पाकिस्तानको लहोरमा बस्ने मेरा फिल्ममेकर मित्र फर्जाद नबीले केही दिनअघि ह्वाट्सएपमा मेसेज पठाए।

मेसेजमा एउटा भिडिओ थियो- एउटी बच्ची कुनै गीतको बोलमा मुख चलाउँदै अभिनय गरिरहेकी।

त्योसँगै एउटा एक शब्दको प्रश्न पनि थियो, ‘नेपाली?’

भिडिओमा देखिने ती सानी बच्ची रातो स्कर्ट, रातो-सेतो फूलको फुर्का भएको सेतो टपमा कम्मर मर्काउँदै, हातले इसारा गर्दै ‘लिपसिंक’ गर्दै थिइन्। गीतको बोल थियो, ‘कति माया गर्छौ…भन्नै सक्दिनँ…

उनको अनुहारको एक्सप्रेसन र डिम्पल पर्ने गाला निकै क्यूट थियो।

नेपाली भाषाको गीत भएकाले मैले ‘त्यस्तै देखिन्छ, होला!’ भन्ने जवाफ फर्काएँ। अनि उनलाई त्यो भिडिओ कहाँबाट पाएको भनेर सोधेँ।

उनको जवाफ थियो, ‘साथीले फरवार्ड गरेको।’

नेपाली बच्चीको भिडिओ यसरी पाकिस्तान हुँदै मलाई फरवार्ड हुनु भनेको त्यो निकै ‘भाइरल’ भएको संकेत थियो।

मलाई पनि जिज्ञासा भयो। मैले सामाजिक सञ्जालमा खोज्न थालेँ। दुई मिनेटमा सबै जानकारी हत्केलाको स्मार्टफोनमा हाजिर भयो।

ती बच्चीको नाम समाइरा थापा रहेछ, उमेर दुई वर्ष।

टिकटक भिडिओबाट एक महिनामै निकै भाइरल भएकी रहिछन् उनी। भारतीय पत्रिका ‘इन्डियन एक्सप्रेस’ मा समेत उनको समाचार आएको रहेछ। त्यहाँबाटै नेपालबाहिरको वृत्तमा उनको चर्चा फैलिएको हुनुपर्छ।

म टिकटकको उपभोक्ता होइन। त्यसैले मैले समाइरालाई युट्युबमा खोजेँ। करिब एक महिनाअघि खोलिएको उनको अकाउन्टमा ३० हजारभन्दा बढी सबस्क्राइबर र चार भिडिओ रहेछन्। तीमध्ये केही त दस लाखभन्दा बढी भ्यूज भएका।

मैले ती सबै भिडिओ हेरेँ। बच्चीको अबोध भावभंगीले लट्ठ पार्‍यो।

समाइरा थापा मगर। तस्बिर सौजन्यः सबिना थापाको सामाजिक सञ्जाल
समाइरा थापा

उनको यो एक महिना छोटो ‘लोकप्रियता’ को ग्राफ नेपालका चलेका कलाकारलाई माथ गर्ने गरी चुलिएको थियो। सबैको तारिफ, माया र वाहवाही त उनको अहिलेको सामाजिक सञ्जालको एउटा पाटो थियो। दुर्भाग्यवश, कुनै दिन यो निर्दयी सामाजिक सञ्जालको अर्को पाटो विस्तारै उजागर हुनेछ। त्यस बेला ती बच्चीले त्यसलाई कसरी ग्रहण गर्लिन् भन्ने सोचले एक छिनअघिको रमाइलो चिन्तामा बदलियो।

उनीभन्दा अलि पहिलेदेखि टिकटक र युट्युबमा अर्की एक बच्चीको एकछत्र चलेको छ, शैलिन श्रेष्ठ।

उनी पनि दुई वर्षको उमेरदेखि भाइरल भएकी थिइन्। एक वर्षमै उनको युट्युबमा साढे दुई लाखभन्दा बढी सबस्क्राइबर नाघिसक्यो भने त्यसमा राखिएका २० वटाभन्दा बढी भिडिओमध्ये १० वटाभन्दा बढीको १० लाख भ्यूज नाघिसक्यो। कुनैले त ४० लाखभन्दा बढी भ्यूज पाएको छ।

शैलिनको भिडिओको त म पनि फ्यान हुँ। उनको त्यो डबल–ट्रिपल रोलवाला ‘सोल्टी’ शृंखला त गज्जबै लाग्छ। उनको पनि लोकप्रियताको ग्राफ राम्रै अघि बढेको छ। अब त उनी विज्ञापनमा समेत खेल्न थालिसकिन्। विज्ञापनमा संलग्न भएपछि पैसाको कारोबार पनि पक्कै भयो होला। त्यस हिसाबले उनलाई नेपालको नयाँ लोकप्रिय पेसागत बाल कलाकार भन्दा हुन्छ।

