भारतको चर्चित कमेडी शो द कपिल शर्मा शोलाई धेरैले अत्यधिक रुचाउँछन् । तर एक व्यक्ति यस्ता पनि छन् जसलाई कपिल शर्मा शो फिटिक्कै मन पर्दैन । ती व्यक्ति एक अभिनेता हुन् जसको चर्चा एक जमानामा कपिल शर्माभन्दा कम थिएन । जसको शो शक्तिमान घर–घरमा हेरिन्थे । सुन्दा अचम्म लाग्ला तर अभिनेता मुकेश खन्नालाई द कपिल शर्मा शो फिटिक्कै राम्रो लाग्दैन । यसै कारण जब कपिलले कार्यक्रममा महाभारतको कास्टलाई बोलाएका थिए तब उनी त्यसमा सरिक भएनन् । हालै मुकेश खन्नाले यसबारे कुरा गरेका छन् ।

मुकेश खन्नाले आफ्नो मनको कुरा दर्शक सामू राखेका छन् र निम्तो आउँदा पनि कपिल शर्माको शोमा नगएको बारे खुलेर कुरा गरेका छन् । उनले भने, ‘यो प्रश्न भाइरल भइसकेको छ कि महाभारत शोमा भीष्म पितामह किन गएनन् ? कसैले भन्छन् कि उनलाई निम्तो दिइएन । कतिले भन्छन् कि उनले अस्विकार गरे । यो साँचो हो कि महाभारत भीष्मबिना अधुरो छ । यो साँचो हो कि निम्तो नदिने त प्रश्न नै उठ्दैन । यो पनि साँचो हो कि मैले निम्तो अस्विकार गरेँ ।’
‘यो पनि साँचो हो कि मानिसहरुले मलाई कपिल शर्माजस्तो ठूलो शोलाई किन अस्विकार गरेको होला भनेर सोध्ने गर्छन् । ठूल्ठूला कलाकार–अभिनेता जान्छन् । जान्छन् होला तर मुकेश खन्ना जाँदैनन् । रामायणपछि कपिल शर्मामा हामीलाई निम्तो दिइन्छ भन्ने थाहा पाएँ । त्यतिबेला मैले ‘तिमीहरु सबै जाउ, म जादिनँ’ भनेँ । कपिल शो देशभरी चर्चित छ तर मलाई योभन्दा वाहियात शो अरु कुनै लाग्दैन । मूर्खताले भरिएको, दोहोरो अर्थ भएको र प्रत्येक पल अश्लीलतातर्फ मोडिएको यो शो । जसमा पुरुषले महिलाको कपडा लगाउँछन् र मानिसहरु पेट समातेर हाँस्छन् ।
सिद्धू–अर्चनाको काम हाँस्ने मात्रैः
यो कार्यक्रममा मानिसहरु किन ‘हेँ हेँ’ गरेर हाँस्छन्, मैले अहिलेसम्म बुझ्न सकेको छैन । एउटालाई सबैको बीचमा सिंहासनमा बसालेर राखिन्छ । उनको काम हो हाँस्ने । हाँस्न मन नलागे पनि जसरी पनि हाँस्नुपर्छ । यसो गर्दा उनीहरुले पैसा पाउँछन् । पहिला यो कामका लागि सिद्धू भाइ बस्दथे । अब अर्चना बहिनी यो काम गर्न बसेकी छिन् । हा हा हा मात्रै गर्न । एउटा उदाहरण दिन्छु । तपाईं बुझ्न सक्नुहुन्छ कि कमेडीको स्तर कति घटिया छ यो शोमा । तपाईंहरु सबैले रामायण शो देख्नुभएको होला ।’

