काठमाडौं । सप्तरी डाक्नेश्‍वरी ७ की संगीता मण्डल भदौ २९ गते घाँस काट्न गएका बेला गाउँकै दुई जनाबाट बलात्कृत भइन् । स्थानीय १८ वर्षीय रञ्‍जित मण्डल र १९ वर्षीय बब्लु मण्डलले संगीतामाथि बलात्कार गरे ।

संगीता न्याय चाहन्थिन् । तर बलात्कारीलाई कानुनी दायरामा ल्याउनुको साटो पञ्‍चहरुले गाउँमै पीडितकी आमालाई २५ हजार रुपैयाँ दिने भन्दै फैसला सुनाए । संगीताले सोही राति घरभित्रै झुन्‍डिएर आत्महत्या गरिन् । घटनामा जबरजस्ती मिलापत्र गर्ने पञ्‍च र बलात्कारमा संग्लनलाई प्रहरीले पक्राउ गर्‍यो । संगीताले आत्महत्या गरेपछि घटना बाहिर आयो । प्रहरीले ७२ घण्टाभित्र अभियुक्तलाई पक्राउ गर्‍यो ।

यस्तै सिरहाको विष्णुपुर १ मा स्थानीय २० वर्षीय मुकेशकुमार सिहंले गाउँकै १६ वर्षीया किशोरीलाई असोज १२ गते बलात्कार गरे । प्रहरीमा दर्ता हुनुपर्ने बलात्कारको मुद्दा पञ्‍चायतीले गाउँमै मिल्न दबाब दिए । पाँच लाखमा बलात्कार घटनाको मिलापत्र गराएको लिखित तमसुकसहित पीडक र आठजना पञ्‍चहरुलाई प्रहरीले पक्राउ गर्‍यो ।

पक्राउ पर्ने पञ्‍चहरु सिंहेश्वर साह, अरविन्दकुमार साह, शत्रुधन साह, राजकुमार साह, रामउदर यादव, जगवीर यादव, राजकुमार यादव र श्यामसुन्दर यादव छन् । प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले मिल्न दबाब दिने पञ्‍चलाई मतियारका रुपमा पक्राउ गरिएको बताए । बलात्कारको घटना मिलाउन पञ्‍चहरुले रकम दिने नक्कली ऋणी र धनीसमेत खडा गरेको पाइएको छ ।

भदौ १ मा धनुषामा एकजनाले बलात्कारको मुद्दामा मिल्न दबाब दिए । पछि उनलाई प्रहरीले पक्राउ गर्‍यो । यी प्रतिनिधिमूलक घटना मात्रै हुन् । पछिल्लो एक महिनामा मात्रै बलात्कारजस्तो जघन्य तीन घटनामा पञ्‍चको मिलापत्र गराउन दबाब दिएको तथ्य देखियो ।

प्रदेश नम्बर २ का कतिपय जिल्लामा कानुनी दायरामा ल्याउनुपर्ने जघन्य अपराधमा मुद्दामा पनि गाउँमै जबरजस्ती मिलापत्र गराउने प्रवृत्ति वर्षौंदेखि देखिएको छ ।

प्रहरीका अनुसार मधेसमा गाउँका मान्यजनलाई पञ्‍च र उनीहरुको अगुवाइमा हुने छलफललाई पञ्‍चायती सभा भनिँदै आएको छ । पञ्‍चको आदेशलाई कानुनकै रुपमा स्वीकार गर्नुपर्ने बाध्यतासमेत सिर्जना गरिँदै आएको पाइएको छ ।

प्रदेश २ का प्रहरी प्रमुख डीआईजी सिंह फौजदारी प्रकृतिका हत्या, बलात्कारजस्ता जघन्य अपराधमा समेत पञ्‍चायती गरेर मिलाउन खोज्‍न अपराध भएको बताउँछन् । उनले भने, “जनचेतनाको अभावले पनि कतिपयले पञ्‍च र पञ्‍चायतीको आदेश मानिरहेको पाइएको छ । कानुनको दायरामा ल्याउनैपर्ने घटनालाई मिल्नु वा मिलाइनु अपराध हो । यसविरुद्ध हामीले अपरेसन नै चलाएका छौं । यसविरुद्ध नागरिक र प्रहरीबिच सहकार्य जरुरी छ ।”

मधेसका जिल्लाहरुमा लेनदेन, कुलो,पारिवारिक झगडा पनि पञ्‍चले मिलाउँदै आएका छन् । डीआईजी सिंह भन्छन्, “कतिपय अवस्थामा गाउँका ठूलावडा भनिएकाहरुले निम्‍न वर्गमाथि पञ्‍चकै प्रयोग गरेर अन्याय गरेको पनि पाइएको छ । कानुनी राज्यमा पञ्‍चले अपराधका मुद्दाको छिनोफानो गर्न मिल्दैन । यस्तो कार्यमा संग्लनविरुद्ध हामी कठोर रुपमा प्रस्तुत हुन्छौं ।”

READ MORE NEWS

उपभोक्ता समिति : विकासको संवाहक कि भ्रष्टाचारको पर्याय ?


Your Views
Related News