कुनै शब्दको अर्थ खोज्न भाषाको आधारशिला भनेर शब्दकोशहरू पल्टाउने गरिन्छ। विभिन्न भाषाका शब्दका अर्थका लागि हामी सहज र उपलब्ध भएसम्म सम्बन्धित भाषाकै शब्दकोश पल्टाउने गर्छौं। शब्दकोशमा एउटा शब्दका विभिन्न समानार्थी अर्थ पनि हुन्छन्।

नारीवादी अभियन्ता तथा सामाजिक उद्यमी मारिया बिअट्रिस जियोभानार्दीले एक अभियान सञ्चालन गरिरहेकी छन्, जुन शब्दकोशसँग सम्बन्धित छ। अक्सफोर्ड डिक्सनरी, मेरियम वेबस्टर लगायतले प्रकाशित गरेका डिक्सनरीमा ‘वमन÷वुमन’ (नेपालीमा हामी महिला भन्छौँ) को अर्थबारे लेखिएका समानार्थी शब्दको बारेमा मारियाले खोतल्ने प्रयास गरेकी छन्।

अक्सफोर्ड डिक्सनरीलाई अंग्रेजीको विश्वस्तरीय शब्दकोश मानिन्छ। यसमा एक्सपर्टहरूको सहायताले शब्दको परिवर्तित स्वरूपलाई पनि समावेश गरिएको हुन्छ।

मारियाले यस्ता शब्दकोशमा राखिएका ‘वमन’को अर्थ केलाउँदै एउटा निष्कर्ष निकालेकी छन्। वमन (महिला) शब्दले मेरियम वेबस्टर डिक्सनरी अनुसार यस्तो अर्थ दिँदो रहेछ– महिला अर्थात् अधिनस्थ, संरक्षित, अविश्वासी, विनम्र, यौन वस्तु, पुरुषको अधिनमा बस्ने, सानो अंश, कमजोर, सुकोमल युवती आदि आदि। मारियाले अंग्रेजीका शब्दकोश, गुगल, याहु आदिमा दिइएको वमन (महिला) को अर्थ केलाउँदै संयुक्त निष्कर्ष निकालेकी छन्। जसअनुसार वमन शब्दको अर्थ यौनिक, पक्षपातपूर्ण, संरक्षित, घरायसी काम गर्ने, सेवक तथा व्यक्तिगत सहयोगीको रूपमा बुझ्न सकिन्छ। मारिया सन्देह गर्छिन्, ‘यी विश्वसनीय भनेका शब्दकोशले दिएका महिलाका परिभाषा देखेर हाम्रा नयाँ पुस्ताका नानीहरूले के प्रतिक्रिया गर्लान् ?’

यसै गरेर मेरियम वेबस्टर शब्दकोशका अनुसार ‘म्यान’ अर्थात् पुरुषको अर्थ यस्तो हुन्छ– एक परिपक्व जवान, मानव, सुन्दर, रोजगार पुरुष। यसले वास्तविक पुरुषको परिभाषा ‘जसले आफ्नो बौद्धिकतामा विश्वास गर्छ, आफूले विश्वास गरेको कुरामा अडिग रहन्छ अनि आफैँप्रति इमानदार हुन्छ’ भन्ने दिन्छ।

यस्तै, सन् २०१४ मा युएनडिपीले नेपाली पुरुषत्व र लैंगिक हिंसासम्बन्धी अध्ययन गरेको रहेछ। यस अध्ययन प्रतिवेदनमा पनि काठमाडौं तथा तराईका पुरुषलाई सोधिएको पुरुषत्वसम्बन्धी प्रश्नावलीमा अधिकांश उत्तरदाताले पुरुषको परिभाषामा ‘शारीरिक शक्ति, आक्रामक, आम्दानी गर्ने क्षमता र प्रजननयोग्य पुरुष’ भन्ने आशय व्यक्त गरेका रहेछन्। यसले देखाउँछ, हाम्रो सामाजिक संरचनाले पनि हाम्रा मस्तिष्कमा कुनै अवधारणा सेट गरेका हुँदा रहेछन्। यो एउटा सानो परिभाषालाई केलाउँदा पनि संसारभरि नै महिला र पुरुषबीचमा अग्लो–होँचोकै व्यवहार रहेछ भन्नेसम्म हामी मनन गर्न सक्छौँ।