‘कपिलले अरुण गोविललाई सोध्छन्, ‘तपाईं समुद्रको किनारमा नुहाइरहनुभएको छ । भीडमध्ये एक व्यक्तिले चिच्याएर भनिरहेका छन्, ‘हेर त राम जी पनि भिआइपी अन्डरवेयर लगाउँछन् ! यस्तोमा तपाईं के भन्नुहुन्छ ?’ मैले प्रोमो मात्र हेरेँ । श्री रामजीको इमेज लिएर हिँड्ने अरुण गोविल हाँस्छन् मात्रै । जसलाई संसारले रामको रुपमा हेर्छन् तपाईं उसलाई यस्ता घटिया प्रश्न सोध्न सक्नुहुन्छ ? यसको जवाफमा अरुणले के भने थाहा छैन । म भएको भए कपिललाई मुख भरीको जवाफ दिन्थेँ । त्यसैले म गइनँ । ’

स्मरण रहोस्, मुकेश खन्ना सोसल मिडिया र अन्य मञ्चमा आफ्नो कुरा राख्न कत्ति पनि डराउँदैनन् । केही समयअघि उनले सोनाक्षी सिन्हालाई महाभारत र रामायणबारे केही पनि थाहा नभएको भन्दै कटाक्ष गरेका थिए । त्यसपछि सोनाक्षीका पिता शत्रुघ्न सिन्हा रिसाए तब मुकेशले आफ्नो बयानको बचाउ गरेका थिए ।

स्मरण रहोस्, मुकेश खन्ना महाभारत सिरियलमा भीष्म पितामह र टिभी शो शक्तिमानमा मुख्य भूमिकामा देखिएका थिए ।

READ MORE NEWS

समाचार ‘निर्माण (!)’ गर्ने मान्छे

‘कुकुरले मान्छेलाई टोक्यो भने त्यो समाचार होइन, तर मान्छेले कुकुरलाई टोक्यो भने त्यो समाचार हो।’

पत्रकारिता तालिममा सिकेको यो वाक्यले उसलाई पत्रकार बनायो। उसलाई यसको शाब्दिक अर्थ थाहा होला या नहोला, तर यो वाक्य कन्ठ गर्नासाथ ऊ पत्रकार बनिसक्यो। उहिले हातमा झोला, हल्का दारी, काइँयो नसुँघेको कपाल र खुम्चिएको कमिजको खल्तीमा दुईतीन वटा कलम उसको परिचय थियो। अहिले परिचय धेरै नै फेरिएको छ। ‘ब्रान्डेड’ कपडा र जुत्ता, जेल लगाएको कपाल, हातमा महँगो मोबाइल र क्यामेरा। दौडधुप अलिक सहज भए पनि गर्ने कार्य उस्तै नै छ, एउटा त्यस्तो मान्छे खोज्ने जसले कुकुरलाई टोकोस्।

पहिले भन्दा अहिले एउटा कुरामा भने उसलाई निकै सजिलो भएको छ। पहिले अखबारमा हुँदा कतै कुनै मान्छेले कुकुरलाई टोक्यो भने उसले त्यसलाई कागजमा उतार्नु पर्थ्यो या अझै भनौं लामै लेखेर कुन मान्छेले किन, कसरी त्यो कुकुरलाई टोक्यो ? टोक्नुको कारण के थियो ? टोक्दा खेरी होसमा थियो या बेहोसीमा ? कुकुर कत्तिको घाइते भयो ? के त्यो व्यक्तिले फेरि अर्को कुकुर टोक्ला ? दाँत गाडेर कुकुरको छालै निकाल्यो कि अलिकति छोयो मात्र ? कुकुरले प्रतिकार गर्यो या गरेन ? यस्ता थुप्रै प्रश्नहरुको उत्तरसहितको समाचार बनाएर पठाउनु पर्थ्यो।

 

भिडिओ हाल्यो कि विज्ञापन आफैं आउँछ र त्यसो पनि डलरमा। त्यसैले त ब्रान्डेड छ ऊ हिजोआज। धेरै पल्ट त ऊ दोधारमा हुन्छ । खिचिसकेको भिडिओ हेर्छ र सोच्छ यहाँ मान्छेले कुकुरलाई टोक्यो या कुकुरले मान्छेलाई ? कहिलेकाहीँ त कुकुरले मान्छेलाई टोक्यो भने पनि त्यसलाई उल्टो घुमाएर, सम्पादन गरेर मान्छेले कुकुर टोकेको बनाइदिन्छ। 

