काठमाडौं। कोभिड–१९ को महामारीले सिर्जना गरेको विषम् परिस्थितिमा अध्ययन अध्यापन नियमित गराउनका लागि अपनाइएको अनलाइन कक्षाबाट विद्यार्थी र ‘वर्क फ्रम होम’मा संलग्न अन्य पेसाका व्यक्तिहरूलाई आँखासम्बन्धी प्रभावहरू बढ्दै गएको देखिन्छ। अनलाइन कक्षालाई शिक्षा मन्त्रालयले मान्यता दिइसकेको अवस्थामा धेरैजसो विद्यालयहरूले अनलाइन कक्षालाई अझ सशक्त रूपमा अगाडि बढाइरहेका छन्।

दिनमा चारदेखि ६ घण्टाको अनलाइन कक्षा, त्यसपछिको दुईदेखि तीन घण्टाको अनलाइन गृहकार्य तथा नोट बनाउने, केही घण्टा मोबाइल, टीभी, ल्यापटपजस्ता विद्युतीय उपकरणहरूको प्रयोग गरी औसतमा विद्यार्थीहरूले प्रत्येक दिन आठदेखि १० घण्टा डिजीटल स्क्रिन हेरेर बिताउने गरेका छन्। यसरी लामो समयसम्म स्क्रिनमा हेरिरहँदा आँखामा विभिन्न प्रकारका तत्काल तथा दीर्घकालीन समस्या देखिन सक्दछन्।

आँखामा पर्ने तत्कालका असरहरूमध्ये आँखा पोल्ने, बिझाउने, आँसु बग्ने र हेर्न कठिनाइ हुने मुख्य हुन्। त्यसैगरी एकनास रूपमा हेरिरहँदा आँखा नझिम्काउने कार्य सामान्य अवस्थामाभन्दा न्यून हुन गई आँखा सुख्खा हुने, खार्ने तथा भारी महसुस हुने हुन्छ। यस्ता स्क्रिनहरूबाट आउने विकिरणले गर्दा निन्द्रामा गडबडी हुन सक्ने तथ्य पनि विभिन्न खोज अनुसन्धानले देखाइसकेको छ।

विकिरणबाट बच्न बजारमा विभिन्न किसिमका चश्माहरू पाइन्छ। तर ती चश्माहरू विद्यालय उमेर (तीनदेखि १२ वर्ष)का बालबालिकाहरूका लागि उपयोगिता तथा प्रभावकारिता भने अझै अनुत्तरित रहेको छ। अतः यस्ता विद्युतीय उपकरणमा धेरै नजिक गएर (२० सेन्टिमिटरभन्दा कम दूरी) लामो समयसम्म (तीनदेखि ६ घण्टा) पढ्दा विद्यालय उमेरका बालबालिकामा दीर्घकालीन रूपमा अदूर दृष्टिदोषको समस्या बढ्दै गएको देखिन्छ।

विश्व स्वास्थ्य संगठनले सन् २०५० सम्ममा विश्वका आधा जनसंख्यामा अदूर दृष्टिदोषको प्रक्षेपण गरेको भए पनि अत्यधिक डिजीटल स्क्रिनको प्रयोगबाट यसको व्यापकता अझै चाँडो देखिन सक्दछ। यसको समाधानका लागि अब अनलाइन कक्षा नलिने होइन, अनलाइन कक्षालाई व्यवस्थित तरिकाले सञ्चालन गर्न जरूरी भएको छ।

 

विश्व स्वास्थ्य संगठनले पाँच वर्षमूनिका बालबालिकालाई एक घण्टाभन्दा कम समयमात्र डिजीटल उपकरण प्रयोग गर्न सल्लाह दिएको छ। यसैगरी पाँच वर्षमाथिका बालबालिकालाई केही समयको विश्राम लिई दिनमा करिब दुईदेखि तीन घण्टामात्र प्रयोग गर्नु उचित मानिएको छ।

 

अनलाइन कक्षा सञ्चालनसम्बन्धी शिक्षक, अभिभावक तथा विद्यार्थीलाई नेपाल दृष्टि विशेषज्ञ संघले तयार गरेका सुझावहरूः

 

१) कक्षा सत्रको समावधिः

 

