कोभिड १९ संक्रमित बिरामीहरुलाई स्वस्थ, पोषिलो र सन्तुलित खानाको आवश्यकता हुन्छ। कोभिड १९ संक्रमितलाई अन्य दीर्घ रोग भए नभएको एकिन गरि आवश्यक पोषण व्यवस्थापन गर्नु पर्दछ। मधुमेह, उच्च रक्तचापजस्ता जीवनशैलीसँग सम्बन्धित दीर्घ रोग भएका व्यक्तिहरु कोभिड १९ संक्रमित भएमा संक्रमणका लक्षण र दीर्घरोगको प्रकृति समेतलाई ध्यानमा राखेर खानपान गर्नु पर्दछ। दीर्घ रोग समेत रहेका कोरोना संक्रमितले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सल्लाहमा खानपानमा ध्यान दिन आवश्यक छ।

यस रोगको उपचारका लागि कुनै प्रभावकारी औषधि तयार भई नसकेको अवस्थामा खानपान र जीवनशैलीलाई स्वस्थ राख्दै संक्रमणबाट जोगिने उपायहरु अवलम्बन गर्नु मात्र अहिलेसम्मको विकल्प हो। यस महामारीमा संक्रमणको दर, संक्रमणको जोखिम र मृत्युमा व्यक्तिको पोषण अवस्थाले प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ। त्यसैले कोभिड १९ बाट संक्रमित व्यक्तिहरुको जीवन रक्षाका लागि उपयुक्त पोषण अत्यावश्यक हुन्छ। उचित पोषणले रोग प्रतिरक्षा प्रणाली बढाउँनुका साथैसंक्रमणको जटिलता र अस्पताल बस्ने दिन समेत घटाउँदछ।

सामान्यतया कोभिड-१९ संक्रमित (लक्षण नभएकाले समेत) खानामा दैनिक रुपमा कार्बोहाईड्रेटका स्रोतहरु जस्तैः आटा, कोदो, फापर, चामल, तरुल जस्ता खानेकुराहरु ठिक्क मात्रामा खानुपर्दछ। प्रोटिनजन्य खानेकुराहरुले रोग प्रतिरोधात्मक क्षमता बढाउनका साथैशरिरमा मांसपेशिहरु निमार्ण गर्ने लगायतका कार्य गर्ने भएकोले खानामा प्रोटिनका स्रोतहरु जस्तैः अण्डा, माछा, मासु, दाल, गेडागुडी, पनिर, तोफू जस्ता खानेकुरा दैनिक रुपमा खान आवश्यक छ।

टुसा उम्रेका गेडागुडीमा आईरन, भिटामिन सि जस्ता सूक्ष्म पोषक तत्व, रेसादार (फाइबर) तथा अन्य फाइदाकर तत्वहरु पाइनुका साथै पाचन प्रणालीलाई समेत स्वस्थ राख्नेहुनाले टुसा उमारिएकोगेडागुडी नियमित खाने।

फर्मेन्टेड खानेकुराहरु जस्तैः दहि, मोहि, गुन्द्रुक, सिन्की, मसौरा, किनेमा, तामा (मेसो) आदिमा क्याल्सियम, आइरन, म्याग्नेसियम, जिंक जस्ता शुक्ष्म पोषक तत्व, प्रोबायोटिक्स, एन्टिअक्सिडेन्ट आदि प्रशस्त पाइनुका साथै पाचन प्रणालीलाई सुदृढ गर्ने भएकाले दैनिक रुपमा आवश्यकताका आधारमा खाने।

दैनिक रुपमा मौसम अनुसारको हरियो सागसब्जी तथा फलफूलहरु प्रशस्त मात्रामा खाने।

कम्तिमा २ लिटर पानी दैनिक पिउने।

बिहान, बेलुका बेसार पानी वा दूधमा बेसार राखेर पिउने।

चपाउन समस्या भएको खण्डमा खिचडी, लिटो, गिलो खाना खाने।

६० बर्षमाथिको उमेर समूहकाहरुको हकमा उनीहरुको हड्डी कमजोर हुन सक्ने भएकोले क्याल्सियम बढि पाईने खानेकुराहरु जस्तैः दूध, दहि, मोहि, दूधबाट बनेका परिकारहरु जस्तैः पनिर, केफिर, छेना जस्ता परिकारहरु नियमित खाने।