 

त्यो अखबारको कार्यालयमा पुगेपछि विभिन्न चरणहरु पार गर्दै सम्पादकबाट स्वीकृत भएपछि मात्र भोलिपल्ट अखबारमा आउँथ्यो। अखबारमा आओस् या नआओस् उसले त्यस्ता समाचार भने लेखिरहनु पर्थ्यो। अहिले सजिलो छ। हातमा क्यामेरा छ। फुत्त निकाल्यो अनि भिडिओ खिचिहाल्यो। त्यो भिडिओ प्रसार गर्न उसको आफ्नै युट्युब च्यानल छ। कसैलाई सोध्नै पर्दैन। प्रशारण गर्ला कि नगर्ला भन्ने चिन्ताबाट मुक्त छ ऊ, न त विज्ञापन नै खोज्नु पर्छ।

भिडिओ हाल्यो कि विज्ञापन आफैं आउँछ र त्यसो पनि डलरमा। त्यसैले त ब्रान्डेड छ ऊ हिजोआज। धेरै पल्ट त ऊ दोधारमा हुन्छ । खिचिसकेको भिडिओ हेर्छ र सोच्छ यहाँ मान्छेले कुकुरलाई टोक्यो या कुकुरले मान्छेलाई ? कहिलेकाहीँ त कुकुरले मान्छेलाई टोक्यो भने पनि त्यसलाई उल्टो घुमाएर, सम्पादन गरेर मान्छेले कुकुर टोकेको बनाइदिन्छ। जे गरे पनि, उसको च्यानल गज्जबले चलेको छ। कहिलेकाहीँको यो टोकाइमा कुकुर पीडित हुन्छ भने कहिले मान्छे। र, दुवै पीडितको घाउमा मल्हम लगाउन उसले ‘कोष’ पनि बनाएको छ। र, त्यही कोषबाट उपचार गरेर राहत पनि दिन्छ। कहिलेकाहीँ माला या खादा भिरेर समेत हिँड्ने मौका पाएको छ।

‘सर, आज यहाँ एकजना मान्छेले दाँत तिखार्दै छ, मलाई लाग्छ यसले कुकुरलाई टोक्ने तयारी गर्दैछ।’ कतैबाट फोन आयो उसलाई।
‘खबर, पक्का हो नि ?’ ऊ ढुक्क हुन खोज्यो। ‘पक्का हो सर।’ उसको मुहार उज्यालो भयो। ठेगाना टिपेर मोटरसाइकलमा घुइँकियो उता, पछाडि आफ्नो सहायक राखेर। अहँ कोरोनाले त उसलाई छुँदैछुँदैन । कोरोना पनि डराउँछ ऊसँग।

समाचार बनाउन अब्बल छ ऊ। दैनिक अखबारका सम्पादक या टेलिभिजनका सम्पादक जस्तो गुमनाम छैन। ऊ जताततै देखिन्छ। ऊ समाचार खोज्दैन, समाचार उसलाई खोज्दै आउँछ। कहिलेकाहीँ त समाचारहरु ढोकै ढक्ढकाउन आइपुग्छन् ! अहिले त दुईतीन वटा तालिम प्राप्त कुकुरहरु पनि छन् ऊसँग। केही गरी समाचार चाहिने नै भो भने, टोके जस्तो गरेर समाचार निर्माण गर्न पनि सक्छ ऊ। कतैकुनै तरिकाले पनि त्यहाँ बनावटीको गन्ध मिसिनै दिँदैन उसले।

