विश्वभरका प्रगतिशील एवं समाजवादी पक्षधर श्रमिकहरूको अन्तर्राष्ट्रिय केन्द्र विश्व ट्रेड युनियन महासंघ (डब्लूएफटीयू)को स्थापना दिवसको दिन हो । कोरोना महामारीको बेलामा सिंगो श्रम क्षेत्र प्रभावित भएको वेला श्रमिकहरूले भोगिरहेका समस्या उजागर गर्न महासंघको स्थापना दिवसको अवसरमा डब्लूएफटीयूले ‘सामाजिक न्यायसहित विश्व व्यवस्था स्थापना गर्न पुँजीवादी एकाधिकारवादका विरुद्ध सम्पूर्ण श्रमजीवी वर्ग एकजुट होआंै’ भन्ने मूल नारा तय गरेको छ । श्रमिकहरू गोष्ठी, भेला, सेमिनार, श्रमिक प्रदर्शन सँगसँगै भर्चुअल माध्यमबाट विभिन्न कार्यक्रम गरी ७५औं स्थापना दिवस मनाइरहेका छन् ।

दोस्रो विश्ववयुद्धको अन्त्य पछि सन् १९४५ अक्टोबर ३ देखि विश्वका ५६ देशका २५६ जना ट्रेड युनियनका प्रतिनिधिहरू फ्रान्सको राजधानी पेरिसमा भेला भए । यही भेलालाई नै श्रमिकहरूको पहिलो विश्व सम्मेलन भएको निर्णय गर्दै विश्व ट्रेड युनियन महासंघ स्थापना भएको निर्णय भएको थियोे । विश्वयुद्धको अन्त्य भए पनि साम्राज्यवाद, फाँसीवाद र पुँजीवादले श्रमिकहरूको बर्बर शोषण गरेको थियोे । महासंघको पहिलो घोषणापत्रमा विश्वबाट फाँसीवाद, साम्राज्यवाद र पुँजीवादको अन्त्यका लागि संघर्ष गर्ने, श्रमिकहरूको अधिकारका लागि संघर्ष गर्ने र साना र देशहरूको सार्वभौमिक अधिकारमा धनी राष्ट्रको थिचोमिचो र हस्तक्षेपका विरुद्ध तथा जाति, वर्ण, लिंगको आधारमा संघर्ष गर्ने उल्लेख गरिएको छ ।

डब्लूएफटीयूको स्थापना भएको ७५ वर्षको अवधिमा विश्वका श्रमिकको हकहितका लागि संघर्ष, आन्दोलनका माध्यमबाट महत्वपूर्ण उपलब्धि हासिल भएका छन् । पहिलो, श्रमिकहरूका लागि संगठित हुन पाउने अभिसन्धि नम्बर ८७ र सामूहिक सौदाबाजी गर्न पाउने अभिसन्धि नम्बर ९८ पारित गराउनका लागि डब्लूएफटीयूले नेतृत्वकारी भूमिका निर्वाह गरेर अन्तर्राष्ट्रिय श्रम संगठनको अधिवेशनबाट यी दुईवटा अभिसन्धि पारित र सिफारिस गराउन सफलता प्राप्त गरेको छ । आज विश्वभरका श्रमिकहरूले यिनै दुईवटा अभिसन्धिमा उल्लिखित अधिकारको उपयोग गरी आफ्ना हकहितका लागि ट्रेड युनियनका माध्यमबाट संघर्ष आन्दोलन गरेर महत्वपूर्ण उपलब्धि हासिल गरेका छन् ।

दोस्रो, डब्लूएफटीयूले स्थापना कालमै संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय श्रम संगठन, युनेस्को र विश्व खाद्य संगठनजस्ता अन्तर्राष्ट्रिय संस्थाहरूमा स्थायी प्रतिनिधिको रूपमा प्रतिनिधित्व गर्दै आएको छ । यी संस्थाहरूका वार्षिक सम्मेलन, बैठक र विभिन्न सेमिनारमा सक्रिय सहभागी भएर श्रमिकहरूले भोगिरहेका समस्या उठाउँदै श्रमिक पक्षीय नीति, नियम र कानुन लागू गर्न संसारभरका सरकारहरूको ध्यानाकर्षण गराउने र यी संस्थाहरूबाट पनि श्रमिक पक्षीय नीति, अभिसन्धिहरू पारित गराउन र लागू गराउन ध्यानाकर्षण गराउने काम गर्दै आएको छ । तेस्रो, डब्लूएफटीयूले विश्व साम्राज्यवाद, पुँजीवादले सञ्चालन गरेको युद्ध, हत्या, हिंसा, आतंक र श्रमिकहरूमाथि गरेको बर्बर शोषणका विरुद्ध संघर्ष र आन्दोलन गर्दै श्रमिकहरूको हक र हित प्राप्तिका लागि महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । चौथो, विश्वका श्रमजीवी वर्गले सञ्चालन गरेको आन्दोलन, युद्ध र द्वन्द्वका कारण आफ्नो मातृभूमि छोडेर जान बाध्य शरणार्थीहरू, आप्रवासी श्रमिकहरूका पक्षमा आवाज उठाउँदै उनीहरूले सञ्चालन गरेका आन्दोलनमा ऐक्यबद्धता प्रकट गर्दै आएको छ ।

