काठमाडौैं, नेपाल धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा धितोपत्र व्यवसायीको जोखिममा आधारित सुपरिवेक्षण म्यानुअल, २०७७ लागू गर्ने भएको छ । अपराधजन्य कार्यबाट आर्जित आयलाई दोस्रो बजारमा आउनबाट रोक्ने अर्थात शंकास्पद लगानी रोक्ने उद्देश्यले यो म्यानुअल लागू गरिएको हो ।

अपराधजन्य कार्यबाट आर्जित आयलाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्ने सम्बन्धमा ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४, ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण नियमावली, २०७३’ तथा नेपाल धितोपत्र वोर्डबाट जारी भएको ‘सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन, २०७६’ मा भएको कानुनी व्यवस्थालाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्न सो व्यवस्था लागू गरिएको बोर्डले जनाएको छ ।

सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा धितोपत्र व्यवसायीको जोखिममा आधारित सुपरिवेक्षण म्यानुअल आज अर्थात् १५ भदौदेखि लागू हुने भएको छ । त्यसअनुसार अब स्रोत नखुलेको तथा शंकास्पद लगानी गर्न पाउने छैन ।

सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी अन्तर्राष्ट्रिय अभ्यासअनुरूप फाइनान्सियल एक्सन टाक्स फोर्स तथा एसिया प्रशान्त समूह (एपिजी)को मापदण्डलाई समेत आधार मानी तयार गरिएको बोर्डले जनाएको छ ।

यस्तै, धितोपत्र व्यवसायीको जोखिममा आधारित रहेको, धितोपत्र व्यवसायीको संरचनागत तथा अन्तर्निहित जोखिम तथा जोखिम व्यवस्थापनलाई रेटिङ स्केल १ देखि ५ को बीचमा गर्ने व्यवस्था गरिएको छ ।

धितोपत्र व्यवसायीको स्थलगत तथा गैरस्थलगत सुपरीवेक्षणसम्बन्धी विषय समावेश गरिएको, धितोपत्र व्यवसायीबाट संकलन गरिने परिमाणात्मक तथा गुणात्मक तथ्यांक तथा विवरणबाट धितोपत्र व्यवसायीको गैरस्थलगत जोखिम मूल्यांकन गर्ने व्यवस्था गरिएको, धितोपत्र व्यवसायीको गैरस्थलगत जोखिम मूल्यांकनबाट स्थलगत सुपरीवेक्षणको अवधि, क्षेत्र तथा मात्रा निर्धारण गर्ने व्यवस्था गरिएकोे छ ।

धितोपत्र व्यवसायीको जोखिम मूल्यांकन गर्दा धितोपत्र व्यवसायीले प्रदान गर्ने वस्तु तथा सेवा, ग्राहकसम्बन्धी जोखिम, भौगोलिक क्षेत्रसम्बन्धी जोखिम, उच्च पदस्थ व्यक्तिसम्बन्धी जोखिम, वितरण माध्यमसम्बन्धी जोखिम, धितोपत्र व्यवसायीको संरचनागत जोखिम, धितोपत्र व्यवसायीको जोखिम व्यवस्थापनसम्बन्धी व्यवस्था गरिएको छ ।

READ MORE NEWS

इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनको लगातार चौंथो जित


Your Views
Related News