प्रमाण जुटाएर अप्रेसन गरेका हौं

बालबालिकाको लागि चकलेट विस्कुट आलु चिप्स लोकप्रिय दैनिक खाद्यवस्तु हुन् । हर्लिक्सको उपभोग गर्ने समूह पनि ठूलो छ । अधिकांशतः बालबालिका र ज्येष्ठ नागरिक यसका उपभोक्ता देखिन्छन् । राज्यले बढी सुरक्षा दिनुपर्ने यही वर्गमाथि विशाल ग्रुपले मिति नाघेका वस्तु खुवाएर आक्रमण गरेको छ ।

हरेक खाद्यवस्तुको उपभोग गर्ने अवधि कायम गरिएको हुन्छ । अवधि समाप्त भएपछि ती वस्तु अखाद्य वस्तुभित्र पर्दछन् । तर अखाद्य भइसकेको वस्तुमा नक्कली लेबल टाँसेर (रिलेबलिङ) गरी उपभोक्ताको जीवनमाथि खेलवाड गर्ने पछिल्लो उदाहरण बनेको छ व्यापारिक समूह विशाल गु्रप । विशाल ग्रुपमार्फत आयात हुने चकलेट, बिस्कुट, आलु चिप्सजस्ता खाद्य वस्तु म्याद सकिए पनि पुनः नयाँ म्याद राखेर बजारमा पठाउनुले नागरिकको जीवनमाथि कतिसम्म खेलवाड भइरहेको छ भन्ने प्रस्ट हुन्छ ।

विशाल गु्रपले गैरकानुनीरुपमा गलत धन्दा चलाउँदै आएको छ । म्याद सकिएका सामान बजारमा पठाएको विषयमा महानगरीय प्रहरी अपराध महाशाखाले तीन साता अघिबाट अनुसन्धान शुरु गरेको थियो । अनुसन्धानसँग प्रमाण संकलन गरेको महाशाखाले कालोबजारीअन्तर्गत मुद्दा चलाउन नमिल्ने कानुनी अडचनको कारण जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत वाणिज्य आपँर्ति तथा उपभोक्ता संरक्षण विभागसँग समन्वय गरेर संयुक्त अप्रेसन गरेको थियो ।

म्याद सकिएको खाद्य वस्तुमा पुनः उपभोग्य मिति राख्दै गरेको अवस्थामा एउटा मेसिनसहित संयुक्त टोलीले ८ जनालाई रङ्गेहात पक्राउ गरेपछि विशाल गु्रपको अवैध धन्दा पनि छताछुल्ल भएको छ । पक्राउ परेकाहरुमा पुष्पादेवी अग्रवालको नाममा रहेको आयन इन्टरनेसनल नामक वितरक समूहका प्रमुख बताउने रोशन बात्रासहित नयाँ म्याद टाँस्ने काममा संलग्न कर्मचारीहरु छन् । पुष्पादेवीको नाममा कम्पनी दर्ता गरेर उनका दुई जना छोराहरुलाई कम्पनी सञ्चालन गरी रहेको खुलेको छ ।

स्निकर्स चकलेट, ओरियो बिस्कुट, प्रिङ्गल्स चिप्ससहित बजारमा नियमित प्रयोगमा रहेका आधा दर्जन खाद्य वस्तुमा म्याद सकिएपछि पनि पुनः नयाँ म्याद राखेर बजार पठाउने गरेको प्रमाण विभागले संकलन गरेको छ । मानव स्वास्थ्यमा गम्भीर असर पर्ने लेबलमा खेलबाड गरेको पाइएपछि विभागले थप अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

पक्राउ परेकामध्ये बात्रा भारत राजस्थानका नागरिक हुन् भने अन्य नेपाली कामदारहरु रहेका छन् । बजारमा छ्यापछ्याप्ती पाइने स्निकर्स चकलेट, प्रिङ्गल्स चिप्स र ट्याङ जुसमा धमाधम नयाँ म्याद टाँस्दै गरेको अवस्थामा प्रहरी र विभागको टोलीले फेला पारेको थियो । खाद्य कानुनअनुसार म्याद सकिएको वस्तु आयातकर्ताले बजारबाट फिर्ता मगाएर नष्ट गर्नुपर्ने प्रावधान रहेको छ । ठूलो परिमाणमा खान अयोग्य यस्ता वस्तु भेटिएपछि बजारमा गएका स्निकर्स, प्रिङ्गल्स चिप्स र ट्याङ जुसको गुणस्तरमा माथि नै ठूलो प्रश्न उठेको छ ।

