भएको यौटै छोरो अमेरिका भासिएपछि म एक्लिइसकेको थिएँ । कसो-कसो श्रीमतीले मलाई एक्लिनबाट जोगाइरहेकी थिइन् । श्रीमती पनि बितेपछि भने बल्ल मलाई म एक्लो भएँ भन्ने कुराको आभास हुन थाल्यो ।

जागिरले पनि त मलाई मौका हेरेरै बिदा गर्‍याे ।

रिटायर्ड जिन्दगी, रित्तो घर र चिहान यौटै हुँदो रहेछ । घरका रित्ता कोठाहरूले बारबार मलाई तर्साउन थाले । भण्डारमा मुसाहरूले साम्राज्य जमाए । किचनमा साङ्लाले । सिर्सिरे हावाले झ्यालहरू आपसमा ठोक्किएर बज्दा तर्सिन थालेँ । सबैभन्दा ठूलो भय त आफ्नै मगज पो रहेछ- म आफैँसँग डराउन थालेँ ।

सपनाको उडान भरेर कतै दूरमा घरजम गरिरहेको छोरो खोज्न मेरा बाध्यताहरूले पनि उडान भरे । प्राण जगतमा आफू एक्लिएपछि साहारा खोज्नु आदिम चलन हो ।

मैले सोचेको थिएँ- छोरा बुहारीसँग भेट भएपछि त मेरो एक्लोपन हट्ला । छोरा बुहारीसँग भेटेपछि त मेरो मुहारमा सूर्य उदाउला । तर, दुनियाँमा सोचेजस्तो कहाँँ हुँदो रहेछ र ! सडक किनारमा एक्लै उभिएको ल्याम्पोष्ट जस्तै- अब्रोड झन् एक्लो रहेछ । नितान्त एक्लो ।

चेक, क्रेडिट कार्ड, गाडी अथवा उत्तरआधुनिक जिन्दगी- छोराले मलाई केही कुराको कमि हुन दिएन । बरू मेरै खातिर अरू एक घन्टा काम गर्ने समयाअवधि बढायो । तर, उसले सोचेन- उसले काम गर्ने समय थपिनु भनेको म एक्लिने समय पनि थपिनु हो ।

उमेरले साठियाैँ खुड्किला पार गरेपछि धेरै कुराहरू आफूबाट छुट्दा रहेछन् । टाढिँदा रहेछ । धेरै कुराहरूले आफ्सेआफ अवकाश लिदा रहेछन् । र, थपिँदै जाँदा रहेछन् परिपरिका रोगहरू, ब्यथाहरू, उल्झन्हरू ।
– यो सत्य रहेछ उमेर बढ्दै गएपछि मान्छे एक्लिदै जाँदो रहेछ ।

रक्की हिलको कच्ची उकालोमा पाइडल मारिरहेको थिएँ । बेगमा हुँइकिएको गाडीले छ्याप्प मेरो शरीरमा हिलो छ्यापेर अगाडी बढ्यो, आत्तिएर मैले पछाडि हेरेँ ।

आजकलका मान्छेहरू बहुत हतारमा हुन्छन् । सबैलाई आफ्नो गन्तब्यको मात्र हेक्का हुन्छ । सडककै किनारामा थ्याच्च बसेर ख्वी गर्नबाहेक अब के नै गर्न सक्छु र अरू?

साइकलको स्ट्यान्ड सोझ्याउन नभ्याउँदै अगाडीबाट यौटा कलिलो हाँसो गुन्जियो- हा हा हा हा…. ।

मैले अगाडी हेरिनँ र हेर्नुपर्ने महत्त्व पनि ठानिनँ । मान्छेहरूलाई मेरो दुःखमा कुनै पिर छैन भने अरूको हाँसोमा म किन चासो राख्ने? मान्छेहरू अरूको दुःखमा रमाइरहेका छन् भने अरूको खुसीमा म किन रमाउने? मैले अगाडी हेरिनँ । हेर्दै हेरिनँ ।

बरू, घ्यार्र इन्जिन बजेको आवाज आयो, घरर टायर कच्ची सडकमा रगटिएको आवाज आयो । तर, अहँँ मैले अगाडी हेरिनँ ।

किन हेरिनस् ?

किन हेर्नुत ?

किन नहेर्नुत ?

किनचैं हेर्नुत ?

हेर्दाचैं के बिग्रिन्थ्यो र तेरो ?

नहेर्दाचैं के बिग्रियो र ?

