१७ असोज, काठमाडौं । स्वयम्भू, ठूलो भर्‍याङकी चार वर्षीया आस्थिका गजुरेल ओरियोबाहेक अरु कुनै बिस्कुट खाँदिनन् । चकलेट र बिस्कुटको नाम र स्वाद चिन्न थालेदेखि नै छोरीले ब्राउन ओरियो रुचाएको आमा नानीमैयाँ गजुरेलले बताइन् ।

बिहीबार प्रहरी र वाणिज्य विभागले छापा मारेर खाने म्याद सकिएका ओरियो बिस्कुटसहित बर्नभिटा, स्नेकर्स चकलेट, ट्याङ जुस लगायतका दर्जनौं उत्पादन फेला पारेपछि छोरीले निकै रुचाउने बिस्कुट कतै सडेको त थिएन भन्ने चिन्ता नानी गजुरेललाई परेको छ । ती सबै उत्पादन नयाँ मिति राखेर बजार पठाएको पाइएको छ ।

‘स्नेकर्स चकलेट, ओरियो बिस्कुट, प्रिङ्गल्स बच्चाहरुले निकै रुचाउँछन् । म त सुत्केरी भेट्न जाँदा पनि हर्लिक्स र साना बच्चाका लागि बर्नभिटा लिएर जान्छु, यस्तो कुरामा पनि अपराध गर्ने मान्छे हुँदा रहेछन् ?’ गजुरेलले भनिन् ।

आम उपभोक्ताले उत्पादन र उपभोग्य मिति हेरेर विश्वास गर्ने चल्तीको खाद्य, पौष्टिक र सौन्दर्य सामग्रीमा ठूलो बदमासी भइरहेको बिहीबारको घटनाले देखाएको छ ।

 

महानगरीय प्रहरी अपराध महाशाखा नयाँ बानेश्वरका प्रवक्ता रहेका एसपी ईश्वर कार्की बिहीबारको अपरेशनमा पौष्टिक तत्वको रुपमा बिरामीले खानेदेखि बालबालिकाले मनपराउने जंकफुडसम्म म्याद सकिएको पाइएको बताउँछन् ।

म्याद सकिएका चकलेट, खाद्य वस्तु र कस्मेटिक्स सामानका बास्तविक उत्पादन र म्याद गुज्रिसकेको उपभोग्य मिति केमिकलले मेटेर मेशिनले नयाँ मिति लेख्ने गरेको पाइएको उनले बताए ।

‘तीनवटा घरका सबै कोठा र बाथरुममा नयाँ म्याद टाँस्न राखिएको म्याद गुज्रिएका वस्तुहरु भेटिए’, एसपी कार्कीले भने, ‘अनुसन्धान जारी छ, थप कुरा खुल्दै जानेछ ।’

उपभोक्ताको स्वास्थ्यमा खेलवाड

बिहीबार रंगेहात कलंकीबाट पक्राउ परेका रोनक बोथ्राले यस्तो काम दुई वर्षदेखि गरेको बयान दिएका छन् ।

महाशाखाका प्रवक्ता एसपी कार्की नाम चलेका सबैजसो कम्पनीका म्याद सकिएका उत्पादन बजारमा पाइएकाले उपभोक्ता सचेत हुनुपर्ने बताउँछन् । महँगै भए पनि उपभोक्ताबीच लोकप्रिय तयारी खाद्य पदार्थदेखि लक्स साबुन, डोभ स्याम्पु, भ्यासलिन, लाइफबोई साबुन, क्लोज अप र पेप्सोडेन्ट मन्जन, एक्स पर्फ्युम लगायत समेत म्याद सकिएको पाइएको छ ।

उपभोक्ता अधिकारकर्मी माधब तिमिल्सिना वितरकहरुले वस्तुको लोकप्रियता दुरुपयोग गरेर आम उपभोक्ताको स्वास्थ्यमा गम्भीर खेलवाड गरेको बताउँछन् । ‘सडेको कति वस्तु बजारमा गए, उपभोक्तालाई कति असर ग¥यो, यसमा गम्भिर अनुसन्धान गरेर दोषीलाई कडा कारबाही हुनुपर्छ,’ उनले भने ।

संलग्न फर्म र व्यक्तिहरु

पुष्पादेवी अग्रवाल र रोनक बोथ्रा

वाणिज्य विभागका अनुसार, म्याद सकिएका वस्तुमा नयाँ मिति राखेर बजार पठाउने धन्दामा पुष्पादेवी अग्रवालको नाममा रहेको आयन इन्टरनेशनल संलग्न रहेको पाइएको छ । बिभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार, पुष्पादेवीका दुई छोराले सम्हालेको यही कम्पनीका कर्मचारी हुन्, भारतीय नागरिक रोनक बोथ्रा ।

