शुक्रबार कोरोना भाइरसको संक्रमण पुष्टि भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमा कोरोनाका लक्षणहरू बढ्दै गएको छ।

ट्रम्पको उपचारमा संलग्न चिकित्सकहरूका अनुसार शुक्रबार उनलाई ‘उच्च ज्वरो’ थियो भने शुक्रबार र शनिबार दुई पटक उनको रगतमा अक्सिजनको तह कम भएको थियो।

एक समय उनको रगतमा अक्सिजन स्याचुरेसन ९३ प्रतिशत थियो भने अर्कोपटक त्यो ९५ प्रतिशत भन्दा तल पुगेको थियो। यो रगतमा हुनुपर्ने अक्सिजनको सामान्य दायराको तल्लो सीमा हो।

थुप्रै स्वास्थ्य विज्ञहरूले रगतमा अक्सिजनको मात्रा ९४ प्रतिशत भन्दा तल पुगेका विरामीलाई गम्भीर कोभिड-१९ भएको मान्दछन्।

चिकित्सकहरूले राष्ट्रपति ट्रम्पलाई ह्वाइट हाउसमा शुक्रबार अक्सिजन दिनुपरेको बताएका छन्। यध्यपी शनिबार पुनः दिइयो कि दिइएन भन्ने बारेमा केही स्पष्ट हुन सकेको छैन। यस्तै रगतमा अक्सिजनको स्तर ९० प्रतिशतभन्दा तल झरेको थियो कि थिएन भन्ने पनि स्पष्ट छैन।

डा. कोन्ली ट्रम्पलाई शनिबार एन्टिभाइरल रिडडेभाइरसँगै डेक्सामेथासोन नामक स्टेरोइड पनि दिइएको बताए।

डेक्सामेथासोनले गम्भीररूपका कोरोना विरामीलाई सहयोग पुर्‍याउने गरेको छ। यध्यपी सामान्यतया यो हल्का र मध्यम प्रकारका विरामीलाई भने प्रयोग गरिदैंन।

ट्रम्पको उपचार गरिरहेका चिकित्सकहरूले उनको स्वास्थ्य अवस्थाका बारेमा स्पष्ट जानकारी नदिएकाले उनीमाथि डेक्सामेथासोनको प्रयोग चाँडो गरियो वा साँच्चै अवस्था गम्भीर भएर प्रयोग गरियो भन्ने बारेमा स्पष्ट नभएको संक्रामक रोग र आपतकालीन चिकित्सा विज्ञहरूको भनाइ छ।

यस्तै उनीहरूले ट्रम्पको स्वास्थ्य सार्वजनिक गरिएभन्दा  बढी नै गम्भीर भएको पनि आशंका गरेका छन्।

‘डेक्सामेथासोन यस बिन्दुमा उनलाई दिइएको सबैभन्दा रहस्यमय औषधि भएको देखिरहेका छौं’, न्यू योर्क शहरको सबैभन्दा ठूलो स्वास्थ्य सेवा प्रदायक नर्थवेल हेल्थका प्रमुख चिकित्सक डा. थोमस म्याकजिनले भने।

उनले यो औषधि विरामीको अवस्था गम्भीर हुँदै गएको अवस्थामा बाहेक सामान्यतया प्रयोग नहुने बताए।

सेप्टेम्बर २ मा विश्व स्वास्थ्य संगठनले डेक्सामेथासोनको प्रयोग कोरोनाका गम्भीर प्रकृतिका विरामीलाई मात्र प्रयोग गर्न सिफारिस गरेको थियो।

नेशनल इन्सिट्यूट अफ हेल्थ साइन्सेसले पनि यस्तै प्रकारको सिफारिस गरेको छ। उसले मेडिकल भेन्टिलेटरको सहयोग चाहिने विरामीलाई मात्र प्रयोग गर्न भनेको छ।

ब्रिटेनमा गरिएको ठूलो अध्ययनमा डेक्सामेथासोनको प्रयोगले एक साता भन्दा लामो समय विरामी परेका मानिसहरूलाई सहयोग गर्ने देखाएको थियो।

अध्ययनका अनुसार यसको प्रयोगले मेकानिकल भेन्टिलेटरमा पुगेका करिब एक तिहाई  र अन्य किसिमबाट अक्सिजनको सहयोग लिएका प्रत्येक पाँच विरामीमा एक जनाको  मृत्यु घटाएको थियो।

READ MORE NEWS

मैले पुराणहरूको अनुवाद किन गरेँ?

