बुटवल । प्रदेश ५ को राजधानीका लागि दाङ प्रस्ताव गरिएपछि बुटवलमा आन्दोलन चर्किएको छ । आन्दोलन नियन्त्रण गर्न स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले शनिबार सूचना जारी गरी बुटवलमा चार दिन निषेधाज्ञा घोषणा गरेको छ । आइतबार बिहान ६ बजेदेखि २१ असोज बेलुका ६ बजेसम्म निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख छ ।

यो अवधिमा सभा, जुलुस, प्रदर्शनलगायत गतिविधि गर्न–गराउन रोक लगाइएको छ । त्यस्तै, पाँचजनाभन्दा बढी व्यक्ति समूहमा उपस्थित भई हिँडडुल गर्न पनि नपाइने जनाएको छ । जिल्ला प्रशासन कार्यालयले मुख्यमन्त्री कार्यालय, मन्त्री कार्यालयहरू तथा प्रदेश सभा भवन रहेका आसपासको क्षेत्रमा निषेधाज्ञा लागू गरेको हो ।

प्रदेश राजधानी दाङ प्रस्ताव गरिएको विरोधमा शनिबार पनि बुटवलमा प्रदर्शन भएको छ । रुपन्देहीमा आन्दोलन चर्काउन नेपाली कांग्रेसले जिल्ला बन्दको कार्यक्रम घोषणा गरेको छ । शनिबार साँझ विभिन्न स्थानमा मसाल जुलुस प्रदर्शन गरिएको छ ।

राजधानीको विषयमा छलफल गर्न शनिबार बुटवलमा बसेको नेकपा संसदीय दलको बैठकमा १४ सांसदले असहमति जनाएका छन् । उनीहरूले प्रदेशको अस्थायी राजधानी रहेको बुटवललाई नै स्थानीय राजधानी बनाउनुपर्ने जिकिर गरेका छन् ।

READ MORE NEWS

युवा भूमिकाको नागरिक खोजी

खस्रो कुराबाट सुरु गरौं। विगत केही समयदेखि फेरि मुन्टो उठाएको राजनीतिमा युवाको बहसले अपेक्षाकृत जनआकर्षण प्राप्त गर्न सकेको छैन। आम युवामै चाख र उत्साह सिर्जना गर्न सकेको छैन। राजनीतिक दलमा आबद्ध भई सक्रिय राजनीतिमा रहेका युवाको बृहत् समर्थनसम्म पनि जुटाउन सकेको छैन। बहसको केन्द्रमा रहेका तीन परम्परावादी र साँघुरा चिन्तनका कारण हामी यो दुर्घटनाको अवस्थासम्म आइपुगेका छौं। पहिलो, राजनीतिक दलको केन्द्रमा परिपक्व युवा नेतृत्व पुग्दा मात्र राजनीतिमा कायापलट सम्भव छ। दोस्रो, दलको सदस्यता लिनुहोस् नत्र राजनीतिमा पछाडि परिएला। तेस्रो, पुस्ताको बहसमा विभाजित मनोविज्ञान।

सर्वप्रथमतः राजनीतिक दलको केन्द्र र परिपक्वताको चिन्तनलाई आलोचनात्मक रूपमा हेर्न आवश्यक छ। एकातर्फ केन्द्र र परिपक्वताको मिलनले एउटा विभेदकारी संरचना खडा गरेका छन् भने अर्कातर्फ विभिन्न तह र क्षेत्रमा युवाको सक्रिय भूमिकाको बहसलाई नै ओझेलमा पार्ने काम गरेको छ। व्यावहारिक भाषामा केन्द्रमा परिपक्व युवा नेताको प्रतिनिधित्व हुनुपर्छ भनेको हाल देशका प्रमुख राजनीतिक दलका केन्द्रमा सक्रिय सदस्यमध्येबाट मात्रै कसैले अवसर पाउनुपर्छ भन्ने हो। पार्टी प्रमुख वा पदाधिकारी बन्ने अवसर। प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री आदि बन्ने अवसर। दल बाहिरका युवा यस्ता तहमा पुग्नेबारे कसैले परिकल्पना गर्दैन यहाँ। नेपालका प्रायः  सबै ठूला राजनीतिक दलले पार्टीको केन्द्रीय निकायको सदस्य वा पदाधिकारी बन्नका लागि निश्चित अवधिसम्म पार्टीको सदस्य रहेको र निश्चित तहमा काम गरेको हुनुपर्ने अनिवार्य व्यवस्था गरेका छन्।

