत्वपूर्ण व्यवस्था हो । उपयुक्त तापक्रममा राखिएन भने खोपको शक्ति र प्रभावकारिता घट्छ । त्यसैले खोपको आपूर्ति गर्नुभन्दा अगाडि हामीले थुप्रै शर्त र मापदण्ड पूरा गरेको हुनुपर्दछ ।

कोरोनाविरुद्ध खोपको सवालमा भने कस्तो खोप बन्ने हो, कति मात्रा दिनुपर्ने, कस्तो उमेरमा दिने, खोप भण्डारणका लागि कस्तो कोल्डचेन चाहिने, कति लागत लाग्ने लगायतका विषयहरु अझै पनि अध्ययनकै क्रममा छन् ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद

खोप तथा औषधिबारे अनुसन्धान गर्ने निकाय नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्यसचिव डा.प्रदिप ज्ञवाली आपूर्ति गर्नुअघि नेपालमा पनि खोपको ट्रायल गर्नपर्ने र त्यसको प्रभावकारिता हेरेर खोप ल्याउने व्यवस्था रहेको बताउनुहुन्छ । कुनै पनि औषधि वा खोप बजारमा जानुअघि विभाग र परिषदबाट स्विकृति लिनपर्ने ज्ञवालीले बताउनुभयो । हालै कोरोना विरुद्धको रुसी भ्याक्सिन नेपाल ल्याउने भन्ने सम्बन्धमा कुनै पनि जानकारी नगराएको भन्दै ज्ञवालीले यसबारे फैलिएको हल्लाबारे यसरी स्पष्ट पार्नुभयो ।

डा.प्रदिप ज्ञवाली

विश्वमा कोरोना विरुद्धको विभिन्न १० थरीका खोपहरु तेस्रो चरणमा क्लिनिकल परीक्षणमा छन् । परीक्षण भई अन्तिम नतिजा नआउन्जेल खोप अनुसन्धानकै क्रममा रहन्छ ।

विश्वमा जति पनि औषधि र खोपको प्रयोग गर्छाै ती सबै क्लिनिकल परीक्षण पश्चात मात्रै गरिएका हुन्छन् । क्लिनकल परीक्षणमा मानिसहरु स्वइच्छाले सहभागी भएको हुनुपर्दछ । नेपालको सन्दर्भमा खोपको तेस्रो चरणको ट्रायल गर्ने पाउने व्यवस्था छ । विशेष अवस्थामा निर्णय नेपाल सरकारले निर्णय गरि दोस्रो चरणको ट्रायल पनि गर्न सकिन्छ । नेपालको क्लिनिकल ट्रायल गाइडलाइन अनुसार नेपालमै उत्पादित खोप र औषधि हो भने चाहिँ सुरुको चरणबाट नै क्लिनिकल परीक्षण गर्न पाइन्छ ।

त्यो ट्रायल पनि राज्यले निर्णय गरेर औषधि व्यवस्था विभागमा विधिवत् रुपमा दर्ता नभई गर्न पाइँदैन । अन्तर्राष्ट्रिय मान्यता के छ भने कुनै पनि खोप तेस्रो चरणको परीक्षणपछि मात्रै सर्वसाधारणका लागि प्रयोगमा ल्याउन सकिन्छ ।

स्वास्थ्य परिषद् स्वास्थ्य नीतिमा रहेर सरकारलाई सुझाव दिने भएकाले हामी के भन्छौँ भने खोप क्लिनिकल माध्यमबाट नै आउनुपर्छ । त्यसैले कोरोना विरुद्धको खोप सम्बन्धमा इच्छुक कम्पनीहरु ट्रायलको माध्यमबाट नै अघि बढ्नुपर्छ । विभाग र स्वास्थ्य मन्त्रालयसँग अनुमति लिई उनीहरु तेस्रो चरणको क्लिनिकल परीक्षण गराउन तयार भए हामी वहाँहरुलाई स्वागत गर्दछौँ ।

निजीले खोप ल्याउन पाउने बारे
निजीले खोप ल्याउन नपाउने कदापि होइन । खोपबारे अनुसन्धान गरि तथ्य हेरेर, ट्रायलमा लगि त्यसको फाइदा हेरेर मात्र खोप आपूर्ति गर्ने भनिएको हो । खोपबारे वैज्ञानिक अध्ययन गरी यसले फाइदा गरे/नगरेको तथा सुरक्षित रहेको प्रमाणित गरेर मात्रै खोपको प्रयोग गर्नुपर्दछ ।

हरेक व्यक्तिको जीनको आधारमा खोपको प्रभावकारिता देखिने हुँदा अन्य मुलुकमा ट्रायल भएको खोपले हाम्रो जीनमा कति फाइदा र प्रभावकारिता देखिन्छ भन्ने सम्बन्धमा अनुसन्धान गर्न यहाँ पनि ट्रायल गर्नुपर्छ । त्यसो गरेमा खोप सुरक्षित हुन्छ ।


Your Views
Related News