सल्यान — शारदा नगरपालिका–२ मैसेपानीनजिकै वनमा सोमबार बिहान एक शिशु बेवारिस अवस्थामा फेला परेका छन् ।

वनमा घुम्न गएका श्रीनगरका स्थानीयले रुँदै गरेको बालक देखेपछि प्रहरीलाई खबर गरेका थिए । बालक झन्डै ६ महिनाजति उमेरका रहेको र नजिकै एउटा झोलासमेत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्द थापाले बताए ।

आमाले बालकलाई बिहानपख छाडेर गएको हुन सक्ने प्रहरीको अनुमान छ । बालकलाई अहिले जिल्ला अस्पतालमा राखेर घटनाबारे अनुसन्धान भइरहेको थापाले जानकारी दिए । बालकको अवस्था सामान्यय रहेको जिल्ला अस्पतालले जनाएको छ ।

READ MORE NEWS

निगमको वाइडबडी १३ दिनदेखि ‘ग्राउन्डेड’

काठमाडौँ — चाडबाड नजिकिएसँगै उडान संख्या बढाउनुपर्ने बेला नेपाल वायुसेवा निगमको दोस्रो वाइडबडी विमान १३ दिनदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउन्डेड’ भएको छ ।

निगमका एक प्राविधिकका अनुसार उक्त विमान असोज ७ गते मेडिकल कार्गो लिन चीनको कुनमिङ उडानमा रहेका बेला सिन्धुलीको आकाशबाटै फर्किएको थियो । नेपाली नाम मकालु भएको वाइडबडीको दायाँ पखेटामा रहेको फ्ल्यापमा समस्या देखिएको संकेत पाइएपछि पाइलटले उडान रद्द गरेका थिए ।

झन्डै दुई साता बितिसक्दा पनि निगमको इन्जिनियरिङ विभागले जहाज मर्मत गरेको छैन । निगमको वाणिज्य विभागले २ सय ७४ सिट क्षमताको वाइडबडी विमान ग्राउन्डेड भएपछि १ सय ५८ सिट क्षमताको न्यारोबडीबाट उडान गर्नुपरेको जनाउँदै आएको छ । ‘ठूलो जहाज जाने अन्तर्राष्ट्रिय गन्तव्यहरूमा सानो जहाज पठाउनुपरेको छ,’ निगमका एक अधिकारीले भने, ‘यसको असर निगमको आम्दानीमा परेको छ ।’

नौ महिनाको अवधिमा यो विमानको फ्ल्यापमा समस्या देखिएको यो तेस्रोपटक हो । यो समस्यामा जहाज उत्पादन गर्ने एयरबसका इन्जिनियरले अनुसन्धान गरिरहेको निगमका एक इन्जिनियरले कान्तिपुरलाई बताए । ‘यो मेकानिकल फेलियर हो । एयरबसलाई जानकारी गराएका छौं । उसले अनुसन्धान गरिरहेको छ । मंगलबार साँझसम्म स्पेयर्स पार्ट्स काठमाडौं आइपुग्दै छ, बिहीबारसम्म जहाज मर्मत गरेर वाणिज्य विभागलाई हस्तान्तरण गर्ने योजना छ,’ उनले भने । निगमले लकडाउनकै समयमा यो विमानको हरेक दुई वर्षमा अनिवार्य गरिने सी–चेक (सम्पूर्ण मर्मत) एक महिनाअघि मात्रै इन्डोनेसियाको जीएमएफ एरोएसिया नामको कम्पनीबाट गरेर ल्याएको थियो । यो मर्मतमा निगमले करिब डेढ करोड रुपैयाँ खर्च गरेको थियो । अहिले देखिएको फ्ल्यापको समस्या र सी–चेकको सम्बन्धबारे पनि प्राविधिकले अनुसन्धान गरिरहेको इन्जिनियरहरूले बताएका छन् ।

‘सी–चेक र यो फरक विषय हो,’ निगमका एक अर्का अधिकारीले भने, ‘तर पनि हामी यसमा एयरबसको सम्पर्कमा रहेर अनुसन्धान गरिरहेका छौं ।’

कांग्रेसको अवरोधपछि प्रदेश ५ को प्रदेशसभा बैठक स्थगित

बुटवल — प्रमुख प्रतिपक्षी दल कांग्रेसले अवरोध गरेपछि प्रदेश ५ को प्रदेशसभा बैठक स्थगित भएको छ । कांग्रेस सांसदहरुले उठेर नाराबाजी गर्दै अवरोध गरेपछि सभामुख पूर्णबहादुर घर्तीमगरले २ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

