हाम्रो एकजोडी आँखाको के त्यत्रो औकात, जसले संसार देख्न सकोस्! अनि एक अञ्जुली गिदीले के बुझ्न भ्याओस् यो संसारको विराट जटिलता!

न संसार हामीले देखेजति मात्र छ, न हामीले बुझेजति! मानव जातिले मात्र बाँच्नुपर्ने हाम्रो लहड प्रकृतिलाई न स्वीकार्य छ, न अनिवार्य नै।

हामीले आफू बाँच्न तयार पारेको सीप-सिर्जना, कला-कौशल, ज्ञान-विज्ञान, प्रविधि र भौतिक संशाधन हामीलाई सधैं बचाइरहन अपुग ठहरिँदो रहेछ। तर, मान्छेलाई बाँचिरहने मोह गजबकै छ। जित्ने लालसा र विजयको उन्माद छ। आशा गरिरहने चेतना छ र उत्साह, ऊर्जा र विवेकको दुर्लभ संयोजन छ।

यी सबै छन् र त, समयले सिर्जना गर्ने हरेक विपत्तिका मसिना कमजोरी पहिल्याएर साँघुरो गोरेटो छिचोल्दै पछाडि छाडेको युगौं युगको इतिहास र गौरवशाली सभ्यता छ।

मानव जातिले सामना गरिरहने अप्ठ्याराहरूको अन्तहीन यात्रामा अहिले हामी ‘कोरोना’ को भुमरीमा फसेका छौं।

जबसम्म हामीलाई यसबारे थोरै मात्र थाहा थियो, हामीमा त्रास बढी थियो। समय क्रममा हामीले जान्न र बुझ्नपर्ने भन्दा यति बढी थाहा पाइसक्यौं, अहिले भ्रम बढी छ र सजगता कम।

भाइरस हामीबीच उस्तैगरी यथावत छ। हाम्रो वरिपरि यसको उपस्थिति अझ बाक्लिएको छ। यो भाइरस आफूलाई आनुवांशिक रूपमा परिवर्तन (म्युटेसन) गरेर मानिसको शरीरमा बाँच्न अझै अनुकूल बनेको छ र झनै घातक पनि।

सुरूआती अध्ययनले गरेको मार्गदर्शन

सबभन्दा पहिला, कोभिड-१९ रोग कति धेरै संक्रामक छ भनेर गरिएको अध्ययनलाई हेरौं। यसका लागि एउटा सूचकांक प्रयोग हुन्छ, जसको प्राविधिक नाम ‘रिप्रोडक्सन नम्बर’ हो। यसलाई ‘Ro (आर-नट) भ्यालू’ ले संकेत गरिन्छ।

यस सूचकांकले संक्रमण रोक्न कुनै पनि विधि अवलम्बन नगरिएको अवस्थामा, एक जना संक्रमित व्यक्तिले औसतमा कति जनालाई सार्न सक्छ भन्ने बुझाउँछ। रोग सार्ने विभिन्न कारकलाई अधार मानेर विकास गरिने गणितीय विधि (म्याथमेटिकल मोडलिङ) बाट यो सूचकांक निर्धारण गरिएको हुन्छ।

संक्रामक रोगको फैलावट अनुमान गर्न र संक्रमण रोक्ने आवश्यक रणनीति तय गर्न यसलाई महत्वसाथ हेरिन्छ।

यो सूचकांक एकभन्दा कम छ भने एक जना संक्रमितले अर्को एक जनामा पनि संक्रमण सार्न नसक्ने भन्ने बुझाउँछ। विस्तारै उक्त रोगको फैलावट घट्दै जाने र प्रकोपको रूप नलिने संकेत गर्छ।

सूचकांक एक भए रोग स्थिर रूपमा रहिरहने र एकभन्दा बढी हुँदा एक जनाबाट एकभन्दा धेरैमा सरिरहेको बुझिन्छ। यसले रोग फैलिने क्रममा रहेको र महामारीको रूप लिने संकेत गर्छ।

‘इमर्जिङ इन्फेक्सियस डिजिजेज्’ नामक जर्नलमा केही अमेरिकी र चिनियाँ अनुसन्धानकर्ताले एउटा खोजमूलक रिपोर्ट प्रकाशन गरेका थिए। जसले वुहानमा सुरूआती अवस्थामा कोभिड-१९ को उक्त सूचकांक ५.७ देखाएको थियो।

