भारतको मध्य प्रदेशको बैतुल जिल्लामा चोरीको अनौठो घटना सार्वजनिक भएको छ ।
त्यहाँको एक मन्दिरमा चोरले भगवानको मूर्तिका अगाडि चिट्ठी राखेर मन्दिरको दानपेटी फुटायो अनि त्यहाँको नगद चोरेर चम्पत भयो ।
सिद्धेश्वर हनुमानजीको मन्दिरमा यो घटना भएको हो । चोरले चिट्ठीमा आफ्ना सबै अपराध माफ गर्न भनेको छ । साह्रै तनावमा परेपछि अपराध गर्न बाध्य भएको चोरको भनाइ छ । चिट्ठी दानपेटीनजिकै राखिएको छ ।
बिहान श्रद्धालुहरू मन्दिर पुग्दा पट खुलेको थियो । अनि दानपेटी फुटेको थियो । त्यहाँ पैसाको साटो चिट्ठी थियो र त्यसमा चोरले भगवानलाई सम्बोधन गरेको थियो ।
चोरीको घटना भएपछि गाउँलेहरू रिसाएका छन् । दानपेटी विगत तीन वर्षदेखि नखोलिएको बताइएको छ । पेटीमा लगभग ८० हजार रुपैयाँ रहेको बताइएको छ ।
प्रहरीले चोरको खोजी शुरू गरिसकेको छ ।
चोरको चिट्ठीमा यस्तो लेखिएको छ, ‘मैले अहिलेसम्म गरेको अपराधका लागि क्षमा माग्छु । आजदेखि म कहिल्यै चोरी गर्दिनँ । सबै कुरा ठीक भएमा म तपाईंको कुनै पनि मन्दिरमा गएर ८०० रुपैयाँ दान गर्नेछु ।’
READ MORE NEWS
कतिबेला खान्छ बाघले मान्छे ?
कसैले ‘बाघले मान्छे भेट्टायो भने खाइहाल्छ नि’ भन्दा हामी सामान्य रूपमा लिन्छौं । वास्तविकता भने केही फरक छ । मान्छे बाघको आहारा प्रजाति होइन । बाघले विरलै मात्र मान्छेको सिकार गर्छ । बाघलाई मान्छे खान बाध्य बनाउनेचाहिँ मान्छे स्वयं नै हो । बाघले गाउँघरमै आएर मानिसलाई आक्रमण गरेका घटना निकै न्यून छन् । जति गरेको छ जंगलभित्रै ।
गत सोमबार हात्तीलाई घाँस काट्न जंगल गएका रत्ननगर–६ बछौलीका बभना चौधरीले बाघको आक्रमणमा परी ज्यान गुमाए । चितवन निकुञ्जका अनुसार मारेर ल्याएको चित्तल बाघले खान लाग्दा चौधरी नजिक पुगेका थिए । बाघले रिसाएर आक्रमण गर्दा चौधरी मारिएका हुन् । यसअघि असोज १० मा भरतपुर–१३ पटिहानीका जन्छु महतोलाई मार्ने बाघ बूढो, घाइते र अशक्त भएको चितवन निकुञ्जले जनाएको छ ।
चितवन निकुञ्जमा बाघले धान्न सक्ने अध्ययन भएको छ । ‘निकुञ्जले १ सय ३६ वटासम्म बाघ थेग्न सक्छ भनिएको छ,’ उनले भने, ‘सीमित क्षेत्रमा हुँदा उनीहरूबीच प्रतिस्पर्धा बढ्छ । आहारा नभेटेपछि उनीहरू मध्यवर्ती जंगल आसपास पुग्दा द्वन्द्व बढेको हो ।’ सन् २०१३ मा १ सय २० वटा बाघ भएको चितवन निकुञ्जमा २०१८ को गणनामा ९३ वटा मात्रै रहेको पाइएको थियो । सदर चिडियाखानाका प्रमुख चिरञ्जीवी पोखरेल मुख्यतः विचरण क्षेत्र, आहार प्रजाति र उमेरका कारणले बाघले मानिसलाई आक्रमण गर्ने बताउँछन् । ‘बाघ क्षेत्र निर्धारण गर्ने प्रजाति हो, टेरिटोरीलाई लिएर बाघहरूबीच लडाइँ हुँदा बस्ती नजिकैको जंगलमा पुग्न सक्छन्,’ उनले भने, ‘अर्को कारण भनेको बूढो हुँदै जाँदा सिकार गर्ने बल घट्छ, जे सजिलै भेटिन्छ त्यो मार्छन् ।’ आफू बस्ने क्षेत्रमा आहार प्रजातिका वन्यजन्तु घटेपछि भोकाएर बाघ बाहिर निस्कने उनले बताए । ‘मान्छेलाई आक्रमण गरेर स्वाद लिएको बाघले फेरि पनि आक्रमण गर्छ,’ उनले भने ।
यो द्वन्द्व न्यूनीकरणका उत्तम उपाय भनेकै जनचेतना रहेको उनले बताए । मानिसद्वारा सिर्जित समस्या भएकाले मानिसले नै हल गर्नुपर्ने उनी बताउँछन् । बाघले कतिबेला कुन समयमा सक्रिय हुने आक्रमण गर्न सक्ने जस्ता अध्ययन तथा जानकारी बफर क्षेत्रका मानिसहरूलाई दिन सके यसले द्वन्द्व घटाउन सक्ने पोखरेलले बताए ।
