असोज १९, २०७७ काठमाडौं : पशुपति क्षेत्र विकास कोषले ल्याएको १०० वर्षे गुरुयोजनाको विरोध गर्दै पशुपति क्षेत्रका स्थानीय बासिन्दाहरुले प्रदर्शन गरेका छन्। पशुपति क्षेत्र आसपासका प्राचीन वस्ती विस्थापित गर्ने गरी गुरुयोजना आएको भन्दै स्थानीय बासिन्दाहरुले सोमबार पशुपति क्षेत्रमा प्रदर्शन गरेका छन्।

उनीहरुले धर्म, संस्कृति, सभ्यताको विनास हुने गरी गुरुयोजना आएको भन्दै विरोध जनाउँदै आएका छन्। पशुपति क्षेत्रमा हुने २२ वटा जात्रा र १०८ वटा पर्व पूजाबाट प्राचीन बस्ती र धार्मिक महत्त्वबीचको सम्बन्ध प्रमाणित हुने भन्दै प्राचीन वस्ती नहटाउन स्थानीयले माग गरेका पशुपति क्षेत्र संयुक्त संघर्ष समितिका संयोजक कृष्णमान श्रेष्ठले बताए।

स्थानीयले पशुपति क्षेत्र विकास कोषले लागु गर्न लागेको गुरुयोजना खारेज गर्र्न, स्थानीयसँग समन्वम नगरी एकलौटरुपमा गुरुयोजना बनाएको भन्दै सदस्य सचिव तथा पदाधिकारीहरुको राजीनामा माग गरेका छन्। यस्तै, पशुपति क्षेत्र विकास कोष खारेज गरी स्थानीयको नेतृत्वमा नयाँ संरचना निर्माण गर्न, गुरु योजनाको नाममा भएका निर्माण कार्य र ठेक्का बन्द गर्न संघर्ष समितिको माग छ।

READ MORE NES

भैरहवाछेउमै भारतको अन्तर्राष्ट्रिय विमानस्थल

नयाँदिल्ली — भैरहवास्थित गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अन्तिम चरणमा रहेका बेला त्यहाँबाट करिब डेढ सय किमि दूरीमा रहेको भारतको उत्तरप्रदेशस्थित कुशीनगर विमानस्थलबाट एक महिनाभित्र अन्तर्राष्ट्रिय उडान सुरु हुने भएको छ ।

दुई साताअघि भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले त्यसको घोषणा गरिसकेका छन् । तिहारदेखि कुशीनगरमा अन्तर्राष्ट्रिय उडान सुरु हुने लागेको उनको भनाइ छ ।

छ वर्षअघि नै निर्माण सुरु गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमास्थल भने कहिले सञ्चालनमा आउँछ भन्ने टुंगो छैन । सुरुमा यो विमानस्थलको काम डिसेम्बर २०१७ मा सक्ने भनिएको थियो । तर विभिन्न विवादका कारण समयमै पूरा नभएपछि सिभिलतर्फको काम पछिल्लो पटक सम्पन्न हुने मिति डिसेम्बरसम्म सक्ने लक्ष्य राखियो । र, मार्च २०२० देखि उडान सुरु गर्ने योजना थियो । तर सिभिलतर्फको काम प्रायः सम्पन्न भए पनि रडारलगायत प्राविधि जडानको काम अझै सुरु भएको छैन ।

थाई कम्पनीले त्यसको ठेक्का पाए पनि कोभिड–१९ को कारण देखाएर काम अघि बढाएको छैन । जसले गर्दा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्न कम्तीमा पनि सन् २०२१ को मध्यसम्म कुनुपर्ने देखिन्छ । सरकारले भने सन् २०२१ को सुरुमा सञ्चालनमा ल्याउने दाबी गरेको छ । भैरहवाबाट दैनिक १६ वटासम्म अन्तर्राष्ट्रिय उडान गर्ने लक्ष्य छ । जसबाट वार्षिक आउने र जाने गरेर करिब २४ लाख यात्रुलाई सेवा दिने अनुमान छ । विमानस्थलले लुम्बिनी र भारतका बुद्ध सर्किटमा पर्ने विभिन्न पर्यटकीय स्थलको भ्रमणमा आउने विदेशी पर्यटकलाई सेवा दिने अपेक्षा छ । भारतका विभिन्न २१ सहरसँग हवाई सम्झौता छ । र, भैरहवाबाट ती भारतीय सहरसँगै एक घण्टाको दूरीमा रहेका अन्य अन्तर्राष्ट्रिय गन्तव्यसम्म उडान गर्ने लक्ष्य राखिएको छ । सरकारले उक्त विमानस्थलबाट विशेषगरी बौद्धमार्गी पर्यटक र खाडी मुलुकमा रोजगारीमा जाने नेपालीले सेवा पाउने बताउँदै आएको छ । विमानस्थलको काम डिसेम्बर २०२० सम्ममा सक्ने लक्ष्य राखिएको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीको भनाइ छ । विमानस्थलको सिभिलतर्फका प्रायः काम सकिइसकेको र उपकरण जडानको काम जारी रहेको उनले जानकारी दिए । ‘सबै काम भनेअनुसार भयो भने सन् २०२१ को सुरुदेखि अन्तर्राष्ट्रिय उडान थाल्ने योजना हो,’ अधिकारीले भने ।