यसको अर्थ, एकै जनाबाट पाँचदेखि छ जनासम्ममा संक्रमण फैलिएको बुझ्नुपर्छ।

यही सूचकांक सय वर्षअघि झन्डै पाँच करोडको ज्यान लिएको स्पेनिस फ्लुको जम्मा १.४ देखि २.८ रहेको ‘बिएमसी मेडिसिन’ जर्नलमा प्रकाशित लेखले देखाउँछ।

त्यस्तै, ‘साइन्स’ जर्नलमा प्रकाशित लेखले सन् २००९ को स्वाइन फ्लुको सूचकांक १.४ देखि १.६ मापन गरेको छ।

यसबाट हामी के बुझ्न सक्छौं भने, कोभिड-१९ सामान्यभन्दा धेरै नै संक्रामक रोग हो र निकै छिटो फैलिन सक्छ।

यही अनुसन्धानले संक्रमणका अन्य तथ्य पनि खुलाएको छ। जस्तो- लक्षण देखिन भाइरस शरीरमा प्रवेश गरेपछि औसत चार दिन लाग्छ। मृत्य हुनेहरूमा लक्षण देखिएको औसत १६ दिनपछि मृत्यु भएको देखिन्छ।

यो संक्रमण समयसँगै घातक बनेको पनि अध्ययनले देखाएको छ। जनवरीको सुरूतिर लक्षण देखिएको पाँच दिनपछि मात्र बिरामीहरू अस्पताल भर्ना हुनुपरेको थियो भने जनवरी अन्त्यसम्म दोस्रो दिनमै अस्पताल लैजानुपर्ने अवस्था आयो।

धेरैजसो तिनै वैज्ञानिकको टोलीले युरोपका आठ देश र अमेरिकामा मार्च अन्तिमसम्मको तथ्यांकलाई लिएर अर्को अध्ययन गरे। त्यहाँको सूचकांक (आर-नट भ्यालू) ४.० देखि ७.१ सम्म मापन भएको छ भने २.४ देखि ३.७ दिनको अवधिमै संक्रमण दोब्बर भएको देखिन्छ।

यसै आधारमा यी अनुसन्धाताले स्पष्ट सुझाव दिएका थिए- जतिसक्दो चाँडो प्रभावकारी परीक्षण, व्यापक कन्ट्याक्ट ट्रेसिङ, क्वारेन्टिनको व्यवस्थापन र सुरूआती रूपमै कडाइका साथ सामाजिक दुरी पालना।

यी दुवै खोज २०२० अप्रिल १५ भित्रै प्रकाशन भइसकेका थिए। त्यतिखेर नेपालमा जम्मा १६ जना संक्रमित भेटिएका थिए। ती सबै बिरामी बाहिरबाट आएका थिए। हामीसँग तयारीको पर्याप्त समय थियो। बिना कुनै क्षति हामीले कोभिड-१९ को प्रारम्भिक अवस्था बुझ्न पाएका थियौं। यसले ल्याउन सक्ने विपत्तिको लेखाजोखा गर्न सक्थ्यौं।

कुशल नेतृत्वले यस्तै अध्ययनहरूबाट आफ्नो देश सुहाउँदो रणनीति बनाउँछ र आवश्यक तयारी गर्छ। हामीकहाँ भने तथ्यांक संकलन र व्यवस्थापनसमेत एकदमै अवैज्ञानिक किसिमले गरिँदै आएको छ।

हामी व्यवहारिक रूपमा अरू देशको अनुभवबाट त संवेदनशील हुन सकेनौं भने कुनै वैज्ञानिक अनुसन्धानको हामीलाई के अर्थ रहन सक्थ्यो र!

अपुष्ट हल्ला र त्यसको वैज्ञानिकता

चीनको वुहानमा जब रोग पहिचान नहुँदै निमोनियाजस्तै लक्षण भएका बिरामी दिनानुदिन बढेका थिए, एक चिनियाँ नेत्र चिकित्सक ली वेन्लियाङले सार्स रोगसँग मिल्दोजुल्दो भाइरस देखापरेको भनेर सामाजिक सञ्जालमार्फत् आफ्ना सहकर्मीहरूलाई सचेत गराए।

त्यतिखेरसम्म भाइरस फैलिन नदिने समय गुज्रिसकेको थियो। तर, उनलाई चिनियाँ अधिकारीहरूले त्रास र अफवाह फैलाएको आरोपमा स्पष्टीकरण सोध्नुका साथै चेतावनीसमेत दिए।