नयाँ पुस्ताले पुराणलाई त्यति चासो र रूचिको विषय मान्दैन। बरू अज्ञानतावस वा अर्काको बहकाउमा पुराणलाई बूढाबूढीको विषय भन्दिन्छ।

यसको कारण के होला? के पुराण नयाँ पुस्तालाई अनावश्यक नै विषय हो?

मैले अंग्रेजी र संस्कृत साहित्य र दर्शनको अध्ययन गर्ने अवसर पाएकाले नयाँ पुस्ताले चासो नराख्नुको कारण पत्ता लगाउन र पुराणको उपयोगी पक्षबारे केलाउन मन लाग्यो। त्यसैले पूर्वीय शास्त्रीय मान्यतामा गणना गरिने १८ पुराण पढ्छु भन्ने सोचेँ र संस्कृत नपढे पनि पुराण पढ्न चाहनेका लागि उपयोगी हुन्छ भनेर हरेक पुराणको अध्यायपिच्छे सारांश पनि नेपालीमा लेख्न थालेको हुँ।

पुराणको इतिहास

पुराण वैदिक सनातन संस्कृतिका आधारभूत ग्रन्थ हुन्। यसमा ऐतिहासिक र सामाजिक पक्षको प्रधानता भेटिन्छ। यद्यपि पुराणलाई धेरैले वेदमा भएका विषयको व्याख्या भन्छन्। तै पनि अथर्वसंहिता (वेद) ले चार वेद, पुराण र छन्द एकैपटक आविर्भाव भएको बताएको छ।

छान्दोग्योपनिषदले पुराणलाई पाँचौं वेद भनेको छ। १४ विद्या (४ वेद, ६ वेदांग, पुराण, न्याय, मीमांशा, धर्मशास्त्र) र १८ शास्त्र (१४ विद्या, आयुर्वेद, धनुर्वेद, गान्धर्व वेद र अर्थशास्त्र) मा गणना हुने पुराणलाई २८ औं व्यासले रचना गरेको बताइएको छ। यी आधार र शास्त्रले पुराणलाई वैदिककालकै कृति भएको प्रमाणित गर्छ।

पुराणको अर्थ

संस्कृत व्याकरणअनुसार पुराण शब्द ‘पूरा भव’ अर्थमा ट्यु प्रत्यय गर्दा बन्छ। यसको अर्थ पुराना घटनाहरू भन्ने हुन्छ। प्राचीन कालमा नयाँ भएको वस्तुलाई पुराण भनेर यास्कले भनेका छन्। जुन साहित्य पुरातन सृष्टि र लयसँग सम्बन्ध भएर पनि आधुनिक लोकजीवनसँग जोडिन सक्छ, त्यो नै पुराण हो।

पुराण के हो?

पुराणमा प्राचीन इतिहास, साहित्य, जीवनचर्या, संस्कृति आदि विषय समाहित हुन्छन्। अमरकोषले पुराणका पाँच लक्षण हुन्छ भनेको छ (पुराणं पञ्चलक्षणम्)। धेरैजसो पुराणले नै पुराणका विषय उद्घाटन गरेका छन्।

वायु पुराण, विष्णु पुराण, सूतसंहिता आदिले पुराणमा निम्न कुरा वर्णन हुने बताएको छः

१. सर्ग (पदार्थको उत्पत्ति)

२. प्रतिसर्ग (नैमित्तिक, प्राकृतिक, नित्य, आत्यन्तिक प्रलय)

३. वंश (भूत, वर्तमान र भविष्यकालिक सन्तति, परम्परा, राजवंश, ऋषिवंश)

४. मन्वन्तर (सृष्टिका कालमानको द्योतक एवं देवता, मनु, सप्तर्षि, भगवानका अवतार र वर्णन)