जसअनुसार वमन शब्दको अर्थ यौनिक, पक्षपातपूर्ण, संरक्षित, घरायसी काम गर्ने, सेवक तथा व्यक्तिगत सहयोगीको रूपमा बुझ्न सकिन्छ। मारिया सन्देह गर्छिन्, ‘यी विश्वसनीय भनेका शब्दकोशले दिएका महिलाका परिभाषा देखेर हाम्रा नयाँ पुस्ताका नानीहरूले के प्रतिक्रिया गर्लान् ?’

शब्दकोशले दिएको महिला र पुरुषको परिभाषालाई कसरी सामाजिकीकरण र व्यवहारमा लागू गरिराखिएको छ भन्ने विषयमा भारतीय प्रसिद्ध नारीवादी अभियन्ता कमला भासिनले आफ्नो पुस्तक ‘भला ये जेन्डर क्या हैे’मा महिलाका सामाजिक परिभाषाको बारेमा धेरै कुरा उल्लेख गरेकी छन्। उनका अनुसार महिला र पुरुषको सामाजिक परिभाषाको क्रम परिवार र समाजमा निरन्तर चल्दै आइरहेको छ। उदाहरणका रूपमा, जब एक शिशुको जन्म हुन्छ, उसको प्राकृतिक जैविक लिंग छोरा या छोरी भयो। यसरी छोरा र छोरी भएर जन्मिसकेपछि नै अभिभावक र समाजको लैंगिकताले भरिपूर्ण सोचले उक्त शिशुको अस्तित्व निर्धारण हुँदै जान्छ। कुनै संस्कृतिमा त नवजात शिशुको उनीहरूको प्राकृतिक लिंगका आधारमा अर्थात् छोरा या छोरी भएको आधारमा उनीहरूको स्वागत पनि फरक ढंगले नै गरिन्छ। हाम्रै हिन्दू संस्कृतिमै पनि शिशुको न्वारन, पास्नी आदि कार्यमा पनि छोरी शिशुलाई शास्त्रले तोकेभन्दा अगाडि नै गर्न सकिने भन्ने पनि देखिन्छ, सुनिन्छ। उदाहरणका रूपमा छोरीको न्वारन ६ दिनमै गर्न सकिने, पास्नी  पाँच महिनामै गर्न मिल्ने आदि आदि। यसको कतै वैज्ञानिक कारण जोड्न मिल्ने नमिल्ने त्यति जानकारी भएन। यसरी पुरुष शिशु र महिला शिशु जब हुर्कंदै बढ्दै जान्छन्, उनीहरूका कपडा, नाम, खानपान र उनीहरूका लागि बनाइएका नियमहरू जसलाई सामाजिकीकरण भनिन्छ, लागू हुन सुरु हुन्छ। यही सामाजिकीकरणकै दौरानमा बालबालिकालाई उनीहरूको समाजबाट लैंगिक भूमिकाका शिक्षा प्राप्त हुन्छ। त्यही शिक्षाले बालबालिकाकाको कलिलो मस्तिष्कमा एउटा दिशा निर्देश गर्छ, बालबालिकामा महिला तथा पुरुषपनको सामाजिकीकरण हुँदै जान्छ।

नारीवादी कार्यकर्ता मारिया माइज आफ्नो पुस्तक ‘द सोसल ओरिजिन्स अफ द सेक्सुअल डिभिजन अफ लेबर’मा लेख्छिन्, ‘यो पुरुषत्व या नारित्व जैविकता नै होइन, बरु यो लामो ऐतिहासिक प्रक्रियाको परिणाम हो। प्रत्येक ऐतिहासिक युगमा त्यो समयको उत्पादनको मुख्य संरचनाको आधारमा पुरुषत्व र नारित्वको भिन्नभिन्न ढंगले परिभाषित गरिएको छ। अतः यसै कारण स्त्री र पुरुषले आफ्नो शरीरका साथमा गुणात्मक तरिकाबाट अलग सम्बन्ध विकसित गर्दै गइरहेका छन्।’