लगभग त्यसको एक महिनापछि कोभिडकै कारण ३३ वर्ष उमेरमा उनको निधन भयो। चिनियाँ कम्युनिस्ट पार्टीले आधिकारिक रूपमा उनको परिवारसँग माफी माग्यो।

विपत्ति बेला विज्ञानसम्मत् तथ्यहरूका आधारमा आफ्ना नागरिकलाई सुसूचित गरेर अन्यौल चिर्न नेतृत्वले सशक्त भूमिका निर्वाह गर्न सक्छ। तर, विभिन्न देशका राजनीतिक नेतृत्व कोभिड-१९ नियन्त्रणमा सुरूदेखि विपरीत भूमिकामा देखापरे। उनीहरूले सुरूदेखि भ्रमलाई बढावा दिइरहे।

‘द गार्डियन’ ले गरेको एउटा रिपोर्टिङमा तान्जानियाका राष्ट्रपतिले बाख्रा, फर्सी र डिजेलको समेत पिसिआर परीक्षण पोजेटिभ आएको दाबी गर्दै पिसिआर नै झूट हो भनेका छन्। तान्जानियाले कोभिड-१९ सम्बन्धी वास्तविक तथ्यांकसमेत लुकाएको आरोप छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि कोभिड नियन्त्रणमा आफ्नो गलत नीति र असफलता ढाकछोप गर्न लगातार विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को आलोचना गर्दै आएका छन्।

विश्वभरि एउटा के हल्ला व्याप्त छ भने, नोबेल कोरोना भाइरस चिनियाँ प्रयोगशालामा तयार गरिएको जैविक हतियार हो। अमेरिकी राष्ट्रपतिले नै ‘चाइनिज भाइरस’ भनेर लामै समय कटाक्ष गरिरहे। हामीकहाँ पनि यो धारणा व्यापक छ।कुनै पनि कुरामा ‘ठूलो षड्यन्त्र’ छ भनेर बहस गर्दै आनन्द लुट्ने हाम्रो मुर्खताको स्तर उपल्लो श्रेणीको छ।

यो भाइरसबारे अझैसम्म थोरै मात्र जानकारी भए पनि विज्ञान जगत यो कुनै प्रयोगशालामा निर्माण गरिएको भाइरस होइन भन्ने टुंगोमा पुगिसकेको छ। तर, हाम्रो मनगढन्ते रटान यथावत् छ।

नेपालमै एक रसायनशास्त्रका सह-प्राध्यापकद्वारा भ्याक्सिन बनाएको हल्लाले एकपटक मूलधारका नेपाली सञ्चार माध्यममा राम्रै प्राथमिकता पायो। भ्याक्सिनका लागि अनुसन्धान गरिरहेका विश्वका सुविधासम्पन्न प्रयोगशाला तथा विश्वविद्यालयसमेत अन्तिम चरणको परीक्षणमै रहेको तथ्यले हामीकहाँ भ्याक्सिनको हल्ला अफवाह मात्रै थियो भन्ने पुष्टि गर्छ।

यो घटनाले विश्व विज्ञान जगतमा नेपालको कद घटाउने काम मात्र गर्‍यो। सायद भविष्यमा नेपाली वैज्ञानिकहरूले प्राप्त गर्ने अनुसन्धान वृत्ति र विश्वसनीयतामा पनि यो घटनाले क्षति पुर्‍याउनेछ।

यति मात्र होइन, चिकित्सा क्षेत्रले हालसम्म कोभिड-१९ को कुनै खास उपचार विधि छैन भन्ने तथ्य आत्मसात् गरिरहँदा हाम्रा प्रधानमन्त्रीले संसदबाटै ‘बेसारपानी र गुर्जोले नै कोरोना भगाउने’ भनेर दोहोर्‍याइ-तेहेर्‍याइ रटान लगाइरहे।

प्रधानमन्त्रीलाई थाहा नहुन सक्थ्यो, तर उनकै अघिपछि घुम्ने विज्ञहरूले लगातार आफ्नो ज्ञानको उपहास र प्रधानमन्त्रीको सर्वत्र विरोध भइरहँदा पनि ‘तपाईंले गलत बोल्नुभयो’ भन्न सकेनन् ।

