टिस्टुङ, १७ असोज- मकवानपुरको कैलाश गाउँपालिकास्थित जलुकेमा पहिलोपटक बिजुली बलेको छ । कैलाशको वडा नं १ मा पर्ने जलुकेमा बिजुली पुगेपछि स्थानीयवासी अभूतपूर्व खुशी भएका छन् । खुशीले उनीहरुलाई अहिले नै ‘दशैँ’ भएको छ । यही उपलक्ष्यमा उनीहरुले नाचगान र भोजसमेत गरेका छन् । घरघरमा बिजुली बलेपछि गाउँ नै उज्यालो भएको छ । प्याट्ट स्वीच थिचेपछि आफूले चाहेको बेला बत्ती बल्दा जलुकेवासी दङ्ग छन् ।

गाउँमा राष्ट्रिय प्रसारण लाइनबाट बिजुली बाल्न जलुकेवासीले अनवरत प्रयास गर्दै आएका थिए । पछिल्लोपटक विनाशकारी भूकम्प गएको वर्षदेखि नै उनीहरुले पहल थालेका थिए । नेपाल विद्युत् प्राधिकरण पालुङ वितरण केन्द्रको बिजुली छिमेकी गाउँसम्म पुगेपछि उनीहरुमा पनि बिजुलीको उज्यालोमा बस्ने इच्छा जागेको थियो । यो प्रयास पाँच वर्षपछि सफल भएको छ । जलुकेका धेरैले दियालोकै उज्यालोमा जीवन चलाए । मट्टितेल राखेर टुकी बाल्दा उनीहरुलाई नयाँ प्रविधि भित्रिएजस्तो लाग्थ्यो । मैनबत्ती बालेर खर्चले पुग्दैनथ्यो । पछिल्लो समय कतिपयले ब्याट्रीबाट भान्सा र सुत्ने ठाउँ उज्यालो पार्थे । सोलार प्रविधिबाट बत्ती बाल्नेहरुले दिउँसो घाम लागे राति उज्यालो पाउँथे । आज यी सबै इतिहास भएको स्थानीय वाङ्गेल लामाले बताउनुभयो ।

अहिले जलुकेको ५५ घरमा बिजुली बलेको छ । उनीहरुले बिजुली बाल्न गाउँबाटै रु दुई लाख ७५ हजार उठाएका थिए । श्रमदान पनि उत्तिकै गरे । जम्माजम्मी रु १२ लाखको लागतमा गाउँमा बिजुली पुगेको वडाध्यक्ष पेमा लामाको भनाइ छ ।

जलुकेकी नीरमाया सिञ्जाली मगर अहिले ५२ वर्षकी हुनुभयो । अहिलेसम्म हर्षले सायदै उहाँको आँशु खसेको थियो । घरमा बिजुली बल्दा हर्षले आँशु खसेको उहाँले पत्तै पाउनुभएन । पहिलोपटक गाउँ नै झिलिमिली हुँदा गाउँका सबैको मुहार हँसिलो भएको छ । मोबाइल चार्ज गर्न पनि अर्को गाउँ जानुपर्ने बाध्यता अब हटेको उहाँले बताउनुभयो ।

जलुकेमा बिजुली पुगे पनि वडाकै अन्य धेरै ठाउँ अझै अन्धकार छ । बिजुली पुगेको छैन । वडाको खोलाखर्क, फूलढुङ्गा, नौलेटोललगायत टोलमा अझै बिजुली नपुगेको वडाध्यक्ष लामाले बताउनुभयो । जलुकेमा बिजुली पुगेपछि अब क्रमशः छिमेकी गाउँहरुमा पनि बिजुली पु¥याउने वडाको लक्ष्य छ । छिमेकी थाहा नगरपालिका बिजुलीले झलमल्ल भए पनि कैलाश गाउँपालिकाको धेरै ठाउँमा अझै बिजुली पुगेको छैन । गाउँपालिकाले बाटो (सडक) र बिजुलीलाई प्राथमिकतामा राखेको गाउँपालिका अध्यक्ष टङ्क मोक्तानले बताउनुभयो ।

READ MORE NEWS

मुलुकको समृद्धिका लागि दक्ष जनशक्ति निर्माण अहिलेको आवश्यकता : मन्त्री पोखरेल

महोत्तरी, १७ असोज – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मुलुकको समृद्धिका लागि दक्ष जनशक्ति निर्माण अहिलेको आवश्यकता रहेको औँल्याउनुभएको छ । आज महोत्तरीको बर्दिवासमा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको प्रदेश नं २ स्तरीय शाखा कार्यालय उद्घाटन गर्दै मन्त्री पोखरेलले यस आवश्यकतालाई हृदयङ्ग गरेर सरकारले प्राविधिक र व्यवहारिक शिक्षामा जोड दिएको बताउनुभयो ।