शैलिन श्रेष्ठ

शैलिन र समाइरालाई हेर्दा मलाई असीको दशकमा भारतीय चलचित्र उद्योगमा एकछत्र राज गरेकी बाल कलाकार बेबी गुड्डुको याद आयो। कम्ता क्यूट थिइनन् उनी। विज्ञापनदेखि ठूलो पर्दाको फिल्म सबै भ्याइन्। तीन वर्षको उमेरदेखि सुरू भएको उनको अभिनय यात्रामा बाह्र वर्षमा पुगेर पूर्णविराम लाग्यो। त्यसपछि उनी पर्दामा कहिल्यै देखा परिनन्।

शैलिनको क्युटनेसले बेबी गुड्डुको याद ताजा गराएपछि मैले आफू टिनएज हुँदा ताकाकी ती बाल कलाकारलाई खोज्न थालेँ।

सन् १९८४ मा शाहिदा बेग नामका बच्चीमा हिन्दी सिनेमा उद्योगको आँखा पर्‍यो। उनी शशि कपुर र शर्मिला टेगोर अभिनीत फिल्म ‘पाप और पुण्य’ मा देखा परिन्। त्यो फिल्ममा उनलाई यति रूचाइयो, त्यसपछिको दशकभरि उनी एकपछि अर्को फिल्ममा लगातार छाइरहिन्।

नौ वर्षको अन्तरालमा उनले ३० भन्दा बढी फिल्ममा काम गरिन्। सन् १९८७-८८ ताका त एकै वर्ष उनका १० वटा फिल्मसम्म रिलिज हुन्थे। अघिल्लो पुस्ताका नामुद कलाकारहरू रेखा, शर्मिला टेगोर, अमिताभ बच्चन, राजेश खन्ना, सुनिल दत्त, शशि कपुर, विनोद खन्नादेखि श्रीदेवी, मिथुन चक्रवर्ती, स्मिता पाटिल, पुनम ढिल्लों, ज्याकी श्रफ, सन्नी देओल र आमिर खानसम्मका कलाकारसँग उनले काम गर्न भ्याइन्।

राजेश खन्ना त उनीसँग यति प्रभावित भए, बेबी गुड्डुलाई मुख्य भूमिकामा खेलाएर एउटा फिल्म नै बनाए- आधा सच।

सन् १९९१ मा सुरेश ओबराय र संगीता बिजलानी अभिनीत फिल्म ‘इन्स्पेक्टर धनुष’ मा देखिएकी बेबी गुड्डु त्यसपछि कुनै पनि फिल्ममा कहिल्यै देखा परिनन्।

बेबी गुड्डु

आमाले घरमा ‘गुड्डु’ भनेर बोलाउने हुँदा सबैले त्यही नामले बोलाउन थालेकी शहिदा बेगको परिचित ‘स्क्रिन नेम’ नै ‘बेबी गुड्डी’ रहेको थियो।

उनले किन फिल्म खेल्न बन्द गरिन्, यकिन छैन। उनका पिता एमएम बेग पनि फिल्म क्षेत्रकै थिए। त्यसैले उनकै पिताले पढाइमा लगाउन फिल्मबाट छुटाएको हुनुपर्छ। उनले सन् २००१ सम्म मुम्बईमै गुमनाम रहेर पढिन्। त्यसपछि पनि उनलाई फिल्ममा हिरोइन बन्ने प्रस्ताव नआएको होइन, तर उनले इच्छा देखाइनन्। उनका पिताले पनि कर गरेनन् र उनको इच्छाबमोजिम ‘एमिरेट्स एयरलाइन्स’ मा एयरहोस्टेस बन्न दुबई गइन्।

अहिले उनी त्यहीँ कार्यरत छिन् र उतै बसोबास गर्छिन्।

कुनै पनि केटाकेटीले नबुझिकनै गरेको कामबाट अरूलाई रमाइलो हुन सक्छ। तर, बुझ्दै गएपछि बच्चा स्वयंलाई त्यो मनपर्छ कि पर्दैन भन्ने अहम् कुरा हो। उनलाई त्यो काम मन नपरी करमा गर्नुपर्ने अवस्था आयो भने यसले बच्चामा गहिरो मानसिक दबाब र तनावको स्थिति उत्पन्न गराउँछ।

मैले यसबारे बाल मनोचिकित्सक डा. अरूण कुँवरसँग कुरा गरेँ।

‘गुड्डुको केसमा उनको करिअर परिवर्तन सहज भएको देखिन्छ। पछि हिरोइनको प्रस्ताव आउँदा आउँदै फिल्म क्षेत्रमा फर्किन चाख नदेखाउनु भनेको उनले त्यो काम मन पराउन छाडेको संकेत हुनसक्छ,’ उनले भने, ‘त्यस बेलाको ख्याति र स्टारडम मानसिक रूपमा व्यवस्थापन गर्न उनलाई कति सजिलो वा गाह्रो भयो, त्यो उनैलाई थाहा होला।’

‘बाल कलाकारका रूपमा पाएको ख्याति र पछि व्यवस्थापन भएको जीवनको हिसाबले गुड्डु सौभाग्यशाली उदाहरण हुन्,’ उनले थपे।

