असोज २०, २०७७ जुम्ला : २०७३ मंसिर ११ गते राती जुम्लाको चन्दननाथ मन्दिरबाट चोरिएका दुई मूर्ति फेला परेको छ। करिव पाँच वर्ष पहिले हराएका मूर्ति सोमबार फेला परेका हुन्‌। चोरी भएका दर्जनौ बहुमूल्य मूर्तिमध्ये प्रहरीले विष्णु र भगवती सरस्वतीको मूर्ति भेटाएको हो। विशेष सूचनाका आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोली र जुम्लाबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार विहान सवा १० बजे चन्दननाथ नगरपालिका १० बोहोरा गाउँस्थित सुशील विष्टको खेतमा दुई मूर्ति फेला पारेका हुन्‌।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक माधव काफ्लेका अनुसार खेतकोे आलीमा सुकेको घाँसको थुप्रोमा बेरिएको अवस्थामा मूर्ति भेटिएका हुन्‌। उनले भने, ‘दुईथान मूर्तिसँगै उक्त घटनामा संलग्न तीन जना शंकास्पद व्यक्तिलाई समेत पक्राउ गरिएको छ।’ चन्दननाथ नगरपालिका १० निवासी ३२ वर्षीय सुशील विष्ट, तातोपानी गाउँपालिका ८ घर भई हाल चन्दननाथ नगरपालिका १० मा बस्ने २८ वर्षका जयलाल थापा र चन्दननाथ नगरपालिका १० कै वर्ष २३ का सुदीप रावललाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। पक्राउ गरिएका तीनै जनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान थालिएको छ। २०७३ साल मंसिर ११ गते राती मूर्ति चोरी भएपछि तत्कालीन प्रहरी नायब महानिरीक्षक विज्ञानराज शर्मासहित केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले समेत जुम्ला पुगेको थियो।

 

READ MORE NEWS

‘हटस्पट’ काठमाडौं : एक सातामै दोब्बरले बढे कोरोना संक्रमित
काठमाडौं :  काठमाडौंमा एक साताकै बीचमा कोरोना संक्रमितको संख्या दोब्बरले बढ्दै गएको छ। गत सोमबार काठमाडौं जिल्लामा ६ सय ४९ जनामा कोरोना संक्रमण देखिएको थियो थियो। त्यसको एक सातापछि आज आज मात्रै काठमाडौं जिल्लामा १ हजार १ सय ७८ जनालाई कोरोना पुष्टि भएको छ। अघिल्लो साता ६ सय ४९ जनामा कोरोना देखिएको थियो। त्यसको भोलिपल्टबाट ७ सय ४७ देखि हुँदै आइतबारसम्मको तथ्यांकमा १ हजार ३ सय ७३ मा कोरोना देखिएको थियो।

गत सोमबार काठमाडौं जिल्लामा ६ सय ४९ जनालाई संक्रमण पुष्टि भएको थियो। त्यसको भोलिपल्ट मंगलबार ७ सय ४७ जनामा कोरोना देखियो। बुधबार केही घटेर ६ सय ९७ लाई संक्रमण देखिएको थियो। तर बिहीबार फेरि त्यो संख्या बढेर काठमाडौं जिल्लामा ८ सय १७ जनामा कोरोना पुष्टि भयो। त्यसको भोलिपल्ट शुक्रबार करिब ४ सय संख्यामा बढेर १ हजार २ सय ८ जनलाई कोरोना देखियो। भोलिपल्ट शनिबार २ सयले घटेर एक हजार एकजनामा कोरोना पुष्टि भयो। यो आइतवार काठमाडौं जिल्लामा करिब साढे ३ सयले बढेर १३ सय ७३ जनामा कोरोना देखियो। आज सोमबार काठमाडौं जिल्लामा संक्रमितको संख्या ११ सय ७८ छ।  यसरी हेर्दा अघिल्लो सोमबारदेखि यो सोमबारसम्म आइपुग्दा काठमाडौं जिल्लामा करिब दोब्बरले संक्रमित बढेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्‍वर गौतमले यसरी तीव्र गतिमा संक्रमित बढ्नुमा सडकमा निस्किने जुलुस, सभा र बजारमा देखिएको भीडलाई प्रमुख मानेका छन्।

सरकारले कोरोना नियन्त्रणका लागि सक्दो प्रयास गरिरहेको जनाएको छ। तर,सर्वसाधारणले न्यूनतम् स्वास्थ्य मापदण्ड पालना नगर्दा संघीय राजधानीमा कोरोना तीव्र गतिमा फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताउँदै आएको छ। स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा.जागेश्‍वर गौतमले राजधानीमा कोरोना संक्रमण बढ्नुमा दुई कारण बताउँदै आएका छन्।  प्रवक्ता गौतमले काठमाडौंमा कोरोना फैलनुको अर्को कारण नेपाल-भारत सीमालाई मानेका छन्। मेची-महाकाली खुला रहेको सीमाबाट मानिसहरु निष्फिक्री आउँदा उपत्यकामा कोरोना फैलिएको स्वास्थ्य मन्त्रालयले निचोड निकालेको छ।