एक पल्ट त उसको आफ्नै अन्तर्वार्ता निकै हिट भएको थियो। त्यहाँ उसलाई सोधिएको थियो– तपाईंको यो सफलताको प्रेरणा के हो ? उसको जवाफ थियो- कुकुर। आफ्नो छाती चौंडा पार्दै भनेको थियो, ‘‘कुकुरले मान्छेलाई टोक्यो भने त्यो समाचार होइन तर मान्छेले कुकुरलाई टोक्यो भने त्यो समाचार हो । मलाई त्यो मान्छे जसले कुकुरलाई टोक्छ त्यससँग खासै मतलब छैन, तर त्यो कुकुर जो टोकिन्छ, त्यसले ठूलो अर्थ राख्छ। यसरी कुकुरलाई टोक्नु जनावर अधिकारविरुद्ध छ ।’’

 

‘हामीलाई समाचार चाहिएको हो। र, हाम्रो समाचारमा मान्छेले कुकुरलाई टोकेकै हुनुपर्छ। म यो सबै भिडिओ हटाइदिन्छु। बस् तपाईंले एकपल्ट त्यो कुकुरलाई टोकिदिनु पर्‍यो।’ उसले शर्त राख्यो। 

 

उसको सिद्धान्त छ, सफल हुन दुइटा दाँत जरुरी छ। बस्, कसलाई कतिबेला देखाउने त्यति जाने पुग्छ। ‘कुकुरले मान्छेलाई टोकेर बसैनि सयौं मानिस रेबिजको उपचार नपाएर मर्छन्, त्यो समाचार होइन ?’ कसैले उसलाई प्रतिप्रश्न गरेको थियो।‘पत्रकारिता पढ्नु भएन ? समाचार बन्न मान्छेले कुकुर टोक्नु पर्छ। कुकुरले टोकेर रेबिज लागेर नमरेर मलेरिया लागेर मर्छन् त ? त्यस्तो पनि समाचार हुन्छ ? म त अब त्यस्तो समाचारको खोजीमा छु, जहाँ मान्छेले टोकेको कुकुर रेबिज लागेर मरोस्।’ ताली बजेको थियो उसको उत्तरमा ।

‘खसी, बोका भनेर मान्छेहरुले कुकुर मारेर बेचिराखेका छन्। आखिर टोकेरै नमरे पनि मान्छेले ठोकेर कुकुर त मरेकै छन् त। के ती समाचार होइनन् ?’ फेरि अर्को प्रश्न तेर्सियो। ऊ अलिक झोक्कियो। ठूलो स्वरमा चर्कियो- ‘मैले भनेँ नि, समाचार बन्न मान्छेले कुकुर टोकेकै हुनुपर्छ, ठोकेर हुँदैन। अब ठोकेर मार्‍यो, काट्यो बेच्यो, खानेले त थाहै पाएन, खसी भनेरै खायो। यसमा समाचार कता छ हँ ? नपढेरै पत्रकार बन्नेहरु यस्तै बेतुकका प्रश्न सोध्छन्। जानुस् पहिले पत्रकारिता पढ्नुस् अनि मलाई प्रश्न गर्न आउनुस्।’‘तपाईंलाई थाहा छ, मान्छेले कुकुरलाई टोक्यो भने त्यो समाचार हो भनेर कसले, कहिले कुन प्रसंगमा भनेको हो ?’ सोध्ने पनि साह्रै चाम्रो। सोध्न छाडेन। ‘आँप खानुस्, रुख नगन्नुस्। जसले जहिले भने पनि त्यो मेरो मूल मन्त्र हो। मैले पत्रकारितामा पढेको नै त्यही हो। र, त्यसले मेरो पत्रकारिता गज्जबको बनेको छ।’ उसले कुरा मोड्न खोज्यो।