प्राय: हरेकजसो खानेकुरा वा जडिबुटीमा धेरै वा थोरै रोगसँग लड्ने र प्रतिरक्षा प्रणाली मजबुत बनाउने गुणहरू हुन्छन् नै। यसलाई प्राविधिक भाषामा एन्टिअक्सिडेन्ट, एन्टिबायोटिक वा एन्टिभाइरल गुण भनिन्छ। लगभग समान किसिमको रोग वा उस्तै भाइरसको संक्रमणका लागि समेत एउटै औषधिले काम गर्दैन। कुनै औषधि वा जडिबुटी कुनै रोगविरुद्ध कत्तिको प्रभावकारी छ भनेर व्यापक रूपमा क्लिनिकल ट्रायल गरेपछि मात्र भन्न सकिन्छ।

हामीलाई भने आफ्नो धारणा राखेर बौद्धिक देखिन हतार हुन्छ। हामीले गर्ने अपुष्ट र भ्रमपूर्ण कुराहरूको वैज्ञानिक अध्ययन गर्ने व्यवस्थित विधि हुन्छन्। त्यस्ता कुरा प्रमाणित हुन जटिल अनुसन्धान आवश्यक पर्छ।

यसलाई विज्ञानको सबलता वा दुर्बलता जे भने पनि कुनै नयाँ तथ्य स्थापित हुन सम्पूर्ण उपलब्ध वैज्ञानिक ज्ञानद्वारा प्रमाणित हुनुपर्छ। यसको निम्ति लामो समयको निरन्तर खोज र जटिल अध्ययन प्रक्रियाबाट नगुज्री सम्भव छैन।

विज्ञान र आममानिसबीच दुरी

विपत्तिको समय यस्ता भ्रम फैलिनुको कारण एउटै हो, वैज्ञानिक अनुसन्धान र तथ्यहरूले यी भ्रम विस्थापित गर्नै सकेन। विज्ञान स्वभावत: एउटा परिधिमै सीमित छ। आममानिस र वैज्ञानिक खोज-अनुसन्धानबीच ठूलो खाडल छ।

वैज्ञानिक अध्ययन र खोजहरू जर्नलका जटिल प्राविधिक भाषामा बाँधिएको छ। वैज्ञानिक तथ्यहरूलाई आममानिससम्म पुर्‍याउने र अन्यौल चिर्ने मुख्य जिम्मेवारी समाजको नेतृत्व गर्नेहरूले निर्वाह गर्नुपर्ने हो। तर, बेइमान राजनीतिक नेतृत्वले सीमित स्वार्थका लागि विज्ञानसम्मत् तथ्यलाई महत्व दिँदैनन् र तथ्यहरूलाई आफू अनुकूल बंग्याउने गर्छन्।

विज्ञानको ज्ञानसम्म पहुँच र नियन्त्रण जमाउने नेतृत्व इमानदार नभएसम्म लगातार सीमित व्यक्तिको स्वार्थ वरिपरि वैज्ञानिक तथ्यहरू नचाइराखिन्छ र आममानिस भ्रमित भइरहन बाध्य हुन्छन्। यसले हामी परिस्थितिको सही मूल्यांकन गर्नबाट चुक्छौं र दुर्घटना निम्त्याइरहेका हुन्छौं। कोभिड-१९ नियन्त्रणमा हामी असफल हुनुको मुख्य कारण यही हो।

जुन देशमा अवैज्ञानिक नीति, अप्रमाणित तथ्य र प्रचारवादी हल्लाहरूमा प्राथमिकता दिइयो, त्यहाँ स्थिति भयावह बनेको छ। भारत, अमेरिका, रुस, ब्राजिल र अहिले नेपाल पनि यसको उदाहरण हो। तर, जुन देशले वैज्ञानिक तथ्यमा आधारित भएर जनस्वास्थ्य विज्ञहरूका अनुसार चुस्त योजना र रणनीति अपनाएका छन्, ती देश कोरोनाको चपेटाबाट सजिलै बाहिर आएका छन्। जापान, दक्षिण कोरिया, नेदरल्यान्ड र चीनसमेत यस्ता उदाहरण हुन्।

एक साताअघि अल्जजिरा टिभीको एक अन्तर्वार्तामा पाकिस्तानका प्रधानमन्त्रीले भनेका थिए, ‘पाकिस्तानमा पूरा देश ठप्प गर्ने लकडाउन गलत हुन्थ्यो, हामीले त्यसो गरेनौं, जुन सही निर्णय थियो। जुन देशमा मानिसहरू दैनिक ज्यालादारीमा परिवार पाल्छन्, त्यहाँ त्यस्तो गर्दा कोभिडले भन्दा भोकमरीले मान्छे मर्न सक्छन्। त्यसैले अतिसंक्रमित क्षेत्र मात्रै लकडाउन गर्नु सही निर्णय थियो।’