५. वंशानुचरित (मनुवंश वर्णन, राज चरित्र)।

भागवतले पुराणमा १० किसिमका (माथिका ५ र आख्यान, उपाख्यान, गाथा, कल्पशुद्धी, वृत्ति) विषय हुन्छ भनेको छ।

पुराणमा अध्यात्म तत्व, आत्माको अमरता, आत्मोन्नतिका उपाय, शरीर विज्ञान, मनोविज्ञान, चिकित्सा विज्ञान, इतिहास, साहित्य, गणित छन्द आदि विषय छन्। संस्कृत वाङ्मयमा भएका दर्शन, साहित्य, विज्ञान, कला, कर्मकाण्डहरू पुराणमा छन्।

सबै पुराणमा माथि बताइएका ५ मूल विषयको वर्णन हुन्छ भनिए पनि भन्ने शैली, उदाहरण, नितान्त फरक हुन्छ। यसकारण पुराणमा वर्णन हुने विषय एउटै र उस्तै भए पनि हरेक पुराण छुट्टाछुट्टै र फरक भएको अनुभव हुन्छ। पुराणमा के विषय हुन्छ भन्नु भन्दा के विषय हुँदैन र भन्नेबाट पुराणका विषय बुझ्न सजिलो पर्छ।

पुराण र संस्कृत

मूल पुराणहरू संस्कृतमा लेखिएका हुनाले पुराण र संस्कृतका बिचमा अन्योन्याश्रित सम्बन्ध छ। तर, संस्कृत भाषा मात्र नभएर जीवन पद्धति, जीवन दर्शन, ज्ञान विज्ञानको शास्त्र पनि हो। भाषागत हिसाबबाट संस्कृतलाई प्राचीन भाषा, अति कमले मात्र बोल्ने (जनगणनामा १६०० परिवारमा मात्र बोलिने) बताइएको छ।

संस्कृतलाई कर्मकाण्डीहरूको भाषा, बूढाबूढीसँग सम्बन्धित भाषा भनेर आलोचना पनि गरिन्छ। तर ग्रन्थका आधारमा नासाले संसारमा सबभन्दा बढी शब्द (१ खर्ब २ अर्ब ७८ करोड शब्द भएको) समुन्नत भाषा संस्कृत भएको उल्लेख गरेको छ। नासाले नै सातौं पुस्ताको कम्प्युटरमा संस्कृत भाषा समावेश गरी सन् २०३४ सम्ममा बजारमा ल्याउने खबर प्रकाशनमा आएको छ।

संसारको सबभन्दा पुरानो ग्रन्थ वेदको भाषा संस्कृत नै भएकाले शास्त्रीय दृष्टिले पनि संस्कृतले भाषाको रूपमा विश्व–मान्यता पाएको छ। संस्कृतको महत्व र गुरुत्वलाई मनन गरेरै विश्वमा र विशेषतः युरोप र अमेरिकाका विश्वविद्यालयमा संस्कृत अध्ययन-अध्यापन र अनुसन्धान गर्ने विभाग, इन्स्टिच्युट र संकायहरू धमाधम खुलिरहेका छन्।

जर्मनीमा मात्र १३०० स्कुलमा संस्कृत पढ्न पाइने खबर छ। गीता, महाभारत, कौटिल्यको अर्थशास्त्र, मनुस्मृति जस्ता ग्रन्थ संस्कृतमा नै लेखिएको र ती ग्रन्थको विश्वव्यापी खोजी र सम्मान हुनुले पनि पुराण र संस्कृतको सम्बन्ध उजागर गरेको छ।

पुराणमा के विषय पाइन्छन्?

पुराण भनेको विस्तृत इतिहास हो। इतिहास भनेको राजा-महाराजाको कामकाज र पहिलेका घटना मात्र भनेर बुझुन्जेल पुराण बुझिँदैन। पुराणभित्र सूर्यको गति, ग्रहहरूको दुरी, समयमापनका आधार र ग्रहग्रह बीचको सम्बन्ध आदिबारे बताइएको छ।