नेपाली कांग्रेसका हकमा केन्द्रीय सदस्यको उम्मेदवार बन्न १० वर्ष निरन्तर क्रियाशील सदस्य भएको हुनुपर्ने व्यवस्था छ। नेपालका कम्युनिस्ट पार्टीले त सरकारी सेवामा भन्दा पनि कट्टर तहगत बढुवा नीतिलाई अवलम्बन गरेका छन्। आफूलाई वैकल्पिक शक्तिका रूपमा प्रस्तुत गरेका दलको पनि स्थापना, पुनस्र्थापना र जुटफुटको शृंखला हेर्दा नयाँ अनुहारलाई विशेष स्थान दिने अभ्यासले अपेक्षाकृत ध्यान पाउन नसकेको देखिन्छ। परिपक्वता राजनीतिक अन्दोलनमा सहभागिता, दलको केन्द्र, सदन र सरकारमा विभिन्न पदमा बसेर काम गरेको अनुभवको अवधिका आधारमा मापन गरिन्छ।

अव प्रश्न जन्मन्छन् : जारी राजनीतिक नेतृत्वमा युवा बहसमा राजनीतिक दलको सदस्य नभएका युवाको स्थान कहाँ छ ? हाम्रो पार्टीमा स्वागत छ तर केन्द्रीय समितिमा १०/१२ वर्षपछि भेटौंला, त्यो पनि तपाईंको भाग्य रहेछ भन्ने हो ? आज नेपालका प्रमुख राजनीतिक दलभित्र रहेको देश हाँक्न सक्ने युवा जनशक्ति दलबाहिर रहेको भन्दा धेरै उत्कृष्ट दर्जाका रहेकाले बाहिरका युवालाई केन्द्रमा प्रवेश गराउन छुटै प्रयत्नको आवश्यकता छैन भन्ने हो ? आवश्यक पर्‍यो भने कतै नियुक्ति दिएर तिम्रा कुरा पनि सुनेजस्तो गरौंला भन्ने हो ? के यो लोकतान्त्रिक छ ? के यो विभेदकारी छैन ?

प्रश्न यतिमा मात्रै सीमित छैनन्। के दलको केन्द्रमा काम नगरेको वा दलको सदस्य नै नरहेका व्यक्ति राजनीतिका लागि अपरिपक्व हुन्छन् ? युवा उमेरमा पार्टीको निर्माण वा सिद्धान्तको वीजारोपणमा बीपी, पुष्पलाल, मदन भण्डारीको नेतृत्वकारी भूमिकाबारेमा हामीले धेरै चर्चा गरिसकेका छौं। बाराक ओबामा प्रदेशसभा सदस्यका रूपमा प्रत्यक्ष राजनीतिमा प्रवेश गरेको १२ वर्षमा अमेरिकाको राष्ट्रपतिको उम्मेदवार बने। त्यसबेला केन्द्रको राजनीतिक अनुभव केवल तीन वर्षको थियो उनीसँग। हो, यो अमेरिका होइन। हामी राष्ट्रपतीय शासन व्यवस्था अवलम्बन गरिराखेका पनि छैनौं। तैपनि नेपालका राजनीतिक दलका सदस्यले के त्यस्तो चमत्कारिक तालिम लिएका हुन्छन्, शिक्षा, ज्ञान वा अनुभव हासिल गरेका हुन्छन् जुन राजनीतिक दलका सदस्य नरहेका आम सचेत नागरिक पाएका हुँदैनन् र नेतृत्वकारी भूमिकामा पुग्नबाट वञ्चित गरिन्छ ? एक्काइसौं शताब्दीमा राजनीतिक नेतृत्वसँग केकस्ता परिपक्वता चाहिन्छ ? ती गुण दलभित्र दसौं वर्ष पूर्णकालीन सदस्य भएर सक्रिय हुँदा प्राप्त हुन्छन् कि दलबाहिर अन्य व्यावसायिक जीवनबाट पनि ?

