डा एन्जेला रेग्मी


कुरा अहिलेको परिस्थितिमा कोरोना भाइरस र यसको समयमा फैलिएको भयको हो। मानसिक स्वाथ्यको वर्तमान परिवेश धेरै संवेदनशील छ। मानसिक स्वास्थ्यलाई लिएर वर्तमान परिप्रेक्ष्यमा चित्रण गर्दा मानौं यो एउटा शून्यतामा जोरले चर्किएको सिसाझैँ छ।

प्राय: छायाँमा राखिने वा छायाँमै रहेको ‘मानसिक स्वास्थ्य’ विषयमा समयमै ध्यानाकर्षण नरहने अवस्थाले अवश्य नै बेग्लै चुनौतीको रूप लिने मानसिक विज्ञहरुको अनुभव र आकलन छ।

लकडाउनमा भएको सामाजिक एवं आर्थिक अन्योल, एक्लोपन र यो एक्लोपनको भारमा उब्जिएको अनिश्चितता, अफवाह एवं अस्तित्वमा नै खतरापनको अनुभूतिले मात्र पनि मानसिक स्वास्थ्यको दुर्दशालाई चुनौती दिइरहेको छ। यस्तो अवस्थामा मनले उसलाई सुनिदिन पुकार गर्दो हो।

तपाईं वजन घटाउनमा व्यस्त हुनुहुन्छ वा ब्लडप्रेसर ठिक राख्नका निम्ति खानामा नुनको मात्रा मिलाउनमा व्यस्त हुनुहुन्छ। योगा, मेकअप, वस्त्र जीवनशैली, संगीत आदि–इत्यादीका फेसबुकका पेजनमा मस्त हुनुहुन्छ। तर तपाईंमध्ये कति जनालाई मानसिक स्वास्थ्य सम्बन्धी चासो होला?

मानसपटलको असहजताबारे तपाईं कत्तिको सजग हुनुहुन्छ? कतै तपाईंको मनले म डरमा छु, म अरु समयभन्दा बढी सोचमा डुबेको छु त भन्दैन? कतै मनले उसको लागि समय छुट्याउन विलम्ब त गरिरहेको छैन?  स्पष्ट रुपमा अंग्रेजीमा भन्दा कतै मनले ‘I exist, give me your attention!’ त भनिरहेको छैन?

हजुरहरुमध्ये कति जना साँच्चिकैमा मनोस्वास्थ्यप्रति चेतनशील हुनुहुन्छ होला? वास्तवमै कति जना मानसिक स्वास्थ्यसँग जडित कलङ्कविहीन हुनुहुन्छ? यहाँ कति जना मानसिक रोगको कलंकद्वारा आलोचित हुनुहुन्छ?

तर, यसैबीच तपाईं भन्नुहुन्छ- म पागल हुनै सक्दिनँ!

तर, फेरि मनले  हाँस्दै भन्छ- के म पागल मात्र हुन्छु त?

मन भनौं या मस्तिष्क, तपाईंलाई जानकारी नभएका अरु धेरै रोग लाग्न सक्छन्। जस्तै: टाउको दुखाइ, जिउ दुखाइ, छटपटाहट, असामान्य रुपमा ज्यादा हाँसो वा रुवाइ, ढुकढुकी बढेको डर अथवा आशंका बढ्नु नै यसका लक्षण हुन्। अन्य शारीरिक समस्याहरु जस्तो: रगत जाँच रिपोर्ट लगायत अन्य टेस्टहरुमा खराबी नहुँदा पनि हुने समस्याहरु पनि मानसिक रोगका कारण हुन सक्छन् भन्ने बेलैमा बुझेर त्यसको लागि चाहिने परामर्श तथा उपचार अगाडि बढाउनु जरुरी हुन्छ।

मानिस आफ्नो व्यवहारले समाजमा चिनिन्छ। दैनिक व्‍यवहारमा कुनै पनि गतिविधि जसले गर्दा व्यक्तिगत र सामाजिक समस्या सिर्जना हुन्छ भने त्यो नै मानसिक रोग हुनसक्छ। उदाहरणका लागि, निद्रा नलाग्ने, चिन्ता-तनाव हुने, लागूपदार्थको लत हुनेदेखि लिएर कडा रोगहरु जसमा भ्रम र असमान्य गतिविधि हुने गर्छ।

वंशाणुगत त्रुटि, मनस्थिति, आहार, दैनिक जीवनशैली, सामाजिक-आर्थिक परिवेश सबैको उत्तिकै भूमिका हुन्छ। शिशु अवस्थादेखिको बन्दै जाने त्यो १.५ केजीको मस्तिष्कमा जीवनकालमा भोगेको हरेक सिकाइले हाम्रो पहिचान बनेको हुन्छ। त्यसैले पनि कुनै एक कारणलाई औंल्याउनु अज्ञानता हो।

मनले भन्छ, ‘म यो सब खेल खेलिरहेको हुन्छु, श्रेय तपाईं केवल मुटुलाई दिनु हुन्छ। माया, प्रेम, सद्भाव के मुटुकै खेल हो त?’