गणितका हरेक प्रश्न, ज्योतिष (गणित, जातक, (होरा), संहिता) भित्रका हरेक घटना, शकुन-अपशकुन विचार, स्वप्नका फल, योग, तन्त्र, शिल्प पनि पुराणमा पाइन्छन्। सदाचार नैतिकता, कर्तव्य, अकर्तव्यका सूचि बताइएका छन्। यसैगरी आस्तिक दर्शन (न्याय, मीमांशा, वेदान्त, वैशेषिक, सांख्ययोग) नास्तिक दर्शन (बौद्ध, जैन, चार्वाक) को विवेचना, साहित्य (कालिदास, माघ, दण्डी आदिका कृति) कर्मकाण्ड (गर्भाधान, जन्मदेखि मृत्यु उत्तरसम्मका संस्कार सहितका षोडष संस्कार) पनि समाविष्ट छन्।

अर्थशास्त्र, राजशास्त्र, कामशास्त्र, मनोविज्ञान पनि पुराणका विषय हुन्। युग गणनाको आधारमा जसरी आइतबार सोमबार हुँदै एकहप्ता पछि पुनः तिनै आइतबार सोमबार दोहोरिन्छन्, त्यसैगरी चार युग (सत्य, त्रेता, द्वापर, कलि) पनि दोहोरिरहन्छन्। यसरी दोहोरिरहने क्रममा हुने भगवानका अवतारदेखि लिएर बुद्ध, राम, विक्रमादित्य, कौटिल्य जस्ता २००० वर्ष पहिलेसम्मका घटना र जीवनी पनि पुराणमा छन्।

पुराण र ज्ञान 

पुराण ज्ञानको पुञ्ज हो। ज्ञान भनेको पढेर, देखेर, सुनेर बुझेर, मनन र अनुभव गरेर पाइने बुद्धि, सीप र कला हो। पुराणले दृश्य, भौतिक वस्तु, अदृश्य परमात्मा, दैवी शक्ति, माया शक्ति, कल्पना शक्तिदेखि लिएर ब्रह्माण्डका स्थावर, एकैठाउँमा बस्ने, जंगम (चलायमान), विवेकचातुर्य समेतको व्याख्या र विश्लेषण गर्ने भएकाले पुराण र ज्ञानलाई अलग गर्न कठिन हुन्छ।

पुराणभित्र ज्ञान र ज्ञानले पुराणकै विषयलाई परिभाषादेखि प्रत्यक्ष, अनुमान, उपमान, शब्द आदि प्रमाणका आधारमा व्याख्या विश्लेषण गरी उदाहरण प्रस्तुत गर्ने भएकाले पुराण र ज्ञानलाई छुट्याउन सकिँदैन भने पनि हुन्छ। त्यसो भए पनि पुराणको माध्यमबाट ज्ञान प्राप्त गर्ने यथार्थ भने आत्मसात गर्नैपर्छ।

पुराणबाट सिक्नुपर्ने र सिकिने कुरा 

पुराण ज्ञानभण्डारको शास्त्र र यसमा योग, तन्त्र, विज्ञान, दर्शन, साहित्य, चिकित्सा, कर्मकाण्ड आदि विषय समाहित भएकाले जसले जे खोजे पनि पाउन सकिन्छ। जीवन सफल बनाउन र समाजमा प्रतिष्ठा प्राप्त गर्न पुराणमा बताइएका आचार, आहार, चिन्तन, महापुरुषको जीवनी अनुशरण र अनुकरण गर्नुपर्ने सन्देश पाइन्छ।

हिजोआज धेरै घरमा द्वन्द्व छ। बाबुआमा र छोराछोरीका बीच बोलचाल समेत हुँदैन। श्रीमानश्रीमती बीच सम्बन्ध विच्छेदका घटना बढिरहेका छन्। विश्वलाई बन्धुत्वको दृष्टिले हेर्नुको सट्टा नाफा र स्वार्थको जाल फिँजाउने बजारको रुपमा हेरिन्छ।

‘सँगै हिँडौं, सँगै काम गरौं, सबै सुखी होऊन्, सबै निरोगी होऊन्’ को संस्कृतिलाई ‘म खाऊँ मै लाऊँ’ को संस्कृतिले पटाक्षेप गरिदिएको छ। मायालाई त्रासले, विवेकलाई स्वार्थले, प्रेमलाई बलात्कारले प्रतिस्थापन गरिरहेको छ। जसले जसरी पनि कमाउनु पर्छ भन्ने सोचले गर्दा समाजमा अपराध बढिरहेको छ। स्रोत बाँडफाँटमा असन्तुलन भएर धनी र गरिब बीच खाडल बढिरहेको छ। यस्ता समकालीन, दुर्दान्त दृश्यबाट मुक्ति लिन पुराणका विषय अत्यन्त उपयोगी हुने लागेको छ।