युनिलिभरको आधिकारीक वितरक पनि हो, आयन इन्टरनेशनल । नयाँ लेभल राखेर बजारमा पठाउन ठिक्क पारिएको तीन गाडी सामान, चालक र बोथ्रासमेत गरी कम्पनीका ८ जनालाई हिरासतमा लिएर अनुसन्धान भइहेको विभागले जनाएको छ ।

त्यस्तै, विशाल समूहको युनाइटेड डिष्ट्रिब्युटरबाट वितरण हुने स्नेकर्स चकलेट लगायतका वस्तुमा नयाँ मिति टाँसिएको पाइएको विभागले जनाएको छ । बिभागका अनुसार, विशालले आफ्नो उत्पादन नयाँजस्तो बनाउन आयनलाई अड्डा बनाएको आशंकामा अध्ययन भइरहेको छ ।

‘कमजोर मुद्दा लगाएर सफाइ नदेऊ’

बिरामी बच्चादेखि वृद्धसम्मले दैनिक खाने वस्तुका म्याद सकिएपछि पनि नयाँ लेभल राखेको घटना आफैंमा गंभिर भएको उपभेक्ता अधिकारकर्मीहरु बताउँछन् । यस्ता सामाग्री बजारमा अझै हुनसक्ने उनीहरुको अनुमान छ ।

‘दुई वर्षदेखि म्याद नाघेको वस्तु बिक्री भइरहनु महाअपराध हो’, अधिकारकर्मी ज्योति बानियाँ भन्छन्, ‘सरकारले सबै उत्पादनलाई छानबिनको दायरामा ल्याओस् ।’

मिति फेरेर सडाउ बस्तु बजारमा छर्ने धन्दामा संलग्नहरुलाई उपभोक्ता संरक्षण ऐन भन्दा पनि कालोबजार तथा केही सामाजिक अपराध ऐन, ठगी वा खाद्य ऐनअन्तर्गत कारबाही चलाउनुपर्ने उनको माग छ ।

अर्का अधिकारकर्मी माधव तिमिल्सिना यो मुद्दा जिल्ला प्रशासन र प्रहरीले वाणिज्य विभागलाई बुझाउनु गलत भएको बताउँछन् । ‘यस्तो अपराधमा सानो कारबाही हुने ऐनमा टेकेर अघि बढ्नु हुन्न,’ उनले भने, ‘कमजोर मुद्दा लगाएर सफाइ नदिइयोस् ।’

READ MORE NEWS

नेपालको हवाई सुरक्षा सुदृढ गर्न सघाउने युरोपियन युनियनको प्रस्ताव

१७ असोज, काठमाडौं । युरोपियन युनियन (इयु) ले नेपालको हवाई सुरक्षालाई सुदृढीकरण गर्न प्राविधिक सहयोग गर्ने प्रस्ताव गरेको छ ।

नेपाल नागरिक उड्यन प्राधिकरणले हाल हवाई सुरक्षाका क्षेत्रमा लिएका कदमहरुलाई अझ प्रभावकारी र नतिजामुखी बनाउन प्राविधिक परियोजनाको विकास गर्न चाहेको समेत उसले उल्लेख गरेको छ ।

शुक्रबार साँझ सम्पन्न नेपाल र युरोपियन युनियनको १२ औं संयुक्त आयोगको बैठकमा सो जानकारी गराइएको हो ।

सो बैठकमा नेपाली पक्षले हवाई सुरक्षा सुधार गर्नका लागि लिइएको ठोस कदमहरुबारे इयुलाई जानकारी गराएको थियो । सरकारले हवाई उडान सेवालाई सुरक्षित बनाउने उद्देश्यले नेपाल हवाई सेवा प्राधिकरणको स्थापना गर्न थालेको छ र सो सम्बन्धी विधेयक संसदमा दर्ता गराइसकेको छ ।

अहिले राष्ट्रिय सभामा विचाराधीन सो विधेयक संसदको हिउँदे अधिवेशनबाट पारित गर्ने सरकारको तयारी छ । बैठकमा इयुले यसलाई सकारात्मक कदम भन्दै यसलाई कार्यान्वयन गर्नका लागि थप प्रगतिको आवश्यकता औंल्याएको थियो ।

नेपालको हवाई उडान सेवालाई सुरक्षित, स्तरीय, प्रभावकारी एवं विश्वसनीय बनाई सुविधायुक्त विमानस्थलको निर्माण, स्तरोन्ती र अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप विमानस्थल तथा एयर नेभिगेसन सेवा सन्चालन गर्नका लागि सरकारले सो प्राधिकरणको स्थापना गर्न लागेको हो । सरकारको सो कदमप्रति अन्तर्राष्ट्रिय चासो निकै छ ।