यसरी ‘म्यान’ र ‘वमन’लाई शब्दकोशहरूले पनि विभेदात्मक तरिकाले परिभाषा गरेझैँ लाग्छ। वास्तवमा जैविक हिसाबले भिन्न अंग लिएर जन्मिएका मानवहरू, जसका केही शारीरिक अंग फरक हुन्छन् र पुनरुत्पादनमा ती अंगको फरक–फरक भूमिकाबाहेक मानवमध्येकै ‘महिला हुनाले यो काम गर्ने यो नगर्ने र पुरुष हुनाले शक्तिशाली या यस्तै काम गर्ने’ भनेर परिभाषित गरिएको छ। जुन परिभाषाले धेरै अर्थमा महिलालाई भिन्न र विभेदयुक्त पनि बनाइदिएको छ।

मारिया बिअट्रिस जियोभानार्दीले ‘वमन’को परिभाषालाई लिएर हस्ताक्षर अभियान नै सञ्चालन गरिन्। यस अभियानको उद्देश्य त्यस्ता ठूला शब्दकोश प्रकाशन गर्ने संस्थाहरूको ध्यान महिला लगायत विषयमा गरिएको विभेदपूर्ण परिभाषाबारे सोच्न र शब्दकोशमा त्यस्ता शब्दको अर्थ पुनः परिभाषित गर्नु थियो।

मान्छेले मानव सभ्यताका विभिन्न कालखण्ड हुँदै गर्दा आफ्नो परिवार र समाजका लागि विभिन्न दायरा, सिमाना, संरचना बनाएको छ। भलै कालान्तरसम्म ती संरचनामा महिला र पुरुष अनि बालबालिका, ज्येष्ठ नागरिकहरू, यौनिक अल्पसंख्यक तथा दलित समुदायहरु बराबरी नअटाएका होऊन्।

‘महिलालाई विभेद गर्ने सबै खालका वाक्यांश, परिभाषा बदल्नुपर्छ। महिलालाई पुरुषको अधिनस्थ हो भन्ने जनाउ दिने सबै खालका समानार्थी शब्द हटाउनुपर्छ। महिलाका परिभाषालाई बृहत् बनाएर ‘म्यान’ अर्थात् पुरुषको परिभाषाको बराबरी बनाउनुपर्छ। सिमान्तीकृत, यौनिक अल्पसंख्यक, महिलाका उदाहरण पनि समावेश गरिनुपर्छ।’

भनिन्छ वा समाजको बुझाइ छ– महिलाहरू बढी गन्थन गर्छन्, अरुको कुरा काट्छन्, झगडा गर्छन्। महिलाको घाँटीमा रुद्रघण्टी हुँदैन, त्यसैले उनीहरूको कुनै पनि गोप्य कुरा मनमा अडिँदैन। यसमा चेतनाको अभाव हुनु आफ्नो ठाउँमा छ। त्यसमाथि महिलाले सम्बन्धित ठाउँमा दुःखपीर फुकाउने वा गुनासो गर्ने अवसर नपाएपछि दौँतरी भेट हुँदा छलफल गरेका होलान्, तर त्यसलाई गन्थन भनियो। महिलाले पनि बिहान उठेर अरुले बनाइदिएको चिया–नास्ता खाएर कुनै गफ गर्ने ठाउँमा भेला हुन पाउँथे, घरको कामको कुनै चिन्ता नलिएर राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीति आदिको गफ गरेर समय बिताउँथे भने उनीहरुले गन्थन गरेर बस्नुपर्दैनथ्यो। यति नभईकन पनि जति प्रगति महिलाहरूका क्षेत्रमा भएको छ, त्यो सकारात्मक हुँदै छ। अब महिलाले विभेदमाथि प्रश्न गर्न थालेका छन्। महिलामाथिको खराब राजनीतिबारे पनि बहस गर्न थालेका छन्।