मनले अनेक सवालहरू गरिरह्यो । मैले नहेरेरै जितेँ । धेरै कुराहरूसँग हार खान थालेपछि म थेत्तरो हुँदै गएको छु । पराजयले मान्छेलाई कमजोर मात्र हैन घमन्डी पनि बनाउँदो रहेछ ।

– म जीवनका तमाम आयामहरूसँग हार्दै गरेको यात्री हुँ नि ।

– म दुनियाँबाट एक्लिदै गएको फकिर हुँ नि ।

‘हा हा हा…’

मलाई त्यो कलिलो हाँसोले छाडेन । अघि कतैबाट आएको हाँसोले अब मेरो गिदीमा अड्डा जमायो ।

सडक किनारामा थ्याच्च बसेर साइकललाई मेरो सामुन्ने उत्तानो पारेको छु । दायाँ हातले पाइडल घुमाइरहेछु । उत्तानाे परेको चक्का कुनै अवरोध नभेटेर बेतोडले घुमिरहेछ ।

उत्तानो नपरेर सुत्तानो परेको भए यो घुमाइको बेगले कति लामो दूरी तय गर्थ्याे होला ? कहाँसम्म पुग्थ्यो होला ? गलत अवस्थाले कति धेरै फरक पार्दो रहेछ । अथवा, कालले मेरो खुसीमा हिलो नछ्यापेको भए म पनि त कतै साइकलको टायर जसरी नै गुडिरहेको हुने थिएँ होला । सतह सबैभन्दा ठूलो कुरा रहेछ । पैतालाले नाप्ने सतह नहुँदो हो त यात्रा पनि हुँदो रहेनछ । यो उत्तानो चक्काले गुड्किने सतह र मान्छेलाई बाँच्न हौसल्लाह बढाउने आधार नभए संसार शून्य हुने रहेछ ।

‘हा हा हा…’

हुनसक्छ कलिलो त्यो हाँसो बारबार मेरो गिदीमा मडारिनुसँग मेरा छोरा बुहारीले बाँझिने सम्झौता गर्नुको आक्रोश मिसिएको छ ।

‘हा हा हा…’

हुनसक्छ कलिलो त्यो हाँसो बारबार मेरो गिदीमा मडारिनसँग मेरो बंश टुंगिनुको आक्रोश मिसिएको छ ।

‘हा हा हा…’

हुनसक्छ कलिलो त्यो हाँसो बारबार मेरो गिदीमा मडारिनुसँग मेरो काखमा लुटुपुटु गर्ने नातीनातिना नहुनुको आक्रोश मिसिएको छ ।

‘हा हा हा…’

हुनसक्छ कलिलो त्यो हाँसो बारबार मेरो गिदीमा मडारिनुसँग मेरो एक्लोपनको आक्रोश मिसिएको छ ।

अथवा, हुनसक्छ अरू, अरू, अरूनै धेरै कुराहरूको धेरैथोक मिसिएको !

खैर, जेसुकै होस् । कलिलो हाँसोको गह्रुङ्गो बोझ बोकेर म छोराको रित्तो घरमा फर्किएँ । रित्तो घरमा टिभी छ । वाइफाई छ । स्वीमिङपूल छ । जिमखाना छ । मिनिबार छ । महँगा भुलभुलैयाहरू छन् । तैपनि मेरोलागि घर रित्तो छ । एक्लो छ । अथवा घरमा मलाई भुल्याउने कुनै बहानाहरू छैनन् । मान्छे बाँच्ने भनेको बहानाहरूले नै त हो नि ।

रन्थनिएर सोफामा बसेँ ।

‘यो घर तेरो हैन उसकै तालमा छाडिदे ।’ सन्तुष्ट मनले अर्थ्याउन खोज्यो ।
‘नापिस् ।’ असन्तुष्ट मनले प्रतिवाद गर्‍यो ।

‘किन नापिन ?’

‘कसरी नापिस् ?’

‘तेरो हुँदो हो त यतिखेर यहाँ तँ हुनुको आभास हुँदो हो । तैले बनाएका तिता–मिठा यादहरू हुँदा हुन् । बार्दलीमा, ढोकामा, भित्तामा ठोकिएका, ठेसिएका, लडेका दुःखका दागहरू हुँदा हुन् ।‘

‘तैपनि ऊ मेरो छोरो हो । यो छोराको घर हो । मेरै त हो ।’

‘सम्बन्ध आफैँमा भ्रम हो । यति बुझ- त्यो तेरो छोरो मात्र हैन । कसैको श्रीमान् पनि हो । कसैको प्रेमी पनि हो । कसैको इम्प्लोइ पनि हो ।’

‘त्यो कुरा मेरो सरोकारको विषय हाेइन । पहिलो कुरा ऊ मेरो छोरो हो ।’

‘होला, मैले माने । तर, उसका लागि पहिलो कुरा उसकी श्रीमती हो ।’

‘कसरी हुन सक्छ ?’

