काठमाडौ । वरिष्ठ स्त्रीरोग विशेषज्ञ एवं सर्जक डा.भोला रिजालले स्वास्थ्यकर्मीको सम्मानमा ‘सलाम छ स्वास्थ्यकर्मी’ बोलको गीत सार्वजनिक गर्नुभएको छ । कोरोना भाइरस कोभिड १९ को संक्रमणमा समेत पर्नुभएका रिजालले देशभरका स्वास्थ्यकर्मीको सम्मानमा उक्त गीत सार्वजनिक गर्नुभएको हो ।

‘कोरोना महामारीसँगको यो लडाइमा स्वास्थ्यकर्मी अहोरात्र खटिएका छन्’ उहाँले भन्नुभयो, ‘यस्तो बेला सबैलाई सम्मान र हौसला आवश्यक पर्छ । त्यसैले मैले उहाँहरुको मनोबललाई थप उर्जा दिन ‘सलाम छ स्वास्थ्यकर्मी’ बोलको गीत सार्वजनिक गरेको हुँ ।’

स्वास्थ्यकर्मीले यो महामारीमा देखाएको त्याग तपस्यालाई रिजालले गीतको बोल मार्फत समावेश गर्नुभएको छ । गीतमा घरपरिवार त्यागेर जनताको सेवामा लागेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीहरुको साथ र सहयोगका लागि धन्यवाद दिइएको छ ।

सरकारी तथ्यांक अनुसार देशभर हाल ८ सय स्वास्थ्यकर्मी कोरोनाबाट संक्रमित भएका छन् । कोरोना भाइरस संक्रमणका कारण देशमा एक डाक्टरसहित तीन स्वास्थ्यकर्मीको निधन भएको छ । बिहिवार मात्रै भेरी अस्पतालमा उपचारका क्रममा एक वरिष्ठ अर्थोपेडिक सर्जन डा. हरि सापकोटाको कोरोना संक्रमणका कारण निधन भएको छ ।

डा. रिजालले उहाँको निधनले चिकित्सा क्षेत्रमा ठूलो धक्का लागेको बताउनुभयो । आफ्नो ज्यानको बाजी थापेर देशलाई जोगाउन लागेका स्वास्थ्यकर्मीप्रति सबैले सम्मान गर्नुपर्ने रिजालको भनाई छ ।


Your Views
Related News