धेरै दिनपछि गत आइतबार पर्यटन दिवसका दिन म पोखरा गएको थिएँ। संयोगवश त्यस दिन अन्तर्राष्ट्रिय पर्यटन दिवस पनि थियो।

पोखरा मेरो कर्मभूमि, मलाई आफ्नै काखमा हुर्काएर संसार चिनाउने सहर मात्र नभई मलाई आजको पहिचान दिने सहर पनि हो। पोखरा विमानस्थलमा ओर्लनेबित्तिकै म छुट्टै आत्मियता महशुस गर्छु।

तर, कोरोना महामारीसँगै भएको लकडाउन तथा निषेधाज्ञाका कारण जान नपाउँदा मैले पोखरालाई धेरै नै मिस पनि गरिरहेको थिएँ। यसैले यसपटक सकेसम्म सुरक्षा सावधानी अपनाएरै भए पनि गएँ।

पोखराको चर्चाअघि एकछिन काठमाडौंतर्फै फर्कौं। कोरोना संक्रमण दर सबैभन्दा उच्च भए पनि काठमाडौंमा मानिसहरू निष्फिक्री हिँडिरहेका छन्। असोज १ गतेपछि काठमाडौंमा चहलपहल धेरै नै देखिन्छ। खासगरी रेस्टुरेन्ट, डिमार्टमेन्टल स्टोरमा निकै भीडभाड छ। उडान नभएर पर्यटक नआएजस्तो अथवा पर्यटनमा त्यति ठूलो धक्का पुगेजस्तो काठमाडौं देखिँदैन।

कोरोनाले सताएको काठमाडौं यही हो भन्ने अनुमान गर्न गाह्रो जस्तो देखिन्छ। ठमेलका केही क्षेत्र र केही ठूला होटलमा बाहेक अन्यतिर पर्यटक नहुँदा पनि ठूलो असर छैन। म आफैं कतिपय रेस्टुरेन्टमा त बस्ने ठाउँ नपाएर फर्किनु परेको अवस्था पनि छ। सडकमा पनि उत्तिकै जाम हुन थालेको छ।

पोखरा आउँदा भने अवस्था एकदमै फरक देखेँ। मलाई पोखराले यति निराश बनायो कि मैले भोलिपल्टै फर्कने विचार गरेँ र यो लेख लेख्ने जमर्को गरेँ।

पोखरा पुगेकै रात साथीसँग डिनर जानु थियो। फिस्टेल होटल गएँ, बन्द रहेछ। म अचम्म परेँ। त्यसपछि सांग्रिलामा फोन गरेँ, सांग्रिला पनि बन्द। होटल बाराही पनि बन्द रहेछ। सोध्दै जाँदा पोखराका बहुसंख्यक होटल बन्द पाएँ। टेम्पल ट्रीमा फोन गरेँ, होटल भर्खर खालेको भने, तर पनि एउटै रुममा पाहुना रहेनछन्।

साँच्चै भन्नुपर्दा यस्तो बिजोग पोखराको त मैले अनुमान नै गरेको थिइनँ।

एक ‘बिजनेस-म्यान’का रूपमा भन्नुपर्दा मलाई अधिकांश समय काठमाडौं बस्नुपर्ने बाध्यता छ। तर म मन भित्रैदेखि पोखरा बस्न रुचाउँछु। काठमाडौंको व्यावसायिक आकार र अवसरका कारण हामीलाई काठमाडौं बस्नुपर्ने बाध्यता छ।

तर समाज, साथीभाइ, संस्कृति, हावापानी लगायत थुप्रै कारणले म पोखरा नै बस्न रुचाउँछु। पहिले जहाज चल्दा त म महिनामा चारपटक पोखरा आउँथे, कम्तिमा पनि ३ दिन बस्थेँ।

लेखक आनन्दराज बतास

काठमाडौंको अवसरका कुरा गर्नुपर्दा हाम्रो होटल ‘आनन्द पशुपति’ त्यत्रो कोरोना महामारीमा पनि कहिल्यै बन्द गरेनौं। अहिले खाता हेर्दा ६१–६२ लाखको कारोबार गरेछौं। विदेशबाट आउनेलाई पनि राख्यौं, विदेश जानेलाई पनि राख्यौं। इन्डियन, बंगलादेशी, अमेरिकी, जापानी दूतावाससँग सहकार्य गरेर उता जाने टिमलाई व्यवस्थापन गरेर विदेश पठायौं। हामीले मात्र होइन, केही व्यवसाय भएन भन्दाभन्दै पनि काठमाडौंका होटलहरुले धेरथोर व्यवसाय गरेकै छन्।