‘कसरी सक्दैन ?’

‘ऊ जन्मिनुमा मेरो शरीर पग्लिएको छ । उसको रगतमा मेरो रगतको बुँध मिसिएको छ । मेरो समर्पण मिसिएको छ । मेरो त्याग मिसिएको छ । मेरो भोक, भय, खुसी सबैथोक मिसिएको छ ।‘

‘माने त माने, तसँग जस्तै उसकी श्रीमतीसँग उसको जीवन मिसिएको छ । दुःख मिसिएको छ । सुख मिसिएको छ । भय मिसिएको छ । क्रोध मिसिएको छ । माया मिसिएको छ । भविष्य मिसिएको छ । शरीर मिसिएको छ ।’

‘उसो भए केही हैनत ऊ मेरो?’

‘कसले भन्यो केही हैन? तेरो छोरो हो नि ।’

‘तर…’

सन्तुष्ट मन र असन्तुष्ट मनबीच निकै लामो तर्क–बिर्तक चल्यो । म दिनैभर दोमनको घनचक्करमा घुमीरहेँ ।

अघिल्लो दिनझैं अर्को दिन पनि रक्की हिलको कच्ची सडकमा उसैगरी साइकल चलाइरहेको हुन्छु । उसैगरी पछाडिबाट हर्न मार्दै गाडी आउँछ । उसरी नै गाडीबाट केही उडेर मेरो शरीरमा ठोक्किन आइपुग्छ । मैले आत्तिएर पछाडि हेर्न नपाउँदै, गाडी अगाडी बढ्छ । म थाहा पाउँदै छु अलि अगाडी पुगेपछि गाडी रोकिन्छ । म उसैगरी हेर्दिनँ ।

‘हा हा हा…’ आज पनि यौटा कलिलो हाँसो गुञ्जिन्छ । उसरी नै टायरहरू रगडिन्छन् र उसरी नै गाडी अगाडी बढ्छ । उसरी नै म साइकललाई सडक किनारामा उत्तानो पारिदिन्छु र हातले पाइडल घुमाउन थाल्छु । उसरी नै चक्का सतहबेगर हावामा गुडी रहन्छ । हिजोभन्दा फरक छ त यौटै कुरा- हिजो मेरो शरीरमा पानी छ्यापिएको थियो, आज यौटा ठूलो खाम मसँग ठोक्किन आइपुगेको छ ।

पाइडल घुमाउन छाडेर खामतिर ध्यान दिन्छु । खामको ठेगाना लेख्ने ठाउँमा ठूलठूला अक्षरमा लेखिएको छ, ‘तिम्रै लागि ।’

अहो, अहो ! मेरो दिलमा घाम उदाइहाल्छ । यत्ति नै बेला मेरो मगजमा हिजोको बासी कलिलो हाँसो मडारिन थाल्छ ।

थाहै नपाई खाम खोल्न पुगेछु । खामभित्र यौटा बडेमानको क्यानभास छ । क्यानभासमा मजस्तै देखिने यौटा बुढो सुस्ताइरहेछ । हैन हैन, क्यानभासको बुढो म नै हुँ । खाममा अर्को पनि पन्ना रहेछ । पन्नामा यौटा ठूलो स्माइलको इमोजी छ । त्यति मात्र कहाँ, खाममा त अर्को पनि पन्नो रहेछ । तेस्रो पन्नामा ठूलाठूला अक्षरमा लेखिएको छ ‘माफ गरिदेऊ ।’

‘हा हा हा…’

फेरि कलिलो हाँसो मेरो गिदीमा रन्थनिन्छ ।

बल्ल मलाई अगाडी हेर्ने होस् पलाउँछ । अगाडी मजस्तै रित्तो सडक छ । केही नसोची जुरूक्क उठ्छु र साइकल सुत्तानो बनाएर जोड जोडले पाइडल मार्न थाल्छु । मलाई क्यानभास उपहार दिने गाडी भेट्टाउनु छ । मलाई मेरो गिदीमा हुँडलिने कलिलो हाँसो भेट्टाउनु छ ।

निकैबेर हुँइकिएँ । हैन हैन गुड्किएँ । तर, गाडीसँग साइकलको बेग के मिल्थ्यो । मलाई त यति पनि थाहा छैन; गाडी कहाँ गयो ? कुन दिशातिर गयो ? मेरो गन्तव्य कहाँ हो ?

