काठमाडौँ, १७ असोज – चाडपर्व नजिकिएसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम गाउँघरमा हुने भएको छ । काठमाडौँ उपत्यकालगायत शहरी क्षेत्रबाट चाडपर्वमा घर जाने भएकाले गाउँघरमा सङ्क्रमणको जोखिम बढ्ने भएको हो ।

अहिले धेरै सङ्क्रमित बजार क्षेत्रका मानिसमा हुने गरेको र ती मानिस दशैँ, तिहार, छठलगायत चाडपर्वमा घर जाने भएकाले गाउँघरतिर सङ्क्रमण फैलिने खतरा रहेको छ । बन्दाबन्दी खुलेसँगै अहिले बजारमा मानिसको चहलपहल बढेपछि सङ्क्रमित सङ्ख्या पनि ह्वात्तै बढेको छ । अब तीनै मानिस गाउँघरमा जाँदा सङ्क्रमण फैलिने डर रहेको छ । चाडपर्व नजिकिँदै गर्दा मानिस अब गाउँघरतिर जान थालेका छन् । विद्यालय, कलेज बन्द भएका बेला कतिपय विद्यार्थी घर गइसकेका छन् भने अब केही जाने तयारीमा छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ मानिसको नजिकको सम्पर्कबाट सर्ने हुँदा भीडभाड नगरी चाडपर्व मनाउन आग्रह गरेको छ । मन्त्रालयले सकभर दशैँमा घर नजान, जानै परे घर गइसकेपछि कम्तीमा १४ दिन होम क्वारेन्टिनमा बस्नसमेत अनुरोध गरेको छ । बस वा हवाईजहाजमा घर जाँदा मास्कको प्रयोग गर्ने, अर्को मानिससँग कुरा गर्दा कम्तीमा दुई मिटर दूरी टाढा राख्ने, बेलाबेलामा साबुनपानी र स्यानिटाइजरको प्रयोग गर्नसमेत आग्रह गरिएको छ ।

कोभिड–१९ का फोकल पर्सन महेन्द्र श्रेष्ठले चाडपर्वसँगै जोखिम गाउँतिर बढ्ने बताउनुहुन्छ । उहाँले उपत्यकालगायत ठाउँबाट मानिस चाडपर्व मनाउन गाउँघरतिर गए त्यहाँ रहेका वृद्धावृद्धा, साना बालबालिका, दीर्घरोगी, सुत्केरीलगायतमा जोखिम बढ्ने बताउनुहुन्छ । यही कात्तिक १ गतेदेखि नेपालीको महान् चाड दशैँ शुरु हँुदैछ । त्यसलगत्तै तिहार र छठपर्व शुरु हुँदैछ ।

नेपालमा अहिले सङ्क्रमण एक व्यक्तिबाट अर्को स्थानीय व्यक्तिमा सङ्क्रमण सरेपछि सङ्क्रमणको दोस्रो चरणमा प्रवेश गरेको छ । तैपनि अहिले केही जिल्लामा वर्ग विशेष (क्लस्टर)मा सङ्क्रमण फैलिसकेको मन्त्रालयले जनाएको छ । “यसपटक चाडपर्व हामी जहाँ छाँै, त्यही बसेर मनाए हुन्छ । हामी चाडपर्वमा घर गयौँ भने घरमा रहेका बुढा आमाबुबा, साना बालबालिका र दीर्घरोगीलाई सङ्क्रमणको जोखिम हुन्छ”, श्रेष्ठले भन्नुभयो, “बरु यसपटक टीका नलगाए केही हँुदैन, खोप आएपछि अर्को वर्ष टीका लगाउँदा हुन्छ ।”

हिजो शुक्रबार एकैपटक दुई हजार ७२२ जनामा सङ्क्रमण देखिएको थियो । त्यसमध्ये आधाभन्दा धेरै एक हजार ६३८ काठमाडौँ उपत्यकाका सङ्क्रमित रहेका छन् । हिजोको तथ्याङ्कले पनि अहिले सबैभन्दा बढी सङ्क्रमित शहरी क्षेत्रमा रहेको देखाएको छ । अहिलेसम्म काठमाडौँ उपत्यकामा मात्रै २६ हजार ७४१ जना सङ्क्रमित भइसकेका छन् ।