युवाको केन्द्रीय नेतृत्वमा केन्द्रित बहसको केलाउनैपर्ने अर्को पक्ष हो– के युवाले राजनीतिमा आफ्नो भूमिका देखाउन सक्ने वा देखाउनुपर्ने तह केन्द्र मात्रै हो ? सिद्धान्ततः मूल सफा भयो भने तल बग्ने पानी पनि सफा नै हुन्छ। केन्द्रीय राजनीतिबाट सुरु हुने विधि स्थापनाको क्रान्ति छिटो देशव्यापी र प्रभावकारी हुन सक्छ। पार्टीको केन्द्र मात्रै होइन संसद्, प्रदेशसभा, पालिकासभा, वडा कार्यालय, राजनीतिक दलका हर तहमा युवाले गर्न सक्ने परिवर्तनबारेमा चर्चा, छलफल, ज्ञान आदानप्रदान र अभियानको आवश्यकता छ। आम युवाको भूमिका सडक तथा सामाजिक सञ्जाल र नेतृत्वको प्रतिस्पर्धालाई केन्द्रीय नेता र मन्त्रीमा सीमित भएको छ। बिर्सनु हँुदैन, अहिले पनि स्थानीय तहका प्रमुख र अध्यक्ष, उपप्रमुख र उपाध्यक्षमा झन्डै ४० प्रतिशत युवा छन्। प्रदेश सभामा प्रतिनिधित्व गर्ने झन्डै २५ प्रतिशत सांसद पनि युवा नै छन्। के उनीहरू सफल हुनु केन्द्रमा २/४ थान नेताले पद पाउनुभन्दा कम महत्वपूर्ण छ ?

दोस्रो, अहिलेको हाम्रो बहस राजनीति गर्न दलको सदस्य नै हुनुपर्छ भन्ने स्थापित मान्यताबाट माथि उठ्न सकेको छैन। यो विषय हामीले निर्माण गर्न खोजेको भविष्यको समाज र राजनीतिक संस्कार विकासको परिकल्पनासँग सम्बन्धित छ। हामी अझै पनि व्यक्तिगत क्षमता परीक्षण नभएका व्यक्तिले राज्य र राजनीतिको बागडोर सम्हाल्ने समाज निर्माणको परिकल्पना गरिरहेका छौं। प्रजातन्त्रको पुनस्र्थापनापछि पहिलोपटक निर्वाचित संसद्मा राजनीतिमा प्रवेश गर्नुअघि कुनै पेसामा आबद्ध सांसदको संख्या केवल २० प्रतिशतको हाराहारी मात्र थियो। ३० वर्ष लामो निर्दलीय पञ्चायती व्यवस्था अन्त्यका लागि लडेका धेरै नेता संसद्मा प्रवेश गरेकाले त्यो स्वाभाविक पनि थियो होला। अर्को ३० वर्ष बितेको अहिले हामी कस्तो नयाँ ३० वर्षको तयारीमा छौं भन्ने हो। देश हाँक्न राजनीतिमा आउनेले राजनीतिमा प्रवेश गर्नुअघि समाजको युगान्तकारी रूपान्तरणमा असाधारण क्षमता प्रस्तुत गरेको हुनु पर्दैन ? विश्वकप खेलमा गाउँटोलमा सबैभन्दा राम्रो खेल्ने खेलाडीमध्येबाट छानिनु स्वाभाविक होइन र ? तर हामीले राष्ट्रिय टिमको खेलाडी केही निश्चित क्लबबाट मात्रै छान्ने पद्धति अवलम्बन गर्‍यौं भने के हुन्छ ?

युवा आफ्नो उमेर समूह वा दलभित्र आफ्नो गुटको मात्रै होइन, देशले अवलम्बन गर्नुपर्ने सामाजिक, आर्थिक नीति तथा राजनीतिक विचार बोकेर हिँड्छन्, हिँड्नुपर्छ। निर्वाचनबाट सकिएन भने सामाजिक अभियानबाट पनि राजनीतिमा हस्तक्षेप गर्न सकिन्छ भन्ने विश्वास नागरिकलाई दिलाउन सक्नुपर्छ।

निर्वाचनमा सहभागी हुने उम्मेदवार राजनीतिक दलको पूर्णकालीन सदस्यबाट मात्रै आउँछन् भने त्यो कदापि प्रगतिशील राजनीति हुन् सक्दैन। अब राजनीतिक दलले नागरिक समाज निर्माण र व्यवस्थापन गर्ने पुरातनवादी शैलीबाट दीक्षित हुनुपर्छ। नागरिक समाजले राजनीतिक नेतृत्व निर्माण र वितरण गर्ने मुहानको काम गर्ने राजनीतिको नयाँ युगको उदयले युवा मात्रै होइन; प्रत्यक्ष राजनीतिको निर्णायक भूमिका सीमान्तकृत धेरैको प्रतिनिधित्वलाई सुनिश्चित गर्छ। यो त्यतिबेला सम्भव छ जतिखेर राजनीतिमा दल र सरकारमा प्रतिनिधित्व गर्ने व्यक्तिको क्षमता, सोच, दूरदृष्टि, बौद्धिकता, रचनात्मकता आदिबारेमा प्रस्ट सामाजिक अवधारणा निर्माण हुन्छ।

