पाँच वर्षअघिको महाभूकम्पमा होस् वा यस वर्षका ठूल्ठूला पहिरोमा, पुरुषभन्दा महिलाकै ज्यान बढी गइरहेको छ। 

२७ भदौ राति सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ मा पहिरो जाँदा ठूलो धनजनको क्षति भयो। नगरप्रमुख निमफुन्जो शेर्पाका अनुसार पहिरोमा ३१ जनाको मृत्यु भएकोमा १६ जनाको शव भेटिएको छ भने १५ जना अझै हराइरहेका छन्। मृत्यु हुने र हराएकामध्ये २० जना महिला छन् भने ११ जना पुरुष।

सिन्धुपाल्चोककै जुगल गाउँपालिकाको लिदीमा ३० साउनमा गएको पहिरोमा मृत्यु हुनेमध्ये पनि आधा भन्दा बढी महिला नै छन्। गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङका अनुसार, अहिलेसम्म ३७ जनाको शव भेटिएको छ भने दुई जना अझै फेला परेका छैनन्। जसमध्ये २१ जना महिला र १८ जना पुरुष छन्।

त्यस्तै १७ भदौ राति अविरल वर्षाका कारण बाग्लुङको भुजीखोलामा आएको भेल पहिरोले ढोरपाटन नगरपालिकाका वडा नम्बर ५-९ सम्ममा ठूलो क्षति पुर्‍यायो। २२ जना मृतकको सनाखत भयो भने १५ जना अझै हराइरहेका छन्। ढोरपाटन नगरपालिकाकी उपप्रमुख करमति पुन मगरका अनुसार मृतक र हराइरहेकामा २१ जना महिला छन् भने १६ जना पुरुष।

यस वर्ष म्याग्दी, तनहुँ र पर्वतमा गएका पहिरोमा परी मृत्यु हुनेमा पनि महिला नै धेरै छन्। प्राकृतिक प्रकोप सम्बन्धी जानकारी दिने सरकारको वेबसाइट डीआरआर पोर्टल का अनुसार, यसअवधिमा म्याग्दीमा ३० जनाको मृत्यु भएको छ, जसमा १६ जना महिला छन् भने तनहुँमा १३ जनाको मृत्यु हुँदा ९ जना महिला छन्। पर्वतमा पनि १० जना मृतकमध्ये ७ जना महिला छन्।

१ वैशाखदेखि १३ असोजसम्ममा देशभर गएका ४८१ पहिरोमा परी २९१ जनाले ज्यान गुमाए, ६७ जना अझै हराइरहेका छन् र २२३ जना घाइते भएका छन्। यीमध्ये कम्तीमा १० जना भन्दा बढी मानवीय क्षति भएका सिन्धुपाल्चोक, बाग्लुङ, म्याग्दी, कालीकोट, जाजरकोट जस्ता जिल्लामा भएको मरणमा पुरुषको भन्दा महिलाकै संख्या धेरै छ।
अघिल्ला वर्षको तुलनामा यस वर्ष पहिरोबाट नेपालमा झण्डै तीन गुणा बढी मानवीय क्षति भयो। गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको विवरण अनुसार १ वैशाखदेखि १३ असोजसम्ममा देशभर गएका ४८१ पहिरोमा परी २९१ जनाले ज्यान गुमाए, ६७ जना अझै हराइरहेका छन् र २२३ जना घाइते भएका छन्। यीमध्ये कम्तीमा १० जना भन्दा बढी मानवीय क्षति भएका सिन्धुपाल्चोक, बाग्लुङ, म्याग्दी, कालीकोट, जाजरकोट जस्ता जिल्लामा भएको मरणमा पुरुषको भन्दा महिलाकै संख्या धेरै छ।

यो वर्षको पहिरोमा मात्रै होइन, २०७२ सालको भूकम्पमा पनि पुरुष भन्दा धेरै महिलाको ज्यान गएको थियो। भूकम्पमा मृत्यु भएको पहिचान भएका आठ हजार १९३ जनामध्ये ५५ प्रतिशत महिला थिए। राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार चार हजार ४९७ जना महिला र बालिकाहरूको मृत्यु भएको थियो। जिल्लागत विवरण अनुसार काठमाडौंमा मात्रै महिलाको भन्दा धेरै पुरुषको मृत्यु भएको थियो।

किन महिला नै बढी ?