पाँचांै, विश्व ट्रेड युनियन आन्दोलनमा हुर्किरहेको वर्ग समन्वयवादी, अवसरवादी र पुँजीवादसँग संघर्ष होइन, समन्वय र सहकार्य गर्ने वर्ग समन्वयवादी धारका विरुद्ध वैचारिक संघर्ष गर्दै ट्रेड युनियन आन्दोलनलाई वर्ग संघर्ष केन्द्रित, जुझारु र व्यापक एकताका साथ सञ्चालन गर्ने वैचारिक अभियानलाई विश्वव्यापी रूपमा अगाडि बढाएको छ ।

विश्व ट्रेड युनियन महासंघको सन् २०१६ मा सम्पन्न १७औं कांग्रेसले अगाडि सारेको श्रमिकहरूका आधारभूत आवश्यकता र अधिकारका लागि पुँजीवादी साम्राज्यवादी बर्बर शोषणका विरुद्ध संघर्ष गर्ने कार्यदिशा तय गरेको छ । यसअन्तर्गत खास गरी श्रमिकहरूको सेवा, सुरक्षा र रोजगारीको अधिकार, ट्रेड युनियन अधिकार, शिक्षा, स्वास्थ्य र आवासको अधिकार, रिटायर्ड पेन्सनरहरूको जीवनयापनलगायतका विषयलाई कार्यक्रमको रूपमा एक्सन प्लान बनाएर विश्वव्यापी रूपमा विचार, संगठन, आन्दोलनका रूपमा अगाडि बढाउँदै आएको छ ।

डब्लूएफटीयूको ७५औं वर्षगाँठ मनाइरहँदा अहिले विश्वव्यापी रूपमा फैलिएको महामारीले लाखभन्दा बढीको मृत्यु भएको छ । अरू लाखौंलाख मानिसमा यो संक्रमण फैलिएको छ । यही बेला पुँजीवादीहरूले श्रमिकहरूलाई कामबाट निकाल्ने काम गरेका छन् । श्रम गरी जीविका चलाउने श्रमिक, कामबाट निकालिएका श्रमिक र अत्यन्तै न्यून ज्याला तलबमा जीविका चलाउने श्रमिकहरू यतिबेला सबैभन्दा बढी प्रताडित भएका छन् । यतिबेला कामबाट निकालिएका श्रमिक र काम नै नपाएका श्रमिकको समस्या चक्रीय हिसाबले विस्तार भएको छ । श्रमिकहरू यतिबेला नो जब, नो इनकम, नो फुड, नो हेल्थ केयर र नो हाउजिङको चक्रीय हिसाबले समस्याको भुमरीमा परेका छन् ।

यस्तो अवस्थामा डब्लूएटीयूले कोरोनाका कारण र अन्य बिरामीमा परेका सबैलाई सर्वसुलभ निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चित गर्न, स्वास्थ्य क्षेत्रमा भइरहेको व्यापारीकरणलाई अन्त्य गर्न, रोजगारीमा लागिरहेका श्रमिकहरूको रोजगारीबाट निकाल्ने कामको अन्त्य गर्न, श्रमिकहरूका समस्याबारे ट्रेड युनियनहरूसँग संवाद गरेर ट्रेड युनियन अधिकारको सम्मान गर्न मागलाई अगाडि सारेको छ । यस्तै, विश्वभर उत्पादन र आपूर्तिका क्षेत्रलाई सुचारु गर्न र उत्पादन र रोजगारी वृद्धिमा लगानी केन्द्रित गर्न माग गर्दै आएको छ ।

नेपालमा पनि विश्व ट्रेड युनियन महासंघ, समन्वय समिति नेपालले नेपाल सरकारलाई ध्यानाकर्षण गराएको छ । यस क्रममा कोरोना महामारीका बेला सरकारी कार्यालय, सरकारी संस्थानहरूमा ज्यालादारी करारका कर्मचारीलाई काममा निकालिएको छ । निजी क्षेत्रका विद्यालय, कलेज नर्सिङहोम, यातायात, पर्यटन क्षेत्रमा कार्यरत श्रमिकले विगत ५ र ६ महिनादेखि तलब पारिश्रमिक भुक्तानी नपाएको अवस्था छ । यस्तै, कोरोना नियन्त्रणमा अग्रभागमा उपचार जुटेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र राष्ट्रसेवकलाई पर्याप्त स्वास्थ्य सुरक्षाका सामग्री हुन नसकेको, कामबाट निकालिएका श्रमिकको जीविकोपार्जन र स्वास्थ्य उपचारको समस्या भएको, विदेश ८ र १० लाख नेपाली आप्रवासी श्रमिक स्वदेश आउन नपाएर समस्याग्रस्त बनेको स्थितिमा सरकारको ध्यानाकर्षण गराउने काम भएको छ ।

अब सरकारले कोरोना महामारीबाट पीडित श्रमिक, बेरोजगार श्रमिक र विदेशबाट फिर्ता भई आउने श्रमिकलाई राहत र स्वरोजगारी उपलब्ध गराउन तत्काल हाललाई १ खर्बको रोजगारी कोष खडा गरी बिचल्लीमा रहेका श्रमिकहरूलाई राहत र उद्धार प्रदान गर्नुपर्दछ । यस्तै, विदेशमा अलपत्रमा परेका आप्रवासी श्रमिकहरूलाई स्वदेश फिर्ता गरी रोजगारीका काममा सहभागी गराउनुपर्दछ । यस्तै, कामबाट निकालिएका श्रमिक र लामो अवधिसम्म पारिश्रमिक भुक्तानी नपाएका श्रमिकहरूलाई रोजगारी सुनिश्चित गर्न र मानवोचित जीवनयापन गर्नेे र स्वास्थ्य उपचारमा ध्यान दिन आवश्यक छ ।


Your Views
Related News