थाकेपछि गाडी नभेट्टाउनुको रिसले साइकललाई अलि पर हुत्याएर सडक किनारमा थ्याच्च बसेँ । यतिबेला उत्तानो साइकलको पछाडिको चक्का चर्खाको चक्का जस्तै घुमी रहेछ ।

साइकलको छेउमा जान्छु र पाइडल हातले घुमाउन थाल्छु । हावामा घुमेको चक्का हेरेर मलाई कताकता सन्तुष्ट हुन्छ । मलाई आफैंँ गुडिरहेको भान हुन्छ । चाँडै गाडी भेट्टाउने कुरामा आसावादी हुन्छु ।

दिनभरी पार्कमै टहलाउँछु । रित्तो घरभन्दा पार्क उपयोगी छ ।

अर्को दिन कलिलो हाँसोको प्रतिक्षामा सखारै रक्की हिल चढ्छु । कच्ची सडकमा गुड्ने प्रत्येक गाडीलाई नियाल्छु । अहँ, आफ्नै गिदीमा गुञ्जिएकोबाहेक अरू कतैबात कलिलो हाँसो मेरो कानमा गुञ्जिदैन ।

अर्को दिन ।

अझै अर्को दिन ।

अझै, अझै अर्को दिन ।

र, अझै अझै अझै अर्को दिन पनि म निरास नै भइरहन्छु । न गाडी, न हाँसो, न कुनै क्यानभास, सिर्फ प्रतिक्षा !

किन रातमा चन्द्रमाले आस देखाउँछ र चन्द्रमाकै पछि लागेर खै किन म त्यो कलिलो हाँसो खोजिरहेको छु ? म आफैँलाई थाहा छैन । बस, खोजिरहेछुु । पर्खी रहेछु । उसो त मलाई पुग्नु पनि त कहीँ छैन । मैले पाउनु पनि त केही छैन ।

रित्तो जीवन, रित्तो सडक, रित्तो पेट र रित्तो मस्तिष्क सधैं घातक हुन्छ । मलाई थाहा छ- म दिनदिनै कलिलो हाँसोको आसमा राक्षर हुँदै गइरहेको छु ।

०००

एक आइतबार छोराको कारमा बसेर रक्की हिलको बाटो हुँदै अस्पतालतिर हुँइकिदै थिएँ । त्यहि कच्ची बाटोको त्यही उकालोमा कुनै बच्ची साइकल बिसाएर सुस्ताईरहेकी देखेँ । उसका आसपासमा बडेमानका खामहरूको खात थियो ।

‘गाडी रोक त ।’ मैले छोरालाई गाडी रोक्न लगाएँ ।

‘हुन्न । डाक्टरसँग अपोइन्टमेन्ट लिएको छु । ढिला हुन्छ ।’ छोराले मानेन ।

‘रोक न रोक ।’ जिद्दी गरेँ ।

‘हुन्न ।’ अहँ छोरो मान्दै मानेन । केही गरे पनि मानेन ।

मेरो रोग झन् झन् बढ्यो । गिदीमा कलिलो हाँसो झन् फैलन लाग्यो । झन् झन् पीडा बढ्न लाग्यो । झन् झन् सिथिल हुन थालेँ ।

छोराको अनुहारमा मेरो बिमारको केही भय देखियो । ऊ केही चिन्तित पनि भयो । तर, उसले मेरो बिमारको खातिर काम छाड्न सकेन । रित्तो घरमा मलाई एक्लै छाड्न बाध्य भइरह्यो ।

घुमिफिरी आइतबार आयो । मैले साइकल टिपेँ र रक्की हिलतर्फ हुइकिएँ ।

रक्की हिलको कच्ची उकालोमा बच्ची मलाई कुरिरहेकी रैछे । मलाई देख्नेबित्तिकै आएर गम्ल्याङ्ग अँगालो मारी ।

‘आई मिस्ड यु ब्याड्ली । कहाँ गएका थियौ ?’ प्रश्न गरी ।

कस्तो अचम्म चिनजान भएकै छैन । देखभेट भएकै छैन । को कहाँदेखि आएको र कहाँ जाने कसैलाई थाहा पत्तो छैन । त्यही पनि ऊ मलाई मिस गरेँ भन्छे । फेरि मैले पनि त उसलाई मिस गरिरहेकै त छु । मैले पनि त उसलाई देखेको थिइनँ । चिनेको थिइनँ । भेटेको थिइनँ । कस्तो संयाेग ! बस, उसको हाँसोका कारण म उसलाई मिस गरिरहेको छु ।

‘भन न कहाँ गएका थियौ ?’ उसैले सोधी ।

‘जहाँ म जान चाहन्नँ ।’

‘कहाँ हो तिमी जान नचाहने ठाउँ?’

