कपडा ब्यांकबाट धेरैको आङमा न्यानो बाँडेको हन्ड्रेड्स ग्रुपको सामाजिक सेवाको कामले अहिले कोरोनाभाइरस संक्रमण महामारीबाट प्रभावित भोका र बिखर्ची धेरैको आँसु पुछिरहेको छ।

डेढ वर्ष अघि काठमाडौंको अनामनगरमा ‘कपडा ब्याङ्क’ शुरु भयो। सडकछेउमा सार्वजनिक स्थानमा कपडाहरु राखेर आवश्यक पर्नेले निर्धक्क लैजान र आफूसँग भएका पुराना र सफा कपडा छाडिदिन आग्रह पनि गरिएको थियो।

हन्ड्रेड्स ग्रुपले शुरु गरेको यो पुण्य कार्यले चौतर्फी प्रशंसा पायो। त्यसपछि यो समूहले देशका अन्य स्थानमा पनि यो अभियान फैलायो। यो अभियान ४५ जिल्लामा पुगिसकेको समूहका अंशुु यादव बताउँछन्।

बानेश्वरमा खाना तयार भएपछि खुलामन्च लैजानका लागि तयारी अवस्थामा ।
हन्ड्रेड्स ग्रुप उनीसहित विक्रम ओली, सौगात गौतम, विवेक ढकाल, बब्लु गुप्ता र नवीन बस्नेत गरी ६ जना मिलेर शुरू गरेका हुन्। समूहका संस्थापक सबै विभिन्न कलेजमा पढ्ने विद्यार्थी हुन्। ‘कपडा ब्यांक’ अभियानको प्रशंसा भएपछि अन्य जिल्लामा पनि विस्तार गरे। संकलन भएका कपडाहरु बस्ती–बस्तीमा पुगेर आवश्यक परेकाहरूलाई वितरण गरे।

‘कपडा ब्यांक’ बाट शुरू भएको यी युवाहरूको समाजसेवा अहिले कोरोनाभाइरसको महामारीसम्म आइपुग्दा थप सामाजिक जिम्मेवारीमा फैलिएको छ।

खाद्यान्नको जोहो

महामारीका कारण सरकारले ११ चैतपछि बन्दाबन्दी घोषणा गर्‍यो। सरुवा रोग फैलिएपछि ‘कपडा ब्याङ्क’ बन्द गरियो। बन्दाबन्दीले कलेज बन्द हुने भएपछि संस्थापक सदस्यहरुमध्ये केही गृहजिल्ला गए, विवेक र अन्सुको भने काठमाडौंकै बासिन्दा थिए।

अंशुले १३ चैतमा दैनिक ज्यालादारी गरेर खानेहरु भोकै भएको समाचार पढे। उनले केही साथीसँग मिलेर समाचारमा उल्लेख भएका ठाउँका मानिसहरुको अवस्था बुझ्न गए। यो समूहमा अंशुसँगै किरण कोइराला, आरुष सुवेदी, विकास नेपाली र किशोर थिए।

भोकै परेका केही मानिस भेटेपछि सबैले ‘पकेट’ खर्च जुटाएर बानेश्वरस्थित अंशुकै घरमा खाना पकाएर उपत्यकाका विभिन्न ठाउँमा गई बाँडे। “त्यसरी सहयोग गर्न थालेपछि कतै भोको मानिस भेटिए प्रहरीले पनि हामीलाई फोन गर्न थाले”, अंशु भन्छन्, “प्रहरीको सहयोगले धेरै भोकाहरुको पेट भर्न सक्यौं।”

जोरपाटी घर भएका विवेकले पनि आफ्नो क्षेत्रमा खाद्यान्न वितरण गर्न थाले।

निशुल्क खाना वितरण अभियानका संयोजक अंशु यादव ।
बन्दाबन्दीमा यातायात ठप्प भएपछि आफ्नो गन्तव्य पुग्न सयौं किलोमिटर हिंड्नेहरू दिनानुदिन बढ्न थाले। बन्दाबन्दी अघि गृहनगर बाँके कोहलपुर पुगेका ‘हन्ड्रेड्स ग्रुप’ का संस्थापक सदस्य विक्रमले जुम्ला, हुम्ला, कैलाली लगायत जिल्ला हिँडेका मजदूर पैदलयात्रीहरुलाई आफ्नै घरमा खाने र बस्ने व्यवस्था गरे। त्यसबीचमा उनले अर्का संस्थापक सदस्य नवीनसँग मिले। करीब तीन सय घरपरिवारलाई राहतस्वरूप खाद्यान्न वितरण गरे।

उता, मोरङका सौगात र सिरहाका बब्लुले आफ्नो गृहनगरमा खाद्यान्न वितरण गरे। समूह संस्थापक सदस्यहरुले विपद्ले रोजगारी खोसेका र बिखर्ची भएका धेरै जनाको जीवन सहज बनाए। चितवन, सिराहा, धनुषा, मोरङ, बाँके लगायत २६ जिल्लामा खाद्यान्न वितरण गरेको उनीहरू बताउँछन्। अहिले विभिन्न दाताको सहयोगमा जिल्लाका संयोजकहरुसँग सहकार्य गरेर खाद्यान्न सहयोग पुर्‍याइरहेका छन्।

विपद्को बेलाको राहत दिने काममा सहयोगी अभियन्ताहरू उल्लेख्य थपिएका छन्। ६ युवाबाट शुरु भएको ‘हन्ड्रेड्स ग्रुप’ को सदस्य संख्या अहिले देशभर १३ हजारभन्दा बढी पुगिसकेको छ।