सरकारले मुलुकका सबै स्थानीय तहमा प्राविधिक शिक्षा पु¥याउने उद्घोष गरेअनुरुप हालसम्म ६३७ पालिका (स्थानीय तह) मा प्राविधिक शिक्षाको पठनपाठन थालिएको पोखरेलको भनाइ छ । जीवनोपयोगी व्यवहारिक शिक्षा बढाउन अब जडीबुटी, आयुर्वेद, प्राकृतिक चिकित्सा र योगजस्ता विषय समावेश गरिएको मन्त्री पोखरेलले बताउनुभयो । शिक्षाले ज्ञान, सीप दिनसँगै चरित्र निर्माण गर्ने उद्देश्य बोकेको हुनपर्ने पोखरेलको भनाइ छ ।

पछिल्लो समय कोभिड–१९ सङ्क्रमण सन्त्रासले विद्यालय सञ्चालनमा ल्याउने अवस्था नरहेको हुँदा शिक्षकले विद्यार्थीसँग घरघरै सम्पर्क बढाएर वैकल्पिक सिकाइका अभ्यास गराउनुपर्ने पोखरेलले बताउनुभयो । “परिस्थितिवश विद्यालय बन्द हुन सक्छन्, जस्तो कि अहिले बन्द गरिएका छन््”, मन्त्री पोखरेलले भन्नुभयो, “तर, शिक्षा लिने÷दिने प्रक्रिया बन्द हुँदैनन्, बन्द गरिनु हँुदैन ।” वैकल्पिक सिकाइ पद्धतिभित्र जहाँ जुन विकल्पको सम्भावना छ, त्यहाँ त्यो पद्धति समातेर अघि बढ्नुको अहिले विकल्प नभएको पोखरेलको भनाइ छ ।

बर्दिवासमा स्थापना भएको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको प्रदेश नं २ स्तरीय शाखा कार्यालयले यसै शैक्षिकसत्रदेखि नै चारवर्षे ब्याचलर इन होटल मेनेजमेन्टको पठनपाठन र प्रयोगात्मक अभ्यास शुरु गर्ने जनाएको छ । यसका लागि कक्षा १२ मा कम्तीमा ‘डि प्लस’ अङ्क ल्याइ उत्तीर्ण गरेका छात्रछात्राले आवेदन गर्नसक्ने प्रतिष्ठानले स्पष्ट पारेको छ । यसपालि ८० जना यो लेभलको अध्ययनका लागि छनोट हुने नवस्थापित शाखा कार्यालयका प्रमुख शिवेन्द्र मल्लिकले जानकारी दिनुभयो । यसका अतिरिक्त छोटो अवधिका सीपसम्बन्धी तालिम पनि सञ्चालन गरिने प्रतिष्ठान बर्दिवास शाखाले जनाएको छ ।

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले पहिलोपटक यसपालि होटल व्यवस्थापनका तालिम र पठनपाठन सञ्चालनका लागि शाखा सञ्चालनमा ल्याएको छ । यसपालि प्रदेश नं २ को बर्दिवास, प्रदेश नं १ को बिर्तामोड र पश्चिम नेपालको नेपालगञ्जमा पहिलोपटक शाखा स्थापना गरी सञ्चालनमा ल्याइएको प्रतिष्ठानका कार्यकारी निर्देशक दीपककुमार थापाले जानकारी दिनुभयो ।

प्रतिष्ठानको शाखा कार्यालय सञ्चालनले अहिले विश्व श्रमबजारमा राम्रो ठाउँ ओगटेको होटल मेनेजमेन्ट विषयको प्रयोगात्मक पठनपाठन र सीप अभिवृद्धिका छोटो अवधिका तालिम आफ्नै ठाउँमा लिन पाइने कुराले महोत्तरी र आसपासका क्षेत्रमा उत्साह छाएको छ ।

चितवनमा अटोरिक्सा र मोटरसाइकल एकापसमा ठक्कर खाँदा एक जनाको ज्यान गयो

भरतपुर, १७ असोज- चितवनमा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अन्य सात जना घाइते भएका छन् । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा नारायणगढबाट मुग्लिनतर्फ गइरहेको प्रदेश ३–०३००१ह ४४७ नंको अटोरिक्सा र मुग्लिनबाट नारायणगढतर्फ आइरहेको ना५०प ४५५० नंको मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते मोटरसाइकल पछाडि सवार तनहुँ घिरिङ गाउँपालिका–४ का ३५ वर्षीय जीतबहादुर रानाको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक देवराज शर्माले जानकारी दिनुभयो । मोटरसाइकल चालक सोही ठाउँका बेलबहादुर राना घाइते भएका छन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

यस्तै अटो चालकसहित सवार अन्य छ जना पनि घाइते भएको शर्माले बताउनुभयो । उनीहरु सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।


Your Views
Related News