‘नेपालको हवाई सुरक्षामा प्रगति राम्रो तर अझै अपर्याप्त’

नेपालको हवाई सुरक्षाको अबस्थामा कुनै पनि परिवर्तन नआएको भन्दै युरोपियन कमिसनले इयुका २८ वटा मुलुकमा विगत एक दशकदेखि नेपालका एयरलाइन्सलाई प्रतिवन्ध लगाइरहेका छन् । यद्यपि युरोपियन युनियन र युरोपियन कमिसन दुई फरक निकाय हुन् ।

सुरक्षाका कारणले नेपाली विमान कम्पनीले अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न नसकेको भन्दै उडानमा प्रतिबन्ध लगाइएको हो । यद्यपि अन्तर्राष्ट्रिय उड्डयन प्राधिकरणले भने सन् २०१७ मा नै नेपाललाई कालोसूचीबाट हटाएको छ । अन्तर्राष्ट्रिय मात्र होइन, युरोपियन युनियनले अहिलेका कानुन र नीतिमा परिवर्तन ल्याउन र नेपालमा हेलिकप्टर दुर्घटनाको संख्या घटाउन आग्रह गरिरहेको छ । शुक्रबारको संयुक्त आयोगको बैठकमा यी विषयमा विस्तृतमा कुराकानी भएको थियो ।

नेपालले भने युरोपियन कमिसनलाई नेपाली जहाजलाई युरोपियन आकाशमा उडान अनुमति दिनको लागि निरन्तर आग्रह गरिरहेको छ । पछिल्ला वर्षहरुमा नेपालले हवाई सुरक्षाको अवस्थामा निकै प्रगति गरेपनि त्यो पर्याप्त नभएको कमिसनको भनाइ छ ।

संयुक्त कमिसनको वैठकमा यसबाहेका अन्य थुप्रै सहकार्यका विषयहरुमा समेत कुराकानी भएको जानकारी परराष्ट्र मन्त्रालयले दिएको छ । गत अप्रिलमा इयुले नेपालको अर्थतन्त्रलाई उकास्नको लागि ७५ मिलियन युरो सहयोग गरेकोमा नेपालले त्यसको स्वागत गरेको छ । कोरोनाको कारण सिर्जित वर्तमान समस्याले प्रभावकारी वहुपक्षीय प्रणालीको महत्वलाई दर्शाएको यस क्रममा विश्व स्वास्थ्य संगठनको केन्द्रीय भूमिका हुनेमा नेपाल र इयु दुवै सहमत भएका थिए ।

सो कार्यक्रममा इयुले कोरोना भाइरसलाई प्रयोग गरेर प्रजातान्त्रिक स्पेस र अन्य स्वतन्त्रताहरुलाई सीमित गर्ने कार्य युरोप मात्र होइन अन्त कतै पनि हुन नहुने कुरामा जोड दिएको थियो । इयुले नेपालले राजनीतिक क्षेत्रमा प्राप्त गरेको उपलब्धीको प्रशंसा गर्दै आधुनिक र प्रगतिशील संविधान कार्यान्वयनको स्वागत गरेको थियो ।

उसले प्रजातन्त्र र सुशासनका लागि बलियो, प्रभावकारी, स्वायत्त संस्था, नागरिक समाज र प्रजातन्त्रको भूमिकामा जोड दिएको थियो । इयुले संक्रमणकालीन न्यायका सम्वन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीले हालै संयुक्त राष्ट्रसंघमा गरेको प्रतिबद्धताको स्वागत गरेको थियो । प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय जगतमा गरेको प्रतिबद्धता अनुसार संक्रमणकालीन न्यायको प्रक्रिया टुंग्याउने र पीडितको चासोलाई सम्बोधन गर्ने बताएका थिए । नेपालको संक्रमणकालीन न्याय युरोपियन युनियनको एकदमै धेरै चासो भएको क्षेत्र हो ।

नेपाल र इयुको विचमा व्यापार प्रवद्र्धन गर्ने विषयमा समेत कुराकानी भएको थियो । व्यापारका माध्यमले नेपालको नेपालको विकासमा सहयोग गर्ने प्रतिवद्धता इयुले जनाएको छ ।

वर्तमान सार्कको अध्यक्षको हैसियतले नेपालले यसका प्राथमिकता र क्रियाकलापहरुको बारेमा जानकारी गराएको थियो । प्रत्युत्तरमा इयुले क्षेत्रिय एकीकरणमा विशेष जोड दिएको थियो । बैठकमा दुवै पक्षले जलवायु परिवर्तन, मानव अधिकार, वहुपक्षियता, कनेक्टिभिटी लगायतका क्षेत्रमा सहकार्य बढाउने सहमति गरेका छन् ।


Your Views
Related News