काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले आगामी तीन वर्षभित्र मुलुकबाट फुस र खरका छाना विस्थापित गरिने बताउनुभएको छ । विश्व बसोबास दिवसको शुभकामना दिँदै उहाँले नागरिकको मुहारमा खुशी र जीवनयापन सहज बनाउन ७५३ वटै स्थानीय तहमा कम्तीमा एक लाख परिवारको घरमा आधुनिक छानोको प्रबन्ध हुने जनाउनुभएको हो ।

राज्यमन्त्री मानन्धरले बेसाहरा नागरिकको संरक्षण गर्ने दायित्व राज्यले पूरा गर्ने जनाउँदै विपन्न नागरिकलाई सुरक्षित आवास दिलाउन सरकार लागि परेको र आवासको अधिकार सम्बन्धी ऐन कार्यान्वयनमा रहेको बताउनुभयो । कोरोना सङ्क्रमणका कारण विकासमा केही बाधा देखिएको उल्लेख गर्दै उहाँले अब कोरोनाबाट जोगिँदै मुलुकलाई समृद्धिको बाटोतर्फ अघि बढाइने बताउनुभयो ।

READ MORE NEWS

कोरोना सङ्क्रमणका कारण एक वृद्धको मृत्यु

  •  सोमबार १९ असोज, २०७७

काठमाडौं । झापाको विर्तामोड नगरपालिका–५ मा कोरोना सङ्क्रमणका कारण एक वृद्धको मृत्यु भएको छ । बयासी वर्षीय वृद्धको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको विर्तामोड स्वास्थ्य शाखाका कोभिड–१९ रोकथाम तथा नियन्त्रण संयोजक ओम खड्काले बताउनुभयो ।

दमका रोगी उहाँलाई चार दिनअघि स्वास्थ्यमा समस्या आएपछि विर्तामोडस्थित विर्तासिटी हस्पिटलमा उपचारका लागि भर्ना गरिएको थियो । उहाँका अनुसार अस्पतालले वृद्धलाई त्यहाँ उपचार सम्भव नहुने भन्दै नोबेल अस्पताल पठाएको थियो । उपचाररत वृद्धको शनिबार स्वाब सङ्कलन गरी कोरोना परीक्षण गरिएको थियो ।

आइतबार बिहान ९ बजे उहाँको रिर्पोट पोजिटभ आएको र बेलुका ५ बजे मृत्यु भएको संयोजक खड्काले जानकारी दिनुभयो । झापामा उहाँसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ भने सङ्क्रमितको सङ्ख्या ९३१ रहेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका फोकलपर्सन जीवन चौलागार्इंले बताउनुभयो ।

READ MORE NEWS

नेपाली सेनाले शान्ति मिसनमा पठायो ७८ जनाको फौज

  •  सोमबार १९ असोज, २०७७

काठमाडौ । नेपाली सेनाले दक्षिण सुडानमा शान्ति मिसनमा तैनाथ टोलीको अदली बदली गरेको छ। आज बिहान ७८ जना नेपाली शान्ति सैनिकको पहिलो डफ्फा मिसनमा सुडान प्रस्थान गरेको छ।

 

 

दक्षिण सुडानमा रहेको टोली असोज २० गते नेपाल आइपुग्ने नेपाली सेनाले जनाएको छ। कोरोना महामारीमा पनि शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप गरिएको यो अदली बदलीमा सम्पुर्ण सुरक्षा सतर्कता तथा प्रोटोकलहरूको पालना गरिएको नेपाली सेनाले जनाएको छ।

 

यस अघि नै शान्ति मिसनमा सेनामा पठाउने रणनीति रहेको सेनाले शान्ति सेनाका लागि काभ्रेको पाँचखालमा तालिमरत सेनामा कोरोना संक्रमण देखिएपछि रोकिएको थियो।

READ MORE NEWS

कक्षा १२ को परीक्षा बारे शिक्षामन्त्रीको पछिल्लो बयानले विद्यार्थीमा तरंग

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कक्षा १२ को परीक्षा लिखितरुपमै लिने गरी गृहकार्य भइरहेको बताउनुभएको छ । उहाँको यो पछिल्लो बयानले विद्यार्थीमा तरंग पैदा भएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण उच्च गतिमा फैलिरहेका बेला कतै सरकारले जोडबलमा परीक्षा त गराउने हैन भन्ने त्रास उनीहरुमा छ । यही बीचमा शिक्षा मन्त्रीले विद्यालय तहको अन्तिम परीक्षा भएकाले लिखित लिनुको विकल्प नभएको स्पष्ट पार्नुभएको छ ।

 

 

परीक्षासम्बन्धी गृहकार्य गरिरहेका तथा केही दिनमा निर्णय हुने जानकारी दिँदै उहाँले दुर्गममा होम सेन्टर, सुगममा नजिकको परीक्षा केन्द्रमा व्यवस्थापन गर्ने गरी तयारी भइरहेको बताउनुभयो । राष्ट्रिय परीक्षा बोर्डले जिल्लाबाहिर रहेका विद्यार्थीको तथ्यांक संकलन गरिरहेको र सो तथ्यांक प्राप्त भएपछि कसरी लिखित परीक्षा व्यवस्थापन गर्ने भन्ने विषयमा निर्णय हुने मन्त्रीले बताउनुभयो ।

 

 

 

मन्त्रालयको पछिल्लो तयारीको अवस्था विश्लेषण गर्दा मंसिरयता परीक्षा हुने छाँट देखिएको छैन । मन्त्री पोखरेलले भने अन्तिम तयारी भइरहेको दाबी गर्नुभयो । मन्त्रालयले कोही पनि विद्यार्थीलाई सवारीसाधनको सुविधा भएको घर पायक र परीक्षाका लागि डेरा खोज्न नपर्ने स्थानबाट परीक्षा दिने गरी व्यवस्थापन गर्न बोर्डलाई निर्देशन दिने तयारी गरेको छ ।

 

 

मन्त्रालयका प्रवक्ता दीपक शर्माले लिखितरुपमा परीक्षा लिने प्रस्तावको बारेमा छलफल भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘यस्तो अवस्थामा भौतिक दूरी कायम गरी स्वास्थ्य मापदण्ड पालना गरेर मात्र परीक्षा गर्ने तयारी भइरहेको छ ।’

 

 

मन्त्रालयले सबै विधि र प्रक्रिया तयार गरी गएको मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव पेस गरेको थियो । गएको मन्त्रिपरिषद्को बैठकले कक्षा १२ को परीक्षाको विषयलाई प्राथमिकतामा नराखी राजदूत र मुख्यसचिव नियुक्ति गर्ने निर्णय गरेको थियो ।

 

 

कक्षा १२ को विषयमा कहिले निर्णय हुन्छ भन्न सक्ने अवस्था छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सचिवालयका ५ सहित झन्डै ७५ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएपछि अत्यावश्यकबाहेक सबै काम बन्द गर्नुभएको छ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।


Your Views
Related News