अकल्यान्ड, १९ असोज (रासस–एएनआई) न्यूजील्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डेनले न्यूजील्यान्डको अकल्यान्डमा कोरोनाभाइरस संक्रमण दरमा उल्लेखनीय रुपमा सुधार आएको भन्दै निषेधाज्ञाहरु खुकुलो बनाइएको घोषणा गर्नु भएको छ । सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रधानमन्त्री आर्डेनले न्यूजील्यान्डले कोरोनाभाइरसलाई फेरि पनि परास्त गरेको बताउनुभयो । उहाँले कोरोना संक्रमण बढेलगत्तै अकल्यान्डमा लगाइएका निषेधाज्ञाहरु यसै साताबाट खुकुलो बनाइने जानकारी दिनुभयो ।

प्रधानमन्त्री आर्डेनले विगत १२ दिनदेखि अकल्यान्ड शहरमा नयाँ रोगी नदेखिएको पनि बताउनुभयो । सेप्टेम्बरको अन्त्यमा आर्डेनले न्यूजील्यान्डमा कोरोना संक्रमण देखिएको भन्दै प्रतिबन्धहरु घोषणा गर्नु भएको थियो । न्यूजील्यान्डका स्वास्थ्य मन्त्रीले विगत २४ घण्टाको अवधिमा एक व्यक्तिमा मात्र कोरोनाभाइरस संक्रमण देखिएको बताउनुभयो । देशभित्र हाल ४० जना संक्रिय संक्रमित छन् ।

READ MORE NEWS

कोरोनाभाइरस संक्रमणको दोस्रो लहर शुरु, यस्ता प्रतिबन्धहरुको घोषणा

१९ असोज (रासस÷एएफपी) ः विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या सोमबारसम्म १० लाख ४१ हजार ८९३ जना पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयकाअनुसार कोभिड–१९ बाट सङक्रमित हुनेको संख्या विश्वभर तीन करोड ५४ लाख ६ हजार भन्दा बढी पुगेको छ । कूल सङ्क्रमितमध्ये दुई करोड ६६ लाख ३१ हजार भन्दा बढी हजार निको छन् भने करिब ७७ लाख ३३ हजार मानिस सक्रिय सङ्क्रमित छन् ।

विश्वभर अझै पनि ६६ हजार भन्दा बढी मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ । पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको संयुक्तराज्य अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ भने यहाँ सङ्क्रमितको संख्या पनि ७६ लाख ३६ नाघिसकेको छ । कोरोना सङक्रमणबाट अमेरिकामा हालसम्म दुई लाख १४ हजार ६११ जनाको मृत्यु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प दुवैलाई कोरोना भाइरस संक्रमण भएको छ ।

कोरोना सङ्क्रमणको कारण दोस्रो स्थानमा रहेको अर्थात विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको देश भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या एक लाख नाघेको छ । आजसम्म प्राप्त समाचारअनुसार भारतमा ६६ लाख २३ हजार ८१५ जना कोरोना भाइरस सङ्क्रमित भएको र यस सङ्क्रमणबाट एक लाख २ हजार ७१४ जनाको मृत्यु भईसकेको छ ।

कोरोना सङ्क्रमणलाई हेर्दा तेस्रो स्थानमा रहेको देश ब्राजिलमा ४९ लाख १५ हजार भन्दा बढी व्यक्ति सङ्क्रमित भएकामा एक लाख ४६ हजारको मृत्यु भएको छ । खोप विकास गरिसकेको घोषणा गरेको रसियामा १२ लाख १५ हजार भन्दा बढी सङ्क्रमित रहेका छन् भने २१ हजार ३५८ जनाको मृत्यु भएको छ भने दैनिक सङ्क्रमितको संख्या पनि बढ्दो छ । युरोपेली मुलुकहरु खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर शुरु भएको आँकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरुको घोषणा गर्न थालिएको छ ।

READ MORE NEWS

यी दुई विषयले अफगान–तालिबानबीच प्रत्यक्ष वार्ता अझै हुन दिएन

दोहा, कतार, १९ असोज (रासस–एएनआई) कतारको दोहामा अफगान सरकार र तालिबानबीच अन्तर–अफगान औपचारिक संवाद शुरु भएको २२ दिन पुगे पनि दुबै पक्षबीच प्रत्यक्ष वार्ता अझै हुन सकेको छैन । दुबै पक्षका वार्ता टोलीले सातवटा सम्पर्क समूह बैठकहरु गरेका छन् तर यी बैठकमा दुईवटा विवादास्पद विषयमा सहमति हुन सकेको छैन । सम्पर्क समूहका बैठकहरु पनि विगत छ दिनदेखि बस्न सकेका छैनन् ।

तालिबान समूहले अमेरिका–तालिबानबीचको सम्झौतालाई मान्यता दिनुपर्ने तथा हनाफी न्यायप्रणालीलाई स्वीकार्नु पर्ने शर्तहरु अघि सारेको छ । तर, अफगान सरकारले भिन्न प्रस्ताव अघि सारेको छ । सरकारले कुनै धार्मिक कुरासँग सम्बन्धित विषय उठे त्यसलाई हनाफी न्यायप्रणालीबाट सम्बोधन गर्न सकिने जनाएको छ ।

शिया कानुन मुलुकभर समान ढंगबाट लागू हुने भएपनि धार्मिक अल्पसंख्यकका धार्मिक कानुनलाई पनि मान्यता दिनुपर्ने प्रस्ताव सरकारको छ । तालिबान सरकार र तालिबानबीच गत सेप्टेम्बर १२ देखि कतारको दोहामा शान्तिवार्ता जारी छ । यस वार्तामा दशकौं लामो गृहयुद्ध अन्त्य गर्ने उपायका बारेमा छलफल हुँदैछ ।

अफगान गृहयुद्धमा हालसम्म दशौं हजार नागरिकको ज्यान गइसकेको छ । वार्तामा ढिलाई भएपछि अमेरिकी र अन्य मुलुकहरुले सहमतिका लागि कुटनीतिक प्रयत्न जारी राखेका छन् । अमेरिकी विशेषदूत जाल्मे खलिलजाद गत साता दोहामा आएर दुबै पक्षका वार्ता टोलीसँग छलफल गर्नु भएको थियो । यसैबीच, नेटोका वरिष्ट प्रतिनिधि स्टेफानो पोन्टेकोर्भोले पनि वार्ता टोलीका संयोजक एवं सदस्यहरुसँग छलफल गर्नु भएको छ ।

 


Your Views
Related News