डा. अरूणले मलाई केही त्यस्ता बाल कलाकारको उदाहरण दिए, जसको अतीत सफल भए पनि वर्तमान त्यति सहज छैन।

पहिलो उदाहरण थियो, नब्बेको दशकमा अमेरिका र सम्भवत: संसारकै सबभन्दा प्रख्यात बालक– म्याकली कल्किन।

आफ्नो नामले भन्दा बढी ‘होम अलोन’ को बच्चा भनेर चिनिने म्याकली कल्किनको अभिनय यात्रा चार वर्षको हुँदा सुरू भएको थियो। उनी निम्न आय भएको परिवारबाट आएका थिए। त्यसमाथि अविवाहित मातापिताका सात सन्तानको ठूलो परिवार।

ब्रोडवे रंगमञ्चमा संघर्षरत् पिता क्रिस्टोफरमार्फत् सुरूमा रंगमञ्च अनि टिभी हुँदै सिनेमामा काम गर्न थालेका म्याकलीको सबभन्दा ठूलो ब्रेक सन् १९९० को सिनेमा ‘होम अलोन’ हुन पुग्यो। त्यसपछिका चार वर्ष उनका लागि चाँदीकटाई साबित भयो।

‘होम अलोन’ मा करिब एक लाख डलर पारिश्रमिक पाएका उनले त्यसपछि पाएको रकम अकल्पनीय छ। एक लाखपछि दस लाख हुँदै दुई वर्षपछि १९९२ मा बनेको ‘होम अलोन–२’ मा उनले ४५ लाख डलर पाए। त्यसपछि १९९३, १९९४ मा बनेका दुई चलचित्रमा ८० लाख डलरसम्म पारिश्रमिक थापेको सञ्चार माध्यमहरूले लेखेका छन्।

त्यसताका उनलाई संसारकै महँगा बाल कलाकार पनि भनिन्थ्यो।

होम अलोनमा देखिएका बालक कल्किन  

लोकप्रियता र बजारको मागले चुलिएको उनको मागमा सन् १९९४ को फिल्म ‘रिची रिच’ अपेक्षाकृत सफल नभएपछि ब्रेक लाग्यो। सात वर्ष अवधिमा उनले १५ वटा सुपरहिट फिल्म खेले। तर, एउटा फिल्म फ्लप भएपछि १४ वर्षकै उमेरमा उनले अभिनय पेसाबाट अवकाश पाए भन्दा हुन्छ।

त्यस बेलाको आफ्नो अनुभवलाई उनले केही अन्तर्वार्तामा यसरी व्यक्त गरेका छन्, ‘ती सात वर्ष मैले निकै यात्रा गरेँ। जहाँ गए पनि म एक जना व्यक्तिसँग कोठामा थुनिएको महशुस गर्थें, जो मलाई रुचाउँदैन थिए।’

यो उनले आफ्ना पिताका बारेमा गरेको टिप्पणी थियो। पितासँगको सम्बन्ध उनी यसरी प्रस्ट्याउँथे, ‘उनी खराब थिए। मलाई गाली र यातना दिइरहन्थे, शारीरिक र मानसिक दुवै हिसाबले।’

उनका पितालाई त्यसताका लोभी, जति भए पनि नपुग्ने, पैसाका लागि छोरालाई हद पार गरी जोताएको आरोप नलागेको होइन। अभिनय यात्रामा आफू असफल भएकाले उनी छोराको सफलतासँग इर्ष्या गर्थे भन्ने कथन पनि थियो। उनले आफ्नो नाबालक छोराबाट आफूले नपाएको सफलताको आनन्द लिन्थे भन्ने पनि छन्।

कानुनी रूपमा पिता नै छोराका संरक्षक हुने भए। पिता नै उनका म्यानेजर पनि रहे। तर, पछि आमा र बाबुबीच छोराको संरक्षणलाई लिएर कानुनी लडाइँ चल्यो। कल्किनले भने दुवैको सट्टा अरू नै कानुनी संरक्षणको माग गरे।

उनी त्यस बेला १५ वर्षका थिए। १८ वर्ष पुगेपछि आफ्नो कमाइ फिर्ता पाउने गरी उनको सबै सम्पत्ति कानुनी संरक्षणमा गयो। १५ वर्षकै उमेरमा आमाबुवाविरूद्ध मुद्दा लड्दा उनी मानसिक रूपमा कति विक्षिप्त भए होलान्!