‘जहाँ म पुगेको छैन ।’

‘उफ ! बुझिनँ मैले तिम्रो कुरा । यी हेर त मैले तिम्रो नाममा कति धेरै चित्रहरू कोरेँ ।’

उसले एकबिटो पत्रहरूको खात मेरो हातमा राखिदिई । म पुलकित भैगएँ ।

दिनभरी हामी पार्कमा रमाइरह्यौँ । मैले साइकल उत्तानो पारेर हातले पाइडल घुमाइरहेँ । म चाहन्छु साइकलको चक्का उल्टो घुमेजस्तै मेरो आयू पनि उल्टो घुमोस् ।

उसले मेरो क्यानभास उतारि रही । बेलाबेला ऊ मतिर हेर्छे र खितीती हाँस्छे । बेलाबेला बिग्रिएका क्यानभासतिर हेरेर खितीती हाँस्छे ।
जिन्दगीमा धेरै कुराहरू आकास्मिक हुन्छन् । उसँगको भेट मेरालागि यौटा आकास्मिक हो । तर, उसँगको परिचय मेरो जिन्दगीको टर्निङ पोइन्ट बन्न थाल्यो ।

यौटा ६० वर्षे बुढो र यौटी १३ वर्षे बच्चीबीच अनौठो सम्बन्ध बन्यो । हामीलाई मिल्ने साथी बन्न कत्ति पनि समय लागेन । मित्रतामा उमेर बाधक बन्दो रहेनछ ।

‘के तिमी मलाई मेरो विद्यालयसम्म पुर्‍याइदिन सक्छौ ? मलाई मेरो बाबासँग विद्यालय जान मन लाग्दैन ।’ एकदिन उसले प्रस्ताव गरी ।

‘किन?’

‘किनकि मेरो बाबा संसारकै सबैभन्दा बिजी मान्छे हुन् । उनको करोडौँको सम्पत्ति छ । संसारभर उनको बिजनेसका हजारौँ शाखाहरू छन् । उनको बिजनेसमा लाखौँ इम्प्लोइ छन् । सयौँसँग दिनमा बैठक बस्नुपर्छ । उनले मलाई विद्यालयसम्म पुर्‍याउने गर्दा उनलाई लाखौँको घाटा भैराखेको छ । उनीसँग बोल्न पनि पैसा तिर्नुपर्छ । म तिमीलाई पे गर्छु । मलाई विद्यालयसम्म पुर्‍याइदेउन है ।’

‘अनि तिम्री आमा?’

मेरो प्रश्नले एकैछिन ऊ मौन भइ र भन्न थाली, ‘मेरी ममी हामीसँग हुनुहुन्न’, थपी, ‘बाबासँग परिवारको लागि समय नभएकै कारण मेरो ममसँग ड्याडको डिभोर्स भएको हो ।’

पैसाको भर भएठाउँमा मान्छेको भर हुन्न रहेछ । पुँजीवादले संंसारलाई मोलमोलाइको साधन बनायो । अहो ! म सोच्थेँ दुनियाँभरको एक्लो म मात्र हुँ । दुनियाँमा मलाई मात्र समस्या छ । हैन रहेछ । यहाँ त सबै एक्ला रहेछन् । सबै दुःखी रहेछन् । सबै निरास रहेछन् । बल्ल थाहा पाएँ छोराले सधैँ खाने दबाइ केको हो !