एशियाली विकास बैंकले सन् २०१३ मा गरेको अध्ययन ‘द राइज अफ नेचुरल डिजास्टर इन एशिया एण्ड द प्यासिफिकः लर्निङ फ्रम एडीबीज् एक्सपीरियन्स’ प्रतिवेदनले एशियाले भोगेका ठूला प्रकोपमा पुरुषको भन्दा महिलाको मृत्युदर उच्च रहेको उल्लेख गरेको छ ।

प्रतिवेदनका अनुसार सन् १९९१ अप्रिलमा बङ्गलादेशमा आएको चक्रवातबाट मृत्यु हुनेमध्ये ९१ प्रतिशत महिला थिए, त्यस्तै सन् २००४ को इन्डोनेसियाको सुनामीमा ज्यान गुमाउनेमध्ये पनि ६७ प्रतिशत महिला थिए।

प्रकोपमा पुरुषको तुलनामा महिलाको बढी मृत्यु हुने प्रवृत्ति विश्वव्यापी देखिन्छ। लन्डन स्कूल अफ इकोनोमिक्स र युनिभर्सिटी अफ एक्सेसका शोधकर्ताले सन् १९८१ देखि २००२ सम्म विश्वभरका १४१ देशका ठूला प्रकोपको अध्ययन गरेका थिए। ‘द जेन्डर्ड नेचर अफ न्याचुरल डिजास्टरः द इम्प्याक्ट अफ क्याटास्ट्रोफिक इभेन्ट्स अन द ग्याप इन द लाइफ एक्स्पेक्टेन्सी, १९८१–२००२’ शीर्षकको उक्त शोधको निष्कर्ष थियो- ‘प्रकोपमा पुरुष भन्दा महिलाकै बढी मृत्यु भएको पाइयो।’

इसिमोडले गत वर्ष प्रकाशन गरेको अनुसन्धानमूलक पुस्तक ‘द हिन्दूकुश हिमालय एसेसमेन्टः माउन्टेन, क्लाइमेट चेन्ज, सस्टेनेएबिलिटी एण्ड पिपल’ को निष्कर्ष पनि उस्तै छ। नेपालमा २०७२ सालमा गएको महाभूकम्पलाई विशेष रूपमा उल्लेख गरेको यो पुस्तकले हिमालय क्षेत्रका पछिल्ला केही दशकको प्राकृतिक प्रकोपको तथ्याङ्क विश्लेषण गर्दै निष्कर्षमा भनेको छ- प्रकोपबाट पुरुषहरू भन्दा बढी जोखिममा महिलाहरू नै छन्।

प्राकृतिक प्रकोपबाट महिलालाई पर्ने प्रभावको जोखिम कम गर्ने देशको क्षमता मापन गर्ने ‘वुमेन्स रेजिलियन्स इन्डेक्स’ मा पनि नेपालको क्षमता साह्रै थोरै देखिन्छ। अष्ट्रेलियाको वैदेशिक मामिला तथा व्यापार विभागको सहयोगमा एक्सन एडले गरेको यस्तो सूचीमा नेपालले १०० मा ४५.२ अंक मात्र प्राप्त गरेको देखिन्छ।

“प्रकोपबाट पुरुषको तुलनामा महिलाकै बढी मृत्यु हुन्छ, किनकि महिलाको सूचनामा पहुँच कम हुन्छ। प्रकोपबाट बच्ने सीप सिक्ने अभ्यासमा पनि उनीहरू कमै सहभागी हुन पाउँछन्,” सिन्धुपाल्चोकको जुगल गाउँपालिकाकी उपाध्यक्ष सिर्जना तामाङ भन्छिन्, “निर्णय प्रक्रियामा महिलाको भूमिका नहुनु यसो हुनुको प्रमुख कारण हो।”

लैंगिकता सम्बन्धी सामाजिक-सांस्कृतिक धारणा र लैंगिक जिम्मेवारी सम्बन्धी परम्परागत मान्यताका कारण पनि प्रकोपमा महिला नै बढी जोखिममा हुन्छन्।

कसरी घटाउने ?

वन तथा वातावरण मन्त्रालयको राष्ट्रिय अनुकूलन योजनामा कार्यरत विज्ञ बसना सापकोटा महिला–पुरुषको फरक भूमिकाका कारण प्रकोपको प्रभाव पनि फरक पर्ने बताउँछिन्। “सबै प्रकोपबाट एकैनाशले महिलामा बढी प्रभाव पर्ने भन्ने हुँदैन। तर, सामाजिक संरचनामा महिलाका लागि भएको फरक भूमिकाले बढी प्रभाव भने पार्छ” उनी भन्छिन्, “प्रकोपबाट बचाउने पूर्वसूचना प्रणालीमा महिलाको पहुँच कम छ। भाषाको पनि समस्या छ।” सापकोटा प्रकोपको उद्धारका लागि गरिने पूर्वअभ्यास, उद्धार कार्यदल, प्राथमिक उपचार जस्ता तालिम र समूहहरूमा महिलाको सहभागिता बढाउनुपर्ने सुझाउँछिन्।

इसिमोडको अनुसन्धानले पनि लैंगिक असमानताका कारण पूर्वसूचना प्रणालीमा महिलाको पहुँच कम हुने, उद्धार प्रक्रिया र व्यवस्थापन महिला लक्षित नभएका कारणले पनि बढी क्षति महिलालाई हुने गरेको निष्कर्ष निकालेको छ।