यस्तो व्यवहारलाई बाल मनोचिकित्सक डा. कुँवर दुईवटा कोणबाट हेर्नुपर्ने बताउँछन्।

पहिलो, जब बच्चा नै परिवारको मुख्य आम्दानीको स्रोत हुन्छ, आमाबाबुले बच्चालाई उमेरअनुसारको आवश्यक संवेदनाले हेर्न छाड्छ। कमाइसँगै लोभ जाग्नु स्वाभाविक हो। बच्चालाई काम गर्ने दबाब पनि बढ्न थाल्छ।

दोस्रो, धेरै मानिस आफ्नो बाल्यकाल वा जवानीमा आफूले गर्न नसकेको थकथकीसहित बाँचेका हुन्छन्। उनीहरूमा आफ्ना ती सपना वा रहर आफ्ना छोराछोरीमार्फत् पूरा भएको देख्ने आकांक्षा पलाउँछ। र, आफूले गर्न नसकेका कुरा बच्चामार्फत् गराउन खोज्छन्। सुरूमा त बालबालिका रमाएजस्तो देखिन सक्छ, तर विस्तारै उनीहरू रमाएका छन् कि छैनन् भनेर वास्ता गर्नै छाडिन्छ।

यस्ता उदाहरण प्राय: कलाकारिता र खेलकुद क्षेत्रमा धेरै भेटिन्छन्।

‘तर सबै आमाबाबुले आफ्ना बालबच्चाको भलाइ नै सोच्छन् नि होइन? बच्चाको खुबीअनुसार राम्रो कुरा गर्न अभिप्रेरित गर्नु गल्ती हो त?’ मैले प्रश्न गरेँ।

डा. कुँवरले भने, ‘बालबच्चाहरू सबैको आफ्नो क्षमता हुन्छ। उनीहरूको विकास प्राकृतिक रूपमा हुन दिनुपर्छ। हाम्रो जस्तै बालबच्चाको पनि रहर र आफ्नै छनौट हुन्छ। यसको खयाल नगरी हामीले आफ्नो इच्छा उनीहरूमा लाद्ने र पूरा गर्न दबाब दिँदा नतिजा नराम्रो हुन सक्छ। उनीहरूले नबुझुन्जेल आमाबुवाले भनेको मान्नु आफ्नो कर्तव्य हो भन्ठानेर जे जे भन्यो, त्यो त्यो गर्छन्। विस्तारै बुझ्ने भएपछि प्रतिकार गर्न सक्छन्। जसले प्रतिकार गर्ने आँट गर्छ, ऊ त्यो समस्याबाट उम्केला। दुई-चार दिन घरमा तनाव होला, तर त्यसपछि सेलाइहाल्छ। जसले प्रतिकार गर्ने आँट गर्दैन, उसले मनमा दबाएर राख्छ र आफ्नो इच्छा र आमाबुवाको इच्छाबीच मानसिक द्वन्द्वमा पर्छ।’

उनले अगाडि थपे, ‘बाहिरी दुनियाँमा आफूभन्दा बढी उमेरकासँग निरन्तर संगतले बच्चाहरू उमेरअगावै वयस्क भएको ठान्न थाल्छन्। यसको भयावह रूप भनेको बच्चामा ‘बाइपोलार डिसअर्डर’ भन्ने मानसिक रोग विकास हुन सक्छ। बाइपोलार भनेको कहिले अतिउग्र त कहिले अतिशिथिल व्यवहार गर्ने समस्या हो।

‘बाइपोलार डिसअर्डर’ रोगबाट पीडित सेलेब्रेटीमा अमेरिकी गायिका ब्रिट्नी स्पेर्स पनि पर्छिन्।

ब्रिट्नी स्पेर्सले सन् १९९५ ताका १५ वर्षकै उमेरमा लोकप्रियताको शिखर चुमिन्। त्यसपछि लगातार सफलता हात पारिरहिन्। त्यसपछि पारिवारिक बखेडा, लागुपदार्थ दुर्व्यसनले उनलाई जकड्दै लग्यो। उनले आफ्नो लोकप्रियता व्यवस्थापन गर्न सकिनन्।

अहिले ३८ वर्षको उमेरमा उनी ठूलो सम्पत्तिको मालिक त छिन्, तर कानुनी रूपमा उनले संरक्षकबिना निर्णय गर्न पाउँदिनन्।

ब्रिट्नीजस्तै म्याकली कल्किन पनि लागुपदार्थ दुर्व्यसनी नभएका होइनन्। आफ्नो अन्तिम फिल्म ‘रिची रिच’ नचलेपछिको अवस्थाबारे उनले भनेका छन् , ‘मलाई त खुसी नै लाग्यो, अब काम गर्नु नपर्ने भयो भनेर।’

उनको यो भनाइले उनी आफ्नो कामबाट खुसी नरहेको र उन्मुक्ति खोजिरहेको प्रस्ट हुन्छ।

उनले त्यस बेलाको अवस्था सम्झँदै ‘द एलेन शो’ को अन्तर्वार्तामा खुलेर भनेका छन्, ‘फिल्मको काममा हिँड्दा म सधैं आफूभन्दा वयस्कहरूको वरिपरि हुन्थेँ। म आफ्नै समकालीनहरूको संगतमा जान चाहन्थेँ। म फेरि स्कुल जान चाहन्थेँ। फेरि आफ्नै उमेरका केटाकेटीको वरिपरि हुन पाउँदा रमाइलो अनुभव भएको थियो।’