महिलालाई नियन्त्रित परिवेशमा राख्न चाहने हाम्रो समाजको संरचना नै छ। धर्म तथा धार्मिक मूल्य–मान्यतालाई पछ्याउँदै बनेका वा बनाइएका एकतर्फी संस्कृति एकातिर छन्। अर्कोतिर, धर्मशास्त्रहरु पुराण, वेद, मनुस्मृति आदि कतिपय अवस्थामा राज्यको कानुनकै र धेरै हदसम्म सामाजिक कानुनको रुपमा प्रयोग हुँदै आए र अझै भइरहेछन्, जसले पुरुष र महिलाको परिभाषामा विभेद गरेका छन्। त्यहीअनुरुप समाजमा महिलामाथि विभेद छ। हिन्दू संस्कृतिभित्रका विभिन्न चाडपर्वमध्ये प्रमुख चाड भनेर मानिने दशैँ पर्वको एउटा छुट्टै महत्व छ। विशेष महत्व भनेको यस पर्वमा नौ दिनसम्म देवीको पूजाआजा गरिन्छ। यसबेला भने धेरै पुरुष पनि शक्तिस्वरूपा दुर्गाको पूजा गर्न मन्दिरमा लाइनमा बसेका हुन्छन्। नवरात्रि भन्नेबित्तिकै रात्रिको समयमा सरस्वती, लक्ष्मी र कालिकाको पूजा हुन्छ। नेपालको परिवेशमा कतिपय प्राचीन कालदेखि पुजिने तान्त्रिक पक्ष समाविष्ट भएका देवी पूजा नारीहरूले गर्न पाउँदैनन्, मदनमणि दीक्षितको ऋग्वैदिक नारी चरित्र भन्ने पुस्तकमा यसको चर्चा गरिएको छ। हामी महिलालाई धर्मले दिएका परिभाषा (देवी, विद्याकी खानी, शक्तिकी खानी, धनकी देवी आदि) र वास्तविक समाजले गरेका व्यवहारको तालमेल मिलेको पाइँदैन। यही संरचना र परिभाषाको आडमा महिलालाई कुरौटे आदिको आक्षेप लगाई नियन्त्रण गर्न खोजिन्छ। कुरौटेपन महिला या पुरुष दुवैमा हुन्छ। कतिपय अवस्थामा यो मानवीय स्वभाव पनि हो।

हाम्रो नेपाली समाज या नेपाली परिप्रेक्ष्यमा महिलालाई परिभाषित गर्ने नजरिया कस्तो छ ? केही उदाहरणहरुबाट अझै प्रस्ट पारौँ।

मैले हालसालै एकजना परिपक्व पुरुषको गन्थन सुनेँ। ती परिपक्व व्यक्ति र म एउटै कार्यालयमा काम विशेषले पुगेका थियौँ। उनले आफ्ना प्रगति, उन्नति, आम्दानी, लगानीबारे सरर भनिरहेका थिए। त्यहाँ कार्यालयका कर्मचारीले उनको कुरालाई त्यति ध्यान दिइरहेका थिएनन्। बोल्दाबोल्दै उनले यस्तो भने, ‘घर जग्गा जोड्न, जागिर खान, बिहे गर्न अनि छोरा पाउन साइत–समय आउनुपर्छ रे !’

उनको यो ‘छोरा पाउन समय आउनुपर्ने’ कुरा मेरो दिमागमा गएर अडियो। असह्य भएर मैले यस विषयमा उनलाई जवाफ फर्काइहालेँ ‘ए, छोरा जन्माउन पनि साइत आउनुपर्ने हो र ? छोरा विशेष हुन् है, छोरी जन्मिन भने साइत आउननपर्ने है। बरु छोराछोरी जन्मिन साइत–समय आउनुपर्छ किन नभन्ने नि ? अहिलेको जमानामा पनि यस्ता भनाइ भन्दै हिँड्ने हो ?’