कच्ची सडकमा बच्चीसँग भेट भएपछि मेरो रोग निको भयो । म तन्दुरूस्त भएँँ । मैले बच्चीलाई साइकलमा विद्यालयसम्म पुर्‍याउने र बेलुका घर ल्याउने जागिर पाएँ । म आफैँ इम्प्लोई भएको देखेर छोरो पनि दङ्ग भयो ।

छुट्टीको दिन पनि म बिजी हुन थालेँ । बच्चीलाई घुमाउने, डुलाउने काम थपियो । उसो त म खुसी छु । बच्चीलाई म आफ्नो इच्छाअनुसार डाइभर्ट गर्न सक्छु । मलाई मन लागेको खान/ख्वाउन सक्छु । फेरि ऊ मेरो सबैभन्दा नजिककी साथी पनि त हो ।

– ऊ बोलीरहन चहान्छे । म सुनिरहन चहान्छु ।

– ऊ खेली रहन्छे । म हेरिरहन्छु ।

बेला बेला बच्ची, बच्ची नभएर नामुद दार्शनिक जस्ती लाग्छे । गहन कुराहरू गर्छे । गहन चित्रहरू कोर्छे । उसका क्यानभासमा प्रायजसो पात्रहरू एक्ला हुन्छन् । एक्लो ल्यामपोष्ट उसको मुख्य बिम्ब हो । बारबार चिहान देखाएर मेरो घर भन्छे ।

उसले सडक किनारमा रूँदै बसेको एक्लो कुकुरको यौटा क्यानभास कोरेकी छे । हुन त उसले जे देखी त्यही क्यानभासमा उतारी । तर, त्यो क्यानभासमा म संसारभरका तमाम मान्छेको प्रतिनिधित्व पाउँछु ।

‘यौटा बाँदरको बच्चाले यौटी स्कुले बच्चीलाई अंकमाल गरेको’ अर्को पनि यौटा क्यानभास कोरेकी छे । त्यो क्यानभास हेर्दा बारबार अचम्ममा पर्ने गरेको छु । ‘कसरी आउँछ त्यो कलिलो दिमागमा यति गहन सोचहरू?’ काल्पनिक नै किन नहोस्  मान्छेले गरेका क्रियसनहरूमा उसको आफ्नो असलियत झल्कँदो रहेछ ।

दिनहरू जसरी बित्तै गए । उसरी नै मेरो र उसको समिप्यता झन् झन् नजिकिदै गयो । हुँदा हुँदा उसको सम्पूर्ण देखभालको जिम्मा मेरो भागमा आइपर्‍याे । मैले बच्चीको बाउकी छोरी, यानकि उसलाई एडप्ट गरेँ ।

उसको पिताले यौटा फराकिलो घर मलाई सुम्पिएर अर्को कुनै सहरमा बसाइँ सर्‍याे । मेरो प्रगति देखेर छोरो पनि खुसी भयो ।

अब म छोरासँग हैन बच्चीसँग बस्न थालेँ । हैन हैन बच्ची हैन । किशाेरी । ऊ किशाेरी भैसकी । उसो त मेरोसामु ऊ बच्चीनै हुन्छे । म किशाेरी भैसकेँ नभनी ऊ मेरो काखमा लडिबुडी गर्छे । मेरो गालामा म्वाइँ खान्छे । मेरो काँधमा चडेर रमाउँछे । म सकी नसकी बुढा खुट्टामा बस्न लगाएर घुघुत्ती खेलाउँछु ।

मेरो उमेरमा ६ दशक पछाडि अर्को आधादशक थपियो । उसरी नै बच्चीको उमेरमा पनि थपियो ।

– यहीँदेखि बच्चीलाई बिदाइ । अब म उसलाई किशाेरी भनेरै सम्बोधन गर्छु ।

छोरीको जिम्मेवारी मेरो भागमा सारेपछि किशाेरीको बाबु छोरी भेट्न सायदै आयो । बरू उसले मेरो तनाखा खातामा जम्मा गरिदिन एकपल पनि बिलम्ब गरेन ।

माध्यमिक तहको अन्तिम वर्षहरूमा आइपुग्दा किशाेरीले आफ्नो पढाइमा निकै प्रगति गरी । हुनसक्छ बाबुको भन्दा मेरो साथले उसको जीवनमा कायापलट भएको छ । उसोत ऊ हाकाहाकी नै भन्छे ‘तिमी मेरो प्रेरणा हौ’ भनेर । हुनत, मेरालागि पनि ऊ यौटा प्रेरणकै स्राेत भएकी छे । मेरो एक्लोपनकी सबैभन्दा नजिककी साथी ऊ नै त हो ।

०००

मेरो उनन्सत्तरीयौँ जन्मदिनमा उसले अनौठो उपहार दिई ।

यौटा ठूलो खाम, एकदमै ठूलो । ठूलो मात्र हैन भयङ्कर नै ठूलो । खामको बाहिरी भागमा सुनौला अक्षरहरूले लेखिएको छ, ‘प्रिय साथीलाई जन्मदिनको उपहार ।’