कल्किनले भनेका यी कुराको मनोवैज्ञानिक व्याख्या रहेको डा. कुँवर बताउँछन्।

‘बालबालिकालाई उमेरअनुसार बालबालिका नै रहन दिनु आवश्यक छ। उनीहरूले बाल्यकाल र बालापन अनुभव गर्न पाउनुपर्छ। यो कुरा सबै आमाबाबुले बुझ्नु जरुरी छ,’ यो कुरा थप प्रस्ट पर्दै उनी अगाडि बुझाउँछन्, ‘आफ्नै उमेरकासँग हुर्कंदा बालबालिकाहरूको ‘इमोसनल इन्टेलिजेन्स’ (भावनात्मक विकास) मा सहयोग पुग्छ। यो भनेको उमेरअनुसार संगत, खेलकुद, अलिअलि उट्पट्याङ सबैबाट बालबालिकाले जीवनोपयोगी सीप विकास गर्ने प्रक्रिया हो। गल्ती गर्दै, लड्दै, पर्दै, सिक्दै जाने हो। उमेरले धान्न सक्नेभन्दा अधिक दबाब, तनाव दियो भने वा यस्तो संगतबाट विमुख पार्‍यो भने उसले एउटा चरणमा अंगाल्नुपर्ने प्राकृतिक शिक्षाको अवसर गुमाउँछ।’

‘सबभन्दा जरूरी कुरा त, उनीहरू खुसी छन् कि छैनन् भन्ने निरन्तर अवलोकन गर्नुपर्छ। त्यसो भन्दैमा बन्देज पटक्कै नलगाउने भनेको होइन। गलत कुरा, अत्यधिक भिडिओ गेमजस्ता कुराबाट ऊ खुसी हुन्छ भन्दैमा त्यसै छाड्ने भनेको होइन,’ उनले भने।

मेरो लेखको सुरूआत बालबालिकाले सानो उमेरमा पाउने सफलता र लोकप्रियताबाट उनीहरूमा पर्ने मानसिक दबाब र यसको नकारात्मक प्रभावबाट कसरी जोगाउने भन्नेसँग पनि सम्बन्धित थियो। हामीले माथि गरेका कुरा, उदाहरण र यसको व्यवहारिक पक्षबारे मैले डा. कुँवरसँग मनोचिकित्सकीय व्याख्या र सम्बन्ध बुझ्न चाहेँ।

‘क्षमता र कला भएका बालबालिकाले स्कुलबाहेक अरू केही गर्नै हुन्न भनेको होइन। गराए हुन्छ। तर, यसले उसको स्कुलको दैनिकी, उसको उमेरअनुसारको दैनिकी, उठ्ने समय, सुत्ने समय, खाने समय सबैमा लगातार प्रभाव परेको हुनु हुँदैन,’ डा. कुँवरले भने।

उनले अगाडि भने, ‘फेरि लामो समय बाहिरी माहौलमा राख्दा आफूभन्दा पाका उमेरकासँग संगत हुनु स्वाभाविक हो। वयस्कहरूसँगको निरन्तर संगतले बालबालिका पनि उमेरभन्दा चाँडै वयस्क भएको व्यवहार गर्न थाल्छन्। योसँगै आफू वरिपरिका वयस्कहरूबाट मानसिक र शारीरिक रूपमा शोषित हुने सम्भावना बढ्न जान्छ। झन् राम्रा, क्यूट बालबालिका त सबैको नजरमा पर्न थालेपछि उनीहरूप्रति आकर्षित हुनेहरू थाहा नहुने गरी बढ्न थाल्छन्। यो भनेको बच्चाले भोग्ने सम्भावित मनोवैज्ञानिकका साथसाथै उसले झेल्ने शारीरिक र मानसिक शोषणको खतराको सम्भावना बढ्नु पनि हो।’

खतराको कुरासँगै हामीबीच अचेल साना बच्चाहरूले चलाउने टिकटकदेखि सामाजिक सञ्जालबाट उत्पन्न खतराको कुरा उठ्यो।

‘नेपालमा मात्र होइन, संसारभरि नै ‘पिडोफाइल’ (बाल यौन दुराचारी) हरूको उपस्थिति छ। उनीहरू व्यक्तिगत र सामूहिक रूपमा सञ्चालित हुन्छन्। उनीहरू साना बालबालिकामा यौन आकर्षण देख्ने ग्रसित मानसिकताका हुन्छन्। सबै दुराचारीको उद्देश्य यौन सम्पर्क नै नहुन सक्छ। यस्ता मानिस कोही टाढाबाट हेरेरै आनन्द लिने खालका हुन्छन्। कोही छोएर र कोही छुन लगाएर आनन्द लिने हुन्छन्। उनीहरूको नजरमा पर्नेहरू वा सम्पर्कमा आउने बालबालिका थाहै नपाई उनीहरूको यौन त्रृप्तिको सिकार भइरहेका हुन्छन्,’ उनले बाल यौन दुराचारको डरलाग्दो पक्ष उप्काए।