आयन डिस्ट्रिब्युटर लोकल वितरक रहेको र उसले सबैखाले खाद्य वस्तु तथा सामग्री विशाल समूहको युनाइटेड डिस्ट्रिब्युटर र अर्को एक वितरक लाइफ केयर इन्टरनेसनलबाट खरिद गरेको अनुसन्धानबाट खुलेको छ । ‘रिलेबलिङ गरी गोदाम गरिएका सबै सामान सबै विशाल ग्रुपको उत्पादन मात्र देखिन्छ । विशेष अनुसन्धानले विशाल ग्रुप नै यसको पछाडि लागेको देखिएको छ।’ –वाणिज्यका एक कर्मचारीले नेपाल समाचारपत्रलाई बताए ।

विभागका अनुसार ९५ करोड रुपियाँभन्दा धेरै मूल्यका त्यस्ता वस्तुहरुसहितको गोदाम सिल गरिएको छ । म्याद सकिएका ओरियो बिस्कुटसहित, बर्नभिटा, स्निकर्स चकलेट, ट्याङ जुसलगायतका दर्जनौं उत्पादन फेला पारेपछि उपभोक्ता नै त्रसित बनेका छन् । स्निकर्स चकलेट, ओरियो बिस्कुट, प्रिङ्गल्स बच्चाहरुले निकै रुचाउने गरेका छन् । अस्पतालमा बिरामी र सुत्केरी भेट्न जाँदा अधिकांशले हर्लिक्स र साना बच्चाका लागि बर्नभिटा लिएर जाने गरेका छन् । उपभोक्ताले उत्पादन र उपभोग्य मिति हेरेर विश्वास गर्ने गरे पनि विशाल ग्रुपको अवैध धन्दाको कारण खाद्य, पौष्टिक सामग्रीमा ठूलो बदमासी भइरहेको देखाएको छ । पौष्टिक तŒवका रुपमा बिरामीले खानेदेखि बालबालिकाले मनपराउने जंकफुडसम्म म्याद सकिएको पाइनु हदैसम्म अपराध भएको उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जन बताउनुहुन्छ ।

उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘म्याद गुज्रिएका खाद्य वस्तु बिक्रीवितरण गर्नेलाई कालोबजारअन्तर्गत सामाजिक ऐन–३०३२, उपभोक्ता संरक्षण ऐन–२०७५ र खाद्य ऐन २०२३ अनुसार कारबाही हुन्छ ।’ ‘म्याद नाघेको खाद्य सामग्री वितरण र भण्डारण गरेको पाइएको छ, म्याद नाघेको वस्तु नष्ट गर्नुपर्नेमा पुनः नयाँ मिति टाँस गरेर बजारमा पठाउने जधन्य अपराध हो।’ –उहाँले भन्नुभयो । कालोबजारीअन्तर्गत जिल्ला प्रशासन कार्यालय, वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभाग, खाद्य प्रभुता तथा गुण नियन्त्रक विभागले गलत काम गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउन सक्ने महर्जन बताउनुहुन्छ ।

उपभोक्ता संरक्षण ऐतअन्तर्गत ५ वर्ष, खाद्य ऐनअन्तर्गत १ वर्ष र कालाबजारी ऐनअन्तर्गत जति वर्ष पनि कारबाही गर्न सकिने प्रवाधान छ । महर्जन भन्नुहुन्छ– ‘व्यापारीले करोडौं कमाउने धन्दाले उपभोक्तालाई अखाद्य वस्तु खुवाएर मार्ने भए ।’

तीनवटा घरका सबै कोठा र बाथरुममा नयाँ म्याद टाँस्न राखिएको म्याद गुज्रिएका वस्तुहरु भेटिएको महानगरी प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापा बताउनुहुन्छ । उहाँका अनुसार रंगेहात कलंकीबाट पक्राउ परेका रोनक बोथ्राले यस्तो काम दुई वर्षदेखि गर्दै आएको बयान दिएका छन् ।

मिति फेरेर सडाउ वस्तु बजारमा छर्ने धन्दामा संलग्नहरुलाई उपभोक्ता संरक्षण ऐनभन्दा पनि कालोबजार तथा केही सामाजिक अपराध ऐन, ठगी वा खाद्य ऐनअन्तर्गत कारबाही चलाउनुपर्ने महर्जनले माग गर्नुभयो । दशैं–तिहारमा सामानहरु ठूलो परिमाणमा बिक्री हुने गरेकाले कालोबजारी गर्ने व्यापारीले यही बेला अबसर छोप्नेगर्छन् ।