म खाममा कुँदिएका सुनौला अक्षरहरू हेरेर लठ्ठ परिरहेको छु । मलाई खाम खोल्न मन लाग्दैन । लागिरहेछ उसका कोमल हातले कुदेका यी सुनौला अक्षरहरू सुमसुम्याइ रहूँ । खेलाइरहूँ । चुमी रहूँ । तर, मैले सुनौला अक्षरहरू समसुम्याउँदै गर्दा किशाेरी स्वयं मेरा हातहरू सुमसुम्याउन आइपुग्छे । उसका कोमल हातहरूले मेरा चाउरिएका हातमा स्पर्स गर्दा मेरो मनमा फाल्टै चञ्चलपन उब्जन थाल्छ । कता कता खै के के भएजस्तो ।

– काउकुतिपो लागेको हो कि !
– प्यास लागेजस्तो पनि हुन्छ !
– कता कता चिलाएजस्तो !
– कता कता सकसकाएजस्तो !
– डर डर लागेजस्तो !
– इमोसनल भएजस्तो !
खै कस्तो कस्तो !

मलाई ठीक त्यस्तै भइरहेछ जस्तो मलाई श्रीमतीको आलिङ्गनमा हुँदा हुन्थ्यो ।

अहो, के भएको होला मलाई यो बुढेसकालमा ? अनि यो किशाेरी, किन मलाई यसरी सुम्सुम्याइरहेकी छे ?

‘के तिमीलाई पनि मलाई जस्तै भइराखेको छ?’ फ्याट्ट सोधिदिन्छु ।

‘हो तिमीलाई जस्तै भैरहेछ ।’

‘तर, मलाई कस्तो भैरहेछ? मलाई नै थाहा छैन ।’

‘बुद्दु, जस्तो मलाई भैराखेको छ ।’

‘तिमीलाई कस्तो भैराखेको छ उसो भए?’

‘जस्तो तिमीलाई भैराखेको छ ।’

‘कस्तो ?’

‘कस्तो कस्तो ।’

‘कस्तो, कस्तो कस्तो ?’

‘खै कस्तो कस्तो ?’

‘सुनन, के म तिम्रा कलेटी परेका ओठहरू चुमौं?’ चाउरिएका मेरा हातहरू सुमसुम्याउदै उसैले भनी ।

‘मेरा ओठ! किन ?’

‘किनकि म चाहन्छु, मेरो जवानी कुनै ओल्ड म्यानको साथमा पोखियोस् । हो म तिम्रो कखमा रित्तिन चहान्छु ।’

‘जवानी पोख्ने हैन सम्हाल्ने पो हो त । रित्तिएर कहाँ सकिन्छ र ! फेरि भरिहाल्छ नि ।’

‘हैन, हैन । जवानी सम्हाल्ने हैन । पोख्ने नै हो । रित्याउने नै हो ।’

‘लौ !’

‘फूलहरूले जवानी नपोखिदिए कहाँ सौन्दर्यको जन्म हुन्छ र !’

‘अहो ! तिमी त !’

‘भनन, के म तिम्रा ओठहरू चुम्न सक्छु ?’

‘गाला चुमेकै छ्यौ त?’

‘गाला र ओठमा फरक छ नि । जसरी हात र पाउमा फरक छ ।’

‘तिमी त दार्शनिक भयौ ।’

‘हो । तिमीले बनायौ ।’

त्यसपछि उसले मेरा ओठमा चुमी । चुमीरही । धेरैपछि मेरो जीवन चरोमोत्कर्षमा पुग्यो र पोखियो । मसँगै ऊ पनि त पोखिई । ऊ पोखिईन मात्र मेरो काखमा गहिरो निन्द्रा निदाई । निदाई रही ।

मैले उसलाई मेरा काखमै निदाउन छाडिदिएर उसले दिएको जन्मदिनको उपहार खोलेँ ।

खामभरी पत्रै पत्र छन् । प्रत्येक पत्रमा उसका र मेरा हैन, हैन उसले बिताएको एक्लोपनका क्यानभासहरू छन् । उसको बाबा काममा गएपछि घरमा एक्लै बस्नुपर्दाका बोझिला क्यानभासहरू छन् । बिरामी पर्दा ममताले सुमसुम्याइदिने आमाका हातहरू नहुँदाका छटपटीहरू छन् । मान्छे मान्छेबीचमा पैसाले बनाइदिएका बडेमानका पर्खालहरू छन् । सम्पत्तिले उजाडेका खुसीहरू छन् । वज्र परेका चट्टानहरू छन् । पञ्चट भएका टायरहरू छन् । भाँचिएका ह्यान्डलहरू छन् ।