मनले फेरि भन्छ, ‘मलाई तपाईं बौद्धिकताको मात्र श्रेय दिनुहुन्छ, यसै कारण होला मस्तिष्क यानी मन सजिलै तपाईंलाई छक्याउँदै आफ्ना कमजोरीलाई लुकाउनमा सफल हुन्छु। तपाईं मनलाई कमजोर ठान्नै चाहनुहुन्न हैन त?’

मन–मुटु सम्मिलित अनेक जीवन घटनाहरुमा हामी हाम्रो मनमुटु कमजोर भएको थाहा पाउन प्राय: सकिरहेका हुँदैनौं। मनमुटु अर्थात् मस्तिष्क कति देखाइ, भोगाइले गर्दा थकित र कमजोर भइसकेको हुन्छ यो बेलामा बुझ्न जरुरी हुन्छ र यो बुझाउन केवल मानसिक रोग र मनोविज्ञानसँग सम्बन्धित व्यक्तिमार्फत मात्र सम्भव छ। तसर्थ, मनलाई माया गर्न सिक्नु जरुरी छ।

अन्त्यमा, विश्वव्यापी रुपमा फैलिएको महामारीको समयमा सबै जना सचेत रहनुहोस। रोग फैलिनबाट आफू र अरुलाई बचाउनुहोस। जनस्वास्थ्यका नियम पालना गर्नुहोस। गलत अविश्वसनीय सञ्चार स्रोतलाई विश्वास नगर्नुहोस। घरेलु कार्यमा सक्रिय रहनुहोस। गुम्सिएका तनावजनक विषयको बारेमा कुरा गरेमा मन हल्का हुन्छ, त्यसैले संवाद गर्नुहोस।

(डा रेग्मी सिन्धुली अस्पतालको मानसिक रोग विभागमा कार्यरत छिन्।)

READ MORE NEWS

कोभिड–१९ महामारीमा क्षयरोग कार्यक्रम

बसुन्धरा शर्मा 

क्षयरोग श्वास–प्रश्वासको माध्यमबाट सर्ने माइकोब्याक्टेरियम ट्युबरक्लोसिस नामको सूक्ष्म जिवाणुबाट हुने सरुवा रोग हो। विश्व स्वास्थ्य संगठनको सन् २०१९ को प्रतिवेदन अनुसार मानिसको मृत्यु गराउने प्रमुख दस कारणमध्ये क्षयरोग एक रहेकोे छ।

विश्वमा वर्षेनी एक करोडभन्दा बढी क्षयरोगका नयाँ बिरामी थपिने तथा १५ लाखभन्दा बढी मानिसको मृत्यु यस रोगबाट हुने गरेको छ। यसैगरी करिब ५ लाख ५० हजार मानिसमा औषधि प्रतिरोधी क्षयरोग देखा परेको अवस्था छ,  जुन आफैंमामा एक जटिल जनस्वास्थ्य संकट हो।

नेपालमा पनि क्षयरोग एक प्रमुख जनस्वास्थ्य समस्याको रुपमा रहँदै आएको छ। हालै सम्पन्न क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षणको नतिजाले वार्षिक रुपमा करिब ६९ हजार क्षयरोगका नयाँ बिरामी थपिने गरेको तथ्यांकले देखाएको छ। यसैगरी राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको आर्थिक वर्ष २०७५/७६ को प्रतिवेदन अनुसार जम्मा ३२ हजार ४३ क्षयरोका बिरामी दर्ता भएको देखिन्छ। जसमध्ये ६४ प्रतिशत पुरुष र ३६ प्रतिशत महिला रहेको तथा १५ देखि ५४ वर्ष उमेर समूहका व्यक्तिहरु सबैभन्दा बढी दर्ता भएको पाइन्छ भने क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षणको प्रतिवेदन अनुसार ५४ वर्ष भन्दा माथिका उमेर समूहमा यो रोग बढी भएकोे पाइएको छ।

रोगसँग लड्ने क्षमता कम भएका व्यक्तिहरु जस्तैः एचआइभी संक्रमित व्यक्ति, मधुमेह रोग भएका व्यक्ति, पाँच वर्षमुनिका बालबालिका, जेष्ठ नागरिक, कुपोषित व्यक्ति लगायतमा क्षयरोग लाग्ने सम्भावना बढी हुन्छ। यसैगरी अव्यवस्थित रुपमा सामूहिक बसोबास गर्ने स्थल जस्तै ः कारागार, होस्टल, ब्यारेक, शरणार्थी क्याम्प, गुम्बा आदिमा यो रोग लाग्ने जोखिम अझ बढी भएको पाइएकोे छ।