अधिकारीले त्यस्तो दाबी गरे पनि अझैसम्म भारतसँग हवाई रुटका विषयमा कुरा मिलेको छैन । नागरिक उड्डयन प्राधिकरणले हवाई रुटका लागि भारतको नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) समक्ष फेरि अनुरोध गरेको बताइएको छ । भैरहवा विमानस्थलका लागि नेपालले गोरखपुरको आकाशबाट अवतरण गर्नका लागि सोहीअनुसार हवाई रुट दिन अनुरोध गर्दै आएको छ । तर दर्जनौं पटक छलफल भइसक्दा पनि भारतले सहमति जनाएको छैन । भैरहवा विमानस्थलबाट बाहिरिने ठूला जहाजले फन्को मार्दा भारतीय आकाशमा समेत प्रवेश गर्नुपर्छ । त्यसका लागि पनि भारतीय पक्षसँग औपचारिक सहमति गर्ने पक्षमा नेपाल छ । सहमति भएको खण्डमा भैरहवाबाट उडेको जहाजले गोरखपुरको टावरलाई सामान्य जानकारी गराए मात्र पुग्छ । फेरि अनुमति लिइरहनुपर्दैन । तर यस विषयमा भारतले सहमति जनाउने संकेत दिएको छैन । भारतीय प्रधानमन्त्री मोदीले साउन २०७१ मा गरेको नेपाल भ्रमणका बेला भैरहवा र पोखराका लागि आवश्यक हवाई रुट उपलब्ध गराउने सहमति गरेका थिए । तर ६ वर्ष बितिसक्दासमेत उक्त सहमति कार्यान्वयनमा भारतले चासो देखाएको छैन ।

यता भारतको कुशीनगरबाट अन्तर्राष्ट्रिय उडान थाल्ने घोषणा भइसकेको छ । यही कारणले भैरहवास्थित विमानस्थलले लक्ष्यअनुसार यात्रु नपाउने हो कि भन्ने चिन्ता व्यक्त हुन थालेको छ । मोदी सरकारले गत २४ जुन २०२० मा कुशीनगरलाई अन्तर्राष्ट्रिय उडान अनुमति दिने निर्णय गरेको हो । बौद्धमार्गी पर्यटक र मध्यपूर्व जाने श्रमिकलाई सेवा दिने विमानस्थलको लक्ष्य छ । हाल २१०० मिटरको विमानस्थललाई बढाएर ३२०० पुर्‍याइएको छ । उक्त विमानस्थल गोरखपुरबाट ५२ किमि मात्र टाढा छ । उक्त विमानस्थल बिहारका आधा दर्जन जिल्लाका लागि पनि नजिक पर्छ । उत्तरप्रदेशका अन्तर्राष्ट्रिय उडान गर्ने लखनउ, वाराणसी र नोयडाको जेवरपछि यो चौथो विमानस्थल बन्नेछ ।

भारत सरकारले उडान योजनाअन्तर्गत सीमानजिक हाल सञ्चालनमा रहेका आधा दर्जन हवाई अड्डालाई पनि सञ्चालनमा ल्याउने योजना अघि बढाइसकेको छ । त्यसमध्ये एक हो– बिहारको दरभंगा विमानस्थल । हालसम्म सैनिक प्रयोजनका लागि प्रयोग हुँदै आएको यो विमानस्थलबाट आगामी ८ नोभेम्बरदेखि व्यावसायिक उडान सुरु गरिँदै छ । यो विमानस्थल जनकपुरबाट करिब ८० किमि दूरीमा छ । त्यसैगरी ‘उडान’ अन्तर्गत समेटिएको बिहारकै मुजफ्फरपुरबाट पनि चाँडै नियमित उडान सुरु गर्ने योजना छ ।

हवाई सेवाको पहुँच सर्वसाधारणमा बढाउने उद्देश्यले सन् २०१६ मा मोदी सरकारले ‘उडान’ योजना अघि सारेको हो । यसअनुसार देशका ग्रामीण भेगलाई अन्य सहरी क्षेत्रसँग जोड्न सात सयभन्दा बढी हवाईमार्ग सञ्चालनमा ल्याउने लक्ष्य छ । त्यसका लागि आंशिक सञ्चालनमा रहेका र बन्द रहेका हवाई अड्डाबाट उडान सेवा सञ्चालन गर्ने योजना छ । त्यसअन्तर्गत नेपालसँग सीमा जोडिएका एक दर्जन जिल्लाका पुराना हवाई अड्डा पनि छन् । ती गन्तव्यबाट सञ्चालन हुने उडानको भाडादर पनि एउटा सीमाभित्र रहने व्यवस्था छ । जसले गर्दा ग्रामीण भेगका नागरिकले सस्तो दरमा सेवा पाउनेछन् । उडान योजना कार्यान्वयन भएको खण्डमा सस्तो भाडाका कारण नेपालको तराई मधेसका यात्रुले सीमानजिक रहेका तिनै भारतीय विमानस्थल प्रयोग गर्ने सम्भावना बढी छ । सचिव अधिकारी भने भारतले सुरु गर्न लागेको विमानस्थलले प्रतिस्पर्धा बढे पनि खासै समस्या नपर्ने बताउँछन् । यसबाट बुद्ध सर्किटमा आउने र लुम्बिनी भित्रिने पर्यटकको संख्यामा वृद्धि हुने उनको भनाइ छ । भैरहवा विमानस्थलबाट पोखरा, बर्दिया, चितवन जस्ता पर्यटकीय गन्तव्यले समेत लाभ लिने उनको विश्वास छ । ‘कुशीनगर आउने पर्यटक बुद्धको जन्मस्थल आउने झन् बढी सम्भावना छ । त्यही भएर यसबाट झन् फाइदा हुने देख्छु,’ अधिकारीले भने ।


Your Views
Related News