पूर्वसूचना प्रणाली र प्रकोपपूर्वको उद्धार बारेका धेरै जानकारी र निर्णय प्रक्रिया पुरुषको नियन्त्रणमा हुन्छ। एडीबीको माथि उल्लिखित प्रतिवेदनले प्राकृतिक प्रकोपमाथिको हस्तक्षेपमा लैंगिक विषयलाई पर्याप्त मात्रामा सम्बोधन नगरिएको उल्लेख छ। सेल्टर, यातायात र खाद्यान्नलगायत प्रकोपपछिका अवस्थामा पनि महिलाको पहुँच र नियन्त्रण कम हुनु उनीहरू जोखिममा पर्नुको अर्को प्रमुख कारणको रूपमा औंल्याइएको छ।

जुगल गाउँपालिकाकी उपाध्यक्ष तामाङले ‘महिलालाई प्रजनन् भूमिकाले पनि जोखिममा पुर्‍याएकोे’ आफूले पाएको बताइन्। “अहिलेको ठूलो पहिरो र भूकम्पको समयमा गर्भावस्था, सुत्केरी अवस्था वा नवजात शिशुका आमा बढी जोखिममा रहेको हामीले देख्यौं”, उनी भन्छिन्।

जलवायु परिवर्तन विज्ञ ङमिन्द्र दाहाल जलवायु परिवर्तन वा अन्य कारणबाट हुने प्रकोपको असर महिलालाई बढी परेको प्रष्ट देखिएको बताउँछन्। “प्रकोपको असर प्रकोपपूर्वको अवस्थाले निर्धारण गर्छ” उनी भन्छन्, “प्रकोपपूर्वको समाजमा महिलाको भूमिकाका कारण प्रकोपको जोखिममा पनि उनीहरू नै बढी परेको देखिन्छ। जबकि सवारी, हवाई दुर्घटना आदिमा पुरुषको बढी ज्यान गएको देखिन्छ।”

दाहालले कुनै पनि वस्तीमा प्रकोप छिर्दा प्रकोपपूर्वको अवस्था, प्रकोपको समय र त्यसपछि गरी तीनवटै अवस्थामा महिला र बालबालिका जोखिममा रहेको पाइएको बताउँछन्। “प्रकोप बढाउन महिलाको खासै भूमिका हुँदैन, तर त्यसको असर उनीहरूमै बढी भएको पाइन्छ” दाहाल भन्छन्, “महिलामा असर कम गर्न, सक्षम बनाउन उनीहरूमा योजना र लगानी केन्द्रित गर्नुपर्छ।”

प्रकोपपछिको अवस्थामा काम पाउने सम्भावना कम हुने, पाइहालेमा पनि कम ज्याला र परिवारप्रति उनीहरूको जिम्मेवारी बढी भएका कारण त्यो बेला पनि महिलाले नै अप्ठ्यारो परिस्थितिबाट गुज्रनुपर्छ।

“उद्धारपछि राखिएका शिविरहरूमा महिलामाथि यौनहिंसा भएका थुप्रै उदाहरण छन्। त्यसैले महिलामा प्रकोपको असरको चर्चा गर्दा मृतकको संख्या मात्र गणना गरेर पनि पुग्दैन”
“उद्धारपछि राखिएका शिविरहरूमा महिलामाथि यौनहिंसा भएका थुप्रै उदाहरण छन्। त्यसैले महिलामा प्रकोपको असरको चर्चा गर्दा मृतकको संख्या मात्र गणना गरेर पनि पुग्दैन” बसना सापकोटा भन्छिन्, “स्थानीयस्तरका विपत् व्यवस्थापन समितिहरूमा र पूर्व तयारीका काममा महिलालाई सहभागी बनाउने, उनीहरूको आवश्यकता सम्बोधन गर्ने किसिमबाट योजना बनाउने गर्नुपर्छ।”

नेपालमा कृषि श्रमिकमा धेरै महिला छन्। संचित खाद्यान्न नोक्सान हुँदा, खाद्य उत्पादनको र पशुवस्तुको क्षति हुँदा पनि त्यसको प्रभाव महिलामै बढी पर्छ। खानेपानी अभावको असरबाट पनि महिला नै बढी प्रभावित हुनपुग्छन्।

सरकारले प्रकोपको व्यवस्थापन र पूर्वतयारीसँग सम्बन्धित केही कानून र नीति बनाएको छ। जसमध्ये प्रकोप व्यवस्थापनका लागि राष्ट्रिय रणनीति, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, जलवायु परिवर्तन नीति लगायत प्रमुख छन्। तर, यी र अन्य केही कानून र नीतिहरूमा स्पष्ट लैंगिक दृष्टिकोण भने देखिंदैन।

राष्ट्रिय योजना आयोगले २०७२ को भूकम्पपछि बनाएको ‘नेसनल पोष्ट डिजास्टर निड एसेसमेन्ट’ ले प्रकोपको प्रभाव लैंगिक रूपमा भिन्न हुने कुरालाई स्वीकार गरेको छ। यसले पुनर्स्थापना कार्यक्रमका लागि लैंगिक समता र सामाजिक समावेशीकरणलाई प्रमुख सिद्धान्त मानेको भए पनि कार्यान्वयनमा जोखिममा रहेका महिला लक्षित कार्यक्रम भने लागू गरिएका छैनन्।


Your Views
Related News