पोखराको अवस्था देखेर भने म साँच्चै आश्चर्यचकितसँगै चिन्तित पनि भएको छु। मलाई लाग्यो, यसरी बाह्य कारणले पर्यटक आएनन् भनेर होटलमा ताला लगाएर बस्ने हो भने पोखराको पर्यटनले कहिल्यै उन्नति गर्न सक्दैन।

त्यसै पनि उद्यमीले सधैं संकटमा अवसर खोज्छ भनिन्छ। अर्थात, अहिलेको जस्तो अकल्पनीय संकटमा पनि सुरक्षाका मापदण्ड विश्वसनीय ढंगले लागू गरेर ग्राहकलाई आश्वस्त पार्न सकियो भने बजारमा प्रशस्तै अवसर छन्।

हामी पोखरेलीहरू अब पर्यटनको परम्परागत शैलीबाट माथि उठ्नैपर्छ। हामीले ताल र हिमाल देखाएर, बिल्डिङ ठड्याएर मात्र पोखरा पर्यटनको भविष्य छैन। अब हामी सबै पोखरेली व्यवसायीहरूले सोच्नुपर्ने बेला भएको छ कि विदेशबाट पर्यटक आएनन् भने पनि आन्तरिक रुपमै र अझ गण्डकी प्रदेशभित्रकै पर्यटकका लागि पनि योजना बनाउनुपर्छ।

पोखराको हिमाल र तालबाहेक अरु केबाट पर्यटक ल्याउन सकिन्छ भन्नेमा विमर्श गरौं। यस्तो योजना नबनाउने हो भने पोखराको पर्यटन संकटमा छ।

यतिबेला म सुनिरहेको छु कि पोखराका धेरै होटलले ऋण तिर्न नसकेकाले राम्रो प्रोपर्टी समेत बिक्रीमा राखेका छन्। यो एकदमै ठूलो दुर्भाग्य हो। यस्तो दुर्भाग्य मैले काठमाडौंमा एकदमै कममात्र देखेको छु।

पोखराजस्तो पर्यटनको अपार र अद्वितीय सम्भावना बोकेको क्षेत्रमा यसरी पर्यटन उद्यमी नै पलायन हुने अवस्था आउनुले हामीलाई सोच्न बाध्य बनाएको छ।

मेरो निचोड के भने, पोखरामा ‘बक्स टाइप’ होटल र कोठामात्र बनाएर पर्यटन विकास हुन्छ भन्ने हामी पोखरेलीको जुन सोचाइ र मान्यता छ, अब त्यसमा परिवर्तन आउनैपर्छ। हाम्रो सोचाइमा परिवर्तन आएन भने ठूलो लगानी जोखिममा पर्छ र पोखरा पर्यटन दिगो बनाउन सकिँदैन। हामी धेरै पछि पर्नेवाला पनि छौं।

पोखराको पर्यटन भनेको के हो ? हामीले यहाँ के बनाउनु पर्छ? के बनाउन सक्यौं भने आन्तरिक पर्यटकलाई पनि बाह्रैमास ल्याउन सकिन्छ भनेर बहस छलफल र योजना बनाउनु जरुरी छ।

काठमाडौंपछि पोखरा नै दोस्रो गन्तव्य हो भन्नेमा विवाद छैन। आन्तरिक पर्यटकका लागि त पोखरा पहिलो रोजाइ हो। नेपालीमात्र नभई भारतीयका लागि पनि पोखराजत्तिको रोजाइको ठाउँ अन्त छैन।

 

READ MORE NEWS

अनसनरत केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै

काठमाडौँ– चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।

डा‍. केसीका सहयोगी डाक्टर तोसिमा कार्कीले आइतबारदेखि डा. केसीलाई श्वासप्रश्वासमा समस्या देखिएको छाती दुख्ने समस्या देखिन थालेको बताइन् ।

उनले डा. केसीलाई कृतिम अक्सिजन दिन सुरु गरिएको पनि बताइन् ।

डा. केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको र आइसीयु सपोटमा राख्नुपर्ने अवस्था रहेको डा.कार्कीले बताइन् ।