‘अल्फर्ड हाम्सवर्थले अठारौं शताब्दीमा पत्रकारिता बुझाउन भनेको कुरो हो। यसको शाब्दिक अर्थ बुझ्नुस्। सामान्यरुपमा भइरहने चिजहरू समाचारका हिसाबले महत्वपूर्ण छैनन्, तर जुन घटना कहिलेकाहीँ हुन्छन् ती समाचार बन्छन्।’ उसले बुझाउन खोज्यो- ‘हवाईजहाज उडेको समाचार हुँदैन तर हवाइजहाज दुर्घटना भयो भने समाचार हुन्छ। अब के तपाईं हवाइजहाज खसाल्न जाने त ?यो प्रश्न नै सुन्न पाएन उसले। ठूलो आवाजमा उसको पक्षमा हुटिङ भइसकेको थियो। सायद यो सुन्न पाएको भए समाचार खोज्ने शैलीमा परिवर्तन हुन्थ्यो कि ? तर, त्यस्तो हुन नै दिँदैनन् उसका समर्थकहरु। उसका समर्थकहरु उसको यो बेजोड शैलीका ‘फ्यान’ हुन्।

अँ त उसको पुरानो कुरामा अल्झिएछु म। सहायकलाई पछाडि राखेर हुइँकिएको ऊ कसैले समाचारका लागि फोनमा दिएको ठेगानामा पुग्यो। ऊ अरु जस्तो लाटो पत्रकार हुँदै होइन। निकै बाठो छ। सहायकलाई लुकेर भिडिओ खिच्न भन्दै, आफू देखिनेगरी पुग्यो त्यो मान्छेकोमा जसको उसलाई सूचना थियो कि ऊ दाँत तिखार्दै छ र कुकुरलाई टोक्न तयार भएर बसेको छ। उसको बुझाइ छ सहायकले लुकेर र आफूले देखिएर खिच्दा पछि जुन सनसनीपूर्ण बनाउन सकिन्छ त्यसैलाई प्रयोग गर्ने। ऊ सरासर त्यो मान्छे बसिरहेको ठाउँमा पुग्यो। सानो घरको आँगनमा ऊ खुकुरीमा धार लाउँदै थियो।

‘के म तपाईंसँग कुरा गर्न सक्छु ?’ उसले क्यामेरा तेर्सायो, पहिले खुकुरी उदाउँदै गरेको हातमा र त्यो भन्दा पनि महत्वपूर्ण उसको दाँतमा। उसको दाँत कुकुरलाई टोक्न कत्तिको सक्षम छ त्यसको लेखाजोखा गर्न उसको दाँतमा क्यामेरा पुग्नु अपरिहार्य जस्तै हुन्छ उसका लागि। क्यामेरा देखेर ऊ अलिकति लजायो। खुकुरी भुइँमा फ्याल्यो र कपाल मिलायो। एकछिन है म कपडा फेरेर आउँछु भन्दै भित्र जान खोज्यो, तर उसले रोकिहाल्यो।‘प्राकृतिक आउनुपर्छ, म लाइट मिलाएर राम्रो बनाइहाल्छु।’ त्यो मान्छे फिस्स हाँस्यो। यही मौकामा उसले दाँतको ‘क्लोजअप’ लिहाल्यो । ‘हुन्छ भन्नुस्, के कुरा गर्नु पर्यो।’ उसले लजाउँदै क्यामेरामा हेर्‍यो। ‘तपाईं अघि दाँत तिखार्दै हुनुहुन्थ्यो भन्ने सूचना आयो। के गर्न दाँत तिखार्दै हुनुहुन्थ्यो ? कतै कुकुरलाई टोक्न त होइन ?’ ऊ सीधै विषयमा प्रवेश गर्‍यो।

 

उसले आफूलाई चाहिएको खुराक भेटिसकेको थियो। कहिले कुकुरतिर त कहिले त्यो मान्छेतिर क्यामेरा तेर्साएर ठूलो स्वरले चिच्चाउँदै थियो। कुकुर चनाखो भएर हेरिरहेको थियो। मानौं, उसलाई पनि थाहा छ कि मुख्य समाचार त ऊ नै हो भनेर ! 