म्याद गुज्रिएको सामग्री खाँदा स्वास्थ्यमा गम्भीर समस्या पार्ने डा. अरुणा उप्रेती बताउनुहुन्छ । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘म्याद गुज्रिएको खाद्य वस्तुले आज खाएर भोलि नै असर त गर्दैन तर अखाद्य वस्तु खाँदा शरीरभित्र ढुसी पैदा हुन्छ, ढुसीको कारण मुटु र कलेजोमा गम्भीर असर पार्छ ।’ म्याद गुज्रिएको खाद्य वस्तुले विशेषगरी कलेजोमा असर पार्ने उहाँले बताउनुभयो ।

करिब ६ महिनाअघि ब्रिटानिया गुड डे बिस्कुटमा किरा भेटिएको समाचार पनि व्यापकरुपमा बाहिर आएको थियो । म्याद गुज्रिने मिति एउटै सामानमा भारतमा ६ महिना तर नेपालमा एक वर्ष लेखिएको थियो । एउटै उत्पादनका फरक प्रयोग अवधि बनाउने काम पनि यसरी नै नक्कली लेबलिङबाट भएको देखिएको थियो । ब्रिटानियाको नेपालको आयात र वितरक पनि विशाल ग्रुप नै हो ।

विशाल ग्रपले किन्डरज्वई, मार्स, डोभ, मिल्कीवे, ट्विक्स, एम एण्ड एम, फेरेरोजस्ता विश्वप्रसिद्ध चकलेट आयात गर्दछ । फेरेरो चकलेटका एक उपभोक्ताले भने– ‘यही चकलेट विदेशमा किन्दा क्या स्वादिलो छ, तर नेपालमा खाँदा फ्यासफ्यास जान्छ, कारण रिलेबलिङ पो रहेछ !’
विशाल ग्रुपका निर्देशक अनुज अग्रवाललाई यस विषयमा प्रतिक्रिया लिन फोन सम्पर्क गर्दा उहाँले फोन उठाउनुभएन ।

विशाल ग्रुप यस्ता सामग्रीका लागि नेपालकै सबैभन्दा ठँलो आयातकर्ता तथा वितरक मानिन्छ । नेपालमा आयात गर्ने करिब ७० प्रतिशत चकलेट, बिस्कुटजस्ता वस्तुहरु यही ग्रुपको पकडमा छ । सरकारले घोषणा गरेको यस वर्षको बजेटमा १० प्रतिशत कर घटाउन पनि यही ग्रुपको हात रहेको सम्बद्ध विषयका विज्ञहरुको टिप्पणी छ । यस ‘रिलेबलिङ’का सम्बन्धमा विशाल गु्रपले आफ्नो हात नरहेको औपचारिक जानकारी गराए पनि प्राप्त आधारहरुले उसको दाबीलाई स्वीकार गर्न गाह्रो भएको बजारका विज्ञहरु उल्लेख गर्दछन् ।

नष्ट गर्नुपर्ने अखाद्य वस्तुलाई पुनः नयाँ मिति राखेर बजारमा पठाएको सूचनामाथि हामीले १४ दिनसम्म निगरानी अगाडि बढायौं । मिति सकिएको सामानलाई केमिकलले मेटाएर मेसिनमार्फत नयाँ लेबल लगाउने गरेको पाइयो । व्यापारीहरुले केटाकेटीको स्वास्थ्यमाथि ठूलो खेलवाड गरेको पाइयो ।

बालबालिका र वृद्धवृद्धाले दैनिकरुपमा खाने चक्लेट र हर्लिक्स खुलेआमरुपमा बिक्रीवितरण गरेको विषयलाई हामीेले गहिरो ढंगले अनुसन्धान ग¥यौं । कृत्रिम अभाव सृजना गर्ने २० प्रतिशतभन्दा बढी मूल्य लिएको अवस्थामा कालोबजारी ऐन आकर्षित हुन्छ । खाद्य गुणस्तर ऐनअन्तर्गत बढी सजाय हुने भएकाले हामीले विभागलाई पठाएका हौं ।

हामीले दुईवटा गोदाम र एउटा अफिसमा हुने गरेको कामको बारेमा भिडियोसहितको प्रमाण जुटाएका थियौं । गोदाम सिल गरिएको छ । एकिन परिणाम धेरै नै भएको अनुमान गरेका छौं । एउटा पाँचवटा कोठा भएको गोदम, साढे दुई तला घर भएको गोदाम र एउटा अफिसमा अखाद्य वस्तु राखिएको पाइएको छ ।

झन्डै ९५ करोडको अखाद्य वस्तु गोदाममा रहेको हाम्रो अनुमान छ । जनस्वास्थ्यमा खेलवाड गर्ने विषय भएकाले विभागले गर्ने अनुसन्धानलाई समन्वय गरेर बढीभन्दा बढी कारबाही गराउनको लागि काम गर्छौं । बढी सजाय होस् भनेर हामी विभागसँग समन्वय गरेर सहयोग गर्छौं ।


Your Views
Related News