‘नेपाल-भारत सीमामा मानिसहरुलाई नियन्त्रण गर्न सकिएन। खुला सीमाको फाइदा उठाउँदै मानिसहरु निष्फिक्री आए। उनले कोरोना फैलिने पहिलो कारणमा राजधानीका सडकमा भएका सभा, जुलुस, भेला, सेमिनार र बैठकलाई ठानेका छन्। ‘हामीले भिड धेरै गर्‍यौँ, जुलुस, सभा, गोष्ठी र सेमिनारका नाममा जथाभावी भिडभाड गर्दा कोरोना फैलियो’, उनले भने, ‘अझै पनि भिड रोकेनौ भने कोरोना संक्रमण झनै बढ्छ।’ काठमाडौंमा आएका मानिसलाई क्‍वारेन्टाइनमा बस्‍नु भन्दा नमान्दा यस्तो परिणाम आएको उनको दाबी छ। गौतमले अझै समय नघर्किएको पनि उल्लेख गरे। ‘अझै पनि समय घर्किएको छैन, हामी सबैले राम्रोसँग मास्क प्रयोग गरी भौतिक दूरी कायम गरेमा संक्रमण रोक्न सकिन्छ’, उनले भने, ‘कोरोना संक्रमण दिनप्रतिदिन बढिरहेको छ।’ किनमेलको चहलपहल बढेको छ, चाडबाडमा जमघट गर्ने हाम्रो बानी नै भएको छ। यस पटक यो कुरामा ख्याल गरौं।’ गौतमले कोभिड-१९ रोकथामका लागि जीवनशैलीमा परिवर्तन आवश्यक रहेको बताए।

READ MORE NEWS

बिहार चुनाव : तीन दिन नेपाल–भारत सीमानाका बन्द गर्ने निर्णय

कलैया: नेपाल र भारत जिल्लास्तरीय सीमा सुरक्षा समन्वय बैठकले सीमानाका बन्द गर्ने निर्णय गरेको छ।

बैठकमा विशेषगरी भारतको विहार राज्यमा हुन गइरहेको दोस्रो चरणको राज्य सभाको निर्वाचनलाई दृष्टिगत गरि सीमा क्षेत्रमा प्रभावकारी सुरक्षा व्यवस्थापनबारे छलफल भएको बताइएको छ। अन्तरदेशीय सीमा अपराध र अवैध हातहतियार तथा बन्दोबस्ती ओसारपसार नियन्त्रण सम्बन्धी सूचना आदानप्रदान एंव शान्ति सुव्यवस्था कायमलगायत विषयमा दुबै पक्षबीच सहमति भएको बैठकपछि बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पंडितले जानकारी दिए।

भारतका तर्फबाट विहारका पूर्वी चम्पारणका डिएम सिर्शक कपिल अशोकले बिहारमा दोस्रो चरणमा हुन लागेको राज्य सभाको निर्वाचनलाई स्वच्छ एंव मर्यादित रुपमा सम्पन्न गर्नका लागि तीन दिन सीमानाका सिल गर्ने र सो समयमा यातायात र मानिस आवतजावतसमेत पूर्ण रुपमा बन्द गर्ने सहमति दुबै पक्षबीच भएको बताए। सीमा क्षेत्रमा हुने चोरी निकासी तथा तस्करी नियन्त्रण, कोभिड–१९ को प्रभाव नियन्त्रण गर्न असल अभ्यासहरुको अदानप्रदान गरि सामूहिक रुपमा अगाडि बढ्ने समझदारी पनि भएको उनले जानकारी दिए।

बैठकमा नेपालको तर्फबाट भारत विहार राज्यको पूर्वी तथा पश्चिमी चम्पारण जिल्लासँग जोडिएको नेपालका रौतहट, बारा, पर्सा, चितवन र नवलपरासीका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख र वीरगञ्ज भन्सार कार्यालयका प्रमुखको सहभागिता रहेको थियो।

त्यस्तै बैठकमा भारतका तर्फबाट बिहारको पूर्वी चम्पारणका डिएम अशोक तथा पश्चिम चम्पारणका डिएम कुन्दन कुमारको सहभागिता रहेको जिल्ला प्रशासन कार्यालय बाराका प्रशासकीय अधिकृत मुरारी कार्कीले जानकारी दिए। उनका अनुसार बैठकमा नेपालका तर्फबाट २६ र भारतको तर्फबाट २३ जना गरी कूल ४९ जनाको सहभागिता रहेको थियो।


Your Views
Related News