  • एक कक्षाभन्दा मुनिका लागि ३० मिनेटभन्दा कम समयको अनलाइन कक्षा सञ्चालन गर्ने।
  • एक देखि आठ कक्षाका विद्यार्थीका लागि एक दिनमा दुईवटा कक्षासत्र गरी जम्मा डेढ घण्टाको अनलाइन कक्षा सञ्चालन गर्ने।
  • नौदेखि १२ कक्षाका विद्यार्थीको लागि एक दिनमा ४५ मिनेटको चारवटा कक्षासत्र गरी जम्मा तीन घण्टाको अनलाइन कक्षा सञ्चालन गर्ने।
  • १२ कक्षाभन्दा माथिका विद्यार्थीका लागि एक दिनमा ४५ मिनेटको चारदेखि पाँच वटासम्म कक्षासत्र गरी जम्मा तीनदेखि चार घण्टाको कक्षा सञ्चालन गर्ने।

२) ४५ मिनेटको कक्षामा पालन गनुपर्ने सर्तहरूः

 

  • ४५ मिनेटको कक्षालाई २०/२० मिनेटको दुई खण्ड गरी पढाउने।
  • बीचमा पाँच मिनेटको विश्राम दिने।
  • पाँच मिनेटको विश्राममा पानी पिउने, लगभग दुई मिनेटजति उभिने, आसन परिवर्तन गर्ने, तीन मिनेटजति यताउता हिँड्ने र लगभग पाँचदेखि १० पटक आँखा झिम्काउने।

३) अनलाइन कक्षाका लागि आवश्यक वातावरणः

 

  • अनलाइन कक्षा लिँदा उज्यालो कोठामा बस्ने, धेरै चम्किलो प्रकाश भएको कोठामा नबस्ने, हावाको आवतजावत हुने कोठामा बस्ने।
  • अनलाइन कक्षाका लागि बस्दा डिजीटल उपकरण १८ देखि २४ इन्च टाढा राख्ने।
  • कम्प्युटर स्क्रिनलाई आँखाको सतहभन्दा १५ देखि २० डिग्री तल राख्ने।
  • ढाँड सिधा हुनेगरी बस्ने या अगाडि कुप्रो परेर नबस्ने।
  • बेडमा सुतेर, सोफामा पल्टेर वा धेरै नजिकबाट कम्प्युटर स्क्रिनहरू नहेर्ने।
  • आँखामा सिधा बाह्य प्रकाशका किरणहरू नपस्ने गरी बस्ने।
  • प्रत्येक २० मिनेटमा आफ्नो आसनको ख्याल गर्ने र त्यसलाई सुधार्ने।

४) आँखाका सुरक्षाका लागि यस्ता उपायहरू अवलम्बन गर्न सकिन्छः

 

  • दिनमा दुईपटक (बिहान र बेलुका) सफा र चिसो पानीले आँखा पखाल्ने।
  • दिनमा कम्तीमा दुईदेखि तीन लिटर पानी पिउने।
  • बिहानपख तातो पानीमा सफा कपडा भिजाइ निचोरेर आँखालाई सेक्ने।
  • डिजीटल उपकरण प्रयोग गर्दा प्रत्येक २० मिनेटमा २० सेकेन्डको लागि विश्राम लिने र २० फिटभन्दा टाढा झ्यालबाट बाहिर हेर्ने।
  • दुई घण्टाको निरन्तर डिजीटल डिभाइस प्रयोग गर्दा कम्तीमा १५ मिनेटको ब्रेक अनिवार्य लिनुपर्छ।
  • समय–समयमा आँखा झिम्काउने र यो प्रक्रिया बाराम्बर गर्ने।
  • सुत्नुभन्दा कम्तीमा एक घण्टा अगाडि नै विद्युतीय उपकरणहरू हेर्न बन्द गर्नुपर्छ।
  • एसी तथा पंखाका हावाहरू सिधा आँखामा नपर्ने र सकेसम्म टाउकोको पछाडि पर्नेगरी राख्ने। आँखाको दृष्टि धमिलो भए तथा टाउको दुख्ने समस्या भए आँखा जाँच गराउनु उपयुक्त हुन्छ।

यी उपाय अपनाउँदा अनलाइन कक्षा तथा डिजीटल डिभाइस प्रयोग गर्दा आँखामा पर्नसक्ने प्रभाव धेरै हदसम्म न्यूनीकरण गर्न सकिन्छ।

 

(स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गर्ने कोभिड–१९ सम्बन्धी नियमित प्रेस ब्रिफ्रिङमा ‘विश्व दृष्टि सप्ताह–२०२०’ को अवसर पारी अनलाइन कक्षाले आँखामा पार्न सक्ने प्रभाव र यसको न्यूनीकरणका उपायहरूबारे दृष्टि विशेषज्ञ डा. दीपककुमार साहले दीएको जानकारी) 

