बेइजिङ, १७ असोज – चीनका राष्ट्रपति सी चिनफिङले उहाँका अमेरिकी समकक्षी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उहाँकी पत्नी मेलानिया ट्रम्पको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।ट्रम्प दम्पतीलाई शुक्रबार कोभिड–१९ सङ्क्रमण पुष्टि भएको थियो । उहाँहरू दुबै उपचारका लागि अमेरिकी सैनिक अस्पताल, वाल्टर रिड राष्ट्रिय सैनिक चिकित्सा केन्द्रमा भर्ना हुनुभएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पलाई लेखेको सन्देशमा चिनियाँ राष्ट्रपति सीले भन्नुभएको छ, “अमेरिकी राष्ट्रपति ट्रम्प तथा प्रथम महिला मेलानियालाई सङ्क्रमण भएको खबरले हामीलाई दुख लागेको छ । उहाँहरूको शीघ्र स्वास्थ्य लाभको कामना ।” समाजिक सञ्जालमार्फत् पठाइएको सन्देशमा चिनियाँ राष्ट्रपति सी र उहाँकी पत्नी पेङ लियुआनले सहानुभूति प्रकट गर्दै ट्रम्प दम्पतीको शीघ्र स्वास्थ्य लाभको कामना गनुभएको हो ।

शनिबारै उहाँको स्वास्थ्य लाभको कामना गर्दै अमेरिकी राष्ट्रपतिका लागि डेमोक्र्याटिक पार्टीको तर्फबाट उम्मेदवार तथा ट्रम्पका प्रतिस्पर्धी जो बाइडेन, पूर्व राष्ट्रपतिहरू बाराक ओबामा, बिल क्लिन्टन, उत्तर कोरियाली नेता किम जोङ अनलगायत दर्जनौँ विश्व नेताहरूले सामाजिक सञ्जालमा सन्देश लेख्नुभएको छ ।

ट्रम्पले केही दिन अस्पतालमा भर्ना भई उपचार गराउनुहुने बताइएको छ । यसैबीच ट्रम्पलाई गिलिड साइन्सेस नामक विश्व प्रसिद्ध औषधि कम्पनीले उत्पादन गरेको ‘रेमडेसिभिर’ चलाइएको ह्वाइट हाउसका चिकित्सक सिन कोन्लीले बताउनुभएको छ । उहाँको उपचारका लागि सैनिक अस्पतालका साथै जोन हकिन्स विश्वविद्यालयबाट आएका विशेषज्ञ टोली खटाइने बताइएको छ । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको र अक्सिजन दिनु नपरेको चिकित्सक कोन्लीले बताउनुभयो ।

READ MORE NEWS

नेपालमा ५०० मेगावाटको विद्युत् आयोजना बनाउन अष्टेलियन कम्पनी इच्छुक

अष्ट्रेलियाको एक कम्पनीले नेपालमा ५०० मेगावाटभन्दा ठूलो जलविद्युत् आयोजना निर्माण गर्ने इच्छा देखाएको छ । त्यहाँको फोर्टेस्क्यू मेटल ग्रुप लिमिटेडले कम्तीमा ५०० मेगावाट क्षमताको विद्युत् उत्पादन गरी खपतसमेत आफैं गर्ने प्रस्ताव ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय समक्ष पेस गरेको हो । सो सम्बन्धमा ऊर्जा मन्त्रालय र उक्त कम्पनीका प्रतिनिधिबीच श्रव्य दृश्य माध्यमबाट द्विपक्षीय छलफल समेत भइसकेको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनसँग उहाँको कार्यकक्षमा विदाई भेटका लागि पुग्नु भएका नेपालका लागि अष्ट्रलियाका राजदूत पिटर बडलाई नेपाल सरकारले सो प्रस्तावलाई सकारात्मक रुपमा लिएको बताउनुभएको थियो । अष्ट्रेलियन कम्पनीले नेपालमा ठूलो लगानी ल्याउन खोजेकामा स्वागत गर्दै मन्त्री पुनले त्यसका लागि सरकारका तर्फबाट सहजीकरण गरिने स्पष्ट पार्नुभयो ।

कम्पनीका अध्यक्ष एन्ड्रीउ फरेस्ट नेतृत्वको २३ सदस्यीय टोली यही असोज २६ गते नेपाल आउन लागेको जानकारी प्राप्त भएको भन्दै मन्त्री पुनले सो टोलीसँगको भेटमा आयोजना विकासका सम्बन्धमा नीतिगत, कानूनी र प्रक्रियागत तथा सम्भावित आयोजनाका विषयमा जानकारी दिने उल्लेख गर्नुभयो । फोर्टेस्क्यू मेटल ग्रुप अष्ट्रेलियाको १० ठूला कम्पनीमध्ये एक हो ।