नेपालमा अहिले ८२ हजार ४५० सङ्क्रमितमध्ये २१ हजार २३४ सक्रिय सङ्क्रमित छन् । यस्तै ६० हजार ६९६ जना निको र ५२० जनाको सङ्क्रमणको कारणले निधन भएका छन् । नेपालमा निको हुने दर ७३.६ प्रतिशत रहेको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दशैँ अर्को वर्ष पनि आउने भएकाले भीडभाड नगरी मनाउन अनुरोध गर्नुभएको छ । उहाँले दशैँका बेला उच्च सङ्क्रमण भएको जोखिम ठाउँबाट गाउँ जाने भएकाले गाउँतिर सङ्क्रमण सर्ने बताउनुभयो । “दशैँको बेला कोभिड–१९ को उच्च सङ्क्रमणको ठाउँबाट टीका थाप्न गाउँगाउँ जाँदैछाँै । एकपटक सोचौँ कतै हामीले कोरोना त बोकेर गएका छैनौँ”, उहाँले भन्नुभयो, “ज्येष्ठ नागरिकसँग रोगसँग लड्ने क्षमता कम हुन्छ । उनीहरुलाई सङ्क्रमण भएको बेला अस्पतालमा राखेर विशेष उपचार गर्नुपर्ने हुन्छ । त्यसैले चाडपर्वको बेला घर जाँदा विशेष ख्याल गर्नुपर्दछ ।”

मन्त्रालयका प्रवक्ता डा गौतमले दशैँमा घर गइसकेपछि बूढाबूढीसँग कम्तीमा दुई मिटर टाढा बस्नुपर्ने, अँगालो हाल्ने, हात समाउने काम नगर्न र उनीहरुको नजिक जाँदा जहिले पनि मास्कको प्रयोग गर्न अनुरोध गर्नुभएको छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले दशैँमा घर जाँदा शहरबजारबाट सङ्क्रमण लिएर जाने भएकाले गाउँ जोखिम हुने बताउनुभयो । उहाँले दशैँमा आफूभन्दा मान्यजनसँग टीका थप्दा टाढैबाटै बसेर थाप्नसमेत अनुरोध गर्नुभयो । उहाँले बसमा घर जाँदा स्वास्थ्यका न्यूनतम मापदण्डसमेत अपनाउनुपर्ने बताउनुभयो ।

महागरीय ट्राफिक महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले धेरै मानिस पहिल्यै गइसकेकाले यसपटक कम मानिस चाडपर्वमा जाने बताउनुहुन्छ । उहाँले अहिले दैनिक २१ हजार मानिस घर गइरहेको जानकारी दिनुभयो । उहाँले चाडपर्व नजिकिएसँगै घर जाने मानिसको पनि भीड लाग्न थालेको बताउनुभयो । उहाँका अनुसार यही असोज १ गतेदेखि अहिलेसम्म तीन लाख १५ हजार मानिस घर गइसकेका छन् ।

READ MORE NEWS

पाँच सहयोगीसहित सुरक्षाकर्मीमासमेत कोरोना पुष्टि भएपनि प्रधानमन्त्री ओली भने सुरक्षित

काठमाडौं, १७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीका पाँच सहयोगीमा कोरोना पुष्टि भए पनि ओलीको भने कोरोना भाइरसको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

प्रधानमन्त्रीसँग नजिक रहेर काम गर्ने सल्लाहकार एवं सहयोगीहरूलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री ओलीको रिपोर्ट नेगेटिभ आएको जानकारी उहाँको सचिवालयले सार्वजनिक गरेको हो ।

प्रधानमन्त्री निवासमा खटिएका दर्जन बढी सुरक्षाकर्मीहरूलाई कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्री, स्वकीय सचिव इन्द्र भण्डारी, विकास विज्ञ गजेन्द्र थपलिया, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, राजनीतिक सल्लाहकार विष्णु रिमाललगायतको समेत परीक्षण गरिएको थियो ।

प्रधानमन्त्रीका सल्लाहकार, स्वकीय सचिवालय र सुरक्षामा खटिएका गरी ५० भन्दा बढीलाई संक्रमण भएको बताइएको छ । सुरक्षामा खटिएका सुरक्षाकर्मीसहित सचिवालयका चालकहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रमुख सल्लाहकार रिमाल र प्रेस सल्लाहकार थापाले कोरोना संक्रमण पुष्टि भएको जानकारी गराउदै पछिल्लो पटक आफूसँग भेट गर्ने सबैलाई स्वास्थ्यको ख्याल गर्न आग्रह गर्नुभएको छ ।

त्यस्तै शुक्रबार नै स्वाब दिएका प्रधानमन्त्री ओलीको सचिवालयमा कार्यरत चालकहरुलाई पनि कोरोना पुष्टि भएको छ । बिहीबार र शुक्रबार गरी प्रधानमन्त्री निवासमा कार्यरत १ सय ५० बढीको स्वाब संकलन गरिएको थियो ।

यसैबीच प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले न्यूज २४ संग कुरा गर्दै आफ्नो अवस्था सामान्य रहेको र कुनै लक्षण समेत नदेखिएको बताउनु भएको छ ।


Your Views
Related News