READ MORE NEWS

डा. गाेबिन्द केसीकाे सत्याग्रहमा स्रष्टाहरुकाे ऐक्यबद्वता

काठमाडौं। प्रा.डा. गोविन्द केसी अहिले १९औं चरणको सत्याग्रहको २२ औं दिन केहि स्रष्टाहरुले उनको मागप्रति ऐक्यबद्धता जनाउँदै जीवनरक्षाको माग गरेका छन् । डा केसीले राखेका मागका सम्बन्धमा सरकारले न कुनै औपचारिक  छलफल नगरेकाे तथा कुनै वार्ता नगरेकाेमा स्रष्टाहरुले आपत्ती जनाएका छन्।

संविधानले निर्दिष्ट गरेकाे नागरिककाे स्वास्थ्य, कर्णाली लगायतका दुरदराजमा अस्पताल खाेल्ने, स्वास्थ क्षेत्रलाई माफियाकाे चंगुलबाट मुक्त गर्न र  सुशासन कायम गराउने बिषयमा एकजना प्रतिष्ठित डाक्टरले लगातार सत्याग्रह गर्न बाध्य हुनुपर्ने अबस्था सृजना हुनु सरकारमा बस्नेहरुका लागि लज्जास्पद बिषय स्रष्टाहरुले बताएका छन् ।

नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्यसचिव तथा कवि तीर्थ श्रेष्ठ, कवि तथा पत्रकार भाेजराज न्याैपाने, कवि श्रीबाबु कार्की उदास, कवि तथा पत्रकार ठाकुर बेल्वासे, कवि तथा पत्रकार मणि लाेहनी र कवि हेमन्त विवशले एक विज्ञप्ती निकाली एक सत्याग्रहीको मागलाई नजरअन्दाज गर्दा हामी कस्ताे लाेकतन्त्रकाे अभ्यास गरिरहेका छाैं भन्ने गम्भीर प्रश्न उब्जिएको बताएका छन् ।

डा. केसीको निष्ठाको यो लडाइँमा लामो मौनता देखाउँदा सरकारको चरित्र उदाङ्गाे मात्रै भएको छैन सरकार उत्रनै नसक्ने गरि माफियाको चंगुलमा छ भन्ने देखाएको उनीहरुले बताएका छन्।

हरेक सरकार केसीका मुद्दामा लाचार देखिएको उल्लेख गर्दै स्रष्टाहरुले नागरिककाप्रति सरकारी दृष्टिकोण यसैबाट प्रष्ट भएकाे बताएका छन् । स्रष्टाहरुले भनेका छन् ,’स्वास्थ्य शिक्षा र सुशासनमा केन्द्रित भएर सुरु भएको डा. केसीको सत्याग्रह अब देशको सुशासन र समग्र बेथितिको अन्त्यको लागि समेत समर्पित छ । सबै अनियमितता र अन्योलको मुल चुरो भ्रष्टाचार र शासकको बेइमानी नै हो । जसका कारण डाक्टर केसी बारम्बार आफ्नो जीवन दाउमा राखेर निस्वार्थ अहिंसात्मक  सत्याग्रहको हतियार उठाउन बाध्य भएका छन् ।’

‘डा. गोविन्द केसीले नेपालीको स्वास्थ , शिक्षा र सुशासनका लागि पटक पटक सत्याग्रह जस्तो जीवन-मरणको अन्तिम अस्त्र प्रयोग गर्नुपर्ने विडम्बना कहिलेसम्म हो ? स्वार्थै-स्वार्थले आक्रान्त समयमा निस्वार्थ रुपमा एकजना नायक अहिंसात्मक आन्दाेलनमा जुटिरहेका छन् ।’ स्रष्टाहरुले भनेका छन्, ‘उनकाे  यो एकल निष्ठा र इमानको दियोले असल मान्छे र परोपकारी भावना अझै जिवित छ भन्ने आशा जगाउँछ ।’

स्रष्टाहरुले अहिंसा र शान्तिको मार्गबाट आफूलाई कष्ट दिएर भोक प्यास खपेर जनताको माग सम्बोधन गर्न लगाउने डाक्टर केसीको अभियान स्तुत्य र बन्दनीय रहेको जनाउँदै स्रष्टाहरुले डाक्टर केसीका मागहरु पूरा गर्न र उहाँकाे जीवन रक्षा गर्न हामी स्रष्टाहरु सरकारसंग जाेडदार माग गरेका छन्।


Your Views
Related News