ती बुज्रुकले ‘ए हो त नि हगि, मैले गलत भनेँ क्यार !’ भनेर आफ्ना भनाइलाई सच्याउँदै चुप लागेर बसे। विभेदजन्य कुरा सार्वजनिक रूपमा गरिरहँदा त्यसको प्रतिकार हुने रहेछ भन्ने कुराको हेक्का चाहिँ राख्न थालेछन् मानिसले भन्ने यो एउटा सानो उदाहरण हो।

एकदिन म कामको सिलसिलामा कतै जाँदै थिएँ। बिहानको समय भएकाले गाडीमा भजन बजाइएको थियो। भजन यस्तो थियो ‘जय गणेश, जय गणेश, जय गणेश देव, माताजीकी पार्वती, पिता महादेव’गीतको अन्तरा सुन्दै जाँदा बीचमा यस्तो रहेछ ‘अन्धनको आँख देत, कोढिनको काया, बाँझनको पुत्र देत, निर्धनको माया…।’ यहाँ पुरुष देवता गणेशसँग एकदम क्षमाशील भएर आँखा नहुनेलाई आँखा दिने, बाँझोपन भएकालाई पुत्र दिने जस्ता अर्थ लाग्ने शब्द छन्। यो सुनेपछि लाग्यो यस्ता भजन गीत त कति छन् कति, जसले पुरुष भगवान्लाई सर्वोपरी ठानेर महिलालाई अनुनय–विनय गर्ने बनाउँछन्। यसै पनि भजनमा सेवा र मेवाका कुरा धेरै आउने रहेछन्। मालिक, स्वामीसँग दयाको भीख मागेको चाहिँ महिलालाई नै धेरै देखाउने गरिन्छ। संकटहरूसँग महिलाले लड्ने–भिड्ने होइन कि निरीह भएर प्रभुसँग गुहार मागिरहने। हामी हिन्दी सिनेमा, सिरियल, नेपाली सिनेमामै पनि जब दुःखका पहाड आइपर्छन्, भिड्न जानुभन्दा पहिले रुँदै प्रभुलाई पुकारेकै देख्छौँ।

पछिल्लो समय केही भाइबहिनीको विवाहमा सरिक भइयो हालसालै। अहिले विवाहमा पहिलेको तुलनामा परिवर्तन खासै भएको छैन। हाम्रा संस्कृति जोगाउनुपर्छ भन्ने मान्यता मौलाएको छ। त्यसैले सम्पूर्ण विधिविधान, कन्यादान लगायत प्रक्रिया पूरा गर्दै विवाह हुने गरेका छन्। थपिएको चाहिँ हाम्रा संस्कृतिमा पहिले नचलेका मेहेन्दी, रिसेप्सन, संगीत, विभिन्न डिजाइनका इन्डियन लुगा–कपडा अनि गरगहना हुन्। परिवर्तन भनेको अहिले उपहारको रूपमा जिन्सी वस्तुहरू दिनुभन्दा नगदै दिने चलन आएको छ। ब्यान्डबाजासहितको बिहे कार्यक्रममा बाजाका टोलीले एउटा गीतको धुन लगाइहाले ‘माइती घर तिम्रो होइन, पराई घर जाऊ, बिदा लिई कहिलेकाहीँ जन्म घर आऊ।’

त्यही कन्यादानलाई पक्षपोषण गर्ने यो गीत, जसले ‘अब छोरी तिम्रो बिहे भयो, जन्मघर कहिलेकाहीँ मात्र आऊ’ भन्छ।

सानोमा हामी गाउँका केटाकेटीहरू एक ठाउँमा जम्मा हुने, खेल्ने, कुद्ने गथ्र्यौं। यस्तैमा आमाले पल्लो घरबाट केही ल्याउन भन्नुभयो। म भने उफ्रिँदै–उफ्रिदै छिमेकीकहाँ जाँदै थिएँ, टाढैबाट छिमेकी आमाले ‘हेर कस्ती उत्ताउली ! के उफ्रिँदै हिँडेको’ भन्नुभयो। यो सुनेपछि मलाई साँच्चै नै मैले उफ्रेर हिँड्नु भनेको समाजका लागि उत्ताउलोपन नै हो कि भन्ने लाग्यो। मेरो त्यो कलिलो मनमा पसेको विचार अझै ताजै छ।