सैनिक र सरकार मिलेर लकडाउन गरिएको क्षेत्र नियन्त्रणमा राख्ने, सम्पूर्ण तयारीसहित जनतालाई सुसूचित गरेर नै अहिले पाकिस्तानले कोभिड-१९ नियन्त्रणमा ल्याएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले भनेका छन्।

यसको निष्कर्ष के भने, आममानिस र वैज्ञानिक खोज-अनुसन्धानबीच दुरी रहिरहनु नै समस्याको जड हो। यो दुरी तबसम्म मेटिन्न, जबसम्म आममानिससम्म विज्ञान पुग्न सक्दैन वा वैज्ञानिक ज्ञानसम्म आममानिसको पहुँच हुँदैन। त्यसैले विज्ञानको ज्ञानलाई सीमित घेराबाट निकालेर सबैले बुझ्ने र सबैको पहुँचमा पुर्‍याउन विज्ञानलाई बुझ्ने सबैको भूमिका आवश्यक छ।

समाजलाई झक्झकाउन नसक्ने ज्ञान आफैंमा मृत हुन्छ। विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थीहरूले सकेसम्म सबैले बुझ्ने भाषामा वैज्ञानिक ज्ञानलाई सरलीकरण गरेर विश्वविद्यालयको कक्षाकोठाबाट बाहिर आममानिसलाई बुझाउन सक्नुपर्छ। कसैले भ्रम छर्न खोज्दा तर्कसहित खण्डन र खबरदारी गर्नैपर्छ। समाजको नेतृत्व गर्नेहरूलाई हरेक नीतिहरू वैज्ञानिक अध्ययन र तथ्यमा आधारित भएर बनाउन बाध्य पार्नुपर्छ।

सूचना प्रविधि क्षेत्रमा अनेकौं प्रगति हासिल गरे पनि यो महाव्याधिले देखाएको छ, विज्ञानले प्रत्यक्ष मानव जीवनसँग सरोकार राख्ने संक्रामक रोग नियन्त्रणमा उल्लेख्य काम गर्न बाँकी नै छ।

सन् २०१८ मा प्रकाशित एक अध्ययनअनुसार पृथ्वीमा मानिसको जैविक तौल सम्पूर्ण जीवित एकाइहरूको दस हजार भागको एक भाग हुन आउँछ। जबकि, मात्र १०० भागको १५ भाग जैविक तौल हामीले देख्दै नदेख्ने सूक्ष्म जीवाणुहरूको छ। भाइरस मात्रै पनि मानिसभन्दा चार गुणा बढी वजनदार देखिएको छ।

पृथ्वीको जैविक सन्तुलन कायम रहन हरेक जीवित अवयवहरूको कुनैको भन्दा कम वा बढी भूमिका हुँदैन। सार्स रोग फैलिएपछि चीनका कयौं गुफाहरूमा बस्ने चमेरामा पाइने विभिन्न कोरोना भाइरसहरूको ९-१० वर्षको अध्ययनपछि सन् २०१३ तिर वैज्ञानिकहरूले चेतावनी दिएका थिए- विभिन्न भाइरसबीचको निरन्तर मिश्रणका कारण ती गुफामा नयाँ र धेरै घातक भाइरस सिर्जना हुन सक्ने ठूलो सम्भावना छ।

यसो भनेर त्रसित गराउन खोजिएको होइन। यति मात्र सचेत गराउन खोजिएको हो- यस्ता महामारी हिजो पनि थिए, भोलि पनि आउनेछन्। ती सामान्य पनि हुन सक्छन्, घातक पनि।

अहिलेलाई हामीले तुलनात्मक रूपमा सहज महामारीबाट जुन सिक्ने अवसर पाएका छौं, त्यसको सदुपयोग गरौं। सिंगापुर र थाइल्यान्डले स्वाइनफ्लु र सार्स महामारीमा सिकेको पाठ र अनुभवले नै कोभिड-१९ नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सके।

यो महामारीले हामीलाई पनि संक्रामक रोगसँग लड्न अनुभव बटुल्ने अवसर दिएको छ। तर, हामी त झन् भ्रमित र अल्पज्ञानी भएका छौं। ढिलो वा चाँडो अर्को महामारी त आउँछ नै, किनकि कोभिड-१९ न पहिलो हो न अन्तिम। यसपालि विपत्तिसँग लड्न सिक्ने अवसर हामीले सही सदुपयोग गर्न सकेनौं भने योभन्दा अलिकति मात्रै घातक अर्को महामारीमा नराम्रो क्षति बेहोर्नुपर्ने छ।