‘डा.केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ, उहाँलाई स्वास फेर्न गाह्रो भएको छ,’ डा.कार्कीले भनिन्, ‘ डा.केसीले केही समयदेखि नियमित खाइरहनु भएको मुटुको समस्याको औषधि पनि खानु भएको छैन । उहाँको अवस्था आइसीयुमा राख्नुपर्ने बिरामीको जस्ता भएको छ ।’ स्वास्थ्य अवस्था विग्रदै गएपनि औषधि उपचार गर्न नमानेको उनले बताइन् ।

केसीको स्वास्थ्य अवस्थाको रिपोर्ट

काठमाडौँ उपयत्यकामा कोरोना संक्रमण बढ्दै गएको र डा.केसीको रोगप्रतिरोधात्मक क्षमता घट्दै गएकाले उनलाई भेट्न निषेध गरिएको पनि डा.कार्कीले बताइन् ।

डा.केसीको जीवनरक्षाको कामना गर्न सन्देश बुक बाहिरै राखिएको उनले बताइन् । चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै २१ दिनदेखि अनसनरत केसीका माग सुनुवाइको कुनै पहल नभएको उनीहरुले बताएका छन् ।

डा.केसीको माग सम्बोधनका लागि सरकारलाई दबाव दिन त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरुले त्रिवि शिक्षण अस्पताल परिसरमै धर्ना दिन शुरु गरेका छन् ।

केसीका माग
डा.केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्‍याएर एमबीबीएस लगायतका कार्यक्रम सञ्चालन गर्नुपर्ने र गेटा मेडिकल कलेज र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार र जनशक्ति पुर्‍याएर पठनपाठन शुरु गर्नुपर्ने माग राखेका छन् ।

यस्तै प्रदेश दुई र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउनु पर्ने माग पनि राखेका छन् ।

डा. केसीले मास्कको प्रयोग र सामाजिक दूरीलाई अनिवार्य गर्दै पीसीआर परीक्षण व्यापक बनाएर लकडाउन र निषेधाज्ञा अन्त्य गर्नुपर्ने, कोभिड तथा अन्य रोगका सबै बिरामीहरुका लागि समेत उचित उपचारको व्यवस्था गर्नुपर्ने माग पनि राखेका छन् ।

डा. केसीले आफूसँग २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गनुपर्ने पनि माग राखेका छन् ।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएका नियुक्तिहरु सच्याउँदै सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गर्नुपर्ने, विश्वविद्यालय, काउन्सिल र प्रतिस्ठानका पदाधिकारी नियुक्तिका लागि पदाधिकारी मापदण्ड निर्धारण समितिले दिएको सुझाव अनुरूप निष्पक्ष र पारदर्शी ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गर्नुपर्ने माग उठाएका छन् ।

यस्तै बयलपाटा अस्पताललाई नियमित आवश्यक बजेटको व्यवस्था गरी दिगो निशुल्क सेवा सुनिश्चित गर्नुपर्ने, राज्य लक्ष्मी गोल्छा घुस काण्ड, आयल निगम जग्गा खरिद काण्ड, वाइड बडी काण्ड, सेक्युरिटी प्रेस खरिद काण्ड, दरबारमार्गको जग्गा काण्ड, ओम्नी समूहको औषधि खरिद काण्ड लगायत सबै ठूला भ्रष्टाचार काण्डका दोषीहरुलाई कानून बमोजिम छानबिन र कारवाही गर्नुपर्ने माग उठाएका छन् ।

त्यस्तै डा. केसीले बालुवाटार जग्गा काण्डमा आपराधिक लाभ लिने सत्तारुढ दलका नेतामाथि छानबिन र कारवाही गर्नुपर्ने माग पनि राखेका छन् ।

उनले सबै प्रकरणका दोषीहरुलाई कारवाही नगरेर सत्ताको इशारामा उन्मुक्ति दिएमा अख्तियारका बहालवाला तथा सेवा निवृत्त आयुक्तहरुमाथि पनि कानून बमोजिम छानविन र महाअभियोग लगायतका कारवाही गर्नुपर्ने माग समेत गरेका छन् ।

डा. केसीले अख्तियारका आयुक्त लगायत सबै दोषी व्यक्तिहरुमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउनुपर्ने समेत माग गरेका छन् ।


Your Views
Related News