खामभित्र सयौँ हजारौँ पत्रहरू छन् । म सबै हेरिभ्याउन कहाँ सक्छु र ! अन्तिम पन्ना पल्टाउँछु ।

लेखिएको छ, ‘मलाई थाहा छ, तिमी मेरो बुबाभन्दा पनि बुढा छौँ, यो पनि मलाई थाहा छ, म मेरा बुबाभन्दा तिमीसँग खुसी हुन सक्छु । तिमी ओल्ड छौ, बट यु आर गोल्ड टु ।’

‘आई लभ यु डियर ओल्ड म्यान । आइ लभ यु ।’

‘हो, तिमीले मलाई निरास बनाउने छैनौ । तिमीले त आफूलाई भन्दा अरू कसैलाई पनि निरास बनाउन जानेकै छैनौँ । र, आजसम्म बनाएका पनि छैनौ ।’

मेरा बाबाले मलाई कहिल्यै माया गरेनन् । गरे पनि देखाएनन् । म उनीबाट ममता सिक्न चहान्थेँ । दुर्भाग्य उनले पैसालाई प्रेम गर्न सिकाए । सपनालाई प्रेम गर्न सिकाए । हो, त्यसै दिनदेखि त हो मैले मेरा सपनाहरूलाई प्रेम गर्न थालेकी । हो, त्यसै दिनदेखि त हो मैले तिमीलाई मेरो सपना बनाएकी । तिमी मेरो सपना हौ डियर ओल्ड म्यान ।

‘मलाई थाहा छ- तिमीसँगको सम्बन्ध पनि लामो र दीर्घकालीन हुँदैन । यो पनि थाहा छ, बीच बाटोमै तिमीले मलाई छाडी जानेछौ । मलाई एक्ली बनाउने छौ । मेरो सहारा कोही हुने छैन । तिमीले गलत नसोच, तिमीले छाडी जानुभन्दा अघि नै म तिमीबाट बिदा हुनेछु । बिन्ती तिम्रो काखमा मलाई निदाउन देउ । म तिम्रो काखमा सधैंभरलाई निदाइरहन चहान्छु । अँ अर्को कुरा, यो अन्तिम पन्ना होइन । बरू यो आफैँमा खाम हो । यसभित्र अरू पनि पन्नाहरू छन् । खोलेर नहेर्नू, यत्तिकै च्याती फालिदिनु । किनकि, यसभित्र तिमीले मेरो मृत्यु भेट्नेछौ । मलाई थाहा छ, तिमीलाई मृत्युसँग औधी डर लाग्छ ।

प्लिज अब मेरो उपहारलाई बन्द गर । पछाडिपट्टी तिम्रो नाउँमा अन्तिम क्यानभास कोरिएको छ । तिमीले यो पत्र हेर्दासम्ममा मैले स्लो पोइजन पिइसकेकी हुनेछु । मरिसकेकै पनि हुन सक्छु । नमरेकै भए पनि मलाई नबचाउनु । म आफ्नो इच्छाले मर्न चाहन्छु । म तिम्रो काखमा मर्न चहान्छु ।

मैले डरसरी पत्र पल्टाएँ । पत्रको पछाडि मेरो काखमा किशाेरी निदाइरहेकी छे । हतार आफ्नै काखमा हेरेँ । ऊ उसरी नै निदाएकी छे जसरी अन्तिम क्यानभासमा निदाएकी छे ।

अहो, ऊ त मरिछे !

मैले हत्या गरेँ। म हत्यारा हुँ, हत्यारा ।

०००

झल्याँस्स निद्राबाट बिउझँदा हात खुट्टा बाँधिएकोे अवस्थामा आफूलाई कुनै अस्पतालको शय्यामा पाएँ । मेरा छेवैमा छोरो झोक्राइरहेको रहेछ । उसको हातमा यौटा चिट रहेछ । देखी हालेँ, लेखिएको छ- डाइमण्ड मेन्टल हस्पिटल बेड नम्बर- १११ ।

हा हा हा हा … मेरो कानमा उही कलिलो हाँसो गुञ्जिन थाल्यो ।


Your Views
Related News