तत्कालका लागि यो अवस्थाले संक्रमण त बढ्छ नै, अरू दुईवटा अप्ठ्यारा पनि आइलाग्ने छन्।

एक, सामान्य अवस्थामा त बल्लतल्ल चलिरहेको हाम्रो स्वास्थ्य सेवा प्रणाली महामारीको भार थेग्न नसकेर कुनै पनि बेला भताभुंग हुन सक्छ। सामान्य जनता स्वास्थ्य सेवा नपाएर जीवन-मृत्युको दोसाँधमा तड्पिँदै मृत्युवरण गर्न बाध्य हुन सक्छन्।

दोस्रो, हाम्रो सीमित स्रोत र साधनले धान्न नसकेपछि सरकार पुनः निषेधाज्ञाकै बाटो अंगाल्न बाध्य हुन पुग्छ। यसले आमजीवन फेरि उसैगरी कष्टकर घुम्तीमै पुग्नेछ।

यस्ता संक्रमण रोक्न वैज्ञानिक रणनीति र आमनागरिकको व्यक्तिगत भूमिका आवश्यक छ। भ्रम र ढिलासुस्तीको गुञ्जायस हुनु हुँदैन। तमाम भ्रम र अफवाह चिर्न रुढिवादी र अल्पज्ञानी नेतृत्वलाई हस्तक्षेप गर्नैपर्छ। होइन भने यस्तै सूक्ष्म जीवाणुमा आउने कुनै एउटा घातक परिवर्तन (म्युटेसन) सम्पूर्ण मानव जातिको महाविनाशका लागि काफी हुनेछ।

अहिले सामाजिक सञ्जालमा सही जानकारीभन्दा भ्रम, झूट र नकारात्मकता भाइरसभन्दा तीव्र फैलिरहेको छ। दु:खको साथ भन्नुपर्छ,  आजसम्मको हाम्रो ज्ञान र व्यवहारले हाम्रो यात्रा त्यस्तै महाविनाशतर्फ जारी छ भन्ने संकेत गर्छ।

त्रसित नहोऔं, भ्रम नपालौं, सुनेका कुरामा कति सत्यता छ विश्लेषण गरौं। याद राखौं, आमनागरिकको प्रत्यक्ष सहयोगबिना कोभिडविरुद्धको जित सम्भव छैन। त्यसैले यो प्रत्येक नागरिकको पनि व्यक्तिगत लडाइँ र जिम्मेवारी हो।

बरू सरकारका कदम कमजोर भए पनि हामी जिम्मेवार हुँदा अवस्था धेरै नबिग्रेला, हामी सुरक्षित नै रहौंला। तर, हामीले आफ्नो भूमिका बिर्सेर गैरजिम्मेवार भयौं भने सरकारले जत्ति नै गरे पनि स्थिति सुध्रिँदैन। हाम्रोजस्तो आर्थिक हिसाबले कमजोर राज्यमा संक्रमण थपिइरहनु भनेको झन् आर्थिक भार बढ्नु हो। त्यसैले संक्रमण फैलिनबाट रोक्न जिम्मेवार नागरिक बनेर राज्यलाई सहयोग गर्नु हाम्रो दायित्व हो।

भ्याक्सिन सर्वसुलभ नभएसम्म हामीले सायद यो भाइरससँग सहअस्तित्व स्वीकार गर्नैपर्छ। संक्रमणको जोखिम भएका र खतरा समूहलाई बचाएर, उनीहरूसम्म भाइरस नपुर्‍याउने गरी हामीले आफ्नो दैनिक काम गर्नुको विकल्प छैन।

अब आत्तिरहनु पर्दैन, किनभने हामीलाई यो भाइरसबारे धेरै थाहा भइसक्यो। आफ्ना केही बानी व्यवहारमा ध्यान दिँदा सुरक्षित हुन सकिन्छ। यसका लागि अनिवार्य रूपमा सुरक्षित मास्क प्रयोग गरौं। समय-समयमा सम्भव भएसम्म साबुन पानीले हात धुने र सकेसम्म स्यनिटाइजर आफैंसँग बोकेर त्यसको सही प्रयोग गर्ने बानी बसालौं।

सामाजिक दुरी पालना गरौं- भिडभाडमा नजाऔं, भिडभाड नगरौं।


Your Views
Related News