 

‘के पागल हो तपाईं ? कसले भन्यो दाँत तिखारेको भनेर ? दाँत माझेको हो। र, अहिले खुकुरी पनि धार लगाएको हो। दसैं आउन लाग्यो थाहा छैन तपाईंलाई ? दिमाग फुस्केको कुरा गर्छ भन्या यो त!’ ऊ रिसायो। तर, यता क्यामेरामा खिच्दा उसले जे चाहेको थियो त्यही भइरहेको थियो।‘म त तपाईंकै लागि आएको हो। अब दसैंमा त सबैले खुकुरीमा धार लगाउँछन् नि। तपाईंले केही नौलो गर्दा पो तपार्इं समाचारमा आउनुहुन्छ त!’ उसले समाचार पकाउन दाउरा जम्मा गर्न थाल्यो। ‘अनि के समचारमा आउन मैले कुकुर खानु पर्ने ? कसले भन्यो तपाईंलाई यस्तो वाहियात कुरा ?’ उसले पन्छाउन खोज्यो।

‘तपाईं बढ्ता बोल्नी ? ऊ त्यो कुकुर हेर्नुस् त कस्तो डराएको छ। लुकेर बसेको छ। तपाईंले टोक्नु हुन्छ कि भनेर! तपाईंले त्यो कुकुरलाई टोक्न नखोजेको भए किन लुक्यो त ?’ उसले क्यामेरा अलिक पर बसिरहेको कुकुरतिर सोझ्यायो।‘कस्तो मुला गर्छ यो ! यहाँबाट जान्छस् कि तँलाई यहीँ छिनाइदिऊँ ?’ भुइँमा राखेको खुकुरी झिकेर हावामा नचायो। ‘ल हेर्नुस् यो मान्छे, भर्खरै कुकुरलाई टोक्न खोज्दै थियो। विशेष सूचनाका आधारमा यहाँ आउँदा टोक्न नपाएपछि खुकुरी देखाएर पत्रकारलाई तर्साउँदै छ। यो मान्छेको तस्बीर राम्ररी हेर्नुस्, सावधान।’ उसले आफूलाई चाहिएको खुराक भेटिसकेको थियो। कहिले कुकुरतिर त कहिले त्यो मान्छेतिर क्यामेरा तेर्साएर ठूलो स्वरले चिच्चाउँदै थियो। कुकुर चनाखो भएर हेरिरहेको थियो। मानौं, उसलाई पनि थाहा छ कि मुख्य समाचार त ऊ नै हो भनेर !

उता उसको सहायक भने लुकेर सबै खिच्दै थियो। खासगरी त्यो मान्छेलाई कुकुर टोक्न बाध्य बनाइसकेपछि त्यो टोकेको भिडिओ छुट्नु हुँदैनथ्यो। त्यसका लागि अझै केही घण्टा लाग्न सक्थ्यो। त्यो मान्छे भने अक्क न बक्क भयो। डरले हतपत खुकुरी भुइँमा राख्यो। हातले मुख छोप्यो र घरभित्र पस्न खोज्यो। ‘हेर्नुस् भाग्दैछ क्यामेराबाट। हामी समयमै नपुगेको भए आज एउटा कुकुर टोकिसक्थ्यो यसले। हामी थियौं र त्यो कुकुर मान्छेको टोकाइबाट बच्न पायो।’ उसले क्यामेरा त्यो कुकुरतिर ‘फोकस’ गर्‍यो। आत्तिएको मान्छेले अचानक हात जोड्यो। ‘भन्नुस् मैले के गर्नु पर्यो तर यो भिडिओ मेटाइदिनुस्।’ बिन्ती बिसायो उसले।‘हामीलाई समाचार चाहिएको हो। र, हाम्रो समाचारमा मान्छेले कुकुरलाई टोकेकै हुनुपर्छ। म यो सबै भिडिओ हटाइदिन्छु। बस् तपाईंले एकपल्ट त्यो कुकुरलाई टोकिदिनु पर्‍यो।’ उसले शर्त राख्यो।