रोग प्रतिरोधी क्षमता बढाउने पोषक तत्व पाइने खानेकुराहरु प्रशस्त मात्रामा खाने। भिटामिन ए, भिटामिन सि, भिटामिन इ, जिङ्खजस्ता पोषक तत्वहरुलाई रोगप्रतिरोधी क्षमता बढाउने पोषकका रुपमा लिइन्छ। भिटामिन ए का स्रोतहरु ः मासु, कलेजो, अण्डाको पहेलो भाग, माछा, घिउ, दुध, पाकेको मेवा, सुन्तला रंगको सखरखण्ड, गाँजर, हरिया सागपात तथा पहेला फलफूलहरु आदि।

भिटामिन सि का स्रोतहरु : अमिला फलफूल जस्तैः अमला, कागती, सुन्तला, मौसम आदि फलफुल तथा पालकजस्ता हरिया सागपात आदि।
भिटामिन इ का स्रोतहरु : काजु, बदाम, ओखर, घिउ, एभोकाडो, आलस जस्ता तैलिय दानाहरु, माछा, हरिया सागसब्जीहरु आदि।
जिङ्कका स्रोतहरु : गेडागुडी, बोक्रासहितका अन्नहरु, काजु, बदाम, ओखर, दुधका परिकारहरु, रातो मासुआदि।

दैनिक रुपमा कम्तिमा ३० मिनेट योगाभ्यास, शारीरिक ब्यायाम गर्ने, चिन्तामुक्त रहने, दैनिक रुपमा नाचगानजस्ता मनोरन्जन गर्ने।

धेरै नुन वा चिनि भएका बजारिया खानेकुरा नखाने।

बट्टा (क्यान) मा लामो समय राखेका परिकारहरु नखाने।

कार्बोनेटेड पेय पदार्थहरु नखाने।

चिल्लो, तारेको खानेकुराहरु नखाने।

धुम्रपान तथा मद्यपान नगर्ने।

लक्षणका आधारमा खानपानको व्यवस्थापन

१. खोकी लागेमा
मह, कागती, मन तातो बेसार पानी, झोलिलो खानेकुरा प्रसस्त पिउनु पर्दछ।

२. छिट्टै अघाएको महसुस भएमा
पटक पटक थोरै थोरै शक्तिवद्र्धक खानेकुरा खानु पर्दछ।

३. खान मन नलागे वा भोक कम लागेमा
फलफूल प्रसस्त मात्रामा खानु पर्दछ।
पाचन प्रक्रियामा मद्दत गर्ने र खान रुची बढाउन मद्दत गर्न भिटामिन तथा खनिज पदार्थहरु खाद्य पूरक
मार्फत पूर्ती गर्न सकिन्छ तर चिकित्सक वा डाइटिसियनको सिफारिसमा मात्र खाद्य पुरक खानु पर्दछ।

४. तौल घटेमा
पर्याप्त मात्रामा पोषणयुक्त तथा सन्तुलित खाना खाने गर्नु पर्दछ।
पटक पटक थोरै मात्रामा खाना खाने गर्नु पर्दछ।
पर्याप्त मात्रामा शक्ति तथा प्रोटिन दिनेखाना खानु पर्दछ।
कम शक्ति दिने खानेकुरा जस्तै पातलो सुप, चिया, जुस धेरै खानु हुँदैन। यस्ता खाने कुराले पेट भर्ने काम गर्दछ तर क्यालोरीको कमी हुन सक्छ।

५. सास फेर्न गाह्रो भएमा
कार्वोहाइड्रेड कम भएको खानेकुरा खानु पर्दछ।
शक्तिका लागि स्वास्थ्यवद्र्धक चिल्लोभएको खाना खानुपर्दछ।
प्रोटिनको लागि उच्च कोटीको प्रोटिनका स्रोतहरु जस्तै अण्डा, छाला निकालिएको मासु, तोफु, पनिर खानामा समावेश गर्नु पर्दछ।
पेट चर्किने गरि अनावश्यक रुपमा खानु हुँदैन।
कुनै कुनै अवस्थामा दैनिक क्यालोरी आवश्यकतामा ५० प्रतिशतले सम्म कम गर्नु पर्ने हुन सक्छ र बिस्तारै खानेकुराको मात्रा बढाउदै जानुपर्दछ जसले गर्दा श्वासप्रश्वासमा सहज हुन्छ।