हालै विश्वसामु ठूलो चुनौतीको रुपमा देखा परेको कोभिड–१९ र क्षयरोग श्वास–प्रश्वासको माध्यमबाट सजिलै सर्ने संक्रामक रोग हुन् र दुवै रोगले मुख्यतयाः फोक्सोमा असर गर्छन् र दुवै रोगका लक्षण ज्वरो आउने, खोकी लाग्ने, थकाई लाग्ने, श्वास फेर्न गाह्रो हुने आदि मिल्दाजुल्दा हुन्छन्।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रद्वारा क्षयरोगको उच्च जोखिममा भएका व्यक्ति र समुदायसम्म गुणस्तरीय सेवाको पहुँचमा वृद्धि गरी राष्ट्रिय लक्ष्य प्राप्त गर्न प्रभावकारी रुपमा देशैभरि क्षयरोगका संकास्पद बिरामीको निदान र उपचारको उचित व्यवस्थापनका लागि ६ सयभन्दा बढी माइक्रोस्कोपी केन्द्र, ७० भन्दा बढी स्थानमा जिन एक्सपर्ट मेसिन (अत्याधुनिक प्रविधि) सेवा, ४ हजारभन्दा बढी डट्स केन्द्र, २१ स्थानमा औषधि प्रतिरोधी क्षयरोग भएका बिरामीको लागि उपचार केन्द्र तथा ७ स्थानमा हेस्ट लगायतका कार्य सञ्चालन गर्न विभिन्न तहसँग समन्वय तथा सहकार्य गर्दै आइरहेको छ।

कोभिड–१९ महामारीबाट हुन गएको लामो बन्दाबन्दीले विश्वभरि नै स्वास्थ्य लगायत सम्पूर्ण क्षेत्रमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा असर गरिरहेको सन्दर्भमा क्षयरोगका बिरामी र क्षयरोग कार्यक्रमलाई पनि नराम्रै प्रभाव परिरहेको प्रतिवेदनहरुबाट देखिन्छ। जस्तैः विश्वमा गरिएको एक अध्ययन अनुसार क्षयरोग परीक्षणको लागि स्वास्थ्य संस्थामा आउने मानिसहरुको करिब ७० प्रतिशतले कमीे देखिएको छ। यसैगरी नेपालमा पनि राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रद्वारा गरिएको एक दु्रत सर्वेक्षण अनुसार क्षयरोगका बिरामी दर्ता हुने दरमा ४५ प्रतिशतले कमी आएको, ४२ प्रतिशत बिरामी आफ्नो नियमित जाँचको लागि स्वास्थ्य संस्था आउन नसकेको पाइएको छ।

विषम परिस्थितिका कारण नियमित क्रियाकलापहरु गर्न समेत प्रभाव परिरहेको अवस्थामा नेपालको संविधानप्रदत्त स्वास्थ्य सम्बन्धी हक सुनिश्चित गरी सेवा निरन्तरताका लागि राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रद्वारा केही महन्वपूर्ण प्रयास भएका छन्।

–   क्षयरोगको अत्यावश्यक सेवाहरु प्रभावकारी ढंगले निरन्तर प्रवाह गर्नका लागि अन्तरिम मार्गदर्शन तयारी तथा वितरण गरी सेवालाई व्यवस्थित गरिएको छ।
–   क्षयरोगको सेवा सुनिश्चित गर्न सबै प्रदेशसँंग नियमित रूपमा भर्चुअल बैठक सञ्चालन गरिएको छ।
–   प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रद्वारा माग भए बमोजिम क्षयरोगको औषधि र अन्य अत्यावश्यक सामग्रीहरु नियमित रुपमा आपूर्ति गरिएको छ।
–   क्षयरोग रोकथाम तथा नियन्त्रणका लागि जनचेतना अभिवृद्धि गर्न सन्देशमुलक श्रव्य तथा श्रव्य–दृश्य सामग्रीहरु प्रसारण गरिएको छ।
–   क्षयरोगका बिरामीको अवस्था अनुसार  एक हप्तादेखि एक महिनासम्मका लागि आवश्यक पर्ने औषधि वितरण गर्नका लागि पत्राचार गरिएको छ।
–   क्षयरोगको सेवाको अवस्था तथा समस्या पत्ता लगाउन द्रुत सर्वेक्षण गरिएको छ।
–   जिन एक्सपर्ट मेसिनको प्रयोगद्वारा केही अस्पतालबाट कोभिड–१९को परीक्षण सेवा सुरुवात गरिएको छ।

कोभिड–१९ जस्तै क्षयरोग पनि हामी जोकोहीलाई लाग्न सक्छ र नियमित औषधि सेवनले यो रोग पूर्ण रुपमा निको हुन्छ। त्यसकारण यो रोगको रोकथाम, नियन्त्रण, निदान तथा उपचारको गुणस्तरीय सेवा प्रवाहका लागि उचित वातावरण सिर्जना गरी जनसमुदायले आधारभूत स्वास्थ्य सेवा पाउने अधिकार सुनिश्चित गर्दै सन् २०५० सम्ममा क्षयरोगविहीन नेपाल बनाउने परिकल्पना साकार पार्नु हामी सबैको दायित्व हो।

क्षयरोग र कोभिड–१९ बाट आफू पनि बचौं र अरुलाई पनि बचाऔं।

(शर्मा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र, भक्तपुरकी वरिष्ठ जनस्वास्थ्य अधिकृत हुन्।)


Your Views
Related News