त्यो मान्छे टाउकोमा हात राखेर झोक्रायो। चारैतिर अँध्यारो थियो। अगाडि कुकुर थियो। कुकुरलाई टोक्नु उसको बाध्यता थियो नै त्यो भन्दा पनि ठूलो अप्ठेरो त अझै त्यो कुकुर उसैले पालेको थियो। गएराति मात्र खोरका कुखुरा खान आएको स्यालसँग लड्दा स्यालको टोकाइले अलिकति घाइते पनि थियो। रेबिज लागेको पनि हुन सक्छ कुकुरलाई। पुच्छर खुट्टामा लुकाएको छ।  ‘लक डाउन’ का कारण भेटेरिनरी सबै बन्द छन् र ऊ आफैंले माया गरेको कुकुरलाई मार्न पनि सक्दैन। तर, उसले हावामा खुकुरी नचाइसकेको थियो।

‘अहँ म टोक्दिनँ, जे गर्नु छ गर, चाहे भिडिओ देखाऊ मेरो। जे पर्ला पर्ला।’ त्यो मान्छेले कुकुर टोक्नुभन्दा बरु बेइज्जति रोज्यो। त्यति नै बेला उसको सहायक आइपुग्यो र उसलाई सम्झायो। कुकुरलाई टोक्नै पर्दैन। टोकेजस्तो मात्र गर्ने, त्यसको भिडिओ र समाचार बनिहाल्छ। यसो गर्दा खुकुरीले मार्न खोजेको आरोपमा भोलि जेल जानु पर्दैन। ‘हुन्छ, टोके जस्तो मात्र गर्छु नि फेरि ! अनि भिडिओको अन्तिममा यो वास्तविक होइन नाटक हो भनेर कसैले नदेख्ने गरी सानो अक्षरमा भए पनि हालिदिनु ल!’ उसले मध्यम बाटो रोज्यो ।

यो सबै दृश्य कुकुरले टुलुटुलु हेरिरहेको थियो। सबै बुझे झैं त्यो अलिक चनाखो भयो। उसको निर्देशन अनुसार उसको सहयोगी अलिक पछि गयो। ऊ भने त्यो मान्छेको पछिपछि ‘क्लोजअप’ लिन। त्यो मान्छे आफ्नै कुकुरलाई टोक्न खोजे झैं गरी जाँदै थियो। कुकुरले खै के सोच्यो, जोड लगाएर उफ्रियो र मालिकबाट छलिँदै उसको क्यामेरामा आक्रमण गर्यो। अनि, उसको घाँटी पछाडि जोडले झम्टियो। घाँटीमा दाँत गाडेर झुण्डिएको झुण्डियै गर्‍यो। त्यो मान्छेले छुटाउन खोज्यो। तर कुकुरले छाडेन। उसको सहायक भने भिडिओ खिचिरह्यो।

केही मिनेटपछि कुकुर शिथिल भएर तल झर्‍यो। कुकुरले टोकेको ऊ पनि भुइँमा ढल्यो। कुकुर र ऊ दुवैको मृत्यु भयो। उसको सहायक डरायो। सबै भिडिओ खिचेर ऊ आफ्नो बाटो लाग्यो। फेसबुकमा आफ्नो अग्रजको समवेदना छाप्यो। र, आज खिचेको भिडिओ हेरिरह्यो। के यो भिडिओ समाचार हो त ? १० पल्ट हेरेपछि ऊ निष्कर्षमा पुग्यो- अहँ यो समाचार हुँदै होइन। यहाँ त कुकुरले मान्छेलाई पो टोकेको छ। आफ्नो गुरुले भनेको मूल मन्त्र सम्झ्यो। ‘कुकुरले मान्छे टोकेको समाचार हुँदैन। समाचार बन्न त मान्छेले कुकुर टोक्नुपर्छ।’


Your Views
Related News