६. शरीर दुखेमा वा थकाई लागेमा
खानामा प्रोटिनयुक्त खानेकुराहरु पर्याप्त मात्रामा समावेश गर्ने।
चिनी वा गुलिया खानेकुरा कम खाने।
मध्यपान, धुम्रपान नगर्ने र चिया, कफी नखाने।
पटक पटक गरि थोरै थोरै मात्रामा खानेकुरा खाने।
पर्याप्त मात्रामा खाना खान नसके भिटामिन र खनिज पदार्थ खाद्य पूरक मार्फत पूर्ती गर्ने।
शरीरको अवस्था अनुसारको योगा वा शारीरिक व्यायम गर्ने।

७. धेरै खकार, सिगान आएमा
भिटामिन सि युक्त फलफूल, तरकारी, अमिला फल, हरिया सागपात बढी मात्रामा खाने।
मनतातो झोलिलो खानेकुरा, सुप प्रशस्त मात्रामा पिउने।
हिस्टामिनयुक्त खानेकुराहरु जस्तै प्रशोधित मासु, सुकाएको फलफूल, एभोकाडो, टमाटर, पालुबगो,
च्याउ, भान्टा, चिज, दही, मोही, माछा आदीले कफ वा खकार उत्पादनमा मद्दत गर्ने भएकाले यस्ता खानेकुरा लक्षण नहटेसम्म कम खाने।

८. वान्ता भएमा
थोरै थोरै गरी पटक पटक खाना खाने।
बिहान उठ्ने वितिक्कै सुख्खा खाना खाने।
धेरै तातो खानेकुरा नखाने।
चिल्लो कम भएका खानेकुरा खाने।
खाना सँगसँगै झोल वा पानी नपिउने।
थोरै पछाडी ढल्किएर (४५ देखि ९० डिग्री कोणमा) बसाएर खाना खाने÷खुवाउने।
बढी मसलेदार, बढी गुलियो, बढी चिल्लो भएका र कडा गन्ध भएका खानेकुरा नखाने÷नखुवाउने।

९. रक्तअल्पता देखिएमा
आइरन बढी भएका खानेकुरा जस्तैः हरिया सागपात, मासु, कलेजो, माछा, दाल, गेडागुडी खाने।
खानासँगै भिटामिन सि भएका अमिला फलफूलहरु जस्तैः कागती, अमला आदि खाने।
चिया, कफी नखाने।
चिकित्सकको सिफारिसमा मात्र रगत बढाउने औषधि खाने।

१०. शरिर सुन्निएमा, फोक्सोमा पानी जमेमा
खानामा नुनको मात्रा घटाउनु पर्दछ।
झोलिलो खानेकुरा र पानीको मात्रा घटाउनु पर्दछ।
प्रसस्त पोटासियम पाउने खानेकुरा खानु पर्दछ। मेथीको साग, बन्दा, हरियो धनिया, नास्पाती, आँप, चाइनिज साग, मुला÷गाँजर, लट्टेको साग, भुईँकटहर, अमला, घिरौँला, करेलो, पालुंगो, साग, मेवा, आलुबखडा, चिचिन्डो, भान्टा, आलु÷पिँडालु÷तरुल, स्याउ, कागती, लौका, काउली, सख्खरखण्ड, अम्बा, आरु, इस्कुस, सिमी, कर्कलो, खरबुजा, केरा, परवल, भिन्डी, सबैखालको गाढा हरियो सब्जीहरु, स्टबेरी, जुनार, सुन्तला, काँक्रो, हरियो प्याज, सजिवन, अनार, एभोकाडो, बकुल्ला, फर्सी, हरियो मेवा, मटर कोसा, हरियो भटमास लगायतका तरकारी तथा फलफुलमा पोटासियम पाइन्छ।

११. ज्वरो आएमा
ज्वरो आउँदा शरीरलाई नियमित बेला भन्दा बढी शक्ति आवश्यक हुनाले खानाको मात्रा बढाउनु पर्दछ।
आफ्नो नियमित खानामा शक्तिवर्धक, प्रोटिनयुक्त तथा भिटामिन र खनिज पदार्थयुक्त खानेकराहरु जस्तैः अन्न, माछा मासु, दुध, दाल, गेडागुडी, फलफूल तरकारी प्रयाप्त मात्रामा समावेश गर्नु पर्दछ।
बिरामीले प्रयाप्त खाना नखाएर भिटामिन ए, सि, बि, डि, ई, जिंक, आइरन, फोलेट, फाइबर खानाबाट आवश्यक मात्रामा प्राप्त गर्न नसके चिकित्सक वा डाइटिसियनको सिफारिसमा खाद्य पुरकको प्रयोग गर्नुपर्दछ।


Your Views
Related News