खुलामञ्चमा निःशुल्क खाना

समूहका अंशुले उपत्यकाका विभिन्न स्थानमा खाना वितरणपछि ती साथीहरूकै साथ लिएर तीन महीनायता भने काठमाडौंको खुलामञ्चमा निःशुल्क खाना बाँडिरहेका छन्। उनको नेतृत्वमा खाना बाँड्न थालेको शुक्रबार १९० औं दिन भएको छ।

पकेट खर्च काटेर निःशुल्क खाना वितरण शुरु गर्दा केही समय धान्न निकै गाह्रो भएको अभियानका संयोजक अंशु बताउँछन्। भन्छन् “हामीले खाना खुवाउन थालेपछि खान आउनेहरूको संख्या दैनिक बढ्न थाल्यो र सबैलाई पुर्‍याउन एकदम गाह्रो भयो।” धेरैलाई पुर्‍याउनुपर्ने भएपछि तरकारीको मात्रा बढाउन शुरूको समयमा पिठो समेत मिसाएर पकाउनुपरेको बाध्यता उनी सुनाउँछन्।

खुलामञ्चमा खाना बाँढ्दै ।
पछिल्लो समय भने निःशुल्क खाना अभियानमा विभिन्न व्यक्ति तथा संस्थाबाट सहयोग जुट्न थालेपछि सहज भएको छ। संचार माध्यममा आउने समाचार तथा दाताहरुले सामाजिक संजालमा राखेका फोटोहरुको कारण सहयोग जुट्न सघाउ पुगिरहेको अंशु बताउँछन्।

उनले सहयोगी दाताहरू बढ्दै जाँदा पारिदर्शिता कायम राख्न पनि उत्तिकै ध्यान दिएका छन्। सहयोगीको नाम, रकम, प्राप्त खाद्यान्नको फोटो सामाजिक संजालमा राख्ने गरेका छन्।

खाना अभियानका सदस्यहरू बिहान ८ बजेदेखि नै काममा जुटिसक्छन्। बानेश्वरमा खाना पकाएर खुलामञ्चमा पुर्‍याउँछन्, र बन्दाबन्दीले बेरोजगार भएका नागरिकहरुको पेट भर्छन्।

यसरी खाना लैजाने क्रममा केही समय अघि यो टोली दुर्घटनामा समेत पर्‍यो। अंशुसँगै किरण, आरुष, विकास खाना लिएर गइरहेको टेम्पु पल्टिंदा उनीहरू घाइते भए। किरणको टाउकोमा नौ टाँका लगाउनुपर्‍यो भने आरुषको हातमा र अंशुको छातीमा चोट लाग्यो। विकास सामान्य घाइते भए। छातीको हड्डीमा चोट लागेको कारण गह्रंगो सामान नउठाउन डाक्टरले सुझाएको अंशु बताउँछन्।

“त्यो दिन हामी दुर्घटनाबाट जोगियौं, धेरै जनाको पेट भर्न जुटिरहेका कारण उहाँहरुको आशीर्वादले काम गर्‍यो होला”, उनी भन्छन्।

यो टोलीलाई अंशुका छिमेकीहरु रेणु राजभण्डारी, लक्ष्मी राजभण्डारी, पुरुषोत्तम राजभण्डारी, रेखा यादव, राजाराम यादवले सम्पूर्ण काममा सहयोग गरिरहेका छन्।

खुलामञ्चमा दैनिक सात सयदेखि हजार जनासम्मलाई खाना खुवाउने संयोजन र व्यवस्थापन गरिरहेका अंशु सिभिल इञ्जिनियरिङ अन्तिम वर्षका विद्यार्थी हुन्। उनी दैनिक अनलाइन कक्षा पढेर यी सामाजिक काममा सकृय छन्।

खुलामञ्चमा खाना पर्खँदै ।
केही दिन अघि उनी चितवनको सुनचरी र जोगीतालका ६० घर चेपाङ परिवारलाई खाद्यान्न तथा कपडा वितरण गरेर आएका छन्। उनको नेतृत्वले समूहलेकाठमाडौंमा बन्दाबन्दीको अवधिमा खर्चको अभावमा जलाउन नसकेका १४ वटा शव जलाउन, एम्बुलेन्सको भाडा तिर्न र केहीको पीसीआर जाँच गर्न समेत सहयोग गरेको छ।

निःशुल्क भोजन अभियानले अंशुसहितका सहयोगी अभियन्तालाई ठूलो सन्तुष्टि मिलिरहेको छ। तर, उनी यो काम धेरै गर्नु नपरोस् भन्ने कामना गर्छन्। अर्थात्, मानिसहरू भोको पर्ने गरी कमाइ गर्न नसक्ने अहिलेको असहज अवस्था हटोस् र चाँडै स्थिति सामान्य होस् भन्ने अंशुको कामना छ।

“अप्ठ्यारो परिस्थितिमा कोही पनि भोकै बस्न नपरोस् भनेर हामीले सहयोग गर्न चाहने र सहयोगको खाँचो भएकाहरुबीच सहजकर्ताको काम मात्र गरेका हौं”, उनी भन्छन्, “अब छिटै सामान्य अवस्था आओस् र दैनिक ज्यालादारी गरेर सबैले आफ्नै कमाइले खान पाऊन्।”


Your Views
Related News