तेस्रो र अन्तिम विषय हो– पुस्ताको बहसमा विभाजित मनोविज्ञान। आम राजनीतिमा विभाजित देखिने तर केन्द्रीय नेतृत्वमा रहेका पाका र युवा दुवै पुस्तालाई फाइदाजनक एउटा स्थापित तर्क छ। पाका नेताका कारण राजनीति एउटा फोहोरी खेल भएको छ। पार्टीभित्रका युवा नेता निर्णायक तहमा नहुँदा केही पनि गर्नै नसक्ने अवस्थामा छन्। राजनीति बूढाहरूको फोहोरी खेल भएकाले सफा र युवा त्यहाँ पस्नु हुँदैन वा पर्दैन भन्ने मान्यताले राजनीतिक नेतृत्वमा पाका पुस्ताको वर्चस्वलाई थप सशक्त पार्दै आइरहेको छ। यो भन्दा विडम्बना के होला ? युवाहरू अझै नेतृत्वकारी भूमिकामा नपुगेकाले केही गर्न सकेनौं भन्ने मूल्यांकनको स्वतन्त्रता प्रदान गरेको छ। पार्टीको केन्द्रीय समिति वा सदनमा एक दशकदेखि निरन्तर रहेका युवा नेता पनि जनताका लागि केही गर्ने भूमिका नपाएको गुनासो गर्ने गर्छन्। त्यहाँ गर्न सकिने प्रशस्तै काम छैनन् र ?

केन्द्रमा रहेका युवा र पाका नेताले कालेकाले मिले खाऊँ भाले प्रयोजनमा यो विभाजित मनोविज्ञान प्रयोग गरे पनि आम राजनीतिमा भने यो विभाजित मनोविज्ञानको ठूलो मूल्य तिर्दै छौं हामी। दल र समग्र राजनीतिप्रतिको अविश्वासको वातावरण संस्थागत गरेको छ यो मनोविज्ञानले। राजनीतिमा क्षमताको बहसलाई नेताको उमेर र कहिलेकाहीं शिक्षा स्तरमा मात्रै केन्द्रित गर्दा पुस्ताको बहसका महत्वपूर्ण प्रश्न ओझेलमा परेका छन्। उमेरलाई प्रगतिशील पुरातनवादी सोचको मापक मान्ने प्रवृत्तिको गलत अभ्यास हुँदैछ। के नेपाली युवाको दैनिक जीवनका समस्याको बुझाइ र प्राथमिकता दुई पुस्ताका बीचमा तात्विक अन्तरविरोध छ ? के युवा नेता सदनमा युवाका मुद्दामा एक छन् त ? उनीहरू दलीय धारणाभन्दा माथि उठ्ने गरेका छन् ?

राजनीतिलाई हस्तक्षेप गर्ने नयाँ विधिबारेमा सोच्ने बेला भएको छ। अहिले राजनीतिमा युवा सफल भएका देशमा समाजका अन्य क्षेत्रमा पनि उत्तिकै सफल छन्। समाज हाँक्न अब लिंग, उमेर वा अन्य सामाजिक पृष्ठभूमिले मात्र अर्थ राख्दैन भन्ने मान्यता स्थापित हुँदै गएको छ। युवा आफ्नो उमेर समूह वा दलभित्र आफ्नो गुटको मात्रै होइन, देशले अवलम्बन गर्नुपर्ने सामाजिक तथा आर्थिक नीति र राजनीतिक विचार बोकेर हिँड्छन्। निर्वाचनबाट सकिएन भने सामाजिक अभियानबाट पनि राजनीतिमा हस्तक्षेप गर्न सकिन्छ भन्ने विश्वास गर्छन्। योजना र दृढसंकल्प बोकेर हिँड्छन्। सोच, विचार, विधि, प्रक्रिया, मन, चेतना, योजना, विकल्प फराकिला, लचक र गतिशील छन्।


Your Views
Related News