‘उनीहरू यति चलाख हुन्छन्, न अभिभावकलाई शंका गर्ने बाटो दिन्छन्, न बालबालिकाले के भइरहेको छ भन्ने पत्तो पाउँछन्। यसबाट बच्ने भनेकै बालबालिकालाई बुझ्ने उमेर नभएसम्म अभिभावकको निगरानीबाहिरका वयस्कहरूसँग नजिक हुन नदिनु नै हो। कहिलेकाहीँ पीडित बालबालिकाले आमाबाबुलाई संकेत दिन खोज्छन्, यस्तो संकेत पाउनेबित्तिकै फकाएर थप सोध्नुपर्छ। निरुत्साहित त भुलेर पनि गर्नु हुँदैन। सबैले बुझ्नुपर्ने कुरा भनेको, अधिकांश बाल यौन दुराचारीहरू हाम्रै घर समाजमा, हाम्रै नजिकका मानिसमध्ये नै हुन्छन्।’

डा. अरूण कुँवर

उनले यसो भनिरहँदा मैले केही समयअघि ‘न्यूयोर्क टाइम्स’ मा पढेको एउटा समाचार सम्झेँ, जसमा क्रिस्टियाना नाम गरेकी एक ब्राजिलियन आमाको कुरा छापिएको थियो। उनले भनेकी थिइन्, ‘मेरी दस वर्षकी छोरीले बिकिनी लगाएर नुहाएको छोटो भिडिओ युट्युबमा राखिछन्। सुरूमा मलाई खासै याद भएन। केही दिनमा त्यो भिडिओ हेर्दा त झन्डै चार लाखले हेरिसकेका रहेछन्। मेरो त होसै उड्यो।’

पछि यो भिडिओ पिडोफाइलहरूको वृत्तमा पुगेको सूचना पाएपछि युट्युबले हटाएको थियो। त्यो समाचारको शीर्षक थियो- युट्युबका डिजिटल खेल मैदानको गेट बाल यौन दुराचारीहरूलाई खुला।

त्यस्तै, बेलायतको ‘सन्डे टाइम्स’ को एउटा समाचारमा बाल यौन दुराचारीहरूले युट्युब र सामाजिक सञ्जालमा भिडिओ तथा फोटो राख्ने बालबालिकासँग सम्पर्क बढाएर लुगालाई तलबाट माथि र माथिबाट तल सार्न प्रेरित गर्ने गरेको घटना उल्लेख छ। अनि यी अबोध बालबालिकाहरू सबस्क्राइबर, भ्यूज, हिट्स र लाइक्सको लोभमा निसंकोच लुगा तलमाथि सार्न थाल्छन्। सन्डे टाइम्सको त्यो समाचारमा उनीहरूले सयवटा त्यस्ता केस भेटेको खुलासा गरेका छन्।

यी समाचार पढ्दा मेरो मन, आङ सबै सिरिंग भएका थिए। संसारभर कति अबोध बालबालिका यस्तो जालमा फसिरहेका होलान्!

मेरा छोरीहरू त हुर्किसके। तपाईंको घरमा साना बालबालिका छन् भने तत्कालै होस पुर्‍याएको बेस होला। कतै हिट्स र लाइकको धुनमा उनीहरू टिकटक वा सामाजिक सञ्जालमा अनावश्यक भिडिओ बनाएर अपलोड त गर्दै छैनन्?

एकपल्ट लाइकको लोभ र क्षणिक भर्चुअल स्टारडममा परेपछि लत नै लाग्छ। भ्यूज र लाइक बढाउन सीमा पार गर्दै जानु स्वाभाविक हुन थाल्छ।

एक जना कुनै पहाडी गाउँकी ‘नेप्टी’ नामकी बालिका टिकटकमा छाएको थाहा पाएर मैले युट्युबमा उनका केही भिडिओ हेरेँ। एउटा भिडिओमा उनी खिच्नेलाई भन्दै थिइन्, ‘मलाई के हेरेको? मलाई हेर्न त पैसा चाहिन्छ। म त भाइरल भाको पो त।’

उनका भिडिओ हेर्दा उनको पछाडि कुनै ठूलो मान्छे भएको भान हुन्छ। उनी १० वर्ष हाराहारीकी होलिन्। कसैले उनलाई आफ्नो भ्यूज बढाउन उपयोग गरेको हो भने, यो पनि एक किसिमको शोषण हो।

 टिकटकमा नेप्टी भनेर चिनिने बालिका

कुनै आमाबाबुले नै आफ्ना साना र क्यूट बालबालिकालाई ‘फेम’ को आनन्दका लागि सामाजिक सञ्जालमा राख्छन् भने त्यो शोषण हो कि होइन?