प्रदेश ५ को नामकरण र राजधानीका बारेमा विशेष समितिको प्रतिवेदन सार्वजनिक गर्न कांग्रेसले माग गरेको थियो । बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता वीरेन्द्र कनौडियाले सरकारले ल्याएको प्रस्तावको औचित्य पुष्टि गर्न माग गरेका थिए । समिति र विज्ञले दिएको सुझावविपरीत बाहिर सुरक्षा घेरा हालेर संसद्‍मा राजधानीका बारेमा निर्णय गर्न खोज्नु सरकारको तानाशाही प्रवृत्ति भएको कनौडियाले बताए ।
सरकारले प्रदेश ५ को राजधानी दाङको देउखुरी क्षेत्र र नाम लुम्बिनी राख्न प्रदेशसभामा प्रस्ताव पेस गरेको छ । त्यसै प्रस्तावबारेमा सोमबार सदनमा छलफल हुने कार्यसूची रहेको छ ।

यसैबीच प्रदेश ५ को नेकपा स‌ंसदीय दलले प्रदेशको नाम लुम्बिनी र राजधानी दाङको देउखुरी बनाउने प्रदेश सरकारको प्रस्तावका पक्षमा मत हाल्न आफ्ना प्रदेशसभा सदस्यहरुलाई हि्वप जारी गरेको छ ।

संसदीय दलको साेमबार बसेकाे बैठकमा मुख्यमन्त्री तथा संसदीय दलका नेता शंकर पोखरेलले सरकारको निर्णयका पक्षमै मत हाल्न ह्विप जारी गरेका हुन् ।

प्रदेश ५ मा नेकपाका ६१, कांग्रेसका १९, जनता समाजवादीका ६ र राष्ट्रिय जनमोर्चाका १ गरी ८७ सदस्य छन् । सरकारको प्रस्ताव पारित हुनका लागि ५८ मत चाहिन्छ जुन नेकपाले ह्विप जारी गरेपछि पूरा हुने देखिएको छ । यसअघि दाङको देउखुरी क्षेत्रलाई प्रदेशको स्थायी राजधानी बनाउने प्रस्तावमा लुम्बिनी क्षेत्रका नेकपाका १४ सांसदले नोट अफ डिसेन्ट लेखेका थिए ।

डा. केसीको स्वास्थ्य नाजुक हुँदा पनि सरकार उदासीन देखियो : साझा पार्टी

काठमाडौँ — चिकित्सा क्षेत्रको सुधारका विभिन्न माग राखी २२ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको अवस्था र त्यसप्रति सरकारले उदासीनता देखाएको भन्दै साझा पार्टीले चिन्ता व्यक्त गरेको छ ।

डा. केसीले १९औँ अनशनमा राखेका कुनै पनि माग नाजायज नभएको भन्दै सरकारले विश्वमै विरलै भेटिने डा. केसी जस्ता गरिब र निमुखा नागरिकका लागि ज्यानै अर्पण गर्न तयार सत्याग्रहीको माग पूरा गर्नुपर्ने पार्टीका प्रवक्ता शरदराज पाठकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
डा. केसीले २०६९ सालमा पहिलो अनशन सुरु गरेयताका सबैजसो मागहरू सत्तापक्ष र प्रतिपक्षले तथा देशको संविधानले अख्तियार गरेको समाजवादी सोचसँग मिल्दाजुल्दा भए पनि यिनै दलले पटक-पटक सरकारको नेतृत्व गर्दा पनि उस्तै माग राखेर पटक-पटक अनशनमा बस्नुपर्ने स्थिति रहिरहनु विडम्बनाको विषय भएको साझा पार्टीले बताएको छ ।

वर्तमान प्रधानमन्त्री केपी ओली नेतृत्वमा भएको बेलामा मात्र डा. केसी ६ पटक अनशन बसिसकेको उल्लेख गर्दै साझा पार्टीले यस पटक अक्सिजन लिनुपर्ने अवस्थामा पुगिसक्दा समेत सरकारले क्रुर असंवेदनशीलता प्रकट गरिरहेको र वार्ता टोलीसम्म गठन नगर्नु दु:खद भएको बताएको छ । ‘के सरकारले डा. केसीलाई मार्नै खोजेको हो?’ भनेर पनि सरकारसँग प्रश्न गरेको छ ।

‘पछिल्लो पटक २०७५ साउन १० गते केसीसँग अहिलेकै सरकारले गरेको सम्झौता कार्यान्वयन गराउने सार्वजनिक प्रतिबद्धता जाहेर गरेका प्रधानमन्त्रीलाई डा. केसी तिनै मागहरूसहित पुन: अनशन बस्दा किन लज्जाबोध भइरहेको छैन? किन उल्टै जिम्मेवार मन्त्री खटाएर सरकार उनलाई गलत देखाउने चेष्टा गर्दैछ?,’ साझा पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सरकारी बेवास्ताले डा. केसीको ज्यान जोखिममा परे त्यसको मूल्य सरकारलाई भारी पर्ने पनि साझाले जनाएको छ ।

Your Views
Related News