नयाँ पुस्ताका केहीलाई पुराणको ज्ञान

नयाँ पुस्ताका केहीलाई मूलतः दुई किसिमले हेर्नुपर्छ –

१. शास्त्र नमान्ने, कसैको कुरा नसुन्ने।

२. पुराणलाई पुराना कुरा भनेर वेवास्ता गर्ने।

पहिलो किसिमका युवा घर–परिवार र समाजका बोझ भएका छन्। घरमा झगडा पार्नेदेखि हत्या, आत्महत्या गर्नेसम्मका दुष्कर्ममा लाग्ने भएकाले परिवार समाज र राष्ट्रकै लागि बोझ भएका छन्। तिनीहरूलाई क्रमशः सोच र व्यवहारमा परिवर्तन ल्याउन पुराणमा बताइएका सदाचार, महापुरुषका जीवनी, उदाहरण र घटना उपयोगी हुन्छन्।

दोश्रो किसिमका युवा ज्ञानबाट टाढा छन्। उनीहरूले नजानेको र थाहा नपाएको वा कसैको बहकाउमा लागेर पुराणलाई वेवास्ता गर्ने भएकाले पुराणका विषयलाई पाठ्यक्रममा समावेश गरेर सरल तरिकाले व्याख्या गरी नेपाली भाषामा पुराण अनुवाद गरेर त्यहाँ भएका गुण र वैशिष्ट्यलाई बाहिर ल्याई उनीहरूको सोच बदल्नुपर्ने हुन्छ। दुवै किसिमका वर्गलाई ठीक बाटोमा ल्याउने सीप, कला र ज्ञान पुराणमा भेटिन्छन्।

मैले पुराणको अनुवाद किन गरेँ?

मेरो लामो व्यावसायिक जीवन अर्थशास्त्र पढ्न, पढाउन र अर्थशास्त्रको व्यापकताभित्र पर्ने अर्थ, वित्त, कर, वाणिज्य, बैंकिङ, राजस्व जस्ता विषयमा काम गर्ने र गहिरिनेमै खर्च भएको हो। त्यसअनुसार मैले अर्थशास्त्रमा नै विद्यावारिधि गरेँ। पढेँ, लेखेँ र त्यसै क्षेत्रमा काम गरेर तीन दशक बढी बिताएको थिएँ।

यद्यपि पारिवारिक पृष्ठभूमि र तत्कालीन बाल्यकाल एवं सामाजिक परिवेशले संस्कृततर्फ पनि मैले आचार्य सम्मको अध्ययन गरेको थिएँ। सरकारको सेवाबाट अवकाश लिएपछि सेवाअवधिका अनुभव र अनुभूतिले अध्यात्म सेवा गर्ने क्रममा निम्न कारणले पुराण अनुवाद गर्न मन लाग्यो –

क. जीवनको आखिरीसम्म धेरैतिरको अनुभव लिइसकेपछि सबैलाई आत्मशान्ति, सन्तोष, दान, उपकार भगवद् भक्ति तर्फ प्रवृत्ति बढेको देखेकाले।

ख. धेरैले संस्कृत पढ्न नसकेको र नपाएको अवस्थामा संस्कृत नपढेकै कारणले पुराण पढ्न पाइनँ भन्नेलाई पढ्न सजिलो बनाइदिन।

ग. संस्कृत पढेकै भए पनि १८ पुराण पढ्न वर्षौं लाग्ने भएकाले त्यत्रो समय दिन नसक्नेलाई सहयोग गर्न।

घ. विश्वमा व्यापक हुँदै गएको र नासाले समेत चासो लिएको विषय संस्कृत नै भएको (तर संस्कृतका ज्ञानभण्डारको आविर्भाव भएको नेपाल, भारतमा नै प्रभाव कम हुँदै गएको देखिएका) ले संस्कृतको सेवा र प्रचार गर्न।