यो विषयमा लामो समय युनिसेफमा सञ्चार विशेषज्ञका रूपमा कार्यरत रही हालसालै अवकाश पाएका तीन छोराछोरीकी आमा र चार नातिनातिनाकी हजुरआमा रुपा जोशीसँग कुरा हुँदा उनले भनेको सम्झिन्छु, ‘बालबालिकाले वयस्कको नक्कल गर्न खोज्नु स्वाभाविक हो, तर उनको यो रहरलाई प्रोत्साहन दिएर वा उक्साएर ‘सेक्सी’ हाउभाउमा लुगा लगाइदिएर, नाच्न लगाएर, सामाजिक सञ्जालमा राख्दा यसले कमाउने लाइक र सेयर सँगसँगै कयौं गुना बढी जोखिम पनि निम्त्याउन सक्छ भनेर धेरैले बुझेकै छैनन्।’

कुराकानीकै क्रममा जोखिमबारे थप बुझाउँदै उनले भनिन्, ‘साना बालबालिकाको यस्तै सामग्री अनलाइनमा खोजी खोजी हेर्ने र उनीहरूलाई आफ्नो जालमा फसाएर यौन तृप्ति हासिल गर्ने बालयौन पिपासुका गिद्धे दृष्टिबाट त धेरै अनभिज्ञ नै छन् जस्तो लाग्छ।’

‘अनि बालबालिकाको हितलाई सम्बोधन र संरक्षण गर्ने संयुक्त राष्ट्रसंघले जारी गरेको बाल अधिकारसम्बन्धी महासन्धिले यो विषयलाई कसरी सम्बोधन गरेको छ त?’ मैले सोधेको थिएँ।

उनका अनुसार, नेपालले पनि सही गरेको यो महासन्धिको धारा १६ ले बालबालिकाको गोपनीयता संरक्षणको अधिकारबारे चर्चा गरेको छ। त्यस्तै, बालबालिकाको विकासमा हानि हुने काममा लगाउन हुन्न भनेर धारा ३२ ले उल्लेख गरेको छ। धारा ३४ ले उनीहरूलाई यौन शोषणबाट बचाउनुपर्ने दायित्वबोध गराइएको छ। अरू धाराहरूको व्याख्या पनि यही विषयसँग जोडिएका छन्।

‘यी सबै धाराको मुख्य निचोड के भने, बालबालिका साना छन्, आफ्नो राय राख्न सक्दैनन् भनेर उनीहरू सुखी भएर, रमाएर हुर्कने, बढ्ने अधिकार कसैले खोस्नु हुँदैन। बालबालिकामा आफैं सुझबुझ नभएसम्म अभिभावकले नै उनीहरूको अधिकार हनन् हुन नदिन र उनीहरूको सर्वाधिक हित केमा हुन्छ भनेर सजग भइरहनुपर्छ। हरेक अभिभावक आफ्नो छोराछोरीको रक्षकका रूपमा खडा हुनुपर्छ। सम्भावित खतरातिर उनीहरूलाई डोर्‍याउने काम त गर्नै हुँदैन,’ उनले भनिन्।

अभिभावकको दायित्वबोध सम्झाउँदै उनले भनिन्, ‘ल भैगो, आज बालबालिकाले खुसीसाथ यी सबै गरे रे, उनीहरू ठूलो भएपछि मेरा त्यस्ता फोटो, भिडिओ किन राखेको? त्यसले मेरो प्राइभेसी छताछुल्ल पार्‍यो भनेर विरोध जनाए भने हामीसँग के जवाफ हुन्छ? के हामीले बितेको त्यो गल्ती सच्याउन सक्छौं? हाम्रो पालामा भएको भए त फोटो च्यातेर वा नेगेटिभ जलाएर अतीतका सम्झना मेटाउन सकिन्थ्यो, तर अहिलेको डिजिटल संसारमा एकपल्ट सामाजिक सञ्जालमा राखेको फोटो र भिडिओ हामीले डिलिट गरे पनि ई-संसारबाट कहिल्यै मेटिन्न। पछि यिनै बच्चा बेलाका तस्बिर उनीहरूलाई पछिसम्म लज्जित तुल्याउने र उनीहरूको करिअरमै बाधक बन्न सक्छन्।’

यसै सन्दर्भमा हालसालै हेरेको डकुमेन्ट्री ‘सोसिअल डेलिमा’ सम्झन्छु। हाल संसारमा रहेका चल्तीका सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीहरूमा कुनै बेला अहम् भूमिकामा कार्यरत विज्ञहरूको अन्तर्वार्तामा आधारित उक्त डकुमेन्ट्रीमा गुगलमा कुनै समय कार्यरत ट्रिस्टन ह्यारिसले चलनचल्तीको एउटा भनाइ उद्धृत गर्दै भनेको एउटा वाक्यले मलाई लामो समय सोचमग्न बनायो।

उनले भनेका थिए- इफ यू आर नट पेइङ फर द प्रोडक्ट, यू आर द प्रोडक्ट।

अर्थात्, तपाईंले कुनै सामान वा सेवा नकिनी सित्तैमा उपभोग गर्दै हुनुहुन्छ भने सम्झनुस्, यो प्रक्रियामा बिक्री हुने वस्तु तपाईं हो।

त्यसैले, हामीले सित्तैमा उपभोग गर्ने सामाजिक सञ्जालमा बिक्री हुने भनेको हामी नै हौं। चल्तीको भनाइ नै छ नि- नथिङ कम्स फर फ्री। देअर इज अ प्राइस फर एभ्रिथिङ।

अर्थात्, कुनै पनि चिज सित्तैमा पाइँदैन, हरेक चिजको कुनै न कुनै मोल हुन्छ।

अब सोच्नुस्, तपाईं वा तपाईंका बालबालिकाले सित्तैमा उपभोग गर्ने सामाजिक सञ्जालमा तपाईं कतिमा बिक्री हुनुहुँदै होला? तपाईंको बालबालिका कतिमा? हाम्रो मोल कति हो?