गाउँघरमा सुन्दै आएको महिलाप्रतिको आम धारणा ‘छोरी अर्काको भित्तो टाल्ने जात हो जति पढे नि के गर्नु ! छोरी मरी ठूला घराँ परी (कामले मर्ने अर्थमा या दुर्घटनावशः मृत्यु नै भइहालेमा पनि)। जे भए नि छोरी भनेको छोरी नै हो कमजोर नै हुन्छन्’ आदि। यस्ता थुप्रै अमानवीय र असमान कथन छन्। यिनै कथनमा संरचित भएका समाजमा हुर्किएका हामी। पहिले गुपचुपमै पीडितको पीडा नष्ट हुने बलात्कारजस्ता निकृष्ट घटनामा कुनै कमी आएको छैन। केवल सञ्चारमाध्यम तथा सामाजिक सञ्जालका कारण घटना घटिसकेपछि भए पनि समाचार चाहिँ आउँछन्। महिला तथा किशोरी, त्यसमाथि दलित तथा निम्न वर्गीय समाजमाथि विभेद, उत्पीडनको निरन्तरता नै छ।

शब्द र अन्तक्र्रियालाई अर्थपूर्ण बनाउन कैयौँ उखान टुक्का बनाइएका छन्, नेपाली समाज वा भाषामा। तर ती उखान टुक्काले महिलालाई यति होँच्याएका छन्, भनी साध्य छैन। केही उदाहरण मात्र हेरौँ ः गुन्द्रुकलाई पकाउनुपर्दैन, सालीलाई फकाउनुपर्दैन। रातभरि रुँग्यो, बूढी त जिउँदै। मर्दकी दशवटी। स्वास्नी मानिसको चरित्र र लोग्ने मानिसको भाग्य कसैलाई थाहा हुँदैन,ईत्यादि। थुप्रै महिलालाई प्रतीक बनाएर उखान रचिएका छन्, जुन सुन्दा र अर्थ लगाउँदा खिन्न महसुस हुुन्छ।

यसरी हाम्रो पूर्वीय समाजमा दिइएका महिलाका परिभाषा आखिर पश्चिमी समाजमा पनि झन्डै उस्तै रहेछन्। संसारमै महिलाका कैयौँ परिभाषा त साझा रहेछन्।

महिला (वमन) को अर्थलाई गुगल र विभिन्न शब्दकोशले दिएका परिभाषालाई परिमार्जन गर्नुपर्छ भनेर अभियान चलाइरहेकी मारियाले ती शब्दकोशका निर्मातालाई निम्न सुझाव पनि सुझाएकी छन् ः महिलालाई विभेद गर्ने सबै खालका वाक्यांश, परिभाषा बदल्नुपर्छ। महिलालाई पुरुषको अधिनस्थ हो भन्ने जनाउ दिने सबै खालका समानार्थी शब्द हटाउनुपर्छ। महिलाका परिभाषालाई बृहत् बनाएर ‘म्यान’ अर्थात् पुरुषको परिभाषाको बराबरी बनाउनुपर्छ। सिमान्तीकृत, यौनिक अल्पसंख्यक, महिलाका उदाहरण पनि समावेश गरिनुपर्छ।

यसैले समाजले बनाइदियो, परिभाषित गरिदियो भन्दैमा महिलाले यी सब संरचनाको भेद बुझिसक्दा पनि ती पुरानै मूल्य–मान्यतामा खुम्चिएरै बस्ने हो भने हजारौँ वर्षमा पनि पीडित, निमुखा, अपहेलित महिलाका वास्तविक समस्या, वर्गीय मुद्दाहरूको पहिचान हुन सक्ने छैनन्। मान्छे–मान्छेबीच बराबरीको श्रेणीमा नभई दोस्रो दर्जा र सेविका, कमजोर, निरीहकै रूपमा रहनुपर्ने देखिन्छ। यस्ता विषय यदि विभेदित लाग्छ भने यो गलत हो भन्ने र लेख्ने गरौँ। व्यवहारमा त्यस्ता शब्दहरूको प्रयोग नगरौँ। महिला र पुरुषबीच समान अस्तित्व, समान परिभाषाले नै न्यायिक समाज बनाउन सहयोग पुग्नेछ। एकपक्षीय शास्त्र, ग्रन्थमा उल्लेख गरिएका महिलालाई विभेद गर्ने परिभाषा जहाँ भेटिए पनि त्यसको विश्लेषण र आलोचना गर्नु र निरन्तर यस्ता विषयमा बोल्नु, नयाँ पुस्तालाई सचेत गराउनु पनि महिलाका अधिकार बारेमा सचेत हुनु हो।


Your Views
Related News