१८ असोज (रासस÷एएफपी) ः विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या आइतबारसम्म १० लाख ३८ हजार पुगेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयकाअनुसार कोभिड–१९ बाट सङक्रमित हुनेको संख्या विश्वभर तीन करोड ५१ लाख ४० हजार भन्दा बढी पुगेको छ । कूल सङ्क्रमितमध्ये दुई करोड ६१ लाख ३० हजार निको भएका छन् भने करिब ७९ लाख ६ हजार भन्दा बढी मानिस सक्रिय सङ्क्रमित छन् ।

विश्वभर अझै पनि ६६ हजार भन्दा बढी मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ । पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको संयुक्तराज्य अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ भने यहाँ सङ्क्रमितको संख्या पनि ७६ लाख नाघिसकेको छ ।

कोरोना सङक्रमणबाट अमेरिकामा हालसम्म दुई लाख १४ हजार को मृत्यु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प दुवैलाई कोरोना भाइरस संक्रमण भएको छ ।

कोरोना सङ्क्रमणको कारण दोस्रो स्थानमा रहेको अर्थात विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको देश भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या एक लाख नाघेको छ ।

आजसम्म प्राप्त समाचारअनुसार भारतमा ६५ लाख ४९ हजार भन्दा बढीलाई कोरोना भाइरस सङ्क्रमण भएको र यस सङ्क्रमणबाट एक लाख १ हजार ९६० जनाको मृत्यु भईसकेको छ ।

कोरोना सङ्क्रमणलाई हेर्दा तेस्रो स्थानमा रहेको देश ब्राजिलमा ४९ लाख भन्दा बढी व्यक्ति सङ्क्रमित भएकामा एक लाख ४६ हजारको मृत्यु भएको छ ।

खोप विकास गरिसकेको घोषणा गरेको रसियामा १२ लाख ४ हजार भन्दा बढी सङ्क्रमित रहेका छन् भने २१ हजार २५१ जनाको मृत्यु भएको छ भने दैनिक सङ्क्रमितको संख्या पनि बढ्दो छ ।

दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनामा कोरोना भाइरसको प्रकोप बढ्दो रुपमा रहेको केही दिन अगाडी एकै दिनमा २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट ३ हजार ३५२ जनाको मृत्यु भएको थियो

युरोपेली मुलुकहरु खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर शुरु भएको आँकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरुको घोषणा गर्न थालिएको छ ।

READ MORE NEWS

बेलायतमा फेरि पनि कोभिड १९ का कोरोना सङ्क्रमितहरुको संख्या झन् बढ्न थाले

१८ असोज (रासस÷एएनआई) ः बेलायतमा फेरि पनि कोभिड १९ का सङ्क्रमितहरुको संख्या झन् बढ्न थालेको छ । लन्डनबाट प्राप्त पछिल्लो समाचारअनुसार बेलायतमा गएको २४ घन्टा यतामात्र करिब १२ हजार ८७२ जना कारोना भाइरसका नयाँ संक्रमित फेला परेका छन् ।

यो संख्या बेलायतमा भेटिएका कोरोनाका संक्रमितहरुको पछिल्ला केही दिनयताको भन्दा करिब दोब्बर भएको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् ।

गएको शुक्रबार मात्र यहाँ ७ हजार १४३ जना संक्रमित भेटिएकोमा यहाँ गएको २४ घन्टाभित्र मात्र अघिल्लो दिनको भन्दा झण्डै दोब्बर संख्यामा संक्रमित भेटिएका हुन् ।

तर पनि यहाँका स्वास्थ्य अधिकारीहरुले प्राविधिक कारणले यो संख्या बढी देखिएको र यसअघिका दिनहरुमा यो संख्या समावेश नगरिएकोले शनिबार अहिलेसम्मकै सबैभन्दा बढी देखिएको बताइएको छ ।

यहाँ हरेक दिन ठूलो संख्यामा नयाँ सङ्क्रमितहरु थपिएका बताइएको छ । यहाँ अहिलेसम्मका सङ्क्रमितको संख्या ४ लाख ८० हजार १७ जना पुगेको छ ।

केही समययतादेखि देखिएका यहाँका संक्रमितहरुमा शनिबार अकस्मात ठूलो संख्यामा देखिएकोले यसले अब यहाँ पनि सङ्क्रमितको संख्या बढ्दै जाने हो कि भन्ने डर बढाएको छ ।

लन्डनमा कोभिड १९ को अवस्था सामान्यजस्तो देखिएकोले यहाँको जनजीवनलाई पनि सामान्य बनाइएको थियो । तर पनि गएका केही हप्तादेखि यहाँ ठूलो संख्यामा संक्रमितहरु देखिएका छन् । बेलायतमा यो सङ्क्रमणको दोस्रो वेभ आएको बताइएको छ । त्यसैले यहाँका कतिपय सार्वजनिक सेवाहरुमा पनि कडाई गरिएको बताइएको छ ।

 


Your Views
Related News