नयाँ फेसनका लुगा लगाउने रहर कसलाई हुँदैन। झन् हाम्रा लागि नयाँ लुगाकै चाड मानिने दसैं आइसक्यो।

तर यसपालि कोरोना महामारीले धेरैको यो रहर पुर्‍याउन नसक्ला। व्यापारीहरूले पनि भन्दै आएका छन्- यसपालि धेरै लुगा ल्याउन पाइएको छैन, पुरानै स्टक बेच्ने हो।

यो अवस्थामा युवतीहरूका लागि भने यो वर्ष ‘धोती सुरूवाल’ ले नयाँ फेसनको लुगाको रहर थोरै मेटाइदिन सक्छ।

बजारमा यतिबेला धोती सुरूवाल चल्तीमा छ। यो नाम भारतबाट आएको हो। भारतीय सिरियलमा भगवानदेखि टेलिसिरियल ‘नागिन’ का कलाकारसम्मले लगाएका यी सुरूवाल भारतमै डिजाइन भएको मानिन्छ। धोती डिजाइनको भएकाले यसलाई भारतमा धोती सुरूवाल भनिन्छ। अंग्रेजीमा ‘डिभाइडर वा टुलिप प्यान्ट’ भनेर पनि चिन्ने रहेछन्। टुलिप फूलजस्तो देखिने भएर हो कि!

नेपाली बजारमा भने यसले धोती सुरूवाल नाम नै पाएको व्यापारीहरू बताउँछन्।

उसो त यो सुरूवाल बिल्कुलै नयाँ फेसनको होइन। दुई-चार वर्षमा लुगाहरू थोरै डिजाइन फेरिएर आउने सिलसिला चलिनै रहन्छ। यो वर्ष सानादेखि ठूला फेन्सी पसलमा डमीले लगाएका धोती सुरूवाल यस्तै फेसन हो।

भारतमा व्यापक चलेको यो सुरूवाल नेपाल भित्रिएको झन्डै ७ महिना भएको अड्कल व्यापारीहरू लगाउँछन्। कोरोना र लकडाउनले यसले त्यो बेला पसलमा देखिने मौका गुमायो।

झोछेंस्थित फेसनएबल नेपाल नामको कपडा पसल सञ्चालक विनिता भिमसरियाको भनाइ पनि यस्तै छ।

‘धोती सुरूवाल पोहोर माग-फागुनतिरै बजार भित्रिएको हो। चैतमा लकडाउन भयो। बजारमा देखिन पाएन, विनिताले भनिन्, ‘अनि त्यही बेला देखि यो सुरूवाल अनलाइनबाट बिक्री हुन थाल्यो।’

यो सुरूवाल पनि हेर्दा मात्र होइन, लगाउँदा पनि सजिलो रहेछ। विनिताले यो सुरूवाल बिक्री गर्दाको अनुभवले पनि यही देखाउँछ।

उनका अनुसार लकडाउनका बाबजुद यो सुरूवाल बजारमा चल्न समयै लागेन।

‘अनलाइनबाट यसको अर्डर गर्ने सयौं थिए। अहिले पनि छन्,’ दसैं नजिकिँदै गर्दा यसको माग झनै बढेको उनी बताउँछिन्।

विनिताले झोछें, धर्मपथ मार्गमा ‘फेसनएबल नेपाल’ सञ्चालन गरेको ३ वर्ष भयो। कपडा व्यापार-व्यवसायमा लागेको भने दस वर्ष बढी भयो। पसलअघि भने उनी घरबाटै कपडा व्यवसाय गर्थिन्।

अहिले विनिता हप्तामा ५ सय वटाभन्दा बढी धोती सुरूवाल बेच्दै आएको बताउँछिन्।

‘हाम्रो सबभन्दा ठूलो विक्रेता भने दराज अनलाइन हो,’ उनले भनिन्। योसँगै फेसबुक, इन्स्टाग्राम र अन्य अनलाइनमार्फत यो सुरूवाल बिक्री भइरहेको उनले जानकारी दिइन्।

लकडाउन खुलेर बजारमा चहलपहल बढेसँगै पसलै आएर कपडा किन्नेको संख्या बढेको छ। पसलबाटै उनी दैनिक कम्तीमा ७-८ वटा धोती सुरूवाल बेच्छिन्।

धोती सुरूवाल विशेषगरी किशोरीहरूले रूचाएको विनिताको अनुभव छ, ‘प्रायः यो सुरूवाल खोज्दै १५ देखि २५ वर्षका बहिनीहरू आउनुहुन्छ।’

बजारमा बर्सेनि फेसन र ट्रेन्ड फेरिन्छ। अझ सेलेब्रेटीले कुनै डिजाइनको लुगा लगाएको देखेपछि, फेसनका पारखीहरू ठ्याक्कै त्यस्तै लुगा खोज्दै बजार पुग्छन्।