ब्रिटिसकालीन भारतीय कर्णेल जिम कोर्बेटले मानिस खाने सयौं बाघलाई मारे । कुमाउ–गढवाल क्षेत्रमा सन् १९०७ देखि १९३८ सम्म मान्छे खाने धेरै बाघ उनले मारे । सन् १९४४ मा उनको ‘मेन इटर्स अफ कुमाउँ’ पुस्तक प्रकाशित भएको थियो । उत्तर प्रदेशका करिब एक दर्जन मानिस खाने बाघको सिकार घटनासँग समावेश उनको उक्त किताबमा नेपालमा जन्मिएर भारतको चम्पावतमा आतंक मच्चाएकी ‘चम्पावत बघिनी’ को घटना पनि समावेश छ ।
नेपालका करिब २ सय कृषकहरूलाई मारेपछि यो बघिनीलाई सन् १९०० को सुरुतिर भारततर्फ लेखेटिएको थियो । कुमाउमा बस्न थालेपछि यसले चम्पावतका गाउँलेलाई मारेको थियो । सन् १९०७ मा कोर्बेटलाई यसको आतंक रोक्नका लागि मार्ने जिम्मा दिइयो । कोर्बेटले करिब ४ वर्ष लगाएर गाउँलेको सहयोगमा यसलाई मारे । उनले यो बघिनीलाई ३ पटक गोली हानेर मारेका थिए ।
मारिसकेपछि कार्बोटले बघिनीको शरीर हेर्दा थाहा पाए कि ऊ कुनै बेला मानिसबाटै आक्रमणमा परेकी थिई । बघिनीको थुतुनोमा गोली लागेको पुरानो घाउ थियो । घाइते भएकाले अन्य जीव तथा आफ्नो प्राकृतिक आहारालाई आक्रमण गर्न नसक्ने अवस्था आएपछि सहज हुने मानिसलाई आक्रमण गर्न थालेको खुलेको थियो । संरक्षणकर्मी हेमन्त मिश्रद्वारा लिखित ‘बोन्स अफ द टाइगर ः अफ मेन इटिङ टाइगर्स एन्ड टाइगर इटिङ मेन’ पनि यो घटनाबारे चर्चा गरिएको छ ।
चम्पावत बघिनीपछि नेपाल–भारत सीमा क्षेत्रमा ८६ वर्षपछि अर्को खतरनाक नरभक्षी बाघ देखा पर्यो । त्यो बाघ नाम ‘बैतडी मेन इटर’ दिइएको थियो । यो घटना पनि चम्पावतसँगै केही मिल्छ । यो भाले बाघले सन् १९९७ मा बैतडीका विभिन्न १० वटा गाउँमा १० महिनाको अवधिमा सय जनाभन्दा बढीलाई मारेको थियो । मारिनेमा अधिकांश बालबालिका रहेको मिश्रको पुस्तकमा उल्लेख छ । बैतडीको उक्त हिंस्रक बाघलाई तत्कालीन जिल्ला प्रशासन कार्यालयको आदेशमा गोली हानेर मारियो । मान्छे खानुअघि यो बाघ मानिसहरूबाटै आक्रमणमा परी घाइते पारिएको थियो ।
प्रकृतिविद् माइकल ब्राइटको ‘मेन इटर्स’ पुस्तकमा दक्षिण एसियामा विगत चार सय वर्षको समयमा १० लाख मानिसहरू बाघको आक्रमणमा परी मरेको उल्लेख छ । सन् १९२२ मा बाघको आक्रमणमा परी दक्षिण एसियामा १६०० जना मानिसहरूको ज्यान गएको थियो । भारतको मुम्बईमा सन् १८२२ मा बाघको आक्रमणमा परी ५ सय जनाले ज्यान गुमाएको पुस्तकहरूमा उल्लेख छन् ।
भारतमा इस्ट इन्डिया कम्पनीको शासन सुरु भएयता मलायाको जंगल फँडानी सुरु भयो । मानिसहरूका बस्ती विस्तार हुन थाले । बासस्थान विनाश हुँदै गएपछि बाघको आक्रमण पनि बढ्न थाल्यो । सन् १८४० मा बाघको आक्रमण परी वार्षिक २ सयदेखि ३ सय मानिसहरू मारिएको मिश्रले विभिन्न स्रोतलाई उल्लेख गर्दै आफ्नो पुस्तकमा लेखेका छन् । मानिसमाथि दिनहुँ आक्रमण बढेपछि पासो थापेर र गोली हानेर बाघ मार्नर् थालियो । पछि सन् १९३० को दशकमा सिंगापुरबाट बाघ लोप भइसकेको थियो ।
नेपालमा पनि बाघ मार्ने र बाघबाट मारिने घटनाहरू धेरै छन् । सन् २००८ मा बायोलोजिकल जर्नलमा प्रकाशित भीम गुरुङको अनुसन्धानात्मक आलेखअनुसार चितवन राष्ट्रिय निकुञ्जमा १९७९ देखि २००६ सम्म ८८ जना मानिसहरूले बाघको आक्रमणमा परी ज्यान गुमाएका छन् । उनीहरूलाई ३६ वटा बाघले आक्रमण गरेको थियो । मारिने अधिकांश मानिसहरू मध्यवर्तीर् क्षेत्रको एक किलोमिटरभित्रका जंगलमा घटनाहरू भएका थिए । १९९४ देखि २००७ सम्म बर्दिया राष्ट्रिय निकुञ्जमा १२ जना मानिस बाघद्वारा मारिएका र ४ जना घाइते भएका थिए । युरोपियन जर्नलमा अफ वाइल्ड लाइफ रिसर्चमा सन् २०१९ मा प्रकाशित रिपोर्टका अनुसार बर्दिया र चितवन राष्ट्रिय निकुञ्जमा सन् १९७९ देखियता ३४ वटा बाघ मान्छेसँगको द्वन्द्वका कारण मारिएका छन् । कान्तिपुर दैनिकमा गोविन्द पोखरेलले लेखेका छन् ।