कोरोनाका कारण सिर्जित लकडाउन र यसबाट सुरू अनलाइन कक्षाहरूले धेरै बालबालिकालाई इन्टरनेटका अगाडि उपस्थित हुनैपर्ने बाध्यात्मक परिस्थिति आइपुगेको छ।

यही सम्बन्धमा मेरो छिमेकमा बस्ने एक स्कुल सञ्चालक ओजेश बज्राचार्यको पिर सम्झन्छु, ‘हातमा स्मार्टफोन र त्यसमा इन्टरनेटको लाइन हुनेबित्तिकै बालबालिकाका लागि संसारमा भएका सबै राम्रा-नराम्रा साइट र व्यक्तिहरूको पहुँच एक क्लिकको दुरीमा आएर बसेको हुन्छ। रमाइलोका लागि यो मौकाको दुरुपयोग कसरी गर्ने भनेर आजकालका बालबालिकालाई सिकाइ राख्नुपर्दैन। यसमा अभिभावक र शिक्षकहरू सचेत हुनु जरुरी छ।’

यति भन्दै उनले हाम्रो असहायता यसरी व्यक्त गरे, ‘प्राविधिक रूपमा जानकार अभिभावकले केही निगरानीसम्म राख्न सक्लान्, तर समग्रमा यो असम्भवजस्तै छ।’

‘के केही उपाय नै छैन त?’ मैले सोधेको थिएँ।

उपाय सुझाउँदै उनले भने, ‘शिक्षाका लागि भनेर सीमित साइटमा मात्र छिर्न मिल्ने गरी अलग इन्टरनेट लाइन व्यवस्था गर्न सकिन्छ। हाम्रा इन्टरनेट प्रवाह गर्ने कम्पनीका लागि प्राविधिक रूपमा यो गाह्रो कुरो होइन। हरेक विद्यार्थीलाई विद्यालयमार्फत् इन्टरनेट लाइन व्यवस्था गर्‍यो र यसमा स्कुलको आवश्यकताअनुसार सीमित साइट र एप्समा मात्र छिर्न पाउने गर्‍यो भने बालबालिकाले दुरुपयोग गर्न पाउँदैनन् र अभिभावकलाई पनि ढुक्क हुन्छ। यसका लागि ब्यान्डविथ पनि कम लाग्ने भएकाले ‘शिक्षाका लागि प्रयोग हुने इन्टरनेट’ भनेर अलग व्यवस्था मिलाए सहुलियत दरमै उपलब्ध गराउन सकिन्छ।’

स्कुल सञ्चालक ओजेशको शैक्षिक पृष्ठभूमि कम्प्युटर इन्जिनियरिङ पनि भएकाले उनको यो प्राविधिक सुझावमा म समाधानमुखी सम्भाव्यता देख्छु।

हुन त बालबालिकाको सुरक्षा र संरक्षणको अभिभारा आमाबाबुकै हो। कसैले जानीजानी आफ्ना बालबच्चालाई हानि पुर्‍याउँदैनन्। तर, हाम्रो सानो असावधानीले कतै हाम्रा बालबच्चाको भिडिओ र फोटोको नियति ब्राजिलका ती बच्चीको जस्तो भएर बाल यौन दुराचारीको गिद्धे दृष्टिमा त परेका छैनन्?

यस्ता कुरामा केही भइहाल्नुभन्दा अगाडि नै होस पुर्‍याएको बेस होइन र?

लेखको अन्त्यमा म फेरि हाम्री प्यारी क्यूट बेबी गुड्डुलाई सम्झिँदै छु। उनी अहिले सार्वजनिक फेमभन्दा पर दुबईको इमिरेट्स एयरलाइन्समा एयर होस्टेस छिन्। कुनै दिन मौका परेर भेट भयो भने म उनीसँग एउटा सेल्फी खिच्नेछु र भन्नेछु, ‘म पनि दुई छोरीका पिता हुँ, समयमै पढाइमा लाग्न प्रेरित गरेर आफ्नो इच्छाअनुसार जीवन गुजार्ने स्वतन्त्रता र मार्गदर्शन दिएकोमा मेरो तर्फबाट तपाईंका पितालाई धन्यवाद सुनाइदिनु होला।’

मलाई यो लेख लेख्न झक्झक्याउने समाइरा र शैलिनका आमाबुबा पनि बेबी गुड्डुकै जस्तो बुझ्झकी छन् भन्नेमा म ढुक्क छु। कुन चाहिँ आमाबाबुले आफ्नो सन्तानको अहित चाहन्छन् र?

समाइरा र शैलिनजस्ता क्यूट र प्रतिभावान छोरी पाएकामा उनीहरूका आमाबाबुलाई मेरो बधाई।


Your Views
Related News