ङ. पुराणमा भएका विज्ञान, दर्शन, योग, साहित्यको उत्खननमा उत्प्रेरणा जगाउन।

यिनै उद्देश्य लक्षित गरेर १८ वटै पुराणको अध्यायपिच्छेको सारांश लेखेर प्रकाशित गर्ने काममा विगत ७ वर्षदेखि निरन्तर लागेको छु। यसक्रममा १६ वटा पुराणको अध्यायगत सारांश लेखन सकिसकेको छु।

तीमध्ये ८ वटाका अनुवादित ग्रन्थ प्रकाशित भइसकेका छन्। मैले अनुवाद गरेका विष्णु पुराणकूर्म पुराणशिव पुराणगरुड पुराणमार्कण्डेय पुराणअग्नि पुराणवामन पुराण अमेजन किन्डलमा पढ्न सकिने व्यवस्था गरेको छु।

पुराणको विकासमा गर्नु पर्ने काम

पुराणभित्र अथाह ज्ञान भण्डार छ। पुराणमा भएका ज्ञानकोष हजारौं वर्षअघि तयार भएका हुन्। तर ती ज्ञान कोषका भण्डार सुन राखेर ताला बन्द गरेको कोठाजस्ता भएका छन्। यसैबीच पूर्वीय ज्ञान भण्डारलाई आधार मानेर पश्चिमा विद्वानहरूले प्रतिपादन गरेका ज्ञान-विज्ञानका ग्रन्थ सरल र सुलभ भए। भाषागत हिसाबबाट पनि संस्कृत कठिन मानिएकाले र संस्कृतका पण्डितहरूले वेद र पुराण सबैले पढ्न हुँदैन भन्ने अपव्याख्या गरिदिएकाले संस्कृतमा लेखिएका ग्रन्थ बन्द कोठामा थन्किएझैं भए।

साथै संस्कृतमा भएका बहुमूल्य ज्ञानभण्डारबारे अध्ययन अनुसन्धानमा चासो नजानु पनि उपेक्षाको कारण बन्यो। समान शिक्षा र समान कक्षाकै भए पनि संस्कृततर्फ काम गर्ने शिक्षक र कर्मचारीले न्यून तलब र प्रोत्साहन नपाउनु पनि समग्र संस्कृत जगत र पुराणका विषय पछि पर्नुको कारण बन्यो।

संस्कृत युरोपेली भाषाको जननी मात्र होइन, समग्र दर्शनको स्रोत पनि हो भनेर अमेरिकी इतिहासकार एवं दार्शनिक विलियम जेम्स् डुँराटले चिनाएपछि पश्चिमी जगतले संस्कृततर्फ थप चासो देखायो। त्यो यथार्थ फेडेरिक भोन स्लेगेलले ‘यो संसारमा संस्कृत भाषाको जस्तो नियमनिष्ठा भएको र त्यति दार्शनिक सुस्पष्टताले युक्त अन्य भाषा छैन’ भनेपछि नै पश्चिमाहरूले संस्कृतका ग्रन्थ अध्ययन अनुसन्धानलाई तीव्र बनाए।

भारतमा अंग्रेजराज सुरू भएपछि ‘भारतीय संस्कृति र विद्या ज्यादै उपल्लो स्तरको रहेछ। यसैले त्यो संस्कृति र विद्या–परम्परामा प्रहार नगरी बेलायती संस्कृतिलाई भारतवर्षमा स्थापित गर्न कठिन छ’ भनेर भारतीय सदनमा सन् १८३५ मा टिवी मेकालेले लगेको प्रस्तावले पनि पश्चिमा साहित्यको दाँजोमा भारतीय महाद्वीपको संस्कृति र साहित्यको गरिमा उजागर गर्छ।

संस्कृतमा भएका यिनै विशेषता, ज्ञानराशी र नेपालमा हराउँदै गएको आचारविचार, बढेका द्वन्द्व, कलह र संस्कृतिको दुरावस्था समेत मनन गरेर पूर्वीय संस्कृतिको महत्व बोध गराउन मैले पुराणहरूको अनुवाद गरेको हुँ।


Your Views
Related News