यो धोती सुरूवाल चाहिँ कसरी ट्रेन्डमा आयो भन्ने बुझ्न हामीले फेसन डिजाइनर तरुनिका महतोसँग सोध्यौं।

तरुनिकाका अनुसार यो सुरूवाल बजारमा पहिल्यैदेखि थियो। तर यसपालि अलिकति झुम्का र ब्रोकेटजस्ता चहकिला कपडाको ‘लाइनिङ’ मिसिएर नयाँ रूपमा आएपछि आकर्षण बढ्यो।

झट्ट हेर्दै आँखा जाने, ‘क्लासिक लुक्स’ दिने र सजिलो भएपछि यसले बजार लिएको उनी बताउँछिन्, ‘यो पटक किशोरीहरूको रोजाइमा धोती सुरूवाल परेको छ।’

किशोरकिशोरीको रोजाइमा परेपछि फेसन ट्रेन्ड बन्न के बेर लाग्छ र!

उनले आफ्नै अनुभव सुनाइन्, ‘धोती सुरूवाल दैनिकी लगाउँदा पनि सजिलो छ। क्याजुअल वेयरलाई पनि ठिक्क हुन्छ।’

यो सामान्यतया सादा र बुट्टा भरेको डिजाइनमा पाइन्छ। झोछेंकी विनिताका अनुसार राम्रो कपडा छ भने यो बुट्टा धुँदा रङ खुइलिँदैन।

‘तर बुट्टावाला कपडाको सुरूवाल धुँदा हातले मिच्नु हुँदैन। सरफ-पानीले भिजाएर मात्रै धुनुपर्छ,’ उनले भनिन्।

सादाभन्दा बुट्टा भरेको अलि महँगो पनि हुने पनि उनले जानकारी दिइन्।

यसको कपडा, डिजाइन र पसलअनुसार मूल्य ६ सय रूपैयाँदेखि १ हजार २ सय रूपैयाँसम्म पर्ने देखिएको छ। भाउ मोलतोल गर्न नभुल्नु नि!

क्रप-टप, कुर्ती र ऊनीका कुर्तासँग लगाउँदा पनि सुहाउँछ यो सुरूवाल। धेरै खाले लुगामा मिलेपछि यसको माग बढ्नु स्वाभाविक भएको व्यापारीहरू बताउँछन्।

अझ बाहिर कतै पार्टी तथा भोजतिर लगाए पनि यो सुरुवाल ‘क्लासिक’ देखिने उनीहरू बताउँछन्। कसैलाई यो सुरूवाल आफ्नै रोजाइको डिजाइनमा बनाउनुपर्‍यो भने बुटिकहरूले बनाइ पनि दिन्छन्।

फेसन डिजाइनर तरुनिकाका अनुसार बुट्टेदार यस्ता सुरूवाल १ हजारदेखि १५ हजार रूपैयाँसम्म तिरेर आफ्नै रूचिअनुसार बनाउन सकिन्छ।

कस्तो किन्ने हो, कत्तिको बुट्टा हाल्ने हो, आफ्नो खर्च गर्ने क्षमता हेरेर मात्र निधो गर्नुस् है!

READ MORE NEWS

कलंकीमा म्याद गुज्रेका सामान बेच्ने अर्को गोदाममा पनि प्रहरीको छापा

प्रहरीले म्याद गुज्रेको सामान बेच्ने कलंकीको अर्को गोदाममा छापा मारेको छ।

महानगरीय प्रहरी वृत्त, कालिमाटीले कलंकीको एक घरमा आइतबार छापा मारेको हो।

दुई तल्लाको उक्त घरमा ठूलो मात्रामा चकलेट, केकमा राख्ने चेरी, पिठोलगायतमा रिलेबलिङ गरी बेच्न गरेको वृत्तका प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

‘मिति सकिएका ठूलो मात्रामा चकलेट, बेकरी आइटम, पाउरोटी, पिठो, चेरीलगायतमा नयाँ मिति राखेर बेच्ने गर्थे,’ डिएसपी बोहराले भने।

उनका अनुसार यसरी सामान बेच्ने कम्पनीको नाम एएसटी प्रालि  हो। अहिलेसम्म कोहीलाई नियन्त्रणमा नलिएको डिएसपी बोहराले बताए।

‘अहिलेसम्म कोही पक्राउ परिसकेका छैनन्। तर तीन जना जति समात्न सक्छौं,’उनले भने।

यसअघि बिहीबार पनि म्याद सकिएका सामानमा नयाँ डेट राख्ने गरेको अर्को गोदाममा प्रहरीले छापा हानेको थियो।


Your Views
Related News