हस्तिनापुरका राजाको दरबारमा कौरव र पाण्डव पक्षबीच जुवा खेल भयो। खालमा कौरवको जित र पाण्डवको हार भयो। पाण्डवहरूका सारा सम्पत्ति स्वाहा भयो। युधिष्ठिरले चार भाइलाई दाउमा त राखे नै, आफूलाई पनि राखे। द्रौपदी बाँकी थिइन्, उनलाई पनि दाउ थापे। त्यो पनि हारे।

सबै दाउ जितेपछि कौरव पक्षको अहम् बढ्यो। उनीहरूले संसारै जितेको महसुस गरे। कतिसम्म भने दुर्योधनका भाइ दुःशासनले त्यो जुवाहलभरि रहेका मानिसका बीचमा द्रौपदीको वस्त्रहरण सुरु गरे। द्रौपदी आत्तिइन्। राजा धृतराष्ट्रतिर फर्केर सहयोगको याचना गर्दै करुणामय स्वरमा दुवै हात फैलाइन् र भनिन्, ‘हे महाराज, म पनि हजुरकै छोरीजस्तै त हुँ नि।

मेरो ठाउँमा हजुरकी छोरी भए कस्तो लाग्थ्यो ? त्यसैले मेरो वस्त्रहरण गर्नबाट दुःशासनलाई रोक्नुस्।’

द्रौपदीले पटकपटक पुकारा गरिन्, तर राजाले घोसेमुन्टो लगाइरहे। पितामह भीष्म, गुरु द्रोणाचार्य, कृपाचार्यसँग पनि यसरी नै अनुनयविनय गरिन्। उनका आफ्नै पाँच पतिहरूले पनि उनको पुकारा सुनेर पनि केही गर्न सकेनन्। दुःशासनलाई रोक्ने आँट कसैले पनि नगरेपछि अन्तिम अवस्थामा द्रौपदीले भगवान्लाई सम्झिइन्। भनिन्, ‘हे कृष्ण, दुःशासनले मेरो वस्त्रहरण गरेर बेइज्जत गर्न खोज्दै छ, रोक्नुस्। हे जगत्पिता म तिम्रै सन्तान हुँ। तिम्रो सन्तानको रक्षा तिमी नै गर। म तिमीमै समर्पित भएँ।’

द्रौपदीले पुकारा गर्नासाथ भगवान् श्रीकृष्णले वस्त्र दिइरहे। वस्त्र तान्दातान्दा दुःशासन बेहोस भएर ढल्यो। द्रौपदी चीरहरण हुनबाट जोगिइन्। उनले सुरुमा पितामह र द्रोणाचार्यसँग पुकारा गरेकी थिइन्, तर कसैले पनि उनको सुरक्षा गर्न सकेनन्। पितामह र गुरु द्रोणाचार्यले दुःशासनलाई द्रौपदीको चीरहरण नगर भनेर रोक्न सक्थे, तर दुवैजना कौरवका अगाडि निरिह हुन पुगे। अन्ततः द्रौपदीले भगवान् कृष्णलाई नै पुकार्नुपर्‍यो।

द्रौपदीले आपत्का बेला आखिरीमा मात्र भगवान् कृष्णलाई सम्झिइन्। उनले त सुरुमा पितामह भीष्म र गुरु द्रोणाचार्यलाई सम्झेकी थिइन्, तर उनीहरूले बचाउन सकेनन्। युधिष्ठिर र उनका भाइहरूले कौरवसँग जुवा खेल्दा एकपटक पनि भगवान्लाई सम्झेनन्। अन्ततः उनीहरूले हार्नुपर्‍यो।

विपत्मा मात्र भगवान् सम्झने आम मानिसको स्वभावै हो। यस्तै बानीले बेलाबेलामा हामी विपत्तिमा पर्ने गर्दछौं। आपत् पर्दा मात्र होइन, अघिपछि खाँदा, बस्दा, उठ्दा, काम सुरु गर्दा पनि भगवान् सम्झने गरौं। जसले भगवान् सम्झिरहन्छ, उसका विपत्ति टरेर जान्छ। भगवान् भक्तलाई सदैव हेर्छन्। द्रौपदीलाई भैंm विपत्तिबाट जोगाउँछन्।

READ MORE NEWS

पाथीभराको नाम ‘मुक्कुम्लुङ्’ राख्‍न माग, चन्दा संकलन गरेर आन्दोलनको तयारी


Your Views
Related News