“नेपालको जलविद्युत् क्षेत्रमा यति ठूलो लगानी आउने र उत्पादित बिजुलीको खपत पनि आफैं गर्ने कम्पनीको प्रस्ताव हामीलाई राम्रो लागेको छ”, मन्त्री पुनले भन्नुभयो, “उहाँहरु आउनु भएपछि हामी विभिन्न आयोजनाबारे अवगत गराउँछौं र उपयुक्त आयोजना निर्माणका लागि आवश्यक कानूनी, नीतिगत र प्रक्रियागत विषयमा सम्झौता गर्छौं ।” मन्त्री पुनले अष्ट्रेलिया नेपालको असल र महत्वपूर्ण मित्र भएको चर्चा गर्दै नेपालको समग्र विकास तथा जलविद्युत् क्षेत्रको विकासमा पु¥याउँदै आएको सहयोगका लागि आभार प्रकट गर्दै आगामी दिनमा समेत सहयोग जारी रहने विश्वास व्यक्त गर्नुभएको मन्त्री पुनको सचिवालयले जनाएको छ ।

अष्ट्रेलियाले नेपालमा पछिल्लो पटक एकीकृत नदी बेसिन व्यवस्थापन र फुकोट कर्णाली जलविद्युत् आयोजना विकासका लागि प्राविधिक सहायता उपलब्ध गराएकामा उहाँले प्रशंसा गर्नुभयो । मन्त्रीअपुनले राजदूत बडको कार्यकाल कुशलतापूर्वक सम्पन्न भएकामा बधाई दिँदै आगामी दिनमा सम्हाल्ने जिम्मेवारीको सफलताको कामना गर्नुभयो ।

यस्तै राजदूत बडले आफ्नो नेपाल बसाई सफल र स्मरणयोग्य रहेको भन्दै नेपालको सरकार, राजनीतिक नेतृत्व र जनताबाट राम्रो माया र सहयोग पाएकमा प्रसन्नता व्यक्त गर्नुभयो । उहाँले अष्ट्रेलिया सरकारले नेपालको विकासमा गर्दै आएको सहयोगलाई आगामी दिनमा समेत निरन्तरता दिने स्पष्ट गर्दै अष्ट्रेलियाको निजी क्षेत्रलाई जलविद्युत्सहित नेपालको विविध क्षेत्रमा लगानी गर्न आह्वान गर्ने बताउनुभयो ।

यती एयरलाइन्सको १२ वर्षपछि पुनः असोज २१ गतेबाट सिमरा उडान

निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक संस्था यती एयरलाइन्सले १२ वर्षपछि अर्थात यही असोज २१ देखि सिमरामा नियमित उडान गर्नेभएको छ ।
एयरलाइन्सले आफ्नो २२औँ वार्षिकोत्सवका अवसरमा नयाँ गन्तव्यको रुपमा सिमरा पुनः उडान सञ्चालन गर्ने घोषणा गरेको छ । सन् २००८ मा काठमाडौँ–सिमरा उडान भरेको यती एअरलाइन्सले १२ वर्षपछि आगामी असोज २१ देखि बाराको सिमरा विमानस्थलमा उडान भर्न लागेको हो । सिमरा यतीको नवाँै उडान गन्तव्य हो ।

एअरलायन्सका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता सुदर्शन बर्तौलाले कोभिड–१९ को सङ्क्रमणको समयमा उच्च सर्तकता अपनाएर सिमरा उडान गर्न लागेको जानकारी दिनुभयो । “सिमरा उडानबारे सम्बन्धित निकायसँग स्वीकृत लिई असोज २१ देखि दैनिक दुई उडानमार्फत सेवा विस्तार गर्नेछौँ”, उहाँले भन्नुभयो ।

यतीले सिमरामा जेटईस्ट्रीम–४१ विमानमार्फत प्रत्येक दिन विहान ९.०० बजे र साँझ ४.४५ बजे काठमाडाँैदेखि उडान भर्दैछ । एअरलाइन्सका बिक्री तथा बजार निर्देशक शरल एस जे वि राणाका अनुसार यात्रुहरुको माग बमोजिम पुनःसेवा प्रारम्भ गर्न लागेको जानकारी दिनुभयो ।


Your Views
Related News