विराटनगर : अधिकांश रोगको संक्रमणबाट बच्न साबुन पानीले हात धुनु अनिवार्य भए पनि यसको बढी प्रयोग भने कोरोना संक्रमण बढेसँगै भयो। तर, मोरङ जिल्लामा अझै पनि ४७ प्रतिशत घरधुरीमा साबुन पानीले हात धुने स्थान समेत नरहेको पाइएको छ।

कोरोना संक्रमित बढ्दै जाँदा लकडाउनकै समयमा गरिएको अध्यायनका क्रममा मोरङमा यस्तो भेटिएको हो। यू.एन. ह्याबिट्याट र नारी विकास संघ मोरङले गरेको तथ्याङ्क संकलनमा ५३ प्रतिशत घरधुरीमा जोखिमपूर्ण अवस्थामा साबुन पानीले हात धुनका लागि निश्चित स्थान र सामग्रीको व्यवस्था भेटियो भने ४७ प्रतिशत घरधुरीमा साबुन पानीले हात धुने निश्चित स्थान नरहेको भेटिएको हो।

यू.एन. ह्याबिट्याटका जिल्ला संयोजक एवम् प्रदेश वास क्लस्टरका सहसंयोजक विनोद शर्माका अनुसार प्रदेश १ को राजधानी जिल्लाको अवस्था साबुन पानीले हात धुने कुरामा यति धेरै पछि भेटिएको छ। ‘मोरङ अझै पनि करिब ४७ प्रतिशत घरधुरीमा साबुन पानीले हात धुने निश्चित स्थान छैन’, उनले भने, ‘कम्तिमा पनि पूर्ण सरसफाइ अभियान थालनी भएका स्थानमा यस अवधिमा शतप्रतिशत घरधुरीमा साबुन पानीले हात धुने सुविधाको सुनिश्चितता हुनुपर्ने हो।’
मोरङका ४७ प्रतिशत घरधुरीमा बाल्टी या असुरक्षित कलबाट नै हात धुने गरिएको पाइएको छ। मोरङ जिल्लाको धेरै स्थानीय तह छुने चार तहका २३ हजार घरधुरीमा हातधुने स्थान, व्यवस्थापन र ज्ञानका विषयमा अध्ययन गरिएको शर्माले बताए।

मोरङको बेलबारी, जहदा, रंगेली र रतुवामाईका करिब २३ हजार घरधुरीमा गरिएको सर्वेक्षण अनुसार पूर्ण सरसफाइको अवस्थामा बेलबारी नगरपालिकामा सबैभन्दा राम्रो देखिएको छ भने जहदामा सबैभन्दा कमजोर देखिएको सर्वेक्षणले देखाएको छ। बेलबारीमा ७३ प्रतिशत घरधुरीमा हात धुने निश्चित स्थानको व्यवस्था गरिएको छ। यस्तै रतुवामाई नगरपालिकामा ६५ प्रतिशत, रंगेलीमा ३४ प्रतिशत र जहदामा ३० प्रतिशत घरधुरीमा मात्र साबुन पानीले हात धुने निश्चित स्थानको व्यवस्था छ। ‘यी तहकै आधारलाई जिल्ला गणना गर्न सकिन्छ’, नारी विकास संघ मोरङकी कार्यक्रम संयोजक सन्ध्या पौडेलले भनिन्, ‘यो अवस्था हेर्दा मोरङका नागरिकको स्वास्थ्य अवस्था जटिल हुने अवस्था हो, समयमा सचेत हुनुपर्छ।’

लकडाउनको समयमा समेत पूर्ण सरसफाइ प्रवर्द्धनका लागि ती कार्यक्षेत्रका घरधुरीको मोबाइलमा फोन गरी पूर्ण सरसफाइ प्रवर्द्धन र कोरोनाबाट बच्ने उपायको बारेमा निरन्तर जानकारी दिएर सचेतना जगाए पनि अझै चेतनाको विकास नागरिकमा गर्न आवस्यक रहेको नारी विकास संघका पूर्ण सरसफाइ अभियान टिम लिडर हिमांशु यादवले जानकारी दिए। ‘हामीले कोरोना महामारीको समयमा २३ हजार नागरिकलाई फोनबाटै भए पनि हात धुन सिकाएर सचेत बनाउने प्रयास गरेका थियौँ’, यादबले भने, ‘त्यसपछि गरिएको घरधुरी सर्वेक्षणमा औसत ४७ प्रतिशत घरधुरीमा साबुन पानीले हात धुने निश्चित स्थान नभएको देखिएको हो।’

साबुन पानीले हात धुने निश्चित स्थान भएका घरधुरीमध्ये पनि ३ प्रतिशत घरधुरीमा सर्वेक्षणको क्रममा साबुन वा हात धुने जेल नभेटिएको तथ्यांकले देखाउँछ। हात धुने स्थान बनाउन बाँकी घरधुरीमध्ये कम्तिमा ५० प्रतिशत घरधुरीमा निश्चित स्थान बनाउन लगाउन सकेमा पनि हातको स्वच्छता प्रवर्द्धनमा ठूलो फड्को हुने टिम लिडर यादव बताउँछन्।

१ लाख घरपरिवारलाई सबुनपनीले हात धुवाउने

मोरङमाखनै ठुलो संख्यामा घरधुरी सामान्य साबुनपानीले हात धुने अवस्थामा नभेटिएपछि साबुन पानीले हात धुने अभियान नै थालनी गरिएको छ। मोरङको बेलबारीबाट सो अभियानको थालनी गरिएको प्रदेश वास क्लस्टरका सहसंयोजक विनोद शर्माले जानकारी दिए।

अभियानअन्तर्गत अक्टुबर १५ सम्म संस्थागत एवम् घरायसी तहमा साबुन पानीले हात धुने विशेष अभियान सञ्चालन गरिने छ। सो अवधिमा पूर्ण सरसफाइ अभियान थालनी गरिएका स्थानीय तहहरुमा घरायसी तहमा साबुन पानीले हात धुने निश्चित स्थान र हात धुने सामग्री व्यवस्था गर्नका लागि समेत अभियान चलाइने शर्माले बताए।

बेलबारी नगरपालिका ८ राइझार आदर्श टोल र १० को पुष्पाञ्जली टोलबाट महाअभियानको थालनी भएको छ। यो अभियानमा स्थानीय तहको पूर्ण साथ पाएको शर्माले अन्नपूर्णलाई बताए।

अभियानलाई पहिलो चरणमा बेलबारी नगरपालिकाका बाँकी वडा, जहदा गाउँपालिका, रंगेली नगरपालिका र रतुवामाई नगरपालिकामा विस्तार गरिने छ। त्यसपछिको चरणमा बाँकी स्थानीय तहसँग समन्वय गरी अघि बढाउने पन्ध्र दिनभित्र कम्तिमा पनि एक लाख घरधुरीमा साबुन पानीले हात धुने अभ्यास गराइने छ। त्यसपछि घरधुरीको अनुगमन गरी साबुन पानीले हात धुने निश्चित स्थान र सामग्रीको व्यवस्था भएका घरधुरीलाई ‘साबुन पानीले हात धुने घर’ स्टिकर प्रदान गरिने समेत शर्माले जानकारी दिए।

जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति मोरङको बैठकले यसअघि नै समुदायमा साबुन पानीले हात धुने अभियान सञ्चालन गर्ने निर्णय गरिसकेको छ।

READ MORE NEWS

सीमामा भारत छिर्ने नेपालीको लर्को : न दशैंले रोक्यो, न कोरोनाले छेक्यो

पालीको महान् पर्व दशैंको घटस्थापना आउन ११ दिन बाँकी छ । विगतका वर्षमा यतिबेला दशैंको माहोल तातिसकेको हुन्थ्यो ।

सीमा नाका भएर लाहुरेहरू पोको–पुन्तरो र लालाबालासहित लस्करै स्वदेश भित्रिन्थे । तर समय र परिस्थिति ठीक उल्टो भएको छ । यतिबेला भारतबाट नेपाल फर्किनेभन्दा नेपालबाट भारत जानेको संख्या नै बढी छ ।

असोज १८ गते कञ्चनपुर जिल्लाको बेलडाँडी गाउँपालिका–१ का प्रयागराज उपाध्याय निधारमा दशैंको जस्तै रातो टीका टल्काउँदै दशैंको मुखैमा गौरीफन्टा सीमा नाका हुँदै भारत पसे । कोरोना महामारीले जारी लकडाउनपछि गत चैतको ८ गते नेपाल फर्केका उनी दशैंको मुखैमा भारतको दिल्ली फर्केका हुन् । घरको खर्च चलाउन धौधो भएपछि दशैंको मुखैमा भारत फर्किनुपरेको बाध्यता उनले सुनाए ।

कञ्चनपुर जिल्लाको बेलडाँडीकै गोरखराम जोशी पनि गौरीफन्टा नाका भएर भारत पसे । लकडाउनपछि नेपालमै जीविकोपार्जनको लागि व्यवसाय गर्ने वातावरण नबनेपछि भारतको जम्मुकस्मिर जान लागेको उनले बताए ।

उनी भन्छन्, ‘तरकारी खेती थालें, लगातारको वर्षातले सखाप भयो । ब्रोइलर पालन गरियो, प्रतिकिलो १५० रुपैयाँ मूल्य भयो । पर्ता आएन । पहिले पनि इन्डियामै काम गर्थें, अब उतै जान लागेको छु । पोहोर साल दशैं मनाएकै हो । यो साल त्यसै छ ।’

यतिबेला उपाध्याय र जोशी जस्तै दैनिक २ हजारको हाराहारीमा नेपालीहरू कञ्चनपुरको गौरीफन्टा र गड्डाचौकी नाकाबाट भारत गइरहेका छन् । यतिबेला कोरोना महामारीले प्रभावित हुने देशहरूमध्ये छिमेकी राष्ट्र भारत दोस्रो स्थानमा पर्दछ । जहाँ ६५ लाख बढी संक्रमित छन् भने १ लाख बढीले ज्यान गुमाइसकेका छन् । तर भारतबाट फर्किएका नेपालीहरू जोखिम मोलेर भएपनि पुनः रोजगारीको लागि भारत फर्किन थालेका हुन् ।

लामो लकडाउनले बेरोजगार भएका उनीहरूलाई हाल न त कोरोना महामारीको जोखिमले रोक्न सकेको छ, न त नजिकिँदै गरेको बडादशैंको माहोलले । उनीहरूको अब एउटै र अन्तिम धोको पेट पाल्नु हो, घर खर्चको जोहो गर्नु हो ।

कैलालीको भजनी नगरपालिका–२ रजवालाका गगनसिंह कोलीले भने, ‘आर्थिक स्रोत केही छैन । घरमा बालबच्चा छन् । उनीहरूको भोकाएको अनुहार हेर्न सकिन्न । जस्तोसुकै जोखिम भए पनि काम त गर्नै पर्‍यो ।’

देशको पश्चिमी गड्डाचौकी नाका र त्रिनगर नाका हुँदै दैनिक हजारौंको संख्यामा यतिबेला रोजगारीको लागि भारत गइरहेका छन् ।

सुदूरपश्चिम प्रदेशको साढे २५ लाख जनसंख्याको ३० प्रतिशत जनसंख्या कामका लागि भारत आउजाउ गर्ने गरेको सरकारी तथा गैरसरकारी संस्थाको दाबी छ । लकडाउन भएपछि भारतबाट सुदूरपश्चिमका विभिन्न जिल्ला तथा कर्णाली प्रदेश आएका नेपालीहरू यतिबेला कञ्चनपुरको त्रिनगर (गौरीफन्टा) नाका र गड्डाचौकी नाका भएर पुनः भारततिर फर्किरहेका छन् ।

असोज महिनाका १६ दिनमा मात्रै गौरीफन्टा नाका हुँदै १६ हजार ४९६ नेपालीहरू भारत गएका छन् । असोज १ गते ३१८ जना नेपाली यो नाका हुँदै भारत गए भने त्यसपछि दिनहुँ त्यो संख्या वृद्धि हुँदै गएको छ । असोज .१ गतेदेखि १६ गतेको अवधिमा २ हजार २४३ महिला, १ हजार ८९१ बालबालिका र १२ हजार ३६२ जना पुरुष भारत गएको तथ्यांक छ ।

सो अवधिमा गड्डाचौकी नाका हुँदै २ हजार ५ जना भारत गएका छन् । यो नाकाबाट दैनिक १५० बढी नेपालीहरू भारत गएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा बताउँछन् ।

सुदूरपश्चिम प्रदेश सरकारले कोरोना महामारीले प्रभावितमध्ये ९ हजार जनालाई तत्काल स्वरोजगार बनाउन विभिन्न कार्यक्रम अगाडि सारेको छ । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालू आर्थिक वर्ष २०७७/२०७८ मा कोरोना प्रभावित तथा विदेशबाट फर्केका र बेरोजगार युवालाई लक्षित गरी स्वरोजगारका विभिन्न कार्यक्रम अगाडि बढाएको छ । तर भारत जानेको संख्यामा कुनै कमी आएको छैन ।

मन्त्रालयले हालै जारी गरेको सूचना अनुसार तरकारी खेती, च्याउ खेती, मौरीपालन, भेडा–बाख्रापालन, बंगुरपालन, फलफूल खेती, गाईभैंसीपालन, माछापालन, स्थानीय कुखुरा/हाँस अन्य मासुजन्य पन्छीपालन, नर्सरी तथा पुष्प व्यवसाय र अन्य गरी १० थरि कृषि क्षेत्रमा काम गर्न इन्छुक व्यक्तिलाई कार्यक्रम प्रदान गर्न लागेको छ । प्रदेश सरकारको सो कार्यक्रमको लागि हालसम्म ४० हजार बढीले इच्छापत्र पेश गरिसकेका जनाइएको छ । कार्यक्रमको लागि मात्रै १५ करोड बजेट विनियोजन गरेको मन्त्रालयले जनाएको छ ।

पशुपन्छी तथा कृषि एकीकृत कार्यक्रमको लागि मात्रै १६ करोड रुपैयाँ बजेट विनियोजन गरेको भए पनि भारततर्फ रोजगारीमा जानेको क्